हिजो बलराम केसी र सूर्य ढुंगेलले एक स्वरमा भनेः संविधान आफैंमा असल वा खराब हुँदैन, त्यसलाई सञ्चालन गर्नेहरुले कसरी गर्छन् त्यसमा भर पर्छ ।
त्यस अघि भीमार्जुन आचार्यले भनेः यो संविधानले नियन्त्रित अस्थिरतातिर देशलाई धकेलेर नेपालको अस्तित्वलाई नै संकटमा पार्ने निश्चित छ ।
हाम्रो चाहना हुनु एउटा कुरा, यथार्थ त्यस्तै हुनु अर्को कुरा । अहिले धेरै कुरा यथार्थमा टेकेर भन्दा पनि विशफूल थिंकिंङ भनिने इच्छा–निर्देशित सोचमा टेकेर भइरहेको छ ।
मनको एउटा कुनाले भन्छः भीमार्जुन आचार्य सही छन् । अर्को कुनाले भन्छ, स्थिति त्यति साह्रो नबिग्रला ।
तर जे भए पनि केपीद्वय (सिटौला र ओली) को अनुहारको चमक हेरेर देशको भविष्य आँक्न थालियो भने त्यो गलत हुन्छ ।
अझै पनि आशा गरौं आचार्यको अनुमान पूरै गलत नभए पनि अतिरञ्जित ठहरियोस् । वीरगञ्जलगायतका भागमा अहिले देखिएको द्वन्द्वको नयाँ लप्को छिट्टै निभोस्, जनधनको क्षति र मृत्यूको श्रृंखला रोकियोस् ।
कसैले ट्वीटरमा लेखेको थियोः हामी मोती टिप्न समुद्रका लागि निस्केका थियौं, जाँदाजाँदै यात्रा यति कष्टकर भयो कि समुद्रमा पुग्नु नै ठूलो कुरा लाग्न थाल्यो र मोती टिप्ने कुरा नै बिस्र्यौं । अब समुद्रसम्म पुग्नुलाई उपलब्धि मानेर दिपावली गर्ने कि नगर्ने, यो दुविधा छ आज धेरैलाई ।
संविधान आफैंमा राम्रै बनेको होला तर यो भन्दा धेरै राम्रो, धेरै मानिसलाई समेट्न सक्ने र हिंसा र विग्रहका धेरै सम्भावनाहरुलाई अन्त गर्न सक्ने संविधान निर्माणबाट हामी चुकेका छौं ।
मेरो विचारमा यो दीपावली भन्दा पनि गम्भीर आत्म–मुल्यांकनको समय हो ।
No comments:
Post a Comment