एक दिन एक मुनिले शिष्यलाई भनेः तिमीले वर्षौंसम्म ज्ञान प्राप्त गर्न सकेनौ । अब एउटै उपाय छः ज्ञान प्राप्त गर्नुछ भने तिमी राजा जनकको महलमा जाऊ ।
शिष्य अवाक भयो । कहाँको त्यागी सन्त गुरु, कहाँको भोगी राजा जनक । कहाँ ज्ञानको खोजीमा जंगलमा कठोर तपस्या गर्ने, सत्संग र शास्त्रार्थ गर्ने सन्त, कहाँ महलको सुख सयलमा बस्ने र सबै किसिमका भौतिक सुखभोग गर्ने राजा जनक ।
शिष्यको आपत्तिका बाबजुद गूरुले उसलाई पठाए । जनकको दरबार पुग्दानपुग्दै साँझ पर्यो, नभन्दै त्यहाँ नाचगान र रमझम थियो ।
शिष्य दंग पर्यो, मैले जे सोचेको थिएँ, त्यही भयो भनेर । राजा जनकको भोगी जीवन सप्रमाण देखेपछि उनलाई भेटेर उसले भन्योः म त भन्दै थिएँ, आउँदिन भनेर, तैपनि गुरुले पठाएकाले आइहालें । आइसकेपछि यति सोधौंः राजा जनक, यो रमझम, यो भोगविलास, यो कोलाहलबीच बसेर तपाइँले आफू ज्ञानी भएको भ्रान्ति किन फैलाउनुभयो?
जनकः खैर, आज रमझम छ, म थाकेको पनि छु । एउटा काम गर, यो दियो लिएर जाऊ र दरबारको पूरा चक्कर लगाएर आऊ । त्यसपछि सत्संग गरौंला । एउटा कुरा याद राख्नु कि यो दियो ननिभोस्, यो निभ्यो भने दरबार विशाल छ, तिमी फर्केर यहाँ आउन सक्ने छैनौं ।
शिष्य निस्क्यो र दरबार चाहार्न थाल्यो । दरबार भव्य र तिलस्मी थियो । अमूल्य गहना थिए, पुस्तक थिए, चित्र थिए, मुर्ति थिए, अद्वितीय वास्तुकला थियो । तर दियो बचाउन प्रयासरत शिष्यको ध्यान दियोमा केन्द्रित थियो । हावाको प्रत्येक झोंक्कासित काँप्दै र तर्संदै दियो जोगाउँदै ऊ अघि बढ्यो । निकै समय लगाएपछि अन्ततः ऊ फर्कन सफल भयो ।
जनकः हेर्यौ त दरबार, कस्तो लाग्यो?
शिष्यः कहाँ हेर्नु महाराज, म त दियो बचाउनमै व्यस्त थिएँ ।
जनकः म अहिले थाकेको छु, अब आरामको आवश्यकता छ । अब सुतौं, बिहान उठेर सत्संग गरौंला ।
शिष्यलाई कोठामा पुर्याउँदै जनकले भव्य शैया देखाए र भनेः यहाँ सुत्नु । तर एउटा कुरा ख्याल गर्नु, यी यहाँ माथि धारिलो तरवार झुण्ड्याइएको छ मसिनो धागोले, जुन कुनै पनि बेला टुट्न सक्छ । र व्यवस्था यो पनि छ कि तिम्रो आँखा लाग्यो कि यो धागो टुट्नेछ । शिष्यले आपत्ति जनाउन खोज्यो तर यहाँ उसको वशमा केही थिएन ।
शिष्यको रात चौपट भयो । यसो आँखा लाग्थ्यो, फेरि तरबारको त्रासले झल्याँस्स ब्युँझन्थ्यो । केही नलागेर आँखा झिमिक्क नपारी रात बिताउन ऊ बाध्य भयो ।
बिहान अनिद्रा र चिन्ताले ग्रस्त भएर उठ्यो ऊ । अब यहाँबाट कसरी उम्कने भन्ने समस्या खडा भयो । भाग्न त सक्थ्यो तर त्यसो गर्दा गुरुको आज्ञा काट्नुपथ्र्यो । त्यसमाथि मुक्ति र मोक्षको हुटहुटी छँदै थियो ।
शान्त र सौम्य मुद्रामा राजा जनक फेरि प्रकट भएः कस्तो रह्यो रात? शिष्यले निन्याउरो अनुहार लगाउँदै बेहाल बतायो ।
जनकः अब खानपिन शुरु गर्नु, त्यसपछि सत्संग गरौंला । तर तिम्रो गुरुको एउटा सन्देश छ, सत्संगको क्रममा तिमीलाई मोक्ष प्राप्त भयो भने भयो, नत्र आज साँझ तिमीलाई शुली चढाउनु भनेर ।
शिष्य अब अधमरो भइसकेको थियो । खानामा चौरासी व्यञ्जन थियो तर त्यो उसलाई खरानी चपाएजस्तो लागिरहेको थियो । जुन कुरा वर्षौंको तपस्या र ध्यानबाट सम्भव भएन, त्यो अब एकाध घण्टामा कसरी सम्भव होला? ज्ञान बोधजस्तो कुरा पनि कतै जबर्जस्ती समय सीमा तोकेर सम्भव हुन्छ? भएन भने शुली, यो कस्तो जबर्जस्ती?
शिष्यको आपत्ति थियो तर उसले गर्न सक्ने कुरा केही थिएन । मुन्टो लत्र्याएर जसोतसो खाना सिध्यायो । जनकले सोधेः कस्तो थियो खाना?
शिष्यलाई खपिनसक्नु भयो, भन्योः केको खानाको स्वाद लिनु, यता ज्यान बचाउन मुस्किल भइसक्यो, महाराज, मलाई यहाँभन्दा बढी यातना नदिइयोस्, म यहाँबाट जान मात्र चाहन्छु, अब मलाई सत्संगमा बस्नु पनि छैन ।
जनकः यही सत्संग थियो । जसरी हिजो रातभर तिमी दियो लिएर दरबार घुम्दै थियौ, तिमीसित दियो थियो, जुन कुनै पनि बेला निभ्न सक्थ्यो । अर्कोतिर दरबारको अनुपम सौन्दर्य थियो, जसलाई तिमीले पान गर्न सक्थ्यौ । तर तिम्रो ध्यान दियोमा भएकाले तिमीले त्यसो गर्न सकेनौ । जीवनको दियो पनि त्यस्तै हो, यो कहिले निभ्छ र मृत्यूको अन्धकारमा भट्किनुपर्छ भन्ने कुरा थाहा हुँदैन । त्यसैले जब दियो बलेकै हुन्छ, त्यही बेला त्यसलाई बुझ र त्यसको उज्यालोको सदुपयोग गर । राती तरवार देखेर तिमी सुत्न सकेनौ, तर जीवनमाथि मृत्यूको तरबार त प्रतिपल झुण्डिइरहेको छ, त्यो पनि कमजोर धागोले जुन कुनै पनि बेला टुट्न सक्छ । तिम्रो मात्र जीवनमा हैन, कसैको पनि जीवनमाथि त्यो झुण्डिइरहेको छ तर त्यसको बोध कसैलाई छैन । जब मृत्यू यति नजिक छ भने गर्न सकिने एउटै काम हो, झुण्डिइरहेको तरबारलाई हेर, त्यसको जोखिम अनुभुत गर र भित्र जुन दियोको उज्यालो छ, त्यसलाई अधिकतम उपयोग गर ।
ओशो रजनीशले भनेका अनगिन्ती कथामध्ये एक कथा थियो यो । हिन्दु धर्मका शास्त्रहरुमध्ये अष्टवक्र गीता लेख्ने अष्टवक्र ऋषि, त्यसका एक पात्र जनक, जैन धर्मका प्रवर्तक महावीर, बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध, इस्लामका प्रवर्तक मोहम्मद र इसाइ धर्मका प्रवर्तक जिसस क्राइष्ट, यी सबैप्रति ओशोको गहिरो लगाव थियो । तिनका जीवनमा घटेका असंख्य घटनालाई ओशोले मोहक तरिकाले प्रस्तुत गरेका छन् ।
...
२०७३ लाग्यो । नयाँ वर्षको स्वागतसँगै पुरानो वर्षको मूल्यांकन भइरहेको छ ।
२०७२ साल मृत्युमय रह्यो ।
वर्षको शुरुमै निकै पहिलेदेखि आउन सक्ने भनिएको तर नआएको भूकम्प अचानक आएर मृत्यूलाई यत्रतत्र निम्त्यायो ।
कम चर्चा भएको कुरा के थियो भने भूकम्पको ताकत जति थियो, त्योअनुसारचाहिं नेपालीहरुले मृत्यू भोग्नु परेन । शनिवार मध्यान्ह हप्ताको त्यस्तो एउटै समय थियो जब अधिकतम मानिसहरु आआफ्ना धरापजस्ता घर, स्कुल र कार्यालय छाडेर बाहिर हुन्थे । त्यही बेलामा यो आइदियो र हामीले ठूलो संख्यामा जीवनदान पायौं । वैशाख १२ पछि वैशाख २८ को ठूलो भूकम्प पनि मध्य दिनमै जाँदा धेरै मानिसका लागि त्यो प्राणघातक बन्न गए पनि अरु झन् धेरै मानिसहरु घरबाहिर भएकाले बाँचे ।
वर्षको अन्ततिर हाम्रो बृहत् परिवारमा दुई जना सदस्यले अकालमा ज्यान गुमाउनुपर्यो । कारण एउटै थियोः हृदयाघात । एक जना ४० भित्रै हुनुहुन्थ्यो, अर्को एक जना ५० वरिपरि ।
यी दुई प्रसंगमा मृत्यूका कारणहरु फरक थिए तर तिनले छाडेको प्रभाव, आफन्तजनमा उत्पन्न मनस्थिति उस्तै थियो । भूकम्पका कारण भएका मृत्यूहरु विपत्तिजन्य अकाल मृत्युका नमुना थिए भने हाम्रो परिवारमा भएका मृत्यूहरु रोगजन्य कारणले हुने अकाल मृत्यूका प्रतिनिधि थिए ।
...
मृत्यूको तरबार प्रत्येक क्षण हामीमाथि झुण्डिइरहेको छ, तैपनि हाम्रो व्यवहार किन यस्तो छ जुन हेर्दा लाग्छ हामी कहिल्यै मर्नेछैनौं? सम्भवतः मानव इतिहासमा सबैभन्दा धेरै चोटि सोधिएको तर कहिल्यै चित्त बुझ्दो उत्तर फेला नपरेको प्रश्न हो ।
यही वर्ष पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मृत्यूपछि मैले टल्सटायको कथा हाउ मच ल्याण्ड डज अ म्यान निड? को पात्र पाहोमसित उनलाई तुलना गरेर लेखेको थिएँ । पाहोम यस्तो पात्र थियो जो भविष्यका लागि जमिन जोड्न भनेर दिनभर घाममा दौडेपछि घाम डुब्ने बेला प्राण त्याग गरेर छ फूट लामो खाडलमा पुरिएको थियो ।
त्यो लेख मैले सुशीलजीका लागि लेखेको थिइनँ, उनी त चिर निद्रामा लीन भइसकेका थिए । त्यसको लक्षित समूह सुशीलजीका असंख्य जीवित अवतारहरु थिए जो दुख जति अहिले काटौं, सुख बुढेसकालमा काटौंला, तनाव जति अहिले लिऊँ, पछि तनावमुक्त हुनुपर्ला, पाप जति अहिले गरौं, पछि साधु बन्नुपर्छ, यस्तो भावमा लिप्त थिए ।
ती मानिसहरुले मृत्यूको अनिवार्यता स्वीकारेसँगै जीवनमा लिनसँगै दिन पनि सिकुन्, लोभ, रिस, इष्र्या, क्षोभ, आदि भावहरु स्वभाविक रुपमा द्खाइरहँदा प्रेम, दान, करुणा, क्षमा जस्ता भावहरु पनि कतै कतै देखाउन्, आफ्नो पीडामा चिच्याउनेहरुले अरुको पीडा पनि अनुभुत गर्न सकुन्, यस्तो त्यो लेखको आशय थियो ।
अहिले नयाँ वर्ष प्रवेश गर्दै गर्दा चाहिं मृत्यूचर्चामार्फत मैले दिन चाहेका दुई सन्देश छन् ।
एक, जीवन प्यारो नै भएपछि यसको माध्यमका रुपमा रहेको मानव शरीरलाई मानिसहरुले समयमै ख्याल गरुन् । सके जति सुरक्षित वासस्थान बनाउन्, सुरक्षा उपाय अपनाएर यात्राहरु गरुन् । बाँच्ने लालसा पनि भएका तर खानपिन र जीवन शैलीमा बेपरवाह बनेर शरीरलाई रोगको घर बनाइरहेका वा पलपल दुर्घटनाको नजिकै भएर गुज्रने सबैलाई समयमै जीवनेच्छा र जीवन शैलीबीच तालमेल मिलाउने प्रेरणा मिलोस् ।
दुई पाइला हिंड्न परे साधन चाहिने, मदिरा र मांसाहार भएपछि दुनियाँ बिर्सने, भोजनमा सन्तुलन भनेको पत्तै नहुने, लागिसकेको रोगलाई समेत मरणासन्न नभएसम्म नटेर्ने, यी बानीहरु छुटेर मानिसले रोग लाग्नु अघि नै स्वास्थ्यको महत्व बुझुन् । खास गरी चिल्लो, मांशाहारी खाना, धुम्रपान र मदिरापानका लागि कुनै सीमा नखिचेका सबैले एउटा लक्ष्मणरेखा खिचेर त्यसलाई पार नगर्ने इच्छाशक्ति देखाउन् ।
दोस्रो, आफू जीवित हुनुलाई आवश्यकताभन्दा अधिक महत्व नदिउन्, मृत्यूको अनिवार्यता स्वीकारुन् र जीवनलाई अलिकति कम बोझिलो बनाउन् । ब्रम्हाण्डको केन्द्र मै हुँ र सृष्टि यसैमा अडेको छ भन्ने भाव त्यागेर आफूलाई गुणदोषसहितको मानिसका रुपमा हेरुन् । मानिसलाई के बोध होस् भने, उनीहरुको जीवन लामो र छोटो हुनुले यो ब्रम्हाण्डलाई कुनै तात्विक अन्तर पार्ने छैन । यो अनादिकालदेखि यहाँ थियो र अनादिकालसम्म नै यहाँ रहनेछ ।
सामुहिक रुपमा चाहिं मानिसलाई के बोध होस् भने, हामी सिंगो संसारका राजकर्ता नभएर अनन्त ब्रम्हाण्डको एउटा सानो हिस्सा मात्र हौं, शुन्यमा तैरिरहेका पृथ्वीजस्ता असंख्य ग्रहहरुमध्ये एउटा ग्रहका करोडौं प्रजातिका जीवमध्ये एक ।
....
जीवन र मृत्यूबारे यति लेखेपछि एउटा स्पष्टीकरण दिनुपर्ला । पछिल्ला केही वर्षहरुमा ओशोको जीवनदृष्टिबाट प्रभावित भएकै कारण मेरो जीवनमा कठिनाइहरु आउन रोकिएको छैन, असफलताहरु सफलतामा बदलिएका छ्रैनन् र मेरा दोषहरु गुणमा बदलिएका छैनन् । तर झण्डै १५० घण्टा बराबर अष्टबक्र गीता सँग सम्बन्धित उनको प्रवचन सुनेपछि जीवनमा सफलता र असफलता, गुण र दोष, खुशी र दुख आदिलाई हेर्ने मेरो दृष्टिकोण बदलिएको छ । कठिनाइ र सफलता दुवैमा मैले आफ्नो स्वत्व वा चैतन्यलाई अलिकति दुरीमा राखेर हेर्न सिकेको छु । त्यो दुरी यति पनि बढिसकेको छैन कि म सांसारिक दुख र सुखबाट मुक्त भएको दाबी गरुँ तर अरु धेरै मानिस झैं ती सुख वा दुखलाई शाश्वत मान्ने गल्तीचाहिं म गर्दिनँ ।
सम्भवतः त्यही कारणले २०७२ सालभरका विपत्तिहरुमा म जहाँ उभिएर जति काम गरें, त्यो समभावले गरें । निजी र सामाजिक दुवै जीवनमा जति कठिन लाग्ने क्षणहरु आए, म विचलित भइनँ । गल्तीहरु स्वीकार्दा र आफ्नो बचाउ गर्दा दुवै अवस्थामा मलाई बोध भइरह्यो कि ती समाजको स्वभाविक अन्तव्यक्र्ति सम्बन्धका पाटाहरु हुन्, तिनले मेरो स्वत्वमा तात्विक प्रभाव पार्दैनन् । जब मानिसहरुले अब त यसलाइै ध्वस्त पार्यौं, अब फेरि यो उठ्दैन भन्ठाने, मलाई तिनीसँग बदलाभाव हैन कि करुणाभाव जागृत भइरहेको थियो । स्वभावतः जीवन प्रिय छ र मृत्यू अप्रिय छ तर दुवै अनिवार्य छन् । यो बोधले मात्र मानिसलाई खुशी र दुखमा समभाव राख्न सघाउने रहेछ ।
फर्केर हेर्दा, त्यस्तो पनि समय थियो जब वर्षभरको अन्धकारपछि आउने नयाँ वर्ष झन् निस्पट्ट अन्धकार लाग्थ्यो । खास गरी देश द्वन्द्वकालीन संकटकालमा रहेको बेला जन्मदिन र नयाँ वर्षमा लेखिएका उदास लेखहरु पढ्दा त्यो बेलाको मेरो अन्धकार मनस्थिति प्रस्ट हुन्छ । किशोरकालको अन्त र युवावयको शुरुतिर जुन आत्मसिर्जित संकटबाट म गुज्रें, सम्भवतः त्यसले पछि मलाई वैकल्पिक जीवनदृष्टिको खोज गर्न झक्झक्यायो ।
अहिले लाग्छ, ती अँध्यारा वर्षहरु पनि आवश्यक थिए अहिले म जे छु त्यसको निर्माणका लागि । २०७३ मा चाहिं उज्यालोतिरको यात्रा अझै अगाडि बढोस्, मेरो र अरु सबैको पनि । शुभ नयाँ वर्ष ।
Nepal trapped in politicized and failing institutions: A study of judiciary, a constitutional watchdog and police शीर्षक लेखकको शोधमुलक लेख Unique Asian Triangle: India-China-Nepal नामक पुस्तकमा एक अध्ययका रुपमा प्रकाशनउन्मुख छ। Twitter: @jkshetry
No comments:
Post a Comment