देश र समाजका शत्रुहरुको सुचीमा एक, दुई र तीन स्थानमा आफैं पर्ने नैतिकता टाट पल्टिसकेका मन्दबुद्धिहरुले समाजको ध्यान अन्यत्र मोडेर आफ्नो अकर्मण्यता लुकाउन सिके राउतलाई एउटा वहाना बनाएको मेरो ठम्याइ छ । यति सरल सत्य नबुझेर युवाहरुको एउटा जमात यस्तो कुरा गदैछ मानौं नेपालका तमाम समस्याको जड खाली सिके राउत नामको एउटा व्यक्ति हो जसको बलि चढाउने हो भने चमत्कारपूर्ण नेपाल एउटा स्वतन्त्र, सार्वभौम र समृद्ध देश बन्छ । योभन्दा भ्रामक कुरा केही हुन सक्दैन ।
सीके राउतका बारेमा केही नबोल्ने निश्चय गरेको थिएँ । आलोचनाका डरले हैन ब्लगको दशैं विशेष अंकको व्यस्तताले गर्दा । तर उनी अनशनमा बसेर नाजुक हालतमा रहेको समाचार आएसँगै चुप रहन सकिएन ।
शुरुमा लागेको थियो, सरकारले नगर्नुपर्ने पक्राउ गरिहाल्यो, गल्ती महसुस गरेर केही दिनमा छाडिदिइहाल्नेछ । यसबीच जो जति बोले बोले, यसको दीर्घकालीन प्रभाव केही हुने छैन ।
तर मामला बिस्तारै गम्भीर भएर जाँदैछ ।
यो सीके राउतको बचाउ हैन, न त उनका अभिव्यक्ति र कथित गतिविधिको पनि । जसलाई जे लाग्छ, त्यो भन्ने हो । लोकतान्त्रिक व्यवस्थामा समाजलाई त्यो पाच्य भएन भने त्यसको आलोचना वा खण्डन गर्ने हो । राउतका अराजक र क्रुद्ध शब्दहरु नेपाली समाजका लागि अपाच्य होलान्, मानिसहरुका भावनामा चोट पुगेको पनि होला । इमान्दार भएर भन्नुपर्दा उनका अभिव्यक्ति सुनेर म कत्ति पनि क्रुद्ध भइनँ अरु धेरै मध्यम वर्गीय मित्रहरु झैं । ती अभिव्यक्ति आपत्तिजनक पक्कै थिए तर क्रुद्ध भएर उनको फाँसी माग्न लायक हैन ।
सबैले बिर्सेको कुरा के भने, अन्तहीन संक्रमणमा फसेको एउटा समाजले यस्ता अतिवादी सोचका रुपमा आउने ध्वंशकारी प्रवाहहरुलाई पार गरेर अघि बढ्ने साहस गर्नैपर्छ । देशको राजनीतिक नेतृत्व आफ्नो कर्तव्यबाट जति चुक्दै जान्छ, देश र समाजले त्यति नै मूल्य चुकाउनुपर्छ ।
सही अर्थमा मूल्य चुकाउनु भनेको सावधानी र बुद्धिमत्तापूर्वक त्यस्ता उग्र र अतिवादी विचार र व्यक्तिहरुको व्यवस्थापन गर्नु हो ।
राउतको सन्दर्भमा गर्न मिल्ने सबैभन्दा उत्तम कदम भनेको उनलाई नचलाएर त्यत्तिकै छाडिदिनु थियो । त्यो अवस्थामा एकाध मानिसले सुनेका उनका अभिव्यक्ति त्यसै सेलाएर जान्थे र उनी यसअघि जुन अवस्थामा थिए, त्यसैमा रहन्थे ।
सरकारले उनलाई पक्रेर जानी नजानी त्यही गर्यो, जुन रणनीतिक रुपमा उनी चाहन्थे । मधेश नै अलग गर्ने उद्देश्य राखेको मानिसलाई केही दिन वा महिनाको जेलनेल भोग्नु भनेको केही पनि हैन । कुनैबेला बाल ठाकरेको शिव सेनाले आउटलुक पत्रिकाका लागि जे गरेको थियो, हाम्रो सरकारले त्यही गर्यो ।
आउटलुकको पहिलो अंक आउँदा त्यसले इण्डिया टुडेजस्ता स्थापित पत्रिकालाई टक्कर दिने सम्भावना शुन्यप्रायः थियो । बलेको आगो ताप्ने मिडिया संसारमा फलानोले नयाँ पत्रिका खोल्यो भनेर त्यो तत्काल पढिदिने र विज्ञापन दिन जाने नगण्य हुन्थे । तर त्यो अंकमा प्रकाशित कश्मिर उपत्यकाको सर्वेक्षणलाई लिएर शिव सेनाले पत्रिकाका केही प्रति जलायो । पत्रिका रातारात भारतको राष्ट्रिय सञ्चार जगत्मा हिट छवि लिएर उदायो । पत्रिकाका संस्थापक सम्पादक विनोद मेहताले भनेका छन्ः बाल ठाकरेले आउटलुकका लागि अघोषित सर्कुलेशन म्यानेजर अथवा बिक्री व्यवस्थापकको काम गरिदिए ।
त्यसयता आउटलुकले पछि फर्केर हेर्नु परेको छैन ।
सिके राउतको त्यस किसिमको पुनरोदय होला वा नहोला उनका भावी गतिविधि र चातुर्यमा पनि भर पर्ने कुरा हो तर सरकारले आफ्नो तर्फबाट उनका लागि जे सक्थ्यो त्यो गरिसक्यो ।
जब समाजमा एउटा तहले मात्र हैन, सबैले बाटो हराउँछन्, अहिलेको पाकिस्तानको जस्तो स्थिति उत्पन्न हुन्छ । प्यारानोइड सिजोफ्रेनिया नामक असाध्य मानसिक रोग लागेका एक मानिसलाई ब्लास्फेमी अर्थात् धर्म निन्दाका लागि दोषी ठहर्याएर जेल लगियो, त्यहीं उनको हत्या गर्ने प्रयास स्वरुप गोली हानियो । के बोलें भन्ने पत्तो समेत नपाउने र अन्यत्र भए निःशुल्क मानसिक अस्पतालमा उपचार पाउने उनी अहिले पाकिस्तानमा मृत्युदण्डको प्रतिक्षा गरिरहेका छन् ।
त्यसै पनि एउटा अनशनकारीको हत्याको जिम्मा लिइसकेको अहिलेको सरकारले गर्नुपर्ने जे हो, त्योचाहिं नगरेर बाँकी सबै गर्दैछ । आज गुण्डागर्दीकै भरमा सरकारी ढुकुटीको अरबौं लुट्नेहरुले के देश र समाजलाई क्षति पुर्याएका छैनन्? सडक र साधनको बेहाल हुँदा टुलुटुलु हेरेर बस्ने सरकारले त्यसै कारणले हुने दुर्घटना र मानिसको मृत्यूको जिम्मा लिनुपर्छ कि पर्दैन?
आफ्नो ठाउँमा सिके राउत गलत होलान्, तर हाम्रो लोकतान्त्रिक सरकारले उनीसित त्यही व्यवहार गर्दैछ जुन हिजोको पञ्चायतले निहत्था बि पी वा गणेशमानलाई गरेको थियो ।
सिके राउत वा अरु कोही पनि नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी भौतिक कार्य सम्पादनमा ओर्लिएको अवस्थामा तिनलाई भौतिक नै कारवाही गर्नु जायज हो । तर खै त्यसको प्रमाण? ट्रेञ्च खन्ने र नाकाबन्दी गर्ने प्रहरीका हावादारी दाबी? सिंहदरबार अघि मानिसलाई गोली दागेर भाग्ने हत्यारालाई छोप्ने खुबी छैन तिनको, तिनले के जासुसी गरेर त्यो कुरा पत्ता लगाए होलान्? सैद्धान्तिक रुपमा सम्भव तर व्यवहारिक रुपमा असम्भव ।
राउतले ट्रेञ्च नै खने र नाकाबन्दीको प्रयास गरे, छिमेकी देशले पनि उनलाई पत्याएर साथ दिएपछि नेपालमा साँच्चिकै संकट उत्पन्न हुने भयो, यति कुराको अकाट्य प्रमाण नभएसम्म उनलाई पक्रिनु सरासर गलत हो । सोच्न त कोकोले के के सोच्छन्, को कोले केके योजना बनाउँछन्, तिनको पछि लाग्ने काम राज्यको हैन ।
अहिलेको नेपाललाई मुख्य खतरा केबाट छ? म ठोकुवा गरेर भन्छु, कुकुर बिरालो झैं झगडा गरेर संविधान निर्माणको काम तर्काउँदै आएका राजनीतिज्ञहरुको अकर्मण्यता आजका दिनमा नेपालको प्रधान शत्रु हो । दोस्रो प्रधान शत्रु हो पटके चोरदेखि देशका सबै डरलाग्दा अपराधीहरुलाई पूरै संरक्षण दिएर समाजको शान्ति र अमन चयन बर्बाद पार्ने राजनीतिज्ञहरुको जमात । तेस्रो प्रधान शत्रु होः एउटाले गरे भ्रष्टाचार हुने तर सबै मिलेर गरे सामान्य राजनीतिक गतिविधि हुने राजनीतिको आम प्रवृत्ति र संस्थागत रुपमा सेना पुलिसदेखि न्यायालयसम्म प्रयास गरेको निकृष्ट तुच्छता र भ्रष्ट प्रवृत्ति ।
देश र समाजका शत्रुहरुको सुचीमा एक, दुई र तीन स्थानमा आफैं पर्ने नैतिकता टाट पल्टिसकेका मन्दबुद्धिहरुले समाजको ध्यान अन्यत्र मोडेर आफ्नो अकर्मण्यता लुकाउन सिके राउतलाई एउटा वहाना बनाएको मेरो ठम्याइ छ । यति सरल सत्य नबुझेर युवाहरुको एउटा जमात यस्तो कुरा गदैछ मानौं नेपालका तमाम समस्याको जड खाली सिके राउत नामको एउटा व्यक्ति हो जसको बलि चढाउने हो भने चमत्कारपूर्ण नेपाल एउटा स्वतन्त्र, सार्वभौम र समृद्ध देश बन्छ । योभन्दा भ्रामक कुरा केही हुन सक्दैन ।
सरकारले जति बौलट्ठी देखाउनु थियो देखाइसक्यो । गल्ती स्वीकारेर पश्चात्ताप गर्न कहिल्यै ढिलो हुँदैन । हाम्रो अदालतले जटिल दीर्घकालीन सामाजिक–राजनीतिक अन्तक्र्रियालाई नापतौल गरेर न्यायोचित निर्णय समयमै गर्ला भनेर कसैले अपेक्षा गर्ने ठाउँ पनि छैन ।
समस्याको एउटै निकास छः उनलाई तुरुन्त निःशर्त रिहा गरेर आफ्नो कल्पनाको उडान भर्न दिने । सभ्य समाजले गर्नु पर्ने नै त्यही हो । हालै चीनले उइघुर जातिका मानिसको पक्षमा बोल्यो र लेख्यो भन्दैमा एउटा सम्मानित प्राध्यापकलाई आजन्म कारावास सुनाएको बाटो वा पाकिस्तानमा मोहम्मद अस्घर नामका मानसिक बिरामीलाई पहिले गोली हानेर अब मृत्युदण्डको प्रतिक्षा गराएको बाटो नेपालका लागि किमार्थ जायज हैन । राज्यले आज उदारता देखायो भने बरु भोलि नेपाल टुक््रयाउन हिंड्नेहरु त्यो बाटोबाट फर्कलान् तर राज्य जति तिनको पिछा पर्छ, ती त्यति बलिया हुँदै जान्छन् र राष्ट्रियताको विषयमा त्यति नै फुकाउन नमिल्ने गाँठो पर्छ । कुनै न कुनै बिन्दुमा नफूकेको गाँठोलाई काट्नुपर्ने हुन्छ ।
त्यो असहज अवस्था नआओस् भनेरै आउनोस् नेपालको राज्यलाई एक स्वरले भनौंः सिके राउतलाई रिहा गर ।
Next article: एमालेकरणबारे थप केही कुरा
No comments:
Post a Comment