Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Friday, February 6, 2015

यसकारण हाम्रो शिक्षामा निकम्मापन मात्र नभएर अपराध पनि



हामीले बालबालिकालाई निकम्मा शिक्षा मात्र दिइरहेका छैनौं, हाम्रो शिक्षा प्रणालीमा अपराध समेत मिसिएको छ । नेपालको समग्र शिक्षा क्षेत्रको दुर्गतिको संक्षिप्त लेखाजोखा । 


बालबालिकाहरुलाई शिक्षा दिएर हामीले एउटा सिर्जनात्मकतासहितको बहुआयमिक पहाड सिर्जना गर्न चाहन्थ्यौं जुन अग्लो होस्, तर फराकिलो र उर्वर पनि होस् । त्यसमा मानवताका सबै आयमहरु फुल्न, फक्रिन र फल्न सकुन् । तर यथार्थमा निर्माणचाहिं के भइरहेको छ भने एउटा सुरिलो टावर, कुनै टेको वा आड भरोसा विनाको । त्यो टावर धातुको छ, त्यसैले हाम्रा बालबच्चाका नब्बे प्रतिशत कटेका डिग्रीजस्तै त्यो चम्किन्छ, टाढाबाट समेत मानिसहरुले त्यो टावरलाई देख्छन् । अलग अलग टावरहरुमध्ये कुनको उचाइ कति भनेर तुलना गर्न मिल्छ, जुन शिक्षण संस्थाहरुले बढीभन्दा बढी अग्ला टावरहरु निर्माण गर्न सघाउँछन्, तिनका लगानीकर्ता करोडपति वा अरबपति हुन्छन् । 
.....................................

केही स्वभाविक अपवादहरुलाई छोड्ने हो भने औसत क्षमताका भनिने निजी स्कुलका अधिकांश विद्यार्थीहरुका लागि अहिले स्कुल जानु भनेको टिभी हेर्ने र कम्प्युटर वा मोबाइल गेम खेल्ने समय कटौती गरेर अभिभावकहरुको इच्छा पूरा गरिदिनु हो भने कक्षाको पढाइ भनेको होमवर्कका रुपमा दिइने सजायँ काट्न सजिलो बनाउने एउटा माध्यम । कक्षामा सुनेर र घरमा गृहकार्यका रुपमा जति “सिकाइ” हुन्छ, त्यसको एउटै र अन्तिम उद्देश्य भनेको वर्षभर बस्दा पट्यार लागिसकेको कक्षा पार गरेर माथिल्लो कक्षामा जानु हो ।
........................................

शिक्षण र सिकाइ सम्बन्धित तर भिन्न कुराहरु हुन् । शिक्षण भनेको स्कुल वा घरको सापेक्षतः औपचारिक वातावरणमा पद्धतिगत रुपमा गरिने सिकाइको प्रयास हो भने प्रक्रियाका रुपमा सिकाइका माध्यम र रुपहरु धेरै छन् । अर्को शब्दमा शिक्षण सिकाइका धेरै माध्यमहरुमध्ये एक माध्यम मात्रै हो ।





नेपालको प्रमुख शहरको प्रतिष्ठित निजी स्कुलमा पढ्ने र आफ्नो कक्षामा उत्कृष्ट विद्यार्थीमध्ये एकजनासित मैले एकचोटि भलाकुसारी गरेको थिएँ । आन्तरिक परीक्षा सिद्ध्याएपछि घरमा आएर उसले कति अंक आउँछ ‘गेस’ गर्दै थियो । अनुमानित अंक निकालेपछि उसले कक्षामा आफ्नो ¥यांक पनि अनुमान लगायो र प्रसंगवश भन्योः ...वटा प्रश्नको साथीहरुलाई गलत उत्तर सिकाइदिएँ ।

पत्याउन नसकेर मैले गम्भीरतापूर्वक सोधेंः तिमीलाई सही उत्तर आउँथ्यो, तैपनि तिमीले साथीहरुलाई गलत उत्तर सिकाइदियौ?

उसले मेरो अभिव्यक्तिमा भएको आश्चर्य भावलाई महसुस नै नगरी भन्योः “हो, अनि पो उनीहरुभन्दा राम्रो माक्र्स आउँछ ।”

ठीक त्यही बेला इण्डियन आइडोल नामक कार्यक्रमको पहिलो श्रृंखला चल्दै थियो । आयोजकलाई दर्जनौं करोड, टेलिकम कम्पनीहरुलाई करोडौं, पहिला हुने प्रतियोगीलाई लाखौं अनि त्यसबाहेकका सबै प्रतियोगितालाई केही हजार आम्दानी गराउने रियलिटी शो भनिने त्यस्ता कार्यक्रमले हाम्रो पछिल्लो पुस्ताको मानसिकता खास किसिमको बनाउनमा दरो भुमिका खेलेका छन् ।

जित्नेको सबैथोक अर्थात् “विनर टेक्स इट अल” सिद्धान्तमा चलेको अहिलेको विश्व पुँजीवाद, त्यही फर्मूलाको विकृत रुप प्रयोग गरेर प्रतिभाहरुलाई उपयोग गर्दै अरु नै धनाढ्य हुने रियलिटी शोहरु र साथीहरुलाई झुटा उत्तर सिकाएर क्लास टप गर्ने लालसा बोकेको त्यो किशोरको प्रयासबीच एउटा डरलाग्दो तादात्म्य देख्न सकिन्थ्यो ।

उक्त किशोरको जवाफपछि मैले पहिले मेरो बाल्यकाल र स्कुले जीवनलाई स्मरण गरें, जहाँ परिवारले निर्दिष्ट गरेका सीमित लक्ष्मण रेखाहरुमध्ये प्रमुख थिएः झुटो नबोल्नु, नचोर्नु । बाल्यकाल र किशोरकालमा अन्तर्मनदेखि नै स्वीकारिएका अन्य मानवीय मन्त्रहरु थिएः अरुको दुख देखेर नहाँस्नु, आफूभन्दा ठूलालाई सम्मान गर्नु, सानालाई माया गर्नु, अनावश्यक खर्च नगर्नु, जुन कुनै अवस्थामा सकेसम्म अरुलाई सहयोग गर्नु, आदि ।

बाबु र आमा दुवैले जागिर वा व्यापार गर्ने उक्त किशोरको आधुनिक परिवारमा यस्ता सामाजिक र मानवीय मूल्यहरुबारे चर्चा गर्ने शायद मौकै जुरेन । गाउँमा जब हजूरआमा–बालाई भेट्न उनीहरु गए, तिनको अबुझ र पाखे भन्ने मानसिक चित्र पहिल्यै बोकेर गए, जसले गर्दा त्यहाँबाट कुनै कुरा सिक्ने सम्भावना नै रहेन । अर्कोतिर जीविकाका लागि दिनभर संघर्ष गर्ने उसका शहरी बाबुआमाले आम्दानीको उल्लेख्य हिस्सा खर्च गरेर बच्चालाई निजी स्कुल पठाएपछि तिनले राम्रो अंकसहितको डिग्री पाएर सहज जागिर खाँदै छिटो आफ्ना आर्थिक कठिनाइ कम गरिदिउन् भन्नेबाहेक अर्को अपेक्षा पनि थिएन ।

उक्त विद्यार्थीले हाम्रो वार्तालाप सम्झेको हुने सम्भावना शुन्यप्राय भएकाले गोपनीयताको समस्या नहुने हुँदा हाम्रो शिक्षा प्रणालीको नमूनाको रुपमा उसले पेशागत जीवनमा कस्तो प्रगति गर्ला र ऊ वयस्क मानिस भइसक्दा केकस्ता मानवीय गुणहरु कुन रुपमा विकसित होलान् वा नहोलान् भनेर मैले चाखपूर्वक हेरिरहेको छु । र त्यसबारे भविष्यमा निश्कर्ष निकाल्न मिल्ने अवस्था आएपछि त्यो एउटा चाखलाग्दो ‘केस रिपोर्ट’ हुनेछ भन्ने मलाई लाग्छ ।


पहाड कि टावर?

उक्त किशोर र उसको परिवार, नेपालको शहरी मध्यम वर्गका लागि अपवाद नभएर एउटा प्रतिनिधि हो । सबै विद्यार्थीहरुले त्यसरी एकै अवस्थामा उसै गरी झूटो बोल्ने वा साथीहरुलाई धोका दिने काम नगर्लान् तर ती आ–आफ्नो ठाउँबाट बाल्यकाल र किशोरकालमा सार्थक र बहुआयमिक सिकाइबाट वञ्चित भएका वा पारिएका छन् ।

यो अवस्था हेर्दा मैले एउटा कल्पना गर्न पुग्छुः बालबालिकाहरुलाई शिक्षा दिएर हामीले एउटा सिर्जनात्मकतासहितको बहुआयमिक पहाड सिर्जना गर्न चाहन्थ्यौं जुन अग्लो होस्, तर फराकिलो र उर्वर पनि होस् । त्यसमा मानवताका सबै आयमहरु फुल्न, फक्रिन र फल्न सकुन् । तर यथार्थमा निर्माणचाहिं के भइरहेको छ भने एउटा सुरिलो टावर, कुनै टेको वा आड भरोसा विनाको । त्यो टावर धातुको छ, त्यसैले हाम्रा बालबच्चाका नब्बे प्रतिशत कटेका डिग्रीजस्तै त्यो चम्किन्छ, टाढाबाट समेत मानिसहरुले त्यो टावरलाई देख्छन् । अलग अलग टावरहरुमध्ये कुनको उचाइ कति भनेर तुलना गर्न मिल्छ, जुन शिक्षण संस्थाहरुले बढीभन्दा बढी अग्ला टावरहरु निर्माण गर्न सघाउँछन्, तिनका लगानीकर्ता करोडपति वा अरबपति हुन्छन् । ती टावरहरुको उचाइ हेरेरै हामीले तिनको गुणस्तर आँक्छौं र पत्रपत्रिकाले षड्यन्त्रको शैलीमा टप टेन वा टप ट्वेन्टी भनेर ती शिक्षण संस्थाहरु बारे आवरण कथा तयार पार्छन् ।

तर आधारभुत रुपमा हामी जे निर्माण गर्न चाहन्थ्यौं, त्यसबाट हामी नराम्रोसँग चुकिसकेका छौं । त्यो टावरमा पहाडमा झैं झारपात पलाउँदैन, बिरुवा उम्रंदैन र फल र फूलहरु लाग्दैनन् । मानिसको सर्वांगीण विकासको प्रतिक त्यो पहाड अब लोपोन्मुख प्रजातिजस्तै भइसकेको छ । टावरको टुप्पोमा पुगुञ्जेल व्यक्तिले समाजलाई बिर्सिसकेको हुन्छ किनकि त्यस्ता कुरामा ध्यान दिन लाग्ने हो भने अर्काले अझ छिटो आफ्नो टावरलाई थप अग्लो बनाएर त्यसको टुप्पोमा पुगिसक्छ । परिवारलाई बिर्सन्छ, किनकि संक्रमणकालमा रहेको हाम्रो समाजमा ऊअघिका सबै पुस्ता पहाड चढ्न मात्र सिकेका छन् र टावरको टुप्पोबाट हेर्दा लिलिपुटजस्ता देखिन्छन् । उसको एक मात्र ध्यान अझ अजंगका टावरहरुतिर हुन्छ, जुनमध्ये सबैजसो समुद्रपारि विकसित विश्वमा हुन्छन् । अन्ततः उसको एक मात्र ध्यान पहाड मात्र चढ्ने पछ्यौटेहरुको देश र समाज छाडेर टावरहरुको देश र समाजमा जाने हुन्छ ।

जो यताबाट उता फड्को मार्न सक्छन्, उनीहरु फड्को मार्छन् । जो सक्दैनन्, ती सदाकालीन ग्लानि, हीनताभाव र चिन्ताको शिकार भएर यतै बस्छन् । तीमध्ये सापेक्षतः सफलहरु यहीं राम्रै भनिने जागिर वा व्यवसायमा लाग्छन् भने असफलहरुले मदिरा वा लागू औषधको आश्रय लिन्छन् । त्यो किन भने मानिस जब पहाड चढिरहेको हुन्छ, त्यहाँ उसलाई आडभरोसा दिने रुख वा बुट्यान जहिले पनि हुन्छ । पहाडको एउटा पाटो जति भिरालो र भयंकर भए पनि कुनै न कुनै पाटो कम भिरालो र जीवनदायी हुन्छ । तर टावरमा त्यस्तो हुँदैन । पूरा विकसित पुँजीवाद भएका व्यवस्थित मुलुकहरुमा टावर–टावरबीच समन्वय भइसकेर सहजतापूर्वक रहन बाँच्न सम्भव भएको होला तर हामी त पुँजीवादको ज्यादै आदि अवस्थामा छौं जहाँ कतै र कुनै अर्थमा पनि व्यवस्था र नियमितता हुँदैन ।

त्यसैले पहाडमा जो एक बल्ड्याङ खाएर उठ्थ्यो, धुलो झाथ्र्यो र उकालो लाग्थ्यो, ऊ टावरबाट खसेपछि फेरि उठ्न नसकने हुन्छ ।


विद्यार्थी कि इन्फर्मेशन ब्यांक?

विख्यात् ब्राजिली शिक्षाविद् पाउलो फ्रेरेले आधुनिक भनिने स्थापित शिक्षण पद्धतिलाई व्याख्या गर्न इन्फर्मेशन ब्यांक अर्थात् जानकारी थन्क्याउने र निकाल्ने पद्धतिको अवधारणा ल्याएको दशकौं भइसक्यो । उनी भन्छन्ः आम रुपमा अहिलेको शिक्षामा सही अर्थमा व्यक्तिको मानसिक विकास गराउने सिकाइ शुन्यप्रायः हुन्छ । त्यहाँ हुन्छ त केबल अहिलेको उग्र—पुँजीवादी समाजमा नभई नहुने जानकारीहरुको संग्रहको लेनदेन । जसलाई शिक्षक भनिन्छ, उसले त्यो जानकारी विद्यार्थीमा प्रवाह गर्छ भने विद्यार्थीले त्यसलाई संग्रह गरेर आवश्यक परेको बेला द्रुत गतिमा ओकल्छ वा प्रस्तुत गर्छ ।

चिकित्सकीय भाषामा भन्नुपर्दा यो शिक्षा जानकारीलाई कान वा आँखाको माध्यमबाट मस्तिष्कमा पुर्याउने रिसेप्टीभ काम र हात वा मुखको माध्यमबाट फेरि बाहिर ल्याउने एक्सप्रेसीभ काममा केन्द्रित हुन्छ । मानिसमा मात्र विकसित भएको मस्तिष्कका विशिष्ट हिस्सामा हुने प्रोसेसिङ –एसिमिलेसन, डिडक्सन, कम्प्यारिजन, इन्टरप्रिटेशन, क्रिटिसिज्म, आदि प्रक्रियाहरु नभइकन सुगा रटाइजस्तो हुने हुँदा यो शिक्षण शिक्षक र विद्यार्थी दुवैका लागि सुविधाजनक र कम झण्झटिलो हुन्छ । अर्कोतिर यसको प्रगति मापन गर्दा पनि मानव मस्तिष्कका उच्च कार्यकलापहरुको बेवास्ता गरेर खाली एक्सप्रेसीभ क्षमता मात्र हेरिने हुँदा विद्यार्थीहरुलाई धेरै स्कोर गर्न र शिक्षकहरुलाई मूल्यांकन गर्न धेरै सजिलो हुन्छ ।

स्वभावतः यस्तो शिक्षाले व्यक्तिलाई समाज र विश्वबारे विवेकसम्मत धारणा भएको तथा पढेको कुरा दैनिक जीवनमा उतार्न सक्ने हैन कि आफूवरपरका निर्मम यथार्थहरुबारे अलगथलग रहेर आफूलाई खाली पेशा वा जागिरका लागि आवश्यक पर्ने जानकारी, डिग्री र ग्रेड लिनमा केन्द्रित गर्छ । यस्ता विद्यार्थीहरुमा  सिर्जनशीलता र आलोचनात्मक क्षमता शुन्यप्रायः हुनु स्वभाविक हो ।

करीब एक दशक अघि जिज्ञासावश फ्रेरेबारेको विकिपेडिया पेज पढेर उनको सुविख्यात पुस्तक पेडागजी अफ द अप्रेस्ड का केही अध्याय पढ्दा मलाई उनको अवधारणा पढ्नलाई रोचक तर यथार्थभन्दा अलि पर र यथार्थको अतिवादी चित्रणजस्तो लागेको थियो । तर एक दशकमै उनबारेको धारणा १८० डिग्रीले बदल्न म बाध्य भएँ ।

त्यसको एउटा व्यवहारिक कारण छ । फर्केर हेर्दा, हामीले सरकारी स्कुलमा पढ्ने बेला हामीलाई इन्फर्मेशन व्यांकको रुपमा प्रयोग गरेजस्तो पटक्कै लाग्दैनथ्यो । प्राथमिक स्कुलमा पाठ्यक्रममा इश्वरको स्तुति भएको कविता पढाउँदा शिक्षकले “इश्वरको महिमा अपार छ” भनेपछि त्यसमा “रे” थप्नुहुन्थ्यो । त्यो किनभने एकतिर पाठ्यक्रममा विद्यार्थीहरुले इश्वरको स्तुति विश्वासपूर्वक गरुन् भन्ने परिकल्पना गरिएको थियो भने अर्कोतिर शिक्षक नै इश्वर छन् र तिनको स्तुति गर्नुपर्छ भन्ने कुरामा विश्वस्त भएको अवस्था थिएन । पाठ्यक्रमको अनादर वा बहिस्कार नगरी बागी विश्वासको पनि अस्तित्व छ भनेर संकेत दिने तरिका थियो त्यो ।

त्यसबाहेक कक्षा छ र सातको सामाजिक शिक्षाको करीब आधा जति पाठ्यक्रम शाहवंशका राजाहरुको स्तुतिमा सकिन्थ्यो तर त्यो विषयको शिक्षकले खाली एक दिनको एक कक्षा अवधिभर राजाले कसरी अन्यायपूर्वक पञ्चायतकाल भर देश र जनतालाई अन्धकारमा राखे भन्ने कुरा आफ्नो अनुभवबाट सुनाएको, पुस्तकमा भएको स्तुति कति वाहियात र झूट छ भनेर बुझाएको अनि वर्षका बाँकी समय सामाजिक शिक्षाकै अन्य जीवनोपयोगी अध्यायहरुमा केन्द्रित गरेको अर्को अनुभव छ । देशभर दैनिक कक्षामा जानुअघि राजाको स्तुतिले भरिएको राष्ट्रिय गान “श्रीमान् गम्भीर नेपाली.......” घन्किने बेला हाम्रो स्कुलमा चाहिं “गाउँछ गीत नेपाली....” घन्किन्थ्यो । हुन पनि देशमा पञ्चायतकाल सकिइसके पनि पञ्चायती सामन्तवादका त्यस्ता अवशेषहरु देशभर अस्तित्वमा थिए । त्यो गीतको छनोटबारे कुरा चल्दा प्रधानाध्यापकले भनेको अर्को कुरा याद छः  राष्ट्रिय गानको सट्टा प्रयोग गर्न कक्षा दशको कक्षा गान “हट्ने हैन डटी लड्ने.....” पनि राम्रो थियो तर त्यसमा एक पंक्तिमा सारा नेपालीहरुको मुटुमा राजारानी लुकेको हुन्छ भन्ने अर्थ दिने शब्दहरु थिए ।

अर्थात् हाम्रा लागि पुस्तकमा छापिएर आउने ज्ञान अकाट्य त थिएन नै, पुस्तकहरु ज्ञान आर्जन गर्ने एक मात्र माध्यम पनि थिएनन् । यो सबको कुल परिणाम के हुन्थ्यो भने, हाम्रा लागि शैक्षिक पाठ्यक्रम भनेको गणित र विज्ञानबाहेकका विषयहरुमा पढेर सबै कुरा पत्याउनेभन्दा पनि पढेर सरकारी र संस्थापन पक्षको अवधारणा बुझ्ने अनि व्यवहारमा चाहिं व्यवहारबाटै सिकिएका कुरा मात्र पत्याउने वातावरण सिर्जना हुन्थ्यो । त्यसले पाठ्यक्रममा लेखिएका कुराहरुको आवश्यकताअनुसार आलोचना गर्न हामीलाई सक्षम बनाउँथ्यो ।

तर त्यो सब त करीब दुई दशकअघिको कुरा थियो । अब स्थिति बदलिइसकेको छ । फर्केर हेर्दा लाग्छ, हामीले हुर्के र पढेको वातावरण त्यो समयका लागि समेत एउटा विरल अपवाद थियो । अहिले पनि देशको भुगोलमा कतै कतै त्यस्तो वातावरण अस्तित्वमा हुन सक्ला तर आम रुपमा स्थिति धेरै बदलिइसकेको छ ।

गाउँगाउँमा समेत बोर्डिङ स्कुल भनिने निजी स्कुलहरु खुलेका त छन् नै, गाउँका औसत आय हुने र परिवारको एउटा सदस्य वैदेशिक रोजगारमा हुने परिवारहरुले बच्चाको शिक्षाका लागि भनेर शहरहरुमा झरेर तिनका गल्ली गल्लीमा खुलेका निजी  स्कूलहरुमा बच्चाहरुलाई भर्ना गरेका छन् । एकाध अपवादबाहेक खास गरी शहरी क्षेत्रका सरकारी स्कुलहरु निम्न वर्गका कहिलेकाहीं हाजिर हुने विद्यार्थीहरुका लागि मात्र बनाइएजस्ता भएका छन् । हरेक वर्षजस्तो एसएलसीमा शुन्य विद्यार्थी उत्तीर्ण गराउने सरकारी स्कुलहरुसँगै कथित उत्कृष्ट नतिजा ल्याउने निजी स्कुलहरु पनि चर्चामा आउने गरेका छन् ।

विगत दशकभर मैले छिटपुट रुपमा संकलन गरेको जानकारीले नेपालमा बढ्दो संख्यामा विद्यार्थीहरुको भविष्य निर्धारित गर्ने निजी शिक्षण संस्थाहरुको समग्र चित्र त नदेला तर त्यसको उल्लेख्य हिस्साबारे भने धेरै कुरा बोल्छ । यसबीच हरेकपल्ट निजी स्कुलका विद्यार्थीहरुसित अन्तर्कि्रया गर्दा मैले  फ्रेरेलाई सम्झेको छुः यस्तै शिक्षणको वातावरण हेरेर नै उनले इन्फर्मेशन व्यांकको अवधारणा ल्याएको हुनुपर्छ ।

केही स्वभाविक अपवादहरुलाई छोड्ने हो भने औसत क्षमताका भनिने निजी स्कुलका अधिकांश विद्यार्थीहरुका लागि अहिले स्कुल जानु भनेको टिभी हेर्ने र कम्प्युटर वा मोबाइल गेम खेल्ने समय कटौती गरेर अभिभावकहरुको इच्छा पूरा गरिदिनु हो भने कक्षाको पढाइ भनेको होमवर्कका रुपमा दिइने सजायँ काट्न सजिलो बनाउने एउटा माध्यम । कक्षामा सुनेर र घरमा गृहकार्यका रुपमा जति “सिकाइ” हुन्छ, त्यसको एउटै र अन्तिम उद्देश्य भनेको वर्षभर बस्दा पट्यार लागिसकेको कक्षा पार गरेर माथिल्लो कक्षामा जानु हो । बढ्नु र माथिल्लो कक्षामा जानुको अझ उदात्त उद्देश्यचाहिं धेरैका लागि अभिभावकबाट स्मार्ट फोन वा ट्याब्लेट वा स्कुटर पाउनु हो । स्कूलदेखि कलेजसम्मको शिक्षाको समग्र उद्देश्यचाहिं धेरै कमाइ हुने “राम्रो” जागिर पाउनु र त्यति मात्र ।

उसो त कक्षामा पाठ्यक्रमकै पढाइबाट हामीले पनि सिक्ने कुरा त्यस्तै थिए । तर कक्षा र स्कुलको वातावरणमा त्यो समग्र सिकाइको एउटा कडी मात्र थियो । (उदाहरणका लागि, कक्षा ६—८ मा महेन्द्र माला भनिने नेपाली विषयका करीब एक चौथाइ कक्षाहरु शिक्षकले सुनाउने पाठ्यक्रमबाहिरका कथाहरुका साथ बित्थे भने हरेक हप्ता विभिन्न  विषयका कक्षाहरुमा शिक्षकहरुको रोहवरमा विद्यार्थीहरुले कक्षाभित्रै समूह बाँडेर हाजिरी जवाफ प्रतियोगिता आयोजना गथ्र्यौं ।) कक्षाभित्र पाठ्यपुस्तकले निर्दिष्ट गरेको सिकाइ परीक्षाका लागि महत्वपूर्ण थियो भने दशकौंको अनुभवले शिक्षकहरुले औपचारिक—अनौपचारिक रुपमा दिने व्यवहारिक शिक्षा व्यवहारिक जीवनका लागि उत्तिकै महत्वपूर्ण हुन्थ्यो ।


निकम्मा शिक्षा

नेपालको अहिलेको पुस्ताको शिक्षा देख्दा मलाई बाल्यकालकै एउटा साथीको याद आउँछ ।

करीब पैंचालीस मिनटको दुरीमा रहेको स्कुल जाँदा बाटोमा एउटा पिछडिएको बस्ती पथ्र्यो जहाँका मानिसहरु बाटोमा आएर शौच गर्थे । अलग्गै शौचालयको त्यो बस्तीमा या त अवधारणा नै थिएन या मानिस यति विपन्न थिए कि त्यो बनाउनै सक्दैनथे । दुर्गन्धले आजित भएर हामीले एकदिन ती मानिसलाई सम्झायौं र धम्क्यायौं पनि । जीविकाका लागि हाम्रा वा हाम्राजस्तै बस्तीमा निर्भर ती विपन्न मानिसहरुले डराएर भए पनि बाटोमा शौच गर्न छाडे र हाम्रो अभियान सफल भयो ।

अभियान सफल भएकै दिन स्कुलबाट फर्कंदा हामी खोलामा पौडँदै थियौं । उक्त साथीले पौडिसकेपछि दहको छेउमा गएर तीव्रताका साथ पानीमा दिसा गर्यो । हामी रुष्ट भएर सोध्यौंः “पानीमा किन हग्छस्? अघि मात्र सरसफाइको त्यत्रो अभियान चलाएर आएको हैन?” हुन पनि खोलाको वरिपरि झाडीमा दिसा गर्नु सामान्य थियो तर पानीमा अरु कसैले त्यसो गर्दैनथ्यो ।

साथीको जवाफ थियोः यहाँ त पानीले बगाइहाल्छ नि ।

अर्थात्, त्यत्रो अभियानपछि सफा र फोहरको उसको अवधारणा कस्तो थियो भने, आँखाअगाडि देखिने र दुर्गन्ध फैलाउनेचाहिं फोहर, बाँकी सफा । खोलाको पानीमा एकैचोटि गरेको दिसाले त्योभन्दा तल्लो भुभागका मानिसमा महामारी नै फैलाउन सक्ने कुरा त उसको बुझाइमा प्रवेश नै गरेको थिएन ।

हो, नेपालमा शिक्षाबारे विद्यार्थी, परिवार, शिक्षक र शिक्षण संस्था गरी यी चारै पक्षको अवधारणा मलाई दुरुस्त यस्तै लाग्छ । उक्त साथीको सरसफाइबारे साँगुरो र गलत धारणाले उसलाई जुन खालको गतिविधिमा धकेलेको थियो, सिकाइ र शिक्षणबारेको साँगुरो र गलत धारणाले हामी सबैलाई पनि त्यस्तै अदुरदर्शी र घातक गतिविधिहरुतिर धकेलेको छ ।

समस्या अझ गम्भीर त कहाँ छ भने, झुटो नबोल्नु र नचोर्नु भनेर पुस्तकमा नभनिएका कारण र कसैले नसम्झाएका कारण नै माथि उल्लिखत किशोर साथीहरुसित झुटो बोलेको हैन । वैज्ञानिकताका नाममा युरोपदेखि अमेरिकासम्मका विख्यात कथा र लोक कथासमेत ल्याएर उनीहरुलाई असल र खराब छुट्याउन सिकाउने प्रयास गरिएको छ । तर जहाँ प्रभावकारी व्यवहारिक सिकाइ हुन्छ, त्यहाँ सबै कुरा आम्दानी वा धनमा केन्द्रित हुन्छ र तिनका लागि राम्रो ग्रेडसहितको डिग्री चाहिन्छ । त्यो डिग्रीका लागि झुट बोल्नु त के विद्यार्थीहरु चिट चोर्नदेखि शिक्षकहरु चिट चोराउन, शिक्षण संस्थाहरु परीक्षा केन्द्र नै खरीद गर्न र जाँचकीहरुलाई घुस दिन, जे गर्न पनि तयार हुने स्थिति छ । सैद्धान्तिक रुपमा रटाइएको ज्ञान र व्यवहारिक रुपमा देखिएको सत्यबीच तालमेल नहुँदा विद्यार्थीहरुले व्यवहारिक सत्यलाई अँगाल्नु स्वभाविकै हो ।

एक तह अरु गहिराइमा पुगेर हेर्नुपर्दा, झुट नबोल्नु र नचोर्नुजस्ता नैतिक शिक्षाका सहजै बुझ्न सकिने पाटाहरु त विद्यार्थीलाई बुझाउन सकिएन भने, आपत्मा परेकालाई सहयोग गर्नु वा अशक्त अपांगलाई नजिस्क्याउनु वा हेलाहोचो नगर्नु र अझ सहयोग र दानसमेत गर्नु भन्नेजस्ता सापेक्षतः जटिल नैतिक र मानवीय मुल्यहरु कसरी सिकाउन सकिएला? अरुलाई सहयोग गरौं भन्ने भावना विनै एउटा सिंगो पुस्ता हुक्र्यो भने त्यो अवस्थामा समाज कहाँ पुग्ला अनुमान मात्र गर्न सकिन्छ ।


अपराधी शिक्षा

शिक्षामार्फत् अपराधः सम्भव छ? अनुभव नहुनेहरुलाई यो असम्भव लाग्छ, तर सबैलाई हैन ।

जहाँ शिक्षाको काम विद्यार्थीलाई ज्यान बचाउन सक्ने बनाउनु हो, त्यहाँ हुने हरेक लापरवाही र सिकाइको अभावले मानिसको ज्यानलाई जोखिममा पार्छ ।

नेपालमा एउटा कोर्स छ, ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी अर्थात् एमबीबीएस नाम गरेको । यसको अन्तमा विद्यार्थीले औषधिले उपचार गरिने मेडिसिन र चिरफारबाट उपचार गरिने सर्जरी दुवैमा उल्लेख्य ज्ञान र सीप हासिल गर्ने परिकल्पना गरिएको छ । पाँच वर्षे कोर्स र एक वर्षे इन्टर्नसीप सकिएर मेडिकल काउन्सिलको लाइसेन्स पाउनासाथ व्यक्तिले बिरामीहरुको जीवन र मरणसित जोडिएका निर्णयहरु गर्नुपर्ने हुन्छ ।

एउटा मेडिकल कलेजको इमर्जेन्सीमा ड्युटीरत रहँदा एक विद्यार्थी आएर भन्योः मेरो इन्टर्नसीपको अन्तिम दिन आज, भोलि घर जानुछ । जानुअघि एउटा आइभी क्यानुला लगाएर जानुपर्यो ।

चिकित्सकका लागि क्यानुला लगाउनु भाषा शिक्षकका लागि कखरा जान्नुजस्तै हो । तेस्रो वर्षको शुरुतिर त्यो सीप सिकेपछि शल्यचिकित्साका अरु धेरै ससाना सीपहरु सिकेर मात्र एमबीबीएसको डिग्री पाउने परिकल्पना कोर्सका निर्माताहरुको हो । जसले ती सीप सिक्दैन, ऊ त्यो कोर्समा फेल हुनुपर्ने हो । तर यहाँ त कखरा नसिकेको विद्यार्थी एमबीबीएसको अन्तिम परीक्षा पास गरेर नेपाल मेडिकल काउन्सिलको प्रोभिजनल लाइसेन्स लिएर वर्षभर अरुको रोहवरमा बिरामी जाँचेर अब आफ्नै जिम्मेवारीमा बिरामी जाँच्ने अवस्थामा पुगिसकेको थियो, एउटा क्यानुला पनि नलगाइकन ।

र अझ ठूलो दुर्भाग्य त यो थियो कि ऊ त्यस्ता धेरै नवचिकित्सकहरुको प्रतिनिधि मात्र थियो । एउटा क्यानुला लगाउनसमेत प्रयास नगरी डिग्री लिएर जाने अन्य विद्यार्थीहरुको त कुनै गणना नै थिएन ।

र यो त्यतिखेरको कुरा हो जतिखेर नेपालमा मेडिकल शिक्षामा माफियाकरण र अपराध अहिलेको जस्तो संस्थागत भइसकेको थिएन । अहिलेको अवस्था त के छ भने छ वर्षको कडा मेहनतपछि डिग्री पाउने परिकल्पना गरिएकोमा चानचुन एक वर्षको घोकाइले सहजै डिग्री उपलब्ध हुन सक्छ र चिकित्साका विद्यार्थीहरुको एउटा उल्लेख्य हिस्साले यो तरिका अपनाइसकेको छ ।

त्यो कसरी भने, वर्षभर लगाएर ज्ञान र सीप सिकाउने ठूल्ठूला पाठ्यपुस्तकको सट्टा अन्तिम परीक्षा अघि प्रश्नोत्तरले भरिएका गाइडहरु एक महिनासम्म घोक्ने । परीक्षाका बेला प्रिन्सिपलले चिटिङ प्रोजेक्टको संयोजन गर्ने, सिनियर र शिक्षकहरु मिलेर चिट चोराउने । गाइडको माइक्रो फोटोकपी गरेर शौचालयलाई गोदामको रुपमा प्रयोग गर्ने, स्मार्ट फोनका विभिन्न सुविधा प्रयोग गरेर चिट चोराइलाई अझ सजिलो बनाउने । अन्तिम परीक्षामा पास भएपछि ताला लगाइएका विभागहरुमा समेत गरेर व्यवहारिक सिकाइको इन्टर्नशीप पोस्टिङ गर्ने । दिन गनेर एक वर्ष पुगेपछि प्रश्न पत्रको अर्को पुस्तक रटेर नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षा उत्तीर्ण गर्ने ।

अव्यवस्था र अराजकता चरम नभएका देश र समाजका लागि यो भनेको शिक्षाको नाममा सीधा अपराध हो किनकि अन्य कोर्समा जस्तो यसमा त्यस्तो शिक्षाको परिणाम हेर्न वर्षौं वा दशकौं लाग्दैन, काउन्सिलको लाइसेन्स पाएको अर्को दिन गम्भीर बिरामी हेर्नु पर्यो र एउटा सामान्य सीपको अभाव छ भने बिरामी तत्कालै मर्छ । तर पूरा प्रणाली नै भ्रष्ट र आपराधिक मानसिकताका मानिसहरुबाट चलेको हुँदा यो अवस्थामा सुधार गर्ने हैन कि मेडिकल शिक्षाको व्यवसायलाई बेरोकटोक अहिलेकै अवस्थामा फैलिन दिनुपर्छ भन्ने मत अझै पनि दरो छ ।


निकास

हाम्रो शिक्षा अहिले धमिराले मक्काएर लड्न लागेको घरको अवस्थामा छ । टालेर, अड्याएर वा टेको दिएर यो फेरि काम लाग्ने अवस्थामा छैन । दशक अघि सशस्त्र द्वन्द्वका बेलाको अस्तव्यस्त शिक्षा क्षेत्रलाई भोगेको पुस्ता अहिले दयनीय अवस्थामा खाडीमा र अन्यत्र पसीना र रगत चुहाउँदै छ भने त्यस यता त वर्षेनी विद्यार्थीहरुले ल्याउने ग्रेड चम्किंदै गएको होला तर शिक्षा र सही अर्थमा सिकाइको अवस्था थप दयनीय हुँदै गइरहेको छ । पूर्व—प्राथमिक र प्राथमिकदेखि प्राविधिक क्षेत्रको विशेषज्ञता तह (एमडी, एमएस, डीएम, एमसीएच) सम्म यति गम्भीर र दुर्भाग्यपूर्ण रुपमा शिक्षा क्षेत्र बर्बाद हुनेमा त शायद विश्वकै गरीब देशहरुको सुचीमा शीर्ष स्थानमा आउने सहारा—दक्षिणका अफ्रिकी मूलुकहरु पनि पर्दैनन् ।

तर सभ्य समाजका रुपमा रहिरहने हो भने सुधार र निर्माणको प्रक्रिया कहीं न कहीं त शुरु हुनै पर्छ । र त्यो प्रक्रिया कुनै बेला परिकल्पना गर्ने र नारा लगाउने गरिएझैं एउटै क्रन्तिकारी कदमबाट छोटो समयमा पूरा हुनु असम्भव छ । व्यक्तिका रुपमा शिक्षक, शिक्षाविद्, विद्यार्थी र अभिभावक अनि संस्थाका रुपमा परिवार, शिक्षण संस्था, समाज र राज्य सबैले आ आफ्नो ठाउँबाट वर्षौं वा दसकौंसम्म सक्रिय भुमिका नखेलेसम्म दुर्घटित भइसकेको हाम्रो शिक्षालाई फेरि जगाउन मुस्किल छ ।

त्यस्तो कुनै पनि कदम उठाउनुअघि सबै पक्षले भित्रैदेखि बुझ्नुपर्ने कुरा के भने, शिक्षण र सिकाइ सम्बन्धित तर भिन्न कुराहरु हुन् । शिक्षण भनेको स्कुल वा घरको सापेक्षतः औपचारिक वातावरणमा पद्धतिगत रुपमा गरिने सिकाइको प्रयास हो भने प्रक्रियाका रुपमा सिकाइका माध्यम र रुपहरु धेरै छन् । अर्को शब्दमा शिक्षण सिकाइका धेरै माध्यमहरुमध्ये एक माध्यम मात्रै हो ।

अभिभावकहरुले सहजै देख्न सक्ने ए फर एप्पल भनेर घोक्दै गरेको पढाइ बच्चाका लागि जति महत्वपूर्ण हुन्छ, त्योभन्दा धेरै गुना महत्वपूर्ण भाषाको प्रयोगविना गरिने सिकाइ हुन्छ । तीन वर्षको बच्चालाई रुवाउँदै स्कुल लगेर सुगा रटाएझैं उसको मस्तिष्कको विकास प्रक्रिया नै अवरुद्ध हुने गरी गरिने शिक्षण त दीर्घकालमा उसका लागि घातक र प्रत्यूत्पादक हुने सम्भावना धेरै हुन्छ । त्यसै गरी बच्चाहरुका सामू अभिभावकहरु झगडा गर्दा पर्न जाने आघातले उनीहरुमा जसरी नकरात्मक असर पार्छ, अभिभावकहरुले घरेलू कामदार वा अन्य गरीब र निर्धो मानिसप्रति देखाउने दुव्र्यवहारले उनीहरुलाई त्यसो गर्नु ठीक वा कम्तीमा पनि स्वीकार्य कुरा हो भनेर सिकाइरहेको हुन्छ ।

त्यसै गरी टीभी, भिडियो गेम, कम्पयुटर र मोबाइल गेम लगायत अनगिन्ती ग्याजेटहरु कमभन्दा कम उमेरमा उपलब्ध हुने अवस्था आइरहँदा सतहमुनि पुरिएको सिकाइको अर्को पाटो पनि छ । शिक्षा र सिकाइको कुल उद्देश्य भनेको व्यक्तिलाई धेरै कमाइ हुने जागिर वा व्यापार गर्न सक्षम बनाउनु कदापि हैन । जीवनका सुखद्देखि दुखद् क्षणहरुसम्म अनि वातावरणका अनुकुलदेखि अति प्रतिकुल अवस्थासम्म नडग्मगाइ बाँच्न सिकाउनु सिकाइको सामान्य उद्देश्य हो भने विद्यार्थीलाई जीवनको औचित्य खोज्ने, समाजलाई अध्ययन गर्ने र बुझ्ने बनाउने सिकाइको उदात्त उद्देश्य हो । त्यो भएको अवस्थामा मात्र जीवन ज्यूनुको सार्थकता आफ्ना आवश्यकताहरु पुर्ति गर्नु मात्र हैन, समाजका खास गरी दुःख, शोषण र उत्पीडनमा परेका मानिसहरुका लागि सकेको गर्नुमा हुन्छ भनेर उनीहरुले बुझ्ने सम्भावना हुन्छ ।

अर्को शब्दमा, सिकाइ भनेको पाठ्यपुस्तकमा लेखिएका र कक्षामा शिक्षकले बोलेका शब्दहरुको कैदी हैन, भलै हामीकहाँ अहिले त्यसको अर्थ त्यतिबाट पनि खुम्चिएर गाइड र गेस पेपरका शब्दहरुको कैदी किन भएको नहोस् । अबको पुस्तालाई कक्षामा पढेर वा घोकेर राम्रो ग्रेड ल्याउन उत्साहित गर्नु जति जरुरी छ, त्योभन्दा बढी जरुरी छ उनीहरुलाई टेलिभिजन वा स्क्रिनका गेमहरुमा नएकोहोरिएर आँखा खोलेर समाज र संसारलाई हेर्न सिकाउन ।

झट्ट हेर्दा त्यस्तो लाग्दैन, तर हाम्रा केटाकेटीहरुलाई नपढी, गेम नखेली र टिभी नहेरी एकाध मिनेटसम्म चुपचाप बस्न सक्ने बनाउनु आजका दिनमा खास गरी शहरी क्षेत्रका लागि ज्यादै चुनौतीपूर्ण बनेको छ । सामान्य कुराको भए पनि सोचमा डुब्न सक्ने, तथ्यमा रहेर तर्कवितर्क गर्न सक्ने, सतहभित्र गएर सोच्न र विश्लेषण गर्न सक्ने अनि देख्दा लगलथलग र असम्बिन्धित लाग्ने कुराहरुबीचको सम्बन्ध पत्ता लगाउन सक्ने बनाउनु त थप चुनौतीपूर्ण तर सार्थक सिकाइका लागि विकसित नगरी नहुने कुराहरु हुन् ।

र यसरी हेर्दा लाग्छ, हाम्रो समग्र शिक्षा प्रणाली बालबालिका, किशोर र युवा उमेरका विद्यार्थीहरुलाई उमेर अनुसारको सिकाइमा शब्द चिनाउने र तिनलाई घोकेर परीक्षामा लेख्न सक्ने बनाउने प्रारम्भिक चरणमै संघर्षरत छ र यसको ध्यान त्योभन्दा माथिल्लो तहमा पुग्न सकेको छैन । अर्थात् माइलौंको दुरीमा हामी पहिलो केही मिटरको यात्रामा छौं र त्यतिमै थाकेर रनभुल्ल परेका छौं ।

यसको निश्कर्ष यस्तो हुन्छः शिक्षण र सिकाइबारे हामी वयस्कहरु आफैं भ्रममा परेर अन्धाले हात्तीको पुच्छर छामेर हात्ती लठ्ठीजस्तो हुन्छ भने झैं गलत धारणा लिएर हिंडुन्जेल हाम्रा बालबालिकाहरुले प्रभावकारी तरिकाले सिकेनन् भनेर गुनासो गर्ने अधिकार हामीलाई रहँदैन । सिकाइको बहुआयमिक चरित्र र बालबालिकाहरुको सर्वांगीण विकासको अवधारणा नपछ्याइ जति हामी उनीहरुको डिग्री र ग्रेडको पिछा पर्छौं, उनीहरुको सिकाइ प्रक्रिया उति नै पिछडिंदै जान्छ ।

त्यसैले परिवार र समाजका रुपमा शिक्षा र सिकाइको क्षेत्रमा हाम्रो हालसम्मको असफलता र त्यस दिशामा हाम्रा प्रत्यूत्पादक कदमहरुले जन्माएका जटिलताहरुलाई महसूस गर्दै सिकाइको चौडा र उदात्त परिभाषामा आधारित भएर नयाँ शुरुआत गर्नुको विकल्प छैन ।

त्यस्तो शुरुआत अभिभावकहरु वा वयस्कहरु आफैंबाट शुरु हुनु आवश्यक छ ।

परिवारका वृद्ध सदस्यहरुप्रति सम्मान, आदर र जिम्मेवारी देखाउनु त्यस्तो पहिलो कदम हो । त्यसले सिक्ने उमेरका बच्चाहरुमा दीर्घकालीन सकारात्मक असर पार्छ । बच्चाहरुलाई बक्स्योस् भनेर सम्बोधन गर्न सिकाउने तर आफ्ना वृद्ध बाबुआमालाई चाहिं गाली र अपमान गर्ने अनि घिसारेर वृद्धाश्रम पुर्याउने गतिविधिमार्फत् बच्चाहरुलाई परस्पर विरोधी सन्देशहरु दिइँदा उनीहरु पनि मुखले चाहिं चिप्लो पारेर बोल्ने तर कपटी र अमानवीय व्यवहार गर्ने भएर निस्कने सम्भावना टड्कारो हन्छ । धेरै हदसम्म अहिले हाम्रो समाजमा त्यस्तै हुँदै आएको पनि छ ।

दोस्रो, सिकाइका धेरै आयामहरु भएको स्वीकारेर परिवारले बलबालिकाहरुको शिक्षाका लागि कक्षाकोठा र शिक्षकहरुलाई मात्र जिम्मेवार ठान्न बन्द गरेर शिक्षा र सिकाइमा संलग्न हुँदै सफलताको जस र असफलताको दोष दुवै आफूले पनि लिनुपर्ने देखिन्छ ।

तेस्रो, छिटो धेरै सिकाउने नाममा पाठ्यक्रममा धेरैभन्दा धेरै र माथिल्लो तहका पाठहरु घुसाएर विद्यार्थीहरुमाथि मानसिक दबाब थप्ने काम बन्द गरेर प्रमाणमा आधारित भएर वैज्ञानिक रुपमा पाठ्यक्रम परिवर्तन गर्नुपर्छ ।

चौथो, फरक विद्यार्थीहरुको सिकाइको गति र प्रक्रिया फरक हुने तथ्यलाई मध्यनजर गर्दै उनीहरुको मूल्यांकन एकोहोरो अन्तिम परीक्षाको अंकले मात्र गरिनुहुँदैन । कलार खेलकुदजस्ता अतिरिक्त क्रियाकलापहरुमा विशेष लगाव भएका विद्यार्थीहरुलाई त्यसमै ध्यान केन्द्रित गर्न प्रेरित गरिनुपर्छ ।

पाँचौं र सबैभन्दा महत्वपूर्ण, राज्यले जिम्मेवारीपूर्वक शिक्षा नीति र पद्धतिमा समयानुकुल परिवर्तन ल्याउनु त छँदैछ, यो क्षेत्रको नियमन गरेर अनियमितताहरुलाई नियन्त्रण गर्नु जरुरी छ । खास गरी प्राविधिक शिक्षाको सन्दर्भमा स्कुल कलेज खोल्दा हुने लाखौंदेखि करोडौंको घुसको लेनदेन हुँदा भविष्यमा त्यो संस्थामा शिक्षाका लागि आउने हरेक विद्यार्थीले त्यसको मूल्य चुकाउनुपर्छ । खास गरी सामान्य प्राविधिक कलेजदेखि चिकित्सक उत्पादन गर्ने मेडिकल कलेजसम्म त्यसरी राज्यका अंगहरुका पदाधिकारीहरुलाई ठूलो मात्रामा घुस दिएर सम्बन्धन पाउने भएकाले एकतिर भौतिक पूर्वाधार र मानवीय स्रोत साधनका लागि गर्न सकिने खर्च घुस ख्वाउनमा जाने र अर्कोतिर घुस खाएकै कारण तिनीहरुको अनुगमन गर्नबाट जिम्मेवार निकायहरु चुकेर विद्यार्थीहरुले विना सिकाइ डिग्री पाउने अवस्था व्याप्त छ । यो अवस्थाको अन्त नभएसम्म हाम्रो प्राविधिक शिक्षा अझ थला परेर जाने स्थिति छ ।

यी उपायहरुमध्ये कुनै पनि रातारात र सजिलैसित कार्यान्वयन गर्न सकिने खालका छैनन् । तर दशकौं लगाएर हाम्रो शिक्षा क्षेत्रमा जम्मा भएको बेथिति र अराजकता रातारात जाओस् भन्ने अपेक्षा गर्नु पनि हुँदैन । सुधारले गति लिंदै गयो भने हाम्रो शिक्षा समृद्ध मुलुकहरुको जत्तिको त नहोला तर अहिलेभन्दा धेरै सार्थक र जीवनोपयोगी हुनेछ भन्नेमा दुईमत हुन सक्दैन ।

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more