हिजोको कुरा, बी पी प्रतिष्ठान धरानबाट आएको टोलीका लागि गोरखा र धादिङ पुर्याउन त्रिपाल लगायतका सामान किनिसकेपछि सापटी खोजेको सबै पैसा हिजै सकिइसकेको थियो । सहयोगको वाचा गरेका संघसंस्था र व्यक्तिहरुको सहयोग आइपुग्न अझै बाँकी नै छ ।
चितवनमा त्रिपालहरुको सख्त अभाव भएकाले भैरहवाबाट मगाउने व्यवस्था गर्न उताबाट राहत संकलन गरेर वितरणको योजना बनाइरहेका साथी मुक्तिसित सम्पर्क भइरहेको थियो । त्यसैबीच उनलाई धादिङको जीवनपुर गाउँका परिचित स्थानीय स्वास्थ्यकर्मी राजकुमार तामाङले फोन गरेछन् ।
उनले भनेछन्ः जीवनपुरमा करीब दुई हजार जना मानिस पाँच दिनदेखि भोकै छन् । चामल पाउने आशमा काठमाडौं पुगेका राजकुमार निराश र लखतरान भएर आफैं काठमाडौंमा भौंतारिइरहेका रहेछन्, सहयोगको कतैबाट गुञ्जायस नपाएर ।
धादिङबेंशीबाट हिजै फर्केका धरानका साथीहरु भन्दै थिएः सदरमुकाममा खाद्यान्न बोकेका ट्रकहरुको लर्को छ तर सामाग्री व्यवस्थित रुपमा गाउँका मानिससम्म पुगेको छैन । त्यो कुरा अब प्रमाणित भयो । धार्केबाट करीब पन्ध्र किलोमिटर टाढाको गाउँको त्यो हालत भएपछि अझ विकट गाउँहरुको कुरै गर्नु परेन ।
लगत्तै राजकुमारको र मेरो फोन सम्पर्क भयो । उनको हताशी र व्यग्रता बुझ्न सकिने कुरा थियो । उनको एउटै आग्रह थियोः भोक मेट्ने खाद्यान्न पठाइदिनु, मानिस बरु खूला आकाश मुनि सुत्न तयार थिए, तर पेटले मान्ने कुरा थिएन ।
कस्तो संयोग पर्यो भने, नेपालको अवस्थाबाट बेचैन दाजु विजय रिसालले अस्ति राती मात्र मलाई केही नसोधी सिधै हजार डलर पठाइदिन्छु भन्नुभएको थियो र बिहानसम्म एक लाख रुपैयाँ मेरो हातमा परिसकेको थियो ।
त्यही एक लाखको आडमा राजकुमारलाई तुरुन्त खाद्यान्न पठाउने आश्वासन दिएँ, स्वभाविक रुपमा त्यो अपर्याप्त थियो तर त्यति भएपछि चिनेका पसलेले बाँकी रकम उधारामो दिने विश्वास थियो । त्यसको दुई घण्टापछि साढे सोह्र क्विन्टल चामलसहित दाल, चिउरा, चना, तोरीको तेल, नुन र दालमोठ गरी दुई टन खाद्यान्न त्यता रवाना भयो । साथमा हिजो धादिङ पुगेर त्रिपाललगायतका सामान बुझाएर फर्केका धरानका इन्टर्न भाइहरुमध्ये एक जना त्यता लागे । लगातार तीन दिन राम्रोसँग नसुतेका उनीहरुका लागि यो असुविधा केही थिएन त्यत्रो सहयोग गर्न पाएकोमा ।
सम्बन्धित जिल्ला प्रशासनको समन्वयका लागि नपर्खी हामीले गरेको र एक व्यक्तिले गरेको फोन कलका भरमा गरिएको यो पहिलो त्यस्तो सहयोग थियो । तर समन्वयका लागि भनेर सदरमुकामतिर लागेको भए समयमा भोका मानिसहरुसम्म खाद्यान्न नपुग्ने पनि स्पष्ट थियो ।
व्यक्तिगत विश्वासका आधारमा त्यति ठूलो रकम यति तत्परताका साथ कसैले पठाएको पनि मेरा लागि यो पहिलो अवसर थियो । बिल पेश नभएसम्म एनजिओ लगायतका संस्थाहरुको रकम निकासा नहुनु पारदर्शिताका आधारमा जरुरी हो तर यस्तो संकटका बेला त्यो प्राविधिकता आफैंले धेरै सीमाहरु सिर्जना गर्दोरहेछ ।
व्यापारीहरुले उधारोमा नदिनु, सापट दिन सक्ने साथीहरुसित भएको रकम रित्तिनु र संकलन गरिएको थोरै रकम अत्यन्तै अपर्याप्त हुनुले अहिले हामीले पुर्याउने राहत कार्यमा व्यवधान पारिरहेका छन् ।
तर अर्को किसिमले हेर्दा, विजय दाजुको आर्थिक सहयोग, मेरो संयोजन र इन्टर्न भाइहरुको स्वयं सेवाको भरमा एकै छिनको प्रयासले दुई हजार मानिसको भोक मेट्ने अवसर अरु कुन बेला आउन सक्थ्यो? राजकुमारले मलाई पहिलो कल गरेको दश घण्टामा बीचको एउटा जाममा केही बेर रोकिएर समेत खाद्यान्न जीवनपुरमा पुगिसकेको थियो । दिउँसो साढे बाह्र बजे राजकुमारको पहिलो फोन आएको रहेछ, राती साढे दश बजे खाद्यान्न त्यहाँ पुगेर वितरण पनि भइसकेको थियो । लुछाचुँडी हुन नदिई व्यवस्थित रुपमा र सकेसम्म धेरै मानिसलाई त्यो अन्न वितरण गर्ने जिम्मा मैले राजकुमारलाई दिएको थिएँ ।
राती फोन हुँदा राजकुमारलाई गाउँबारे थप कुराहरु सोधेंः जीवनपुर गाविसको भालुखोला भन्ने गाउँ रहेछ त्यो धादिङको । उनका अनुसार त्यहाँ डेढ सय घरहरु काम नलाग्ने गरी भत्केका छन् । दिउँसो मैले खाद्यान्न पठाउने निश्चित जानकारी दिएपछि उनी काठमाडौंबाट हतारहतार गाउँ पुगेर सहयोग आउन लागेको खबर पुर्याएर आएका थिए र व्यग्र मानिसहरु गाडी पुग्ने अन्तिम ठाउँमा भेला भइसकेका थिए । युवकहरुलाई जम्मा पारेर उनले व्यवस्थित रुपमा अन्न वितरण गरेछन् । राती दश बजे त्यहाँ पुगेकाले खाद्यान्न पुर्याउन गएको भाइ बिकास पौडेलले अपेक्षा अनुसार फोटोहरु खिचेर ल्याउन सकेनछन् तर अघिल्लो दिन प्रजिअलाई सामाग्रीहरु बुझाउनुभन्दा यो सहयोग धेरै प्रभावकारी भएको उनको अनुभव थियो ।
एउटा चिनजानका भरमा त्यति सहयोग जुटाउन सकेकोमा सन्तुष्टिको साथ फेरिरहेका उनलाई मैले आग्रह गरेंः छिमेकी गाउँहरुमा पनि यस्तै भोकमरी छ भने जानकारी बटुलेर फोन गर्नु । तत्काल मानिसहरु भोकै छैनन् भने बल्ल हामीले त्रिपाल र अरु अत्यावश्यक सामाग्री पठाउन सक्छौं ।
यो अनुभव आफ्नो वा कसैको बडप्पन प्रकट गर्नका लागि शब्दमा उतारिएको हैन । अझै पनि राज्यको औपचारिक संयन्त्रको नजरबाट टाढा जीवनपुर झैं भोकभोकै परेका गाउँ बस्तीहरुको संख्या कम्तीमा सयौं होला । प्रभावकारी रुपमा परिचालन नभएसम्म काठमाडौं वा जिल्ला सदरमुकाममा जम्मा हुने स्रोत साधनले त्यस्ता बस्तीहरुमा राहत दिंदैन । सहयोग परिचालनमा संलग्न व्यक्ति र संस्थाहरुको यस्तै बस्तीहरुमा ध्यान पुगोस् र जम्मा भएको राहत प्रभावकारी तवरले वितरण होस् भनेर यो अनुभवलाई लेखमा उतारिएको हो । आशा छ, हामी सबैको सामुहिक प्रयासले त्यस्ता गाउँहरुको पीडा कम गर्न सहयोग गर्नेछ । आर्थिक अभावले आज चाहेर पनि हामीले जीवनपुरमै टेन्ट लगायतका अत्यावश्यक सामाग्री पठाउन सकेनौं, साबुन र स्यानीटरी प्याडजस्ता दैनिक उपभोगका सामानहरु पनि पठाउन सकेनौं । तैपनि जीवनपुरको जस्तै पीडा भोगिरहेका गाउँहरु खोज्ने र त्यहाँ यथाशीघ्र थप सहयोग पठाउने हाम्रो कोशिस जारी छ ।
(मैले यो अनुभव बाँडेपछि विजय दाजु र अमेरिकामा बसेका नेपालीहरु रमेश केसी, अञ्जु अधिकारी, नदिरा अर्याल, राम सुरेश महतो, उपेन्द्र काफ्ले, अम्बिका महतो, तीर्थ खरेल, मुकुल भट्टराइ, पदम हिराचन, किरण रेग्मी, विनोद वाग्ले, अमित रौनियार, नेहा उपाध्याय, हेम प्रकाश चटौत, शारदा चन्द, उपेन्द्र महत, शिव भट्टराइ र दीप्तिले संयुक्त रुपमा जम्मा पारेर पठाएको करीब साढे तीन लाख रुपैयाँ राहतका लागि हामीसँग तयारी अवस्थामा छ । त्यसबाहेक अमेरिका नेपाल मेडिकल फाउण्डेसन पनि आवश्यकताअनुसार आर्थिक सहयोग गर्न तयार छ । धरानबाट आएका तीन जना लगायत अरु केही स्वयंसेवीहरु पनि परिचालनका लागि तयारी अवस्थामा छन् । सहुलियत मुल्यमा खाद्यान्न जुटाइदिने र चिनेको गाडीको व्यवस्था गर्ने एक जना भरपर्दो व्यवसायीको सहयोग पनि हामीसित छ । त्यसैले चितवनबाट तुरुन्त पठाउन सम्भव हुने लम्जुङ, गोरखा, धादिङ, नुवाकोट, आदि जिल्लाका विकट र प्रभावित क्षेत्रमा हुने यो लेख पढ्ने साथीहरुले जीवनपुरमा झैं भोकमरीको अवस्था छ भने मलाई खबर गर्नुहुन अनुरोध छ ।
साथै गोरखपुरबाट मगाउन लगाएको पन्ध्र सय थान त्रिपाल र पाँच सय थान कम्बलका लागि जापानबाट ससीम पौडेलले रकम पठाउने व्यवस्था गर्दै हनुहुन्छ । कारणवश त्रिपाल नआइपुगेमा वा केही अपुष्ट सुचनाले भनेझैं युएनएचसीआरले एक लाख त्रिपाल बाँडेर तत्काल त्रिपालको अभाव नभएमा त्यो रकम खाद्यान्न लगायतको सहयोगका लागि तयार रहनेछ । साथै दुबईबाट हवाइ रुटबाट आउन नसकेर रोकिएको त्रिपाललगायतको राहत सामाग्री गोरखपुर र सुनौली हुँदै भित्र्याउने काममा भारतबाट साथी साना एम प्रयासरत हुनुहुन्छ, त्यो प्रयास सफल भयो भने ठूलो मात्रामा बन्दोबस्तीका सामान आउनेछन् ।)
No comments:
Post a Comment