आदरणीय केपी ओलीज्यू,
अध्यक्ष नेकपा एमाले ।
उमेर र राजनीतिक अनुभवका हिसाबले यहाँ मभन्दा धेरै वरिष्ठ हुनुहुन्छ । तर संसारभरको एउटा चलन के छ भने जति ठूलो राजनीतिज्ञ, जीवन र जगत्का महत्वपूर्ण विषयबारे उति नै अज्ञान र अर्धज्ञान । राजनीतिमा सिंढी चढ्न विषयवस्तुको ज्ञान र विद्वता अनिवार्य हुनुपर्ने हो तर त्यसो आदर्श समाजमा मात्र हुन्छ । हाम्रो समाज आदर्श हैन, त्यसैले अन्त झैं हामीकहाँ पनि जसले अन्धाधुन्ध पार्टीगत, गुटगत र व्यक्तिगत लाभका लागि छलकपट र जालझेल गर्छ, ऊ नै ठूलो र शक्तिशाली नेता बन्छ । त्यो कुरा यहाँका लागि मात्र नभएर नेपालका हरेक जसो प्रमुख नेताका लागि लागू हुन्छ ।
दौड दुई किसिमको हुन्छ, एउटा शिखरतिरको अर्को खाडलतिरको । भनिरहनु परोइन, नेपाली राजनीतिका प्रमुख खेलाडीहरु अहिले ‘रेस टु बटम’ भनिने खाडलतिरको दौडका लागि प्रतिस्पर्धा गरिरहेको आभास हुन्छ ।
जब जब संयम, धैर्यता र सम्झौताको सबैभन्दा चर्को आवश्यकता हुन्छ, तब आक्रोश, अधैर्यता र बदलाभाव उत्कर्षमा पुग्छन् । राजनीतिका यहाँलगायतका खेलाडीहरुले अर्कालाई हराएको तुजुकमा आफू अझ चर्को हारेको पत्तै नपाउने स्थिति देखा पर्दैछ ।
पर्दापछाडि निहित स्वार्थहरुको निर्मम लडाइँ चल्दै गर्दा सतहमा चाहिं यहाँहरु र प्रतिपक्षको चर्को वाक् युद्ध चलिरहेको छ । त्यसलाई भद्दा किसिमको दोहोरी भन्दा पनि हुन्छ । त्यस्तो हिलो छ्यापाछ्यापमा कसैको पक्ष लिएर कसैलाई होच्याउनु यो लेखको आशय हैन, त्यसो गर्नु पटक्कै आवश्यक पनि छैन ।
तर हरेक अभिव्यक्तिपछि तरंग ल्याउने अहिलेको नेपालका निर्णायक राजनीतिक खेलाडी यहाँको एउटा भनाइलाई गम्भीरतापूर्वक अध्ययन गर्नु आवश्यक छ । त्यस्तो अध्ययन र विमर्शबाट हाम्रो राजनीतिका लागि देशबाहिरका अनुभवबाट सिक्ने र त्यहाँका गल्ती नदोहोर्याउने प्रयास गर्न सकिन्छ ।
दोहोरीको एक चरणमा यहाँले माओवादीलाई नाइजेरियाको बोको हरामसित तुलना गर्नुभएछ । बोको हरामबारे तपाइँकको ज्ञान कति छ, त्यो मलाई थाहा छैन, तर बोको हरामको उत्पत्ति, फैलावट, चरित्र र त्यसका गतिविधि अनि नाइजेरियालगायत प्रभावित देशहरुले ऊप्रति अपनाएको रवैयाबारे संसारका द्वन्द्वपीडित तथा द्वन्द्वको सम्भावना भएका हरेक देशले जान्नु जरुरी छ ।
कमरेड ओली,
एक वाक्यमा भन्नुपर्दा, निर्ममता र बर्बरताका लागि जसरी बोको हराम विश्वमै अद्वितीय छ, त्यसबाट सबैभन्दा पीडित नाइजेरियाको राज्यले समस्याप्रति देखाएको उदासीनता उत्तिकै अद्वितीय छ । संसारमा बर्बरताको पराकाष्ठा नाघेका धेरै आतंकवादी समूहहरु छन्, आकारमा बोको हरामभन्दा धेरै ठूला, हतियार र डलरका हिसाबले धेरै गुना धनी र दुश्मनको कलेजो निकालेर खाने आतंककारीहरु पनि छन् । तर त्यस्ता समूहमा पनि, त्यस्तो बर्बरताकै बीचमा पनि आफूहरु सकारात्मक परिवर्तनको वाहक भएको देखाउने अभिलाषा ज्यूँदै छ । खास गरी अहिले चर्चामा रहेको अनि इराक र सिरियामा ठूलो भुभाग ओगटेर बसेको इस्लामिक स्टेट नामक समूहले त इस्लामिक शरिया कानुनअन्तर्गत आदर्श व्यवस्था खडा गरेको दाबी गर्दै अन्यत्रका मुसलमानहरुलाई त्यहीं बस्न आउन प्रोत्साहित समेत गर्छ ।
पश्चिमीकरण, आधुनिकीकरण, शिक्षा र खुल्लापनको कट्टर विरोधी र शरिया कानुनको वकालत गर्ने गरेको बोको हराम इस्लामिक स्टेट लगायतका अन्य धार्मिक अतिवादीहरुभन्दा किन फरक छ भने, उसका अहिलेसम्मका तमाम गतिविधिहरु मार्ने र ध्वंश गर्ने बाहेक केही छैनन् । कुनै पनि रुपको निर्माण र सिर्जनाप्रति उसको लगाव छैन ।
त्यही बोको हरामले अघिल्लो वर्षको अप्रिलमा नाइजेरियाको शिबोक गाउँबाट करीब अढाइ सय स्कुले छात्राहरुलाई अपहरण गर्यो । तीमध्ये अधिकांशलाई लडाकुहरुले जबर्जस्ती बिहे गरेको वा छिमेक िदेश चाडमा लगेर बाल–दुलहीको रुपम बेचेको भन्ने समाचार आयो र एकाध भागेर बचेका बालिकाहरुबाहेक कोही मुक्त भएका छैनन् ।
यौन–दासी बनाएर बेचिएका ती अभागी छात्राहरुबारे एउटा फ्रेन्च पत्रिकाले दिगमिग लाग्दो कार्टुनको कभर छाप्यो जसमा चारजना घुम्टो हालेका र शरीरभन्दा ठूलो पेट भएका बालिकाहरु मुख बाएर एक स्वरले केही कराउँदै छन् (कार्टुनमा तिनले बोलेका शब्द पनि लेखिएको छ तर कार्टुनिष्टबाहेक अरुका लागि तिनले कुनै विशेष अर्थ राख्दैनन् ।) अघिल्लो हप्ता शार्ली एब्डो भनिने त्यही पत्रिकाको कार्यालयमा आतंकवादी आक्रामण भएर बाह्रजना मानिस मारिंदा अभिव्यक्ति स्वतन्त्रताका लागि भनेर चवालीस राष्ट्रप्रमुखसहित दशौ लाख मानिसले पेरिसमा प्रदर्शन गरे । तर त्यही होहल्लाबीच थप बर्बर हुँदै गरेको बोको हरामले नाइजेरियाको बागामा यति विध्वंशक आक्रमण गरेको थियो कि एम्नेस्टी इन्टरनेशनलले त्यहाँको स्याटेलाइट चित्रमा हेरेर भौतिक क्षतिको हद देखेपछि बल्ल त्यो आक्रमण समाचारको विषय बन्यो त्यो पनि कतै कुना काप्चामा ।
बागामा बोको हरामले कति मानिस मार्यो भन्ने यकिन तथ्यांक अझै आउन सकेको छैन तर त्यो संख्या पच्चीस सय जति भएको अनुमान गरिएको छ । बोको हरामको नेता अबुबकार शेकाउले हालै एउटा भिडियोमा बागामा सयौं मानिस मार्न आफूलाई भगवान्ले आदेश दिएको बौलठ्ठीपूर्ण दाबी गरेको छ । अर्कोतिर नाइजेरियाको सरकार र सेनाले बोको हरामको प्रतिकारको ठोस नीति बनाउनु त कता कता, बागामा भएको नरसंहारमा मारिनेको संख्या सानो भएको दाबी गर्दै आएको छ ।
अघिल्लो वर्ष मात्र अर्थतन्त्रमापनको नयाँ आधार लागू गरेर अफ्रिकी महादेशकै ठूलो अर्थतन्त्र घोषणा भएको नाइजेरियाबारे एउटा कुरामा धेरै विश्लेषकहरुको मतैक्य छः राज्यले प्रभावकारी प्रयास गरेको भए अहिले बोको हराम जति सशक्त छ, त्यति हुन असम्भवप्राय थियो ।
नाइजेरिया अन्य धेरै अफ्रिकी र अरब देशहरुझैं तेल अर्थतन्त्रले थोरै मानिसलाई अचाक्ली धनी र धेरैलाई गरीब बनाएको असमानता, भ्रष्टाचार र हिंसाले ग्रस्त देश हो । झण्डै आधा जनसंख्या ओगट्ने क्रिश्चियनहरुको सापेक्षतः सम्पन्न र समुद्रसित जोडिएको देशको दक्षिणमा बाहुल्य छ भने अर्को आधा ओगट्ने मुस्लिमहरुको विपन्न तर पर्याप्त उब्जाउ हुने देशको उत्तरी भागमा बाहुल्य छ । धर्मका नाममा बोको हरामले चलाएको युद्धले स्वतः देशको विपन्न उत्तरलाई अस्तव्यस्त बनाएको छ जहाँ राज्यको उपस्थिति यसै पनि निम्छरो छ । शिबोक र बागा ठूला आक्रमणका कारण समाचारमा आए पनि सञ्चार माध्यमसम्म नै नपुगी त्यहाँ गरिने हमलाहरुको गणना नै छैन ।
देशको दक्षिणबाट आएका अहिलेका नाइजेरियाली राष्ट्रपति गुडलक जोनाथन क्रिश्चियन हुन् । शिबोकबाट त्यत्रो संख्यामा छात्राहरु अपहरण भएपछि विश्वभर ‘ब्रिङ ब्याक आवर गल्र्स’ भनेर नारा लागे तर जोनाथनलाई उत्तः दुखद घटनाबारे राष्ट्रका नाममा सम्बोधन गर्न तीन हप्ता लाग्यो, प्रभावित क्षेत्रमा पुग्न महिनौं लाग्यो । लगत्तै समाचार आयो कि स्थानीय मानिसहरुले समयमै शिबोकमा अपहरण गर्न बोको हराम लडाकु आउँदैछन् भनेर नाइजेरियाली सेनाको स्थानीय टुकडीलाई जानकारीसमेत दिएका रहेछन् । लाजमर्दो अक्षमतासहित केही गर्न नसकेको नाइजेरियाको सेना अचाक्ली धेरै रक्षा बजेट पचाउने र भ्रष्टाचारमार्फत् देशको ढुकुटी रित्याउने माध्यमबाहेक केही बनेको देखिएन ।
अझ चर्को विरोधाभास त तब देखियो जब बागा आक्रमणमा भएको क्षतिबारे इमान्दार जानकारीसमेत नदिएर आफ्नो अकर्मण्यताको लाज ढाक्न खोजेका जोनाथनले शार्ली एब्डोमा भएको हमलाका लागि फ्रान्सलाई समवेदना पठाएका थिए ।
नाइजेरियामा अवस्था कतिसम्म निराशाजनक छ भने दक्षिण नाइजेरियाकै धेरै पत्रकार र विश्लेषकहरुले नियमित रुपमा राष्ट्रपति जोनाथन र उनको सरकारले बोको हरामसित लड्नमा देखाएको उदासीनताप्रति औंला ठड्याउँदै आधा देशको समस्या भनेर बेवास्ता गर्दै बोको हरामलाई सिंगो नाइजेरियाकै सुरक्षा चुनौती बन्न दिएको आरोप लगाउने गरेका छन् ।
कमरेड ओली,
त्यो हो बोको हरामको अति संक्षिप्त परिचय । शब्दहरुबीचको सन्देश पढ्ने क्षमता भएको भए शायद यहाँले बुझिसक्नुभएहोला, मैले के भन्न खोजेको हो ।
पहिलो कुरा, नेपालका माओवादीहरु भारतका नक्सलवादी वा पेरुको साइनिङ पाथबाट कुनै बेला निर्देशित थिए होला, त्यो प्रभावको निशानी अझै पनि तिनीहरुमा होला तर उनीहरु बोको हरामका सगोत्रीचाहिं हैनन् ।
दोस्रो कुरा, बोको हरामका रुपमा २००२ मा मात्र संगठित भएको समुह दशकभित्रै त्यति विध्वंशक र शक्तिशाली त्यसै भएको छैन । अबुजामा सुव्यवस्था र सुशासन भइदिएको भए नाइजेरियाको उत्तरी भुभाग त्यति पिछडिएको र विपन्न हुने थिएन । त्यो अवस्थामा बोको हरामले पेट पाल्ने आश्वासन दिएर बालबालिकालाई सैनिक बनाउन लैजान पाउने थिएनन् । अघिल्लो अप्रिलमै नाइजेरियाली सेनाले समयमै विद्रोही लडाकुहरुमाथि धावा बोलेका भए सेनालाई केही क्षति पुग्थ्यो होला तर अढाइ सय भन्दा बढी छात्राहरु अपहरित हुनुपर्ने थिएन । मानव अधिकारको रेकर्ड दुरुस्त नभए पनि दाताहरुलाई स्वीकार्य सम्म भइदिएको भए नाइजेरिया विदेशी सहयोगबाट विमुख हुनुपर्ने थिएन । त्यो अवस्थामा देशको आधा जनसंख्या कहिले बोको हराम आउला भन्दै असहाय बनेर मृत्यू पर्खन अभिषप्त हुने थिएनन् ।
चलाखीका लागि चिनिएका कमरेड ओली,
तपाइँले बोको हरामलाई नेपालको बहसमा तानेको अवस्थामा एउटा असहज र कटु यथार्थ भनिहालौंः नेपालका लागि बोको हराम वा ऊसँग चरित्र मिल्ने कुनै पनि संगठन वा समूह चाहिएको छैन । आशा गरौं, अहिलेको संक्रमण संयमतापूर्वक व्यवस्थापन भयो भने त्यो अवस्था कहिल्यै आउने पनि छैन । तर सत्यको अर्को पाटो के हो भने नेपाललाई गुडलक जोनाथनजस्तो अदुरदर्शी, अक्षम र संवेदनहीन नेतृत्व भएको सरकार पनि चाहिएको छैन । तोकरै भन्नुपर्दा, आधा देश जलिरहँदा बाँकी आधा त चोखै छ नि भनेर देशको पूरै जनसंख्यामा अपनत्वको भावनासमेत जगाउन नसक्ने नेतृत्व नेपाललाई अब चाहिएको छैन ।
त्यसैले जानेर वा नजानेर यहाँले माओवादीलाई बोको हराम भन्नु भनेको नेपालको सरकारलाई पनि अप्रत्यक्ष रुपमा गुडलक जोनाथनको नाइजेरियाली सरकारसित तुलना गर्नु हो । मेरो निजी विचार सोध्नुहुन्छ भने, विविध कमजोरीका बीच पनि कम से कम सुशील कोइराला नेतृत्वको सरकार गुडलक जोनाथनको सरकारजति नालायक र अकर्मण्य छैन ।
मेरो निजी सल्लाह मान्नुहुन्छ भने कमरेड, नेपाललाई नाइजेरिया (वा हालै मात्र ४३ निर्दोष विद्यार्थीलाई लागू औषध गिरोह र प्रहरी मिलेर मारिएको मेक्सिको )को अव्यवस्था र अस्तव्यस्ततामा जान नदिने हो भने त्यसका लागि यहाँले गर्न सक्ने केही ठोस कदमहरु छन् । पहिलो कदमचाहिं, विगतमा रिपोर्टरलाई सांघातिक हमला गर्ने, पत्रिका बन्द गर्ने र सम्पादकलाई जेल हाल्ने धम्की दिने मानिसहरु मात्र असली एमाले बाँकी सबै नक्कली एमाले भन्ने यहाँको अभिव्यक्ति यहाँले माफीसहित फिर्ता लिनुपर्छ । ती तीनमध्ये कुनै पनि काम नगरेका असलीजस्ता देखिने धेरै एमाले कार्यकर्ताहरु मैले भेटेको छु । पार्टीभित्र र देशमै यहाँको चुलिंदो शक्तिका कारण उनीहरु केही नबोलेको मेरो अनुमान छ तर जुन दिन यहाँले माफीसाथ असली एमालेको फराकिलो परिभाषा अँगाल्नुहुन्छ, त्यस दिन एमाले कार्यकर्ताहरु नै सबैभन्दा खुशी हुनेछन् ।
दोस्रो कदम, अहिलेको जटिल परिस्थितिमा विपक्षीसित लेनदेन गरेर सम्झौताको दस्तावेजका रुपमा संविधान जारी गर्ने कि उनीहरुलाई पेलेर र लतारेर असहजताका बीच संविधान जारी गर्ने, दुवै विकल्प यहाँसामू छन् । यहाँको स्वार्थ पछिल्लो विकल्पमा छ भने समग्रमा नेपालको स्वार्थचाहिं अघिल्लोमा । दुई तिहाइ यहाँसँग छ, रोजाइ पनि यहाँकै हो तर पछिल्लो विकल्प रोजेर नयाँ द्वन्द्व निम्तियो भने त्यतिबेला जो नेतृत्वमा हुनेछ, परिस्थितिले उसलाई जोनाथन गुडलकको बाटोमा हिंड्न प्रेरित गर्नेछ । विग्रहको त्यो स्थितिमा नेपालमा बोको हरामकै बर्बरता र निर्ममता भएको समुह त नउदाउला तर त्योसँग अलिअलि समानता भएको विद्रोह रहिरह्यो भने पनि त्यसले आउँदा दशकौंका लागि हाम्रो आर्थिक प्रगति र समृद्धिको बाटो थुन्नेछ ।
त्यसैले मेरो सुझावः सोमवार मध्यरात संसदमा भएको महाभारतको विषाक्त सम्झनालाई पन्छाउँदै यहाँले थप उदार र लचकता देखाउँदै राष्ट्रिय राजनीतिलाई सहमति र समझदारीको बाटोम हिंडाउनुहोस् ।
संयम र भाइचाराको चर्को खडेरी परेको बेला फेरि अर्को अभिव्यक्ति दिएर राजनीतिलाई तरंगित र देशलाई थप संकटग्रस्त बनाउनु अघि बोको हरामबारेको यो पाठ याद गर्नु होला भन्ने अपेक्षा सहित,
यहाँको शुभचिन्तक ।
No comments:
Post a Comment