कमजोर मानिसहरु झट्टै रुन्छन् । तर ती वयस्क मानिसहरु जो धेरै नै कमजोर छन्, तिनीहरुचाहिं रुन समेत सक्दैनन् किन भने रोएको देखेर कसैले खिज्याउला वा कमजोर ठान्ला कि भन्ने त्रास हुन्छ उनीहरुमा । त्यसैले रुनु मानवीय कमजोरी हैन भन्ने मेरो मान्यता छ ।
थिएटर भिलेजमा अनुप बराल निर्देशित नाटक कोर्ट मार्शल हेर्दाको कुरा हो । दोस्रोपटक हेर्न जाँदा पूर्व प्रम बाबुराम भट्टराइ पनि नाटक हेर्न पुगेका थिए । उनीसित भएका सुरक्षाकर्मीहरु हामीसँगै दर्शकदीर्घाको अगाडिको भागमा भुईँमा बसेका थिए । सुरक्षा निकायमा तल्लो तहका मानिसहरुमा हुने चरम शोषण नाटकमा यति जीवन्त रुपमा देखाइएको थियो कि खास दृश्यहरुमा गला अवरुद्ध नहुने र आँशु नझार्ने त शायद कोही थिएन होला । तर हामीलाई जे कल्पनाको कुरा थियो, ती प्रहरी जवानहरुलाई त त्यो दैनिक भोगाइको कुरा थियो ।
जब मञ्चमा हत्याको आरोप सकार्ने बेला बीर बहादुरले आफूले जर्नेल वा कर्नेललाई हत्या गर्नुको कारण बताउँदै आफूमाथिको दुव्र्यवहार बयान गरेर भक्कानो छोडेर रुन थाल्यो, पोशाकमा रहेका प्रहरीहरुले टोपी फुकालेर आँशु पुछ्न थाले । शायद अचानक थिएटरमा गएर त्यस्तो दृश्य हेर्न पाइएला भनेर उनीहरुले सोचेका पनि थिएनन्, खल्तीमा रुमाल नै थिएनन् होला र भए पनि शायद निकाल्ने होश पनि रहेन होला ।
....................
जीवनमा खुशी र सन्तुष्टिको ढोंग गर्दागर्दै आजको मानिसले दिल खोलेर हाँस्न र रुन दुवै बिर्सिसकेको छ । समय समयमा नरुने मानिसको मन निचोर्दा दुख्ला भनेर ननिचोरेर राखिएको पिलोजस्तै लाग्छ । त्यसो त मानिसले ढोंग र अभिनयमा पोख्त हुँँदाहुँदै आफूले सिर्जना गरेका भ्रममा आफैं विश्वस्त हुँदै पनि गएको छ ।
हो, त्यस्तो ढोंगको खोलबाट आजको मानिस कुनै कुनै क्षणहरुमा बाहिर आउँछः दिल खोलेर हाँस्दा र दिल खोलेर रुँदा । अक्सर हामी हाँस्छौं तर त्यो हाँसो त्यति गहिराइबाट आउँदैन, त्यो उन्मुक्त र सीमाहीन हुँदैन । रुनका लागि आफन्तजनको मृत्यू नै पर्खनुपर्ने मानिसहरु अहिलेको संसारमा धेरै छन् । कपट र जालझेलबाट सिर्जित हाँसो र रुवाइ दुवै सतही हुन्छन् ।
जीवनको गतिविहीनता र एकाकीपनबाट वाक्क धेरै मानिसहरुले मदिरामा उन्मुक्ति खोज्छन् र तिनीहरुको एउटा उल्लेख्य हिस्सा खास गरी परिवारका सदस्यहरुका लागि परपीडक हुन्छ ।
आफ्नो वरपरको सिर्जना र सौन्दर्य हेरेर हाँस्न अनि मानिसहरुको वास्तविक दुख देखेर रुन बिर्सिसकेको कठोर र यन्त्रवत् मानिसले आज मानसिक स्वास्थ्यका लागि रुन र हाँस्न पनि अरुको कलाको सहायता लिने गर्छ ।
....................
काठमाडौं छाडेपछि नाटक हेर्नबाट वञ्चित हुनु स्वभाविकै थियो । त्यसैले एकदिने बिदामा त्यहाँ पुगेको बेला एउटा नाटक त हेर्नैपर्यो भनेर मण्डला थिएटर पुगियो ।
नाटकको अन्तिम दृश्यमा पुगुञ्जेल हँसाउने र गला अवरुद्ध गराउने धेरै क्षणहरु आइसकेका थिए । तर त्यहाँ पुगेपछि स्थिति असहज भयोः मञ्चका कलाकारसँगै भक्कानो फूट्लाजस्तो भएर आफू पनि डाँको छोडेर रोइएला जस्तो पो भयो, आँशु चिउँडोसम्म पहिल्यै पुगेका थिए । त्यसो हुनबाट रोक्न राम्रै प्रयास गर्नुपर्यो र सफलता पनि मिल्यो । तर नाटकले यति जबर्जस्त प्रभाव छाड्यो कि, त्यसलाई शब्दमा बयान गर्न सकिंदैन ।
माथा पञ्चर नामको उक्त नाटक दृश्यहरुको भावुकताले मात्र त्यस्तो प्रभावशाली भएको हैन । बारा जिल्लाको एउटा सत्य घटनामा आधारित भएर लेखिएको उक्त नाटक अहिलेको नेपाली समाजको दुरुस्त ऐना त हो नै, समय र पात्रको सीमितताबीच निर्देशकले त्यति गहिराइमा पुगेर कथा भन्लान् भनेर नाटक नहेरेसम्म कसैले अपेक्षा गर्न सक्दैन ।
काठमाडौंमा अरु पनि राम्रा र शक्तिशाली नाटकहरु मञ्चन भएका छन् । तीमध्ये कोर्ट मार्शल उत्कृष्ट हुँदाहुँदै पनि त्यसको मौलिक लेखन भारतीय लेखकले गरेका हुन् । भोपाल र अफ फर सम् डेज्जस्ता विशेष नाटकहरु विदेशी भाषामा बनेका र उतैका कलाकारले सिर्जना गरेका नाटक थिए, अफ फर सम् डेज् त विख्यात नाटककार हेनरिक इब्सेनको विश्वप्रसिद्ध नाटकको पर्सियन भाषाको प्रस्तुति नै भयो । माथा पञ्चर नै यस्तो पहिलो त्यस्तो नाटक बन्न पुगेको छ जुन नेपालको कथालाई नेपाली सर्जकले टिपेर त्यति शक्तिशाली रुपमा प्रस्तुत गरेका छन् ।
सारमा भन्नुपर्दा, नाटक हाम्रो समाजको अन्याय र अव्यवस्थाको दुरुस्त चित्र हो । फरक फरक पात्रहरुले समाजका ती विभिन्न हिस्साहरुको प्रतिनिधित्व गर्छन् जसले त्यो अन्याय र अव्यवस्थालाई चिर्न हैन कि त्यसलाई भजाएर अर्कालाई मारेर भए पनि आफ्नो स्वार्थ पुर्ति गर्न तल्लीन हुन्छन् । एउटाको हार नभई अर्काको जीत हुँदैन । कसैले हार्नु नपर्ने अवस्था सिर्जना गर्न वा योग्यको जीत र अयोग्यको हार सुनिश्चित गर्नमा कसैको ध्यान छैन, जसको ध्यान छ ती अल्पसंख्यामा र निरुपाय छन् ।
सरकारी स्कुलका लागि दुई शिक्षक छनोटको सामान्य कथालाई लिएर लेखक तथा निर्देशक राजन खतिवडाले समग्रमा नेपालको बेहाल र दुर्दशालाई चित्रित गरेका छन् । खास गरी गत दशकभर निर्वाचित जन प्रतिनिधिहरुको अभावमा दलहरुका स्थानीय नेताहरुको स्वार्थका बन्धक बनेका शिक्षण संस्थालगायतको बेहाल नाटकमा दुरुस्त छ ।
तर मेरा लागि भने नाटक बाराको दुर्गम गाउँको चित्रणका लागि भन्दा नेपालको राष्ट्रिय राजनीतिलाई सांकेतिक रुपमा गरेको व्यंग्यका लागि बेजोड रह्यो । शिक्षक छनोटका लागि अन्तर्वार्ता लिन बसेको सञ्चालक समितिको सदस्य एउटा व्यापारीले एउटा उम्मेदवारलाई सोध्छः धानको गाडा पल्टेर नालीमा पर्यो भने धानका बोरा पानीमा डुब्छन् किन? उम्मेदवारले बिस्तारमा बताउँछ कि कसरी पानीको भन्दा धानको घनत्व बढी भएकाले धान पानीमा डुब्छ । तर उत्तरै नबुझेको प्रश्नकर्ताले उपेक्षासाथ भन्छः धानलाई पौडी खेल्न आउँदैन, त्यसैले डुब्छ भने भैगो नि ।
त्यो व्यापारी पात्रले मलाई नेपाल राज्य हाँक्न बसेका केही लौह पुरुषहरुको याद गरायो । झूर न्याय सम्पादनका लागि भनेर बदनाम भएका न्यायधीशहरुलाई सर्वोच्चमा ल्याएपछि आलोचना भोगेका नेपालको न्याय परिषद्का सदस्यहरुसित आफ्नो बचाउमा भन्न मिल्ने केही थिएन । स्पष्टतः योग्य र न्याय सम्पादनमा क्षमता प्रमाणित गरेका न्यायधीशहरुलाई अन्यायपूर्वक तलै छाडेर धानले पौडी खेल्न जान्दैन भनेर जवाफ दिने पाराका धुर्तहरुलाई उनीहरुले सर्वोच्चमा ल्याएका थिए । उनीहरुको नालायकीका लागि नेपालको न्यायालयले कति दशकसम्म मूल्य चुकाउनुपर्ने हो र त्यस क्रममा कति हजार वा लाख नेपालीहरु अदालत पुगेर अझ चर्को अन्यायमा पर्ने हुन्, त्यो हेर्न बाँकी नै छ ।
नाटकमा एउटी नखरमाउली महिलाले तीनपल्ट एसएलसीमा फेल भएको आफ्नो भाइलाई शिक्षक बनाउन ऊ अस्ट्रेलिया पुगेर आएको हौवा फैलाउँछे र छनोट समितिलाई आफ्नो यौवनले प्रभावित गरेर उसलाई स्कुलमा छिराउन प्रयास गर्छे । उक्त महिलाको चरित्रले नेपालको उच्च ओहदामा पुगेका धेरै अयोग्य र भ्रष्ट मानिसहरुको पदारोहणको बाटो देखाउँछ । पछिल्लो समयमा भ्रष्टाचार प्रमाणित भएको व्यक्तिलाई नेपालभरको स्वास्थ्य क्षेत्रको नियामक निकाय नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने स्वास्थ्य मन्त्रीको कदम उक्त महिलाको प्रयासजस्तै थियोः अयोग्य र पदका लागि सर्वथा नालायक मानिसलाई निहित स्वार्थका लागि पदमा पुर्याउनु । त्यसका लागि नेपालको सिंगो स्वास्थ्य क्षेत्रले कति दशक मूल्य चुकाउनु पर्ने हो, कति लाख मानिस स्वास्थ्य सेवाबाट वञ्चित हुने वा कमसल चिकित्सकको फेला पर्ने हुन्, त्यसको कुनै लेखाजोखा छैन ।
र अन्ततः नेपालको अहिलेको राज्यका हर्ताकर्ताहरुको सांगोपांगो प्रतिनिधित्व गर्छ एउटा हनुमानले जो गाउँको एउटा योग्य र विपन्न व्यक्तिको भाग हडप्न मन्त्रालयबाट तोक लगाएर पुग्छ । अहिले नेपालका प्राविदेखि विश्वविद्यालयसम्म अनि उपस्वास्थ्य चौकीदेखि केन्द्रीय अस्पतालसम्म त्यस्ता हनुमानहरुले भरिएका छन् । तिनको जवाफदेहीता नियुक्त गर्ने दलीय नेताप्रति हुन्छ र त्यो जवाफदेहिताको आधार हुन्छ उनीहरुको उक्त पार्टी, गुट र नेताप्रतिको वफादारी । नियुक्ति दिने र नियुक्त हुने दुवैलाई त्यो पदको व्यक्तिले आम मानिसलाई दिनुपर्ने सेवाप्रति कुनै सरोकार हुँदैन । एकतिर अनावश्यक पदहरु सिर्जना गरेर हनुमानहरु पठाउँदा राज्यले थप भार व्यहोर्छ, अर्कातिर हुनमान कार्यालय गएर एउटा सिन्को भाँच्दैन ।
हुँदा हुँदा दलीय हनुमानहरुलाई न्यायधीशसमेत बनाएर पठाउन थालिएपछि तिनले दलका कार्यकर्ता भएकै कारण बलात्कारीलगायतका अपराधीहरुलाई ससम्मान उन्मुक्ति दिनु अब नेपालमा सामान्य भइसकेको छ । विवेक, नैतिकता र मानवता पहिल्यै पार्टी कार्यालयमा बेचेर नियुक्त हुने अनि पदभार गर्नु अघि कृतज्ञता टक्र्याउन पार्टी कार्यालय पुग्ने यस्ता हनुमानहरुबाट न्यायको अपेक्षा गर्नु पनि धृष्टता नै हुन्छ । एकतिर जालझेल, हत्या र बलात्कारका शिकारहरु न्याय नपाएको भनेर क्रन्दन गरिरहेका हुन्छन् भने अर्कोतिर अपराधीहरु न्यायधीशहरुलाई अँगालो मारेर अट्टहास गरिरहेका हुन्छन् ।
संयोग पनि कस्तो भने, नाटक हेर्न जानु अघि साथीले भनेको थियोः त्रिवि उपकुलपतिको म्याद अब सकिंदैछ र त्यसपछि फलानो आउने चर्को हल्ला छ । त्यो फलानो यति बदनाम र कुख्यात छ कि उसको नाम सुनेपछि आम मानिसले समेत एकचोटि नाक खुम्च्याउनेछन्, उसका विगतका करतुतका कारण धराशायी भएको देशको चिकित्सा क्षेत्रको दुर्दशाबारे जानकार मानिसहरुको त कुरै छाडौं । विगतमा दुई नियामक निकायहरुमध्ये एकमा ऊ र अर्कोमा ऊस्तै एक जनाकोे प्रतापले यो क्षेत्रमा पुगेको क्षतिले अरु दशकौंसम्म मानिसहरुलाई कमसल स्वास्थ्य सेवा र ज्यानकै जोखिममा धकेल्ने अवस्था छ भने ऊ फेरि विश्वविद्यालयको प्रमुख भएर आयो भने के हुने होला? एउटा नियामक निकाय मेडिकल काउन्सिलमा त एउटा बदनाम हनुमानले अब आसन जमाइसकेको छ ।
यो हनुमान प्रवृत्तिको उपचार के हो? यसलाई रोक्ने जिम्मेवारी लिएका अदालत र अख्तियारजस्ता निकायहरु आफैं हनुमानले भरिएका छन् भने यो देशमा योग्य र सक्षमहरुको पालो आउने कहिले होला?
लाग्छ, दीनहीन र विपन्न नेपालीहरुको लासमाथि नग्न नृत्य गरेर नेपालको राजनीतिक नेतृत्व अझै अघाएको छैन । हनुमानहरुको हुललाई देश बर्बाद पार्न छाडिदिएर तिनले अहिलेको पुस्तालाई त भाग्यवादी र विदेशमुखी बनाए बनाए, योग्य र क्षमतावान्हरुलाई पन्छाएर पुस्तौं पुस्ताका लागि नेपालको प्रगतिको बाटो अवरुद्ध गरिसकेका छन् ।
माथा पञ्चर सिर्जना गर्ने बेला राजन खतिवडालाई यो नाटक नेपालको दुरावस्थाको यस्तो ऐना बनेर आउला भनेर शायदै लागेको थियो होला ।
कलात्मकताको कसीबाट हेर्दा पनि माथा पञ्चर मण्डला र गुरुकुल थिएटरका अन्य चर्चित नाटकहरुकै हाराहारीमा छ । तर यति जटिल विषयवस्तुलाई त्यत्तिको कलात्मक रुपमा प्रस्तुत गर्नुचाहिं पक्कै चुनौतीपूर्ण थियो । त्यसमाथि पनि मण्डलाकै अघिल्लो नाटक जारबाट उदाएका त्यहाँका प्रशिक्षार्थी कलाकारहरु यो नाटकपछि परिपक्व मात्र नभएर नेपाली थिएटर जगत्का विशिष्ट प्रतिभामा दरिएका छन् ।
नेपाली र मैथिली गरी दुई भाषाको स्थानीय लवजको स्वभाविक र सहज प्रयोगले पनि नाटकलाई विशेष बनाएको छ । मूल पात्र विजयको भुमिकामा देखिने मण्डलाका नियमित कलाकार मोहम्मद नाजिर हुसेन र उनकी आमाको भुमिकामा देखिने नयाँ पुस्ताकी प्रशिक्षार्थी कलाकार लक्ष्मी बर्देवाका मैथिली संवाद यति सहज र जीवन्त छन् कि यो आख्यानको एक हिस्सा हो भनेर पत्याउन पनि मुस्किल पर्छ ।
मानिस जुन समुदायको भए पनि उत्पीडन, अन्याय र पीडाको रङ एउटै हुन्छ भन्ने जोडदार सन्देश पनि नाटकमा छ ।
नाटक हेरिसकेपछि लाग्योः यो नाटक महिनौं चलोस् अनि नेपालको राजनीतिक नेतृत्व लगायत न्याय र प्रशासन क्षेत्रका दलीय नियुक्तिका हनुमानहरुलगायत सबैले यसलाई एकचोटि हेरुन् र तिनले आफ्ना हातले सिर्जना गरेको नेपालको आतेस लाग्दो चित्रबारे जानकारी लिउन् । आज जति पनि नेपालीहरु जहाजको सिटमा बसेर विदेसिन्छन् अनि काठको बाकसमा सुतेर फर्किन्छन्, तिनको हत्याका लागि हाम्रो राजनीतिक नेतृत्व र तिनका ध्वंशकारी हनुमानहरु मुख्य अभियुक्त हुन् ।
(मण्डला थिएटर समुहका राजन खतिवडाको लेखन र निर्देशन रहेको माथा पञ्चर अनामनगरस्थित मण्डला थिएटरमा यही फाल्गुन १७ गतेसम्म सोमवारबाहेक नियमित साँझको ५ः१५ बजे मञ्चन भइरहेको छ ।)
No comments:
Post a Comment