राज्यको मात्र मुख ताक्ने हो भने लाखौं नागरिकहरु महिनौं भोकै र नांगै रहनेछन् । नागरिकको तर्फबाट सक्रियतापूर्वक सहयोग परिचालन गर्ने सही समय यही हो ।
अहिले नेपालीहरुको मनोदशा तीन किसिमको छः पीडित, सहयोगी र रमिते ।
पीडितहरुलाई यो विपत्तिबाट कसरी पार लाग्ने हो भन्ने चिन्ता छ, सहयोगीहरुलाई कसरी धेरैभन्दा धेरैलाई सहयोग गर्ने भन्ने चिन्ता छ अनि रमितेहरु तमाशा हेर्न व्यस्त छन् ।
टोलको मन्दिरलाई केही दिनअघि मात्र एकै जनाले एक लाख रुपैयाँ दान गरेका रहेछन् । मन्दिरको वार्षिक साधारण सभामा कुल आय व्यय कति भयो भनेर सार्वजनिक रुपमा बताउने कष्टसमेत गरिएनछ, पूरा पारदर्शिताका त कुरै छाडौं । त्यो पैसा कता जान्छ पत्तो छैन । तर त्यही कोषबाट भुकम्प पीडितहरुलाई सहयोग गरौं वा समूहका सयौं जनाबाट बीस बीस रुपैयाँ भए पनि उठाएर पठाऊँ भन्दा धेरैले ओठ लेप्र्याउँदै भनेछन्ः अहिले धेरैतिरबाट सहयोग आएर सरकारले खर्च गर्न सकेको छैन, हामीले किन दिनुपर्यो?
रातदिन खटेर उद्धार र सहयोगमा लाग्नेहरु पनि नेपाली नै हुन्, यी रमितेहरु पनि नेपाली नै हुन् । मौकामा घरघर पसेर चोरी गर्ने, गाडीमा दश गुना भाडा लिएर आपत्मा परेकाहरुलाई अझ निचोर्ने र अरु तमाम कालो बजारी गर्नेहरु पनि नेपाली नै हुन् । संकटमा अमूल्य सुचनाका लागि भनेर टेलिफोन कम्पनीहरुले दिएको सुविधा दुरुपयोग गरेर बाह्र घण्टासम्म लगातार विदेश फोन गरिरहने कपुतहरु पनि नेपाली नै हुन् ।
सबै किसिमका नेपालीहरु हामीकहाँ सधैं थिए तर अहिलेको विपत्तिले धेरैको असली रुपलाई बाहिर ल्याएको छ । यी सबै खालका रमिते र अवसरवादीहरुभन्दा अर्को तहबाट हेर्ने हो भने समाजका रुपमा हाम्रो दरिद्र मानसिकता पनि यो बेलामा छर्लंग भएर आएको छ ।
मासिक पाँच हजार रुपैयाँ तलब खानेले एक सय रुपैयाँ दान गर्न सक्छ भने मासिक पचास हजार वा एक लाखको हाराहारीमा कमाइ हुनेहरुले एकाध हजार सहयोग गर्नु ठूलो कुरा नहुनु पर्ने हो । कमाइ हुने कसैले सहयोग गर्दैनन् भन्ने कुरा पटक्कै हैन तर दान भन्ने कुराबाट ठूलो कमाइ गर्नेहरुको बहुमत संख्या अहिले पनि तर्केरै बस्न चाहन्छ भन्ने कुरा अहिले सहयोगका लागि जुटेका धेरै जनाको अनुभव छ ।
हामीले नै किन दिने? सरकारको काम हामीले किन गर्ने? दिएको पैसाको सदुपयोग हुन्छ भन्ने के ग्यारेन्टी? सहयोग नगर्नेहरुले सोध्ने मुख्य प्रश्न यिनै हुन् । मानवताका आधारमा गरिने सहयोगका बेला पहिला दुई प्रश्नको कुनै तुक छैनः आपत्का बेला जसले जसरी सक्यो, त्यसरी सहयोग गर्ने हो, राज्यले आफ्नो काम गर्यो वा गरेन भनेर मूल्यांकन गर्ने समय पछि आउँछ । तेस्रो प्रश्नचाहिं जायज हो तर त्यसपछिको नियत दुई किसिमको हुन सक्छः एक, निहुँ पारेर दिंदै नदिने, दुई, सहयोग सदुपयोग हुने निश्चित गरेर दिने । यसमा पनि धेरैको नियत पहिलो किसिमको हुने देखियो ।
पछिल्ला दशकहरुमा बिस्तारै भए पनि नेपालीहरुको आर्थिक समृद्धि बढेको कुरामा दुविधा छैन । हामी भारत वा चीनको गतिमा गरिबी कम गर्न असफल भएका हौंला, पूर्वी एशियाका राज्यहरुमा झैं जवाफदेही र पारदर्शी राज्य स्थापना गर्न असफल भएका हौंला तर मानिसहरुको आम्दानी र खर्च गर्ने शक्ति विगतमा भन्दा बढेको छ । तर दुर्भाग्य, चर्को गरिबीसित जोडिएर आउने मानसिक दरिद्रता अहिले पनि हामीमध्ये अधिकांशमा ज्यूँदै छ । बिदेशमा रहने नेपालीहरुमा बरु सापेक्षिक समृद्धि र उताको दान संस्कृतिको प्रभावले त्यस्तो सहयोगको तत्परता देखिन्छ तर नेपालमा त्यो प्रवृत्तिको विकास हुन अझै समय लाग्ने देखिन्छ ।
हाम्रो त्यही मानसिक दरिद्रता हामीले नयाँ पुस्तामा पनि सार्दै गइरहेका छौं । त्यसले गर्दा दान र सहयोगको संस्कृति पटक्कै विकास हुन सकिरहेको छैन । करोडौं सम्पत्ति भएको वयस्क मानिसले एक हजार दान गर्दा हात कँपाउँछ भने उसका सन्तानहरुले कस्तो व्यवहारिक शिक्षा पाउलान्?
अहिलेको भुकम्पको कुरा गर्दा, राज्य र अन्तर्राष्ट्रिय समुदायले गर्ने सहयोग र उद्धार आफ्नो ठाउँमा छ । तर त्यो पटक्कै पर्याप्त छैन । काठमाडौंमा राहत सामाग्री जम्मा हुनु र गाउँका मानिसले सहयोग पाउनु फरक कुरा हुन् । सहयोग लिएर गाउँमा पुग्न लागेको टोलीलाई बीस रुपैयाँ दियो भने पनि त्यो प्रत्यक्ष पीडितको हातमा पुग्न सम्भव हुन्छ । अस्पताल पुगेर दुई जना पीडितलाई फेर्ने लुगा दियो भने ती दुई जनाको उद्धार हुन्छ । सरकारले निःशुल्क उपचार भने पनि औषधि किन्ने पैसा नभएर दुखेको घाउ लिएर बसेका घाइतेलाई एउटै औषधि किनिदियो भने त्यो आफैंमा प्रभावकारी सहयोग हुन्छ । जसले एक सय मात्र दान गर्छ उसले दुई किलो चामलका लागि योगदान गरेको हुन्छ र त्यसले चार जनाको भोक मेट्छ । जसले पाँच हजार रुपैयाँ दान गर्छ उसले त तीसौं जना मानिसको एक छाकको जोहो गरिदिन्छ ।
जहाँसम्म सहयोग दुरुपयोगको कुरा छ, त्यो सम्भावना जहिल्यै रहन्छ तर त्यसको डरले सहयोगै नगर्नु भनेको त आफूले सहयोग गर्न सम्भव भएका धेरै मानिसलाई भोक र पीडामा रहन दिनु हो । त्यसबाहेक जो जोखिम मोलेर गाउँगाउँमा सहयोग गर्न खटिन तयार छन्, उनीहरु आफ्नो खल्ती भर्न पटक्कै त्यो काममा लागेका हैनन् । तीमध्ये सबैजसो आफैं पनि उल्लेख्य खर्च गरेर जान थालेका हुन् ।
यो लेख कसैको आलोचना वा निन्दा गर्न लेखिएको हैन । भुकम्पका झड्काहरु अब ढिलोचाँडो बन्द होलान् तर यसले सिर्जना गरेको त्रासदी अब वर्षौं कायम रहनेछ । राज्यले चाहेर पनि सबैलाई सधैं सहयोग गरिरहन सक्ने छैन । त्यसैले दीर्घकालका लागि दान र सहयोगको दिगो संस्कृति विकास गर्नु र भुकम्पबाट ज्यान र धन दुवै बचाउन सकेका भाग्यमानी नागरिकहरुले त्यसो गर्न नसकेका कम भाग्यमानी नागरिकहरुका लागि दिगो रुपमा सहयोग गर्नुको विकल्प छैन । विदेशबाट ठूलो मात्रामा आउने सहयोगभन्दा हामीले उठाएर पुर्याउने सहयोगको दुरुपयोग रोक्न र अत्यावश्यक क्षेत्रमा पुर्याउन तुलनात्मक रुपमा सहज छ । त्यसैले सम्भव भए सशरीर स्वयं सेवाका लागि जुट्नु र नभए आआफ्नो क्षमताअनुसार दान र सहयोग गर्न हामी सबै जुट्नुको विकल्प छैन ।
सहयोगको रकम दुरुपयोग नहोस् भन्ने एकदमै जायज चासो हो । तर त्यसका लागि बरु आफैं सक्रिय भएर सहयोग परिचालन गर्ने, सहयोग गर्नेहरुले सम्भव भएसम्म पारदर्शिता अवलम्बन गर्ने जस्ता उपाय अपनाउनुपर्छ, दुरुपयोगका डरले सहयोग नै नगर्ने विकल्प राम्रो हैन ।
(सहयोग अभियान अन्तर्गत प्रभावित जिल्लाका प्रकोप व्यवस्थापन समितिहरुको संयोजनमा उनीहरुकै प्राथमिकताअनुसार स्वयंसेवी मेडिकल टिमहरु परिचालित गर्दै जाने अभियान अन्तर्गत धरानस्थित बीपी प्रतिष्ठानका चिकित्सकहरुको ३० सदस्यीय टोली पहिलो चरणमा भोलि गोरखा पुग्ने गरी आज साँझ चितवन पुग्दैछ । त्यस्तै नोबेल मेडिकल कलेज विराटनगरको अर्को मेडिकल टिम पनि गोरखाका लागि हिंड्ने तयारीमा छ । स्वयंसेवीहरु र सहयोग रकम थप भएमा यो उद्धार कार्य थप बिस्तार गर्ने योजना छ । )
No comments:
Post a Comment