जापानको एउटा सम्प्रदायमा पेटलाई रेटेर आन्द्राभुँडी बाहिर आउन दिएर पीडादायी मृत्यू भोग्ने परम्परालाई सेप्पुकु वा हाराकिरी भनिन्छ । ऐतिहासिक रुपमा, दुश्मनको हातमा परेर यातना पाउनभन्दा इज्जतको मृत्यू रोज्ने भनेर मानिसहरुले आफैं त्यस्तो मृत्यू वरण गर्थे भने मृत्यू दण्ड पाएका मानिसहरुलाई पनि कुनै बेला त्यसरी नै मारिने गथ्र्यो । आधुनिकतासँगै बिलाउँदै गएको त्यो परम्परा २००१ मा प्रसिद्ध जापानी जुडो खेलाडी इसाओ इनोकुमाले हाराकिरीले आत्महत्या गरेपछि फेरि चर्चामा आएको थियो ।
त्यसबाहेक हाराकिरी शब्दको मुख्य प्रयोगचाहिं अहिलेको विश्वमा सांकेतिक रुपमा बढी हुन्छ । पोलिटिकल हाराकिरी भनेपछि मुर्खतापूर्वक आफैंलाई क्षति हुने कदम चालेर कमजोर हुनु वा आफ्नो अस्तितवलाई नै संकटमा पार्नु भन्ने बुझिन्छ ।
एनेकपा माओवादी बेला बेला गलत बाटो हिंड्ने त गरेकै हो । तर अबचाहिं इतिहासको संवेदनशील घडीमा उभिएर ऊ राजनीतिक हाराकिरी गर्न पो थालेको हो कि भनेजस्तो देखिएको छ ।
त्यसो भन्नुको अर्थ अहिले उग्र रुपमा चलिरहेको राज्य पुर्नसंरचना र संविधान लेखनको बहसमा ऊ बेठिक, उसका विरोधीहरु ठीक भन्ने हैन । त्यो विवादलाई श्यामश्वेत रुपमा लिनुहुँदैन र सत्तारुढ शक्तिहरुले माओवादी र उसका सहयात्री मधेशवादी दलहरुलाई पेलेर वा निषेध गरेर जानुहुँदैन, समय लगाएर भए पनि विगतका उपलब्धिहरु संस्थागत गर्ने र नेपालीहरुको ठूलोभन्दा ठूलो संख्यालाई स्वीकार्य संविधान आउनुपर्छ भन्नेमा दुविधा छैन ।
तर माओवादीको हाराकिरीचाहिं हिजो राती संविधान सभाभित्रको ताण्डव र आजको बन्दको रुपमा आएको छ ।
अरु धेरै कुराहरुमा जस्तै माअोवादी नेतृत्वले बन्दको औचित्यबारे पनि विगतबाट केही नसिक्ने कसम खाएको देखिन्छ । दोस्रो संविधान सभाको नतिजा आउँदा धाँधली भएको भनेर प्रचण्डले तत्काल प्रतिक्रिया दिए तर समयसँगै हारबारे वस्तुगत समीक्षा गरेर त्यसबाट केही पाठ सिक्लान् भन्ने आम अपेक्षा थियो । तर त्यस्तो भएको रहेनछ ।
आफैं भ्रम सिर्जना गर्दै, त्यसैलाई पत्याउँदै गर्नुअघि माओवादी नेतृत्वले हिजोका दिनलाई विना पूर्वाग्रह हेर्नु जरुरी छ । पहिलो संविधान सभामा त्यति राम्रो नतिजा निकालेको माओवादी यति छिटो ओरालो लाग्नुमा उसका विगतका यस्तै कदमहरु जिम्मेवार थिए । प्रचण्डको सरकार गिर्ने बेलासम्म आउँदा माओवादी नेतृत्वको सत्ताबाट निराश हुने र जो आए पनि उस्तै त रहेछन् भनेर विरक्त हुने मानिसहरु उल्लेख्य थिए तर माओवादीको जनाधार यति खस्किसकेको थिएन । तर जब माधव नेपालको सरकारका बेला दिल्लीलाई हुँकार दिंदै प्रचण्ड सडकमा ओर्लेर २०६२–२०६३ दोहोर्याउने खोक्रो नारा उराल्दै मानिसहरुको दैनिक जीवनमा दख्खल दिन थाले, त्यसले माओवादीलाई मानिसहरुको आँखामा स्वात्तै गिरायो ।
त्यो समयमा प्रचण्डले सुकिलामुकिला मानिसहरुले आफ्नो विरुद्ध तानावाना बुनेको जुन अभिव्यक्ति दिए, त्यो बुर्जुवा भनिने मध्यम वर्गका मानिसहरुप्रति माओवादी पार्टीको अविश्वासको संकेत थियो । बुर्जुवाहरुलाई गाली गरेरै भए पनि त्योभन्दा विपन्न वर्गका मानिसहरुको साथ पाउन सकिन्छ भन्ने प्रचण्डको हिसाबकिताब रहेको बुझिन्छ ।
तर प्रचण्डको त्यो रणनीति दुई कारणले गलत थियोः एक, नेपालजस्ता विकासोन्मुख देशमा ढिलै गरेर भए पनि मध्यमवर्ग फैलँदो छ । हिजोसम्म जो हुँदा खाने थियो, आज ऊ खाडीमा गएर भए पनि पेटभर खाने र ढुक्कसँग आङ ढाक्ने भएको छ । माओवादीले सशस्त्र विद्रोह शुरु गरेको समयदेखि हिसाब गर्ने हो भने त यी दुई दशकमा आधा करोडभन्दा बढी मानिसहरु निम्न वर्गबाट कम्तीमा पनि निम्न–मध्यम वर्गमा पुगिसकेका होलान् (त्यसको यकिन तथ्यांक पनि कतै होला) । जो हिजो निम्न–मध्यम वर्गमा थिए, तीमध्ये धेरै आज युरोप, जापान, अस्ट्रेलिया र उत्तर अमेरिका पुगेर उच्च–मध्यम र उच्च वर्गतिर तानिंदैछन् ।
त्यसैले एउटा सानो र आफूलाई खास चुनौती दिन नसक्ने भनेर प्रचण्डले जसरी सुकिलामुकिलाहरुलाई जिस्क्याए, त्यतिखेर नेपाली मध्यम वर्ग (कम्युनिष्टहरुको भाषामा निम्न–पुँजीवादी बुर्जुवा)बारे प्रचण्डको धारणा २०५२ सालको यथार्थसित मिल्थ्यो । तर २०६६ मा आउँदा त धेरै हिसाबले समाजको त्यो तप्का निर्णायक भइसकेको थियो, २०६४ को चुनावमा माओवादीलाई ठूलो दल बनाउँदैखेरि यो तप्काको ठूलो भुमिका थियो ।
२०७२ मा आउँदा समाजमा मध्यम वर्गको भुमिका अझ बढेर गएको छ र सामाजिक सञ्जालले उनीहरुको सन्देश आदानप्रदान र सम्प्रेषण पहिलेभन्दा धेरै सजिलो बनाइदिएको छ ।
२०७० को चुनावमा माओवादीलाई हराउनमा यो वर्गको केन्द्रीय भुमिका थियो भनेर अब भनिरहनुपर्दैन । तर माओवादीले यो वर्गको मुल्यांकन गर्दा कुन कुरा बिर्सनुहुँदैन भने, राष्ट्रिय राजनीतिबारे उच्च वर्गभन्दा लचिलो र व्यवहारिक दृष्टिकोण भएको यो वर्गको उल्लेख्य हिस्साले अझै पनि नाममा झुण्डिएको माओवादी शब्द र विगतका उसका गतिविधिका आधारमा मात्र मूल्यांकन गर्दै माओवादीको भर्सेला परोस् भनेर भन्दैन र कुनै पनि दलहरुका बारेमा धेरथोर तिनीहरुको कार्यसम्पादनको गुणवत्ता हेरेर मूल्यांकन गर्छ ।
स्पष्ट छ, अब आउने चुनावमा यो वर्ग थप निर्णायक हुनेछ । त्यसैले अहिले सामाजिक सञ्जाल लगायतका माध्यमहरुमा बन्द र अवरोधको जुन चर्को विरोध भएको छ, त्यसलाई बेवास्ता गर्नु भनेको अर्को चुनावमा लज्जास्पद हार सुनिश्चित गर्नु हो ।
दुई, जसका लागि भनेर अहिले माओवादीले बन्द गर्दैछन्, कुनै पनि बन्दमा सबैभन्दा पीडित तिनै मानिसहरु हुन्छन् जसले दिनभर कमाएर बिहान बेलुका हातमुख जोड्नु पर्छ । जनसंख्याको यो हिस्सालाई भड्काउने बन्दभन्दा सजिलो माध्यम केही छैन । बन्दको औचित्यबारे जति लम्बाचौडा भाषण गरिए पनि त्यसले ती मानिसहरुको पेट भर्दैन ।
आजको समयमा मध्यम वर्गलाई लल्कार्दै र निम्न वर्गलाई भोकभोकै पार्दै बन्दको हतियारले उद्देश्य पूरा गर्न खोज्नु भनेको फाइटर जेटले सुसज्जित सेनासित भिड्न खुकुरी लिएर तम्सिनुजस्तै हो । बन्द वा आम हडताल अति सफल भए एकदिन कार्यालय र यातायातका साधन बन्द हुने हुन् । त्यसको बदलाचाहिं मानिसहरुले वर्षौंसम्म लिइरहन्छन्, अरु नभए पनि बन्दकारीलाई चुनावमा भोट नहालीदिएर ।
आजको संवेदनशील घडी, जुन बेला पछिल्लो चुनावमा हार मार्फत् दशकौं आफूले बोकेका एजेण्डाको स्वामित्व गुमाएको माओवादीलाई आम मानिसको सहानुभुतिको आवश्यकता थियो, त्यो बेलामा बन्द गरेर मानिसहरुलाई भड्काउनुजस्तो प्रत्युत्पादक कुरा केही हुन सक्दैनथ्यो । कुनै पनि समयमा एउटा राजनीतिक शक्तिको हाराकिरी दुखदायी हुन्छ नै, नेपालको यत्रो परिवर्तनको वाहकका रुपमा रहेको माओवादीले यस्तो संवेदनशील घडीमा आएर हाराकिरी गर्नुजस्तो दुर्भाग्यपूर्ण कुरा नेपालको राजनीतिक इतिहासमा अर्को हुन सक्दैन ।
अन्तमा, प्रचण्ड, बाबुराम वा अन्य बन्दकारी नेताहरुले स्वीकारुन् वा नस्वीकारुन्, यो अवस्थामा मानिसहरु माओवादीसित क्रुद्ध हुनुको सबैभन्दा धेरै र प्रत्यक्ष फाइदा अहिले यथास्थितिको चर्को प्रतिरक्षा गरिरहेको एमाले पार्टी र त्यसका अध्यक्ष केपी ओली लाई छ । राजनीतिका माहिर खेलाडी केपी ओली हिजो रातीको वितण्डामा घाइते भएको भन्ने समाचार छ तर माओवादीको आत्मघाती कदमका कारण सबैभन्दा राजनीतिक पुँजीचाहिं उनले नै पाउने निश्चित छ ।
विगतमा यस्तै धेरै घातक गल्तीहरुबाट त घाइते भएर भए पनि माओवादी पार्टी जीवितै बाहिर निस्केको थियो, तर यसपालिको हाराकिरीपछि के हुने हो, त्यसको टुंगो छैन । प्रमुख मताधारका रुपमा रहेको निम्न र मध्यम वर्गलाई क्रुद्ध बनाएका कारण भारतमा झण्डै एक शताब्दीभन्दा लामो इतिहास भएको र स्वतन्त्रतापछिका ६ दशकसम्म एक छत्रजस्तै राज गरेको काँग्रेस पार्टी त अहिले आएर अस्तायो भने हामीकहाँ त एउटा अलोकप्रिय राजनीतिक शक्तिको अस्तित्व मेटिनु ठूलो कुरै हैन । अस्तित्वको लडाइँमा होमिएको माओवादीले अरु आत्मघाती गल्ती थप्दै गएर आफ्नो अस्तित्व नै नामेट पार्ला कि ढिलै भए पनि इतिहासबाट पाठ सिकेर अस्तित्व जोगाउन लागीपर्ला? निकट भविष्यमै यो प्रश्नको उत्तर पनि आउनेछ ।
यो लेख लेखिंदै गर्दा बन्दको औचित्य प्रमाणित गर्न हम्मे परेपछि माओवादी नेता बाबुराम भट्टराइले यस्तो ट्वीट गरेछन्ः
सुकिला संभ्रान्त/धनी मात्रै सभ्य/मान्छे तर धुस्राफुस्रा श्रमिक/गरीब चाहिं असभ्य/बाँदर ठान्ने सामन्तयुगीन चिन्तन बोक्नेलाई सभ्य भन्न मिल्ला?
— Baburam Bhattarai (@brb_laaldhwoj) January 20, 2015
यो पनि २०६६ सालमा प्रचण्डले दिएको सुकिलामुकिलावाला अभिव्यक्तिभन्दा फरक देखिंदैन । जब मानिस आफ्नै कदमबारे विश्वस्त हुँदैन, उसलाई शब्दले पनि साथ दिन छाड्छ र यस्तै भाषिक स्टन्टहरुको सहायता लिनुपर्छ ।
No comments:
Post a Comment