कुशासनको भित्तो मक्किसकेको छ र केही इँट झरिसकेका छन्, अझै धक्का दिऊँ, यो ढल्छ ।
अनशनको बाह्रौं दिन बिहान । नआओस् भनेको क्षण आखिर आइ नै हाल्योः आफ्नो विश्वसनीयता नै दाउमा राखेर केसी सरलाई अब अनशन तोडौं भनेर भन्नु पर्ने क्षण । एक किस्ता प्रयास गरौं भनेर अघिल्ला दुई दिन साँझ उहाँसामू पुगेका हामी उल्टै सरका क्रान्तिकारी कुराले प्रभावित भएर तमाम भ्रष्टहरुलाई कारवाही नभएसम्म अनशनसहितको आन्दोलन जारी राख्न राजी भएर फर्केका थियौं ।
तर अब कुरा अर्कै भइसकेको थियो । विगत चार दिनदेखि सरको मुटुको गतिले अनपेक्षित चेतावनीहरु दिइरहेको थियो । उहाँको कायम आत्मबल एकतिर थियो तर शरीरले ‘अब पुग्यो’ भन्ने अनेक सन्देशहरु दिइरहेको थियो । किञ्चित् उहाँको शरीरलाई केही भयो भने सरकारी वार्ता टोलीले चेतावनी दिने गरे झैं भुईको टिप्न खोज्दा पोल्टाको झर्ने अवस्था आउने थियो । त्यो मुल्य तिर्न हामी कसै गरी पनि तयार थिएनौं ।
अर्कोतिर सरकारले हामी नमानेको खण्डमा सम्झौतै नगरी एकपक्षीय रुपमा प्रतिबद्धता जारी गरेर वार्ता अन्त भएको घोषणा गर्ने तयारी गर्दै थियो । राज्य यो मामलामा त्यति सजिलै उम्कन सक्ने अवस्था थिएन तर त्यो भएको खण्डमा उतापट्टिका इमान्दार र मेहनती वार्ताकारहरु (मुख्य सचिव लीलामणि पौड्याल र योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेल)लाई हामीले गुमाउने र राजनीतिज्ञहरुको तिकडमसित प्रत्यक्ष भिड्नुपर्ने अवस्था अवश्यम्भावी थियो । हिलोमा डुबेर आएका मानिसहरुसित हिलो तर्काएर भिड्न सकिएला भन्ने त सोच्ने कुरा पनि भएन ।
दश दिनको अठार घण्टे रुटिन अनि केही घण्टा लामो पातलो निद्राले आफ्नै ज्यान कायल भइसकेको थियो । खाली तनावजन्य हर्मोन एड्रिनालिनको सहारामा धानिएको ज्यानले अरु कति दिन त्यो तनाव खेप्न सक्थ्यो, त्यो पनि थाहा थिएन । अर्कोतिर अनशन हलभन्दा बाहिरको स्थिति बिस्तारै नियन्त्रणबाहिर जाँदै थियो । एक दिनकै ओपीडि बन्दले राज्यलाई समस्याको समाधान खोज्न धेरै दबाब दिएको त थियो तर त्यसले यस्तो स्थिति पनि सिर्जना गर्दै थियो जहाँ अनशनकै कार्यक्रम पनि अघिल्ला दिनहरुमा झैं निर्विवाद अघि बढ्न सक्दैनथ्यो ।
त्यसमाथि अघिल्लो दिन विजय कुमार दाइले दिनुभएको र त्यसै बिहान नागरिक अगुवाहरुले दिएको अचुक सल्लाह पनि मननयोग्य थियोः डा गोविन्द केसी दुरुस्त रहे मागहरुको आंशिक संबोधनमा पनि सन्तोष गर्ने ठाउँ रहन्छ र अन्तिम निर्णय उहाँकै भए पनि अवस्थालाको समग्रता उहाँलाई बुझाएर सही निर्णय लिन सहयोग गर्नु हाम्रो कर्तव्य हो ।
बिहानै उठेर म उहाँको बेडनेर पुगें तर उहाँ त राती दुई बजे मात्र निदाउनुभएको रहेछ र गहिरो निद्रामा हुनुहुन्थ्यो । अब छट्पटी शुरु भयो । सरले मान्ने छाँट देखाए त अन्तिम चरणको वार्तामा जति मेहनत पनि गर्न सकिन्थ्यो तर नदेखाइदिए के गर्ने?
सर ब्युँझेपछि वार्तालाप शुरु भयो । जुनसुकै अवस्थामा पनि निःशर्त र अन्तिम क्षणसम्म सरको प्रयासमा हामी नै हुन्छौं भन्ने कुरा दोहोर्याउँदै मैले भनेंः सरलाई अवस्थाको समग्रता बताउन मात्र म आएको हुँ । अघि थपेंः आज अनशन तोड्न सकियो भने हाम्रा लागि सबैभन्दा ठूलो उपब्धि यो हुनेछ कि तेस्रो र चौथोपटक उहाँ जति गल्नुभएको थियो, त्यति नगल्दै अनशन तोडिनु । त्यसपछाडि अवस्थाको समग्रताका कुरा भए ।
भाग्यवश हामी अवस्थाबारे जस्तो निश्कर्षमा पुगेका थियौं, अघिल्लो रातको विश्लेषणमा सर पनि करीब त्यस्तै निश्कर्षमा पुग्नुभएको रहेछ र त्यो बिहान हामी निराश हुनु परेन । सरले अनशन तोड्न सक्ने संकेत दिएकैले अन्तिम चरणको वार्तामा हामी पहिलेभन्दा धेरै जोश जाँगरका साथ लाग्यौं र केही महत्वपूर्ण उपलब्धि पनि हासिल भए ।
####
मैले डा गोविन्द केसीलाई देखेको र चिनेको २०६९ सालमा उहाँको पहिलो अनशनताका हो । त्यस बेला म तीन वर्षमा झण्डै दुई हजार चोटि हेरिएको एउटा ब्लग चलाउँथें । किशोरकालको आदर्शवाद हराएर जाँदै गरे पनि त्यसका केही निशानाहरु ममा बाँकी थिए । त्यही आदर्शवादको व्यवहारिक रुप कस्तो हुन सक्छ भन्ने कुरा उहाँमा देखेपछि मैले उदारतापूर्वक उहाँका पहिला दुई अनशनबारे ब्लगहरु लेखें । पहिलोपल्ट दैनिक सयौं मानिसहरुले मेरो ब्लग पढ्न थाले ।
पहिला दुई अनशन सकिएसँगै सम्बन्ध फेरि पातलिएर गयो, ब्लग फेरि केही सुस्त भयो तर पहिलेभन्दा बढी मान्छे चाहिं पाठकको रुपमा आइरहे ।
डेढ वर्षमा तेस्रो अनशन शुरु हुनु मेरो लेखन र सामाजिक जीवनमा महत्वपूर्ण घुम्ती बनेर आयो । मिडियाको अति कमजोर र सतही कभरेजबाट विरक्त भएर मैले उतिबेला भर्खर प्रकाशित हुन थालेको सेतोपाटीलाई एउटा भावुक इमेल लेखें । प्रत्युत्तरमा अमित दाइ र किरण भण्डारीजी मलाई भेट्न आउनुभयो अनि शुरु भयो सेतोपाटीसित मेरो सम्बन्ध । शुरुआतमै त्यो कति प्रगाढ भयो भने त्यो बेलामा अनशनका दुई हप्तामा मेरा बाह्रवटा सम्म लेख छापिए सेतोपाटीमा । पहिलोपल्ट हजारौंको संख्यामा मानिसहरुले मेरा लेख पढ्न थाले । त्यसयता कान्तिपुर र अन्नपूर्ण पोस्टमा छापिएका मेरा लेख पनि उक्त पृष्ठभुमिविना नछापिने सम्भावना अधिक थियो ।
चौथो अनशनपछि भने केसी सरसित व्यक्तिगत सम्बन्ध प्रगाढ भइसकेको थियो । सरको लेखन र मेरो सम्पादनमा थुप्रै लेखहरुले दिनको उज्यालो देखे । कापीमा लेखिएका पाँच हजारभन्दा बढी शब्दका लेखलाई पन्ध्र सय शब्दमा झारेर पुनःलेखन गरिदिएको अनुभव पनि छ मसँग । विगतका अनशनभन्दा यसपालि छिटो र संगठित रुपमा मिडिया र नागरिक समाज उत्रिनुमा सरका तिनै लेखहरु र केही मेरा आफ्नै लेखहरुको भुमिका थियो भन्ने मलाई लाग्छ ।
तर जब राज्यको चरम गैर–जिम्मेवारी र लाचारीबाट वाक्क भएर सरले नयाँ अनशनको जिकिर गर्नुहुन्थ्यो, त्यसले मलगायत सरका सबै शुभचिन्तकहरुलाई चिन्तित तुल्याउँथ्यो । न्यायालय र अख्तियारसहित राज्यका अंगहरुको राजनीतिकरण अनि राजनीतिको अन्तहीन भ्रष्टीकरण र अपराधीकरण– यसले नेपालका सबै क्षेत्रलाई भड्खारोमा जाक्दै गइरहेको थियो तर त्यसलाई रोक्न जीर्ण भएको उहाँको शरीरलाई बन्धक राख्नु किमार्थ उचित लाग्दैनथ्यो । त्यसैले अनशनको धम्कीले काम गरेसम्म अनशनै शुरु नगरीहालौं भनेर विगत वर्षमा धेरै पल्ट हामीले उहाँलाई अनशन बस्ने निर्णय पछिलाई सार्न मनाएका थियौं ।
तर १४६ सभासद् बाट शुरु भएको पछिल्लो अभियान विगतको अनशनका उपलब्धिलाई कुल्चेर जाने निश्चित भएपछि न सरलाई कसैले रोक्न सक्थ्यो, न त हामीले मुख फोरेर फेरि उक्त कदम पछि सार्न भन्न नै सक्थ्यौं । धेरैचोटिको सम्पादन र सुधारपछि सरका मागहरुको अन्तिम सुची तयार भएपछि फ्याट्ट घोषणा भयो पाँचौं अनशनको ।
####
अनशनको दोस्रो हप्ताको अन्ततिर पुग्दा जुन व्यापक समर्थन प्राप्त भयो, शुरुमा त्यस्तो अवस्था थिएन । पहिलो र दोस्रो रात सरलाई राती कुर्ने मानिस समेत एक–दुई जनाभन्दा धेरै नभएको भन्ने समाचार आएपछि म हतपत चितवनबाट बिदा लिएर तेस्रो दिन काठमाडौं पुगेको थिएँ । एकतिर सतहमा विद्यार्थी र चिकित्सकहरु सेवा अवरुद्ध भयो भने राज्यले निशाना बनाउला भनेर तर्किरहँदा कतै विगतमा भन्दा डा केसी धेरै एक्लिएका त हैनन् भन्ने प्रश्नहरु उठिरहेका थिए भने अर्कोतिर सेवा अवरुद्ध भएपछि आन्दोलनलाई बदनाम गरेर गोविन्द केसीलाई नांगेझार बनाउन पाइएला भनेर पर्खेका विपक्षीहरु निराश र लाचार हुँदै गइरहेका थिए ।
त्यही बेला मिडियाले सार्थक हस्तक्षेप गर्यो र अनशनको पक्षमा जनमत बनाउन निर्णायक भुमिका खेल्यो । पहिलो हप्ता अन्त हुँदै गर्दा नागरिक दैनिकको नियमित कभरेजसँग ढिलै भए पनि प्रतिष्पर्धामा ओर्लेको कान्तिपुरको शनिवारीय कभरेज (खास गरी बसन्त बस्नेतको ‘सत्याग्रहको तागत’) ले त्यस्तो जनमत सिर्जनामा ठूलो भुमिका खेल्यो । पहिलो हप्ताकै बुधबार सेतोपाटीमा प्रकाशित ‘प्रधानमन्त्रीजी, पढ्नुहोस् मेडिकल कलेजहरुको हालत’ शीर्षक खोजमूलक लेखले त समस्याको जरोमै पुगेर कायम बेथिति र त्यसलाई अन्त गर्ने डा केसीको प्रयासलाई एक ठाउँमा ल्याएको थियो ।
ट्याब्लोइड पत्रकारिताबाट माथि उठ्न र मिडिया हाउसको सम्पादकीय र आर्थिक विभागलाई पृथक् गर्न अझै संघर्षरत नेपालका टिभी च्यानलहरु पनि केही अपवादसहित ढिलो गरेर आए र यो आन्दोलनको मर्मलाई अरु धेरै मानिसहरुसम्म पुर्याउन सघाए ।
डा केसीको नैतिक बलमा प्रिन्ट र अनलाइन पत्रकारिताको लगावले स्थितिलाई आन्दोलन अनुकूल बनाउँदै आएपछि आम चिकित्सकलगायत नागरिक समाज र आम मानिसहरु यस पालिको अभियानमा उत्रेका हुन्भन्दा अत्युक्ति नहोला ।
सहमतिमा आन्दोलन टुंगिएपछि अहिले धेरैको प्रश्न छः अब के हुन्छ? विगतमा झैं कागजको सहमति कागजमै सीमित हुँदैन भन्ने के ग्यारेन्टी?
####
ग्यारेन्टी यसपालि पनि छैन तर पहिलेभन्दा अहिले माहोल फरक भएकाले आशावादी हुने ठाउँचाहिं छन् । राज्य र यसका हर्ताकर्ताहरु पहिलेभन्दा अब इमान्दार भएको भन्ने हैन तर नचाहेर पनि कतिपय सम्झौता कार्यान्वयन गर्न उनीहरु बाध्य हुनेछन् । त्यो अवस्था र दबाबको सिर्जना हुनु नै योपल्टको नदेखिने तर ठूलो उपलब्धि हो ।
आइओएमको डिन नियुक्तिको विषयलाई लिएर भएको पहिलो अनशनबाट पाँचौं अनशनमा आइपुग्दा डा केसी नेतृत्वको अभियान समग्र स्वास्थ्य सेवा सुधारको एजेण्डामा पुगेको छ । सार्क सम्मेलन अघि अनशनको धम्कीको परिणामस्वरुप बनेको एउटा समितिले अहिले चिकित्सा र स्वास्थ्य शिक्षा नीति बनाउन तीव्रताका साथ काम गरिरहेको छ । इमान र क्षमताका लागि चिनिएका विज्ञहरु भएको उक्त समितिले यो अनशनका बलमा निर्धक्क र दबाब विना प्रतिवेदन दिने स्वतन्त्रता मात्र पाएको छैन, उक्त प्रतिवेदन कार्यान्वयनका लागि कानुन नबनेसम्मका लागि नयाँ सम्बन्धन रोकिएकाले राज्यले नयाँ सम्बन्धनकै लागि भए पनि छिटो त्यसको कार्यान्वयन गर्ने सम्भावना छ । त्यसबीच सम्बन्धनका लागि प्रयोग हुनसक्ने सम्भावित छिद्रहरु (बिस्तारित कार्यक्रम आदिका नाममा) यही सम्झौतामार्फत् टालिएका छन् । सम्झौताप्रति उत्साहित मुख्य सचिव लीलामणि पौड्यालका शब्दमा माथेमा समितिलाई नेपालका लागि अमेरिकाको फ्लेक्सनर समितिले झैं युगान्तकारी जिम्मेवारी निभाउने अवसर छ ।
अराजकता र दण्डहीनताको खाडलमा देश जाकिएको दशकौं भएकैले हामी सकारात्मक परिवर्तन सम्भव छ भन्ने सुन्दै आँखीभौं खुम्च्याउने भइसकेका छौं तर डा केसीको पछिल्लो अनशनको सफलताले त्यस्तो सम्भावनाको बाटो खोलेको छ । आफ्नो तर्फबाट राज्यले बेइमानी गर्ने सम्भावना जहिले पनि रहन्छ तर नागरिकहरुको यथाचित दबाबले त्यो सम्भावनालाई पनि टाल्न सकिन्छ ।
त्यसबाहेक दण्डहीनताको अन्तका लागि दोषीलाई कारवाही गर्ने माग पूरा गर्न सरकार तयार नभएकै हो तर यी पंक्ति लेखिंदै गर्दा विवादमा मुछिएका नेपाल मेडिकल काउन्सिलका अध्यक्षले राजीनामा दिएको समाचार आएको छ । कारण जे देखाइए पनि डा केसीको नेतृत्वमा काउन्सिलको नाकैमुनि व्याप्त भद्रगोल उदांगो नभएको भए उनले पद नछाड्ने कुरा स्पष्टै थियो । त्रिवि पदाधिकारीहरुको म्याद सकिन थालेको भनिएको छ, त्यसबाहेक तिनको पनि सम्बन्धन दिएरै छाड्छौं भन्ने चुरीफूरीमा सम्झौताले पूर्णविराम लगाइदिएको छ । केयु पदाधिकारी अहिलेलाई कायम छन् तर न्यायिक आयोगको छानविन प्रतिवेदन आउनुअघि नै बदनामीको डरले तिनले पनि पद छाड्नेछन् भन्ने मेरो अपेक्षा छ । अल्पसंख्यक समुदायकी महिला भएकैले जति बदमासी गरे पनि पदमा टाँसिइरहेकी शिक्षा मन्त्रीको राजनीतिक भविष्य पनि अब शायद त्यति उज्ज्वल छैन जति विगतमा थियो ।
####
अनशनको पहिलो हप्ताकै कुरा हो, नयाँ नेपाल कार्यक्रममा बहसका लागि बीबीसी नेपालीबाट निम्तो आयो । रेकर्डका लागि गइयो, रेकर्ड शुरु हुनुअघि बहसको अर्को पक्षका एमाले नेता वंशीधर मिश्रले अनौपचारिक रुपमा दिएको धारा प्रवाह प्रस्तुतिपछि लाग्योः अहो, मेरो त आज वाक्य नै फुट्दैन क्यार । सरको चौथो अनशनका बेला कान्तिपुर एफएममा झुक्याएर मनमोहन मेडिकल कलेजद्वारा प्रायोजित कार्यक्रममा बोलाएर मिश्रसँगै मलाई बहस गराइएको थियो । अनुभव त्यति प्रीतिकर थिएन । तर कार्यक्रम शुरु भए पछि म राम्रै बोलेंजस्तो लाग्यो । पछि बिबिसीले सम्पादन गरेर अझ राम्रो र धारा प्रवाह बनाइदिएछ । म रातारात लेखकबाट वक्ता भएँ । हुँदाहुँदा साथीहरुले त मबाट यति धेरै अपेक्षा गर्न थाले कि टेलिभिजनमा म गएर विपक्षीलाई नांगेझार पारुँ, जबकि बोलाइको भाषा मेरो दुर्बलता रहिआएको छ ।
इमेज च्यानलमा एउटा औसत प्रस्तुतिपछि अनशन तोडिएको दिन एभिन्युज टिभीमा लाइभ कार्यक्रमका लागि निम्ता आयो, अर्का वक्ता थिए माननीय राजेन्द्र पाण्डे । त्यहाँ पुगेर केही पर्खंदैखेरि मैले थाहा पाएँ त्यो कार्यक्रम पूरा इमान्दारीका साथ गर्न लागिएको थिएन । ‘अनशनको अस्त्र’ नाम दिइएको लामो कार्यक्रमको एक भागका रुपमा हाम्रो बहस राखिएको थियो । हतारमा लतरपतर गरेर बनाइएको कार्यक्रममा चालु भइसकेका मेडिकल कलेजहरुलाई सम्बन्धनका लागि पर्खिएका कलेजको सुचीमा राखिएको थियो र अहम् महत्वको दशबुँदे सम्झौतालाई नछोई सम्बन्धन रोकिंदा हुन जाने आर्थिक क्षतिमा मात्र ध्यान केन्द्रित गरिएको थियो ।
स्वभावतः मेरो प्रस्तुतिले धेरै साथीहरु निराश भए । तर त्यो कार्यक्रमले एउटा महत्वपूर्ण शिक्षा दियो । जीवनमा खेलहरु सधैं आफ्नो अनुकुलतामा हुँदैनन् । प्रतिकुल परिस्थितिमा पनि खेल्नु र प्रतिकुल नतिजालाई पनि स्वीकार्नु ठूलो कुरा हो । कार्यक्रम सकिएपछि केसी सरलाई फोन गरें, उहाँको पहिलो प्रतिक्रिया थियोः एक्सेलेण्ट । त्यसका दुइटा अर्थ हुन्थेः एउटा अति राम्रो । अर्कोः प्रस्तुति झुर तर प्रयास अति सराहनीय । म दुवै अर्थका लागि तयार थिएँ ।
###
आशा छ, उहाँले अब छैठौंपटक अनशन बस्नुपर्ने छैन । त्यसो भयो भने उहाँको ऊर्जालाई धेरै सकारात्मक कुराहरुमा लगाउन सकिने सम्भावनाहरु जीवितै छन् । अहिल्यैदेखि न्यायिक आयोगको प्रतिवेदन आएपछिसम्म नियामक निकायहरुमा जुन नियुक्ति हुनेछन्, तिनमा अप्रत्यक्ष भए पनि हस्तक्षेप गरेर योग्य र इमान्दार मानिसहरुलाई पुर्याउन सक्ने हो भने राजनीतिक हस्तक्षेप र वितण्डाले अधमरो भएका ती निकायहरु फेरि बौरिने कुरामा शंका छैन । दण्डहीनता निरपेक्ष छैन भन्ने आभास भए मात्र पनि राजनीतिज्ञहरु समेत केही उत्तरदायी हुने निश्चित छ ।
त्यसैले यो समय भनेको डा केसीसित योपल्ट भएको सम्झौता कार्यान्वयन होला कि नहोला भनेर किनाराबाट हेर्ने हैन कि त्योे कार्यान्वयनको सुनिश्चितताका लागि हामी सबैले आआफ्नो ठाउँबाट के गर्न सक्छौं भन्ने हो । अरु केही गर्न नसके पनि राजनीतिज्ञहरुलाई खबरदारी गर्न र अनियमितताका लुकेका पाटाहरुलाई बाहिर ल्याउन नागरिकहरुले धेरै काम गर्न सक्छन् । मिडियाले त ती काम धेरै प्रभावकारी रुपमा गर्न सक्छन् ।
‘म त छोड्नेवाला छैन’ भन्ने डा केसीको ट्रेडमार्क अभिव्यक्ति हामीले पनि आआफ्नो क्षमताअनुसार दोहोर्याउनु र त्यसअनुसार काम गर्नु जरुरी छः हामीले छाडिदिएरै त यो देशमा कुशासनको बिगबिगी भएको हो, जुन दिन सुशासन चाहने हामी सबै जाग्छौं, समाज र राजनीतिका खलपात्रहरुको ओरालो यात्रा शुरु हुनेछ । डा केसीले हल्लाएर मक्काइदिएको कुशासनको त्यो भित्तो अब सबै मिलेर भत्काउन बाँकी छ, केही थान इँट्टा त झरिनै सकेका छन्, आउनोस् होस्टेमा हैंसे गरौं ।
No comments:
Post a Comment