अघोषित रुपमै भए पनि व्यवहारमा नाकाबन्दी लाग्ला जस्तो देखिन्छ, समाचारहरुको विश्लेषण गर्दा । त्यसले ध्रुवीकरण बढाएर सबै खालका अतिवादलाई प्रश्रय दिन्छ ।
मोदी अमेरिका जाने बेला नेपाल नीति साउथ ब्लकको कुनै कर्मचारीलाई दिएको देखिन्छ जसले नेपालको स्थिति बुझ्नसमेत चाहँदैन । मधेशी मोर्चाले त आफ्नो अस्तित्वको लडाइँलाई भारतको साखको लडाइँ बनाउन भरमग्दुर कोशिस गर्दैछ,जुन मोर्चा र भारत दुवैका लागि प्रत्युत्पादक हो ।
गाडी छोडेर साइकल चढ्ने फुइँ छाड्ने नेपाली नेताहरुले देशमा साइकल नबन्ने तथ्यप्रति ग्लानिबोध नगर्ने मात्र हैन विगतमा दशकौं गज्जब चलिसकेका गोरखकाली टायरजस्ता ब्राण्डहरु किन अस्ताए भनेर विश्लेषण समेत गरेका छैनन्, यिनले खै केको नयाँ ब्राण्ड बनाएर देश धान्ने अवस्था सिर्जना गर्लान्?
पार्टी संरचना जति त ठेक्काको घोटालाको पैसाले धानिएको छ, अनि कसरी प्रश्रय पाउँछ उत्पादनशील क्षेत्रले?
उत्पादनशील क्षेत्र मौलाउन त गुण्डा र अपराधीहरुले धानिएको पार्टी अर्थतन्त्र पहिले ध्वस्त पारिनुपर्छ, मेरिटोक्रेसीले ठाउँ पाउनुपर्छ । आम मानिसको भाग खोसेर पार्टी कार्यकर्ता पाल्ने संस्कृति बन्द हुनुपर्छ ।
एकतिर सरकारी स्वामित्वको साझा ध्वस्त हुने, वायु सेवा निगम सुस्त हुने, आयल निगम घाटामा जाने, विद्युत् प्राधिकरणले यथेष्ट उत्पादन त परै जाओस्, उत्पादित विद्युत् वितरण गर्न नसक्ने, अर्कोतिर निजी क्षेत्र चन्दा र धन्दाले अस्तव्यस्त हुने । नेतृत्व तहले चन्दा, घोटालाको पैसा बाँडफाँड र कार्यकर्ता भर्तीभन्दा पर नदेख्ने, अनि कसरी आत्म निर्भर बनौंला हामी?
खाली उधारो वाचाहरुमा सीमित भएको नेपालको राजनीतिलाई अहिलेको राष्ट्रवादको लहरले कहाँ पुर्याउने हो? भन्न गाह्रो छ । तर पहिले जग सिर्जना नै नगरी, जग हाल्ने वातावरण नै नबनाई घर बनाउने कल्पना गर्न त सकिन्छ तर वास्तवमा घर बन्दैन ।
त्यही जग मात्रै हाल्ने हो र भविष्यमा नाकाबन्दी गरे पनि केही फरक नपर्ने स्थिति सिर्जना गर्ने हो भने पनि अहिले चर्कंदो द्वन्द्वलाई काबुमा राखेर स्थितिलाई सामान्यतामा फर्काउनु अनिवार्य छ ।
देश बनाउने काम नेतृत्वदेखि नागरिकसम्म वर्षौं वा दशकौं जुटेर एकाग्रता साथ मेहनत गरेर हुने गर्छ, क्षणिक उत्तेजनाको भरमा हैन । यो कुरा जति चाँडो बुझ्यो, त्यति राम्रो ।
No comments:
Post a Comment