बारा जिल्लाका राम थरका यी रिक्साचालक २०४५ सालदेखि रिक्सा हाँकिरहेका छन् । तर अहिलेसम्म उनको जीवनमा त्यस्तो उल्लेख्य प्रगति केही भएन । यिनले रिक्सा कुदाइरहे, कमाइ खान बस्न र सानो परिवार धान्नमा ठिक्कै भयो । भविष्यका लागि जीविका फराकिलो पार्ने भन्ने यिनले सोच्न पनि सकेनन् ।
तर यसपल्ट मधेश आन्दोलन र भारतको नाकाबन्दी उनी र उनीजस्ता धेरैका लागि आशीर्वादजस्तै भयो । रिक्साले धेरै कमाइ गर्न थाले । यही बेला सडकभर ब्याट्रीले चल्ने इ–रिक्सा देखिन थाले ।
म यो रिक्सा चढेको साँझ यी चालकले पाइडल हाँक्ने रिक्सा चलाउने अन्तिम हप्ता थियो । शोरुममा गएर चानचुन एक लाख रुपैयाँ बुझाइसकेका यिनले मासिक ५००० रु किस्ता तिर्ने गरी अर्को साता इ–रिक्सा किन्दै थिए ।
नयाँ साधनको कल्पनाले मात्र पनि उनी पुलकित थिए । खुट्टा थकाउनु नपर्ने, सातजनासम्म आरामले बोक्न सक्ने, चार्ज गरे पुग्ने ।
यो उनको कथा मात्र हैन । अर्को दिन इ–रिक्सा चलाउँदै गरेका चौधरी थरका अधवैंशे चालकले चाहिं साहुको साधन कुदाइरहेका रहेछन् । भनेः चार लाखको गाडी हो हजूर, अरुभन्दा राम्रो छ । हुन पनि अरु तीन लाख पर्ने इ–रिक्साहरुभन्दा त्यो राम्रो थियो ।
साहुलाई उनले दैनिक १२ सय बुझाउनुपर्ने रहेछ । यो त जुलुमै भैगो नि, वर्षभरमा गाडीको मूल्य जति त साहुले पाइसक्दोरहेछ, अनि त्यसपछि यो तपाइँको हुन्छ त भन्ने मेरो प्रश्न रह्यो ।
त्यसो नहुने रहेछ, गाडी साहुकै रहने । तर दैनिक सरदर कमाइ सोध्दा उनले भनेः २५ सयदेखि ३ हजार । अबचाहिं अघि सोचिएजस्तो जुलुम रहेनछ भन्ने लाग्यो । दैनिक सरदर १५ सय बचाउने हो भने यी चालकले वर्षभरमा आफ्नै बचतले यस्तै साधन किन्न सक्ने रहेछन् ।
एक त नाकाबन्दी, त्यसमाथि चाडपर्व, अहिले वास्तविक दशैं यिनै इ–रिक्साहरुलाई आएको छ चितवन लगायतका ठाउँमा । खटेर काम गर्नेहरुले इ–रिक्सा किनेर त्यसको झण्डै आधा मुल्य यही सिजनमा उठाउने देखिन्छ । इन्धन आपुर्ति अझ केही महिना सहज नहुने हो भने त छोटो दुरीको यातायातमा टेम्पो र ट्याक्सीको विकल्पको रुपमा यिनै साधन दरिन सक्ने देखिन्छ ।
अस्थिरता, आन्दोलन र अघोषित नाकाबन्दीले नेपालको अर्थतन्त्रमा अँध्यारो बादल लागेको छ । तर त्यसमा यस्तै चाँदीको घेरा पनि छ । दीर्घकालमा इन्धन संकटसित जुध्ने हो भने नेपालको अर्थतन्त्रका धेरै क्षेत्रले यस किसिमले आफूलाई बदल्दै जानुपर्नेछ ।
No comments:
Post a Comment