चानचुन छ वर्षको सक्रिय लेखनमा झण्डै तीन सय लेख वा सामाग्री आफ्नो ब्लगमा प्रकाशित गरिरहे पनि तिनमध्ये एउटा मात्र पूरा लम्बाइको स्तम्भ कागजमा प्रकाशित गर्न सफल थोरै भाग्यमानी लेखकहरुमध्ये म पर्छु होला । त्यस हिसाबले मेरा कति लेखहरु कति जना र कुन कुन सम्पादकले प्रकाशित गर्न अस्वीकार गरेका छन्, त्यो हिसाब गर्न मेरा चलाउन छोडिसकेका इमेल खाताहरुसमेत खोलेर हेर्नुपर्ने हुन्छ । यसबीच अनलाइन सञ्चारहरुमा मेरा जति लेखहरु प्रकाशित भए, ती सहृदयी सम्पादकहरुले स्वीकृतिमार्फत् दिएको शिक्षा र नेपाली तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अन्य सम्पादकहरुले अस्वीकृतिमार्फत् दिएका शिक्षाहरु एक लेखकका रुपमा मेरा लागि बराबर महत्वपूर्ण भएजस्तो लाग्छ ।
सम्पादकलाई मार्ने प्रयासहरु नभएका हैनन्, ती मार्ने प्रयास पूरै असफल भएका पनि छैनन् । तर अहिलेको अवस्थामा सम्पादक मरिसकेको हो कि थङ्थिलो भएर लडेर फेरि तंग्रिने प्रयास गरिरहेको हो? एउटा स्वाभिमानी सम्पादक धनी संचार गृहमा नअटाउनु भनेको सम्पादकको अवसान हो कि फरक र बागी पत्रकारिताको जन्मने अवसर? कतै अहिलेको संकटले दक्षिण एशियाली पत्रकारितामा नयाँ र सुनौलो युगको जन्म दिने सम्भावना बोकेको त छैन?
धन, सत्ता र शक्तिको पुजा गर्ने आहिलेको समाजमा आम मानिसले भन्दा एक कदम अघि बढेर भविष्य नियाल्ने र अलोकप्रियता खपेरै भए पनि समाजको हरेक तप्काबाट उत्तरदायित्वको माग गर्ने व्यक्तिको हिसाबले एउटा सम्पादकप्रतिको मेरो सम्मान, अपेक्षा र एक हदको आशावादिता अझ पनि ज्यूँदै छ । यस्तो पृष्ठभुमिमा देशका एउटा प्रबुद्ध सम्पादकले नेपालमा सम्पादकको उदय नै नभई अवसान भएको घोषण गर्दा मलाई कति उदेक लागे होला, त्यो सहजै अनुमान गर्न सकिन्छ । नागरिक दैनिकमा प्रकाशित उक्त पत्रिकाका सम्पादक प्रतिक प्रधानको उक्त विचारोत्तजक लेख नेपालको सञ्चार जगत्का लागि एउटा निर्दयी चेतावनी र संचार गृहहरुका लागि खरो चुनौतीको रुपमा आएको छ । त्यसो त मेरा लागि लेखको विषयवस्तु त्यति नयाँ थिएन । खास गरी भारतको सञ्चार जगत्मा मौलाएका विकृतिलाई दि न्यू योर्करमा आएको एउटा सनसनीखेज लेखले खुलस्त पारेपछि अलि फरक ढंगबाट मैले लेखेका दि रट बिहाइन्ड द फ्याकेड अफ फ्री मिडिया इन इण्डिया प्रकाशित भएको थियो फरेन पोलिसी जर्नलमा । त्यस यता पनि भारतको संचार जगत्लाई नजिकबाट हेर्दा तेहेल्का दैनिक र त्यसका हर्ताकर्ता तरुन तेजपालको उदय र अस्त (कम्तीमा तत्कालका लागि), जी टीभीका माथिल्लो स्तरका मानिसहरुले एउटा उद्योगपतिलाई ब्ल्याकमेल गरेर करोडौंको विज्ञापन हत्याउन खोज्दाको प्रकरण तथा दि हिन्दुका सम्पादकबाट सिद्धार्थ बर्धराजनलाई हटाइँदाको खल्बलीजस्ता घटनाक्रमबाट म परिचित छु । केही महिना हघि मात्र भारतमा उदाउँदा नरेन्द्र मोदीको पक्षमा उर्लेको भनिएको मोदी वेभलाई बेवास्ता गर्न खोजेको वा मोदीको मधुरो आलोचना गरेकै कारण कम्तीमा तीन जना प्रबुद्ध सम्पादक तथा कार्यक्रम प्रस्तोताले रोजगारी गुमाएको समाचार छापेको थियो, आउटलुक पत्रिकाले । तर नेपालको एउटा स्थापित लेखकले त्यति इमान्दारीपुर्वक र त्यति उदांगो पारेर नेपालको सञ्चार जगत्का बारेमा अहिले बोल्नु भनेको फरक कुरा हो । त्यही कुरा मैले बोलेका भए मानिसले अंगुर अमिलो... भनेर कुरीकुरी गर्न सक्थे । तर एउटा सशक्त र व्यावसायिक सम्पादकबाट आएको त्यो कुराले नेपाली संचार जगत्मै एउटा नयाँ र गम्भीर बहसको सिर्जना गरेको छ । मैले चिनेका सम्पादकहरु उसो त मैले अहिलेसम्म त्यति धेरै सम्पादकहरुसित संगत गर्ने मौकै पाएको छैन । तर जतिसँग काम गरेको छु, तिनले आ आफ्नो किसिमले प्रभावशाली छाप छाडेका छन् । हालसम्म मेरा झण्डै दर्जन लेख प्रकाशित गरिदिने फरेन पोलिसी जर्नलका सम्पादक जेरेमी आर ह्यामोण्डसँग मेरो ब्लगको गत नयाँ वर्ष विशेष संस्करणका लागि एउटा बृहत् इमेल अन्तर्वार्ता लिएको थिएँ । अन्तर्वार्ताको अन्ततिर नयाँ वा वैकल्पिक मिडिया आर्थिक रुपमा निश्चिन्त हुने अवस्था निकट भविष्यमा आउला त भनेर सोध्दा उनले भनेका थिएः राम्रोसित काम गर्ने व्यावसायिक मोडल खोज्न मूल धारका सञ्चार माध्यमलाई त हम्मे परिरहेको छ भने वैकल्पिक मिडियाका त कुरै छाडौं । हुन पनि बलियो राष्ट्रिय र अन्तर्राष्ट्रिय उपस्थिति र शान भएका न्यू योर्क टाइम्स र वाशिंटनन पोस्टजस्ता संचार जगत्का शक्ति केन्द्रहरुलाई त आत्म निर्भर र वस्तुगत पत्रकारिता गर्न संघर्ष गर्न परिरहेको छ भने नेपालजस्तो शुष्क अर्थतन्त्र भएका देशहरुमा मूल धारकै सञ्चार माध्यमहरुका अगाडि पनि थुप्रै चुनौतीहरु छन् । तर अरु अनुभवहरुले के पनि देखाएका छन् भने, आर्थिक रुपमा टाट पल्टेर बन्द भइसकेका सञ्चार माध्यमहरु र बेरोजगार भइसकेका सम्पादकहरु पनि फरक तरिकाले फेरि जाग्ने सम्भावना जहिले पनि हुन्छ । सन् १९९५ मा शुरु भएको हङकङ–बैंकक आधारित एशिया टाइम्स लगत्तैको एसियाली आर्थिक संकटसँगै सन् १९९७ मा बन्द हुन पुगेपछि अर्को डेढ वर्षको अवधिमा एशिया टाइम्स अनलाइनका रुपमा उदाएर अहिलेसम्म एशियाको प्रबुद्ध थिंक्ट्यांक बन्न सफल भएको छ । जेम्स अनविनजस्ता सम्पादकहरु रहेको त्यो अनलाइन पत्रिकामा अन्तर्राष्ट्रिय जगत्का होनहार र अहिलेको भूराजनीतिबारे परस्पर विरोधी मत राख्ने पेपे एस्कोबार र डेभिड गोल्डम्यानजस्ता स्तम्भकारहरु अटाइरहेका छन् । त्यसरी नै स्पेनको मन्दीसँगै प्रिन्ट बन्द गर्न बाध्य कुनै बेलाको त्यहाँको दोस्रो ठूलो पत्रिका पब्लिको अहिले अनलाइन संस्करण मात्र चलाएर पनि लोकप्रियता कायम गरिरहेको छ । मैले चिनेका अन्य सम्पादकहरु भने बिल्कुल फरक धार वा बागी प्रकृतिका छन् । विश्व व्यापार संगठनका जुम्ल्याहा टावरमा आतंककारी हमला भएपछि अफगानिस्तानलगायतका देशहरुमा हिंस्रक युद्ध शुरु गर्नु अघि युद्धको औचित्यबारे जर्ज बुश प्रशासनले फैलाएको चर्को मिडिया प्रोपागाण्डाबीच त्यसको पहिलो दिनदेखि नै निरन्तर प्रतिरोध गर्ने एक सञ्चारकर्मी थिएः टम् एंगेलहार्ट जसले टम डिस्प्याच भनिने बागी स्तम्भकारहरुको गतिलो वेबपत्रिका चलाउँछन् । कुनै बेला कस्तै परिस्थतिमा पनि अपराजित रहने अपेक्षा गरिएको अमेरिकी सैन्य बलले गत दशकमा त्यस्तै नियति भोग्दै गयो जुन एंगेलहार्टले शुरुमै आंकलन गरेका थिए । तिनै एंगेलहार्टले हालै एडवार्ड स्नोडेनले अमेरिकाको गोप्य खुफिया एजेन्सी एनएसएबारे धेरै जानकारी लिएर भागेको अवस्थाको दीर्घकालीन असरबारे विश्लेषण गर्दै मिस्टेकिङ ओम्निसेन्स फर ओम्निपोटेन्स शीर्षक गहन र अद्वितीय लेख लेखे । त्यही लेख मेरो ब्लगमा पुनः छाप्न अनुमति माग्दै मैले लेखेको इमेलको उत्तरमा उनले आश्चर्यजनक उदारताका साथ लेखेः उनको टमडिस्प्याचमा सर्वाधिकार रहेका कुनै पनि लेख छाप्नु, खाली स्पष्ट श्रोत खुलाउने शर्तमा । त्यसबाहेक मसित दोहोरो सम्पर्क नगरेका तर मूल धारभन्दा फरक चरित्रका र लोभलाग्दो सफलता हासिल गरेका सम्पादकहरु धेरै छन् । खास गरी कर्पोरेट मिडियाले मत्स्य न्याय गरेको भनिने अमेरिकी संचार जगत्मा समेत हफिंटन पोष्ट र कमन ड्रिम्सजस्ता बागी मिडियाहरु राम्रोसँग जमिरहेका छन् । मुल धारमै पनि रुपर्ट मुड्रोकको जस्तो पूर्णतः व्यापारिक पत्रकारितालाई संस्थागत रुपमा टक्कर दिइरहेका सेन्टर लेफ्ट धारमा रहेका भनिने बेलायतको द गार्जियनजस्ता पत्रिकाहरुले पश्चिमा संचार जगत्मा राम्रो हिस्सा ओगटिरहेका छन् । कतिसम्म भने, गार्जियनको कमेन्ट इज फ्री भनिने ब्लगको इजरायल–प्यालेष्टाइन द्वन्द्वबारेको कभरेजबाट आजित भएर त्यसको खण्डन र खिसिट्युरी गर्न इजरायलीहरुले सिफवाच नामको अर्को वेबसाइट नै खोलेका छन् । दक्षिण एशिया फर्कंदा माथि उल्लेख गरिएका पूर्वी एशिया, उत्तर अमेरिका र युरोपभन्दा दक्षिण एशियामा सञ्चार माध्यमहरुको अवस्थिति र हैसियत फरक छ । त्यो हिसाबले यहाँका सञ्चार गृहहरु र सम्पादकहरुका सामू रहेका चुनौती र अवसरको प्रकृति पनि फरक छ । यही विशिष्ट अवस्थामै प्रतिक प्रधानले नेपालका सम्पादकहरुबारे कटाक्ष गर्नुपरेको हो र त्यो कटाक्षलाई दक्षिण एशिया र नेपालको विशिष्ट परिस्थितिको सापेक्षमा राखेर हेर्नुपर्ने हुन्छ । दक्षिण एशियामा, खास गरी भारतमा संचार जगत्लाई लोकतन्त्रको इमान्दार पहरेदारबाट ठेकेदारी वा तस्करीजस्तै नैतिकताविनाको व्यावसायमा ढाल्नमा टाइम्स अफ इण्डियाको प्रकाशक बीसीसीआइका मालिकद्वय समिर र विनित जैनको केन्द्रीय भुमिका भएकोमा कुनै दुविधा छैन । द न्यू योर्करको केन औलेट्टाको सिटिजन्स जैन भन्ने लेखदेखि माथि उल्लेखित फरेन पोलिसी जर्नलको मेरो लेख अनि प्रतिक प्रधानको कठाक्षसम्म जैन दाजुभाइको नाम नछुट्नु स्वभाविक हो । तर भारतमा सम्पादकको अवसान (वा हत्या)का लागि जैन दाजुभाइ मात्र जिम्मेवार हुन् भन्नुचाहिं त्यति युक्तिसंगत हुँदैन । त्यो किन पनि भने विगत केही वर्षदेखि एउटा आदर्श सम्पादक र संचारकर्मीका रुपमा मैले हेर्ने गरेका तरुन तेजपालका बारेमा हालै प्रकाशमा आएका कुराले के देखाउँछन् भने बागी पत्रकारिताका लागि चिनिएका मानिसहरु पनि त्यस्तो अवसानका लागि जिम्मेवार छन् । त्यति हुँदा हुँदै पनि बिर्सन नहुने कुरा के हो भने सांकेतिक रुपमा सम्पादक मरिसकेको भन्न सकिएला तर मर्न तयार हुनै लागेको सम्पादकलाई बचाउन भैरहेका साहसिक प्रयासहरु पनि हाम्रोसामु, खास गरी भारतमा यत्रतत्र देख्न सकिन्छ । प्रिन्ट र टेलिभिजनमा समाचारसमेत पैसाका लागि बेचिएको अवस्थामा ठेकेदारी र तस्करी पत्रकारिता गर्नेहरुसित प्रिन्ट र टेलिभिजनको माध्यमबाट प्रतिकार गर्नु असम्भव प्राय भैसकेको छ । यो विषम परिस्थितिमा पत्रकारिताको धर्म बचाउने माध्यम खोज्दै हिंड्नेहरु कम लगानी लाग्ने अनलाइन संचार माध्यमहरुतिर धकेलिंदै गएका छन् । अन्तमाः नेपाली पत्रकारिता नेपालको मूल धारको पत्रकारिताका लागि म अझै एउटा बाहिरिया भएको नाताले मैले गरेको आलोचना अंगुर अमिलो भनेजस्तो ठहर्ला कि भनेर हालसम्म त्यस्तो औपचारिक आलोचना गरेको छैन । बेला बखतमा हामीकहाँ व्यावसायिक पत्रकारिता त भयो तर खोज पत्रकारिताचाहिं शुन्य प्राय भयो भनेरचाहिं मैले भन्दै आएको हो । नेपाली पत्रकारिताबारे प्रतिक प्रधानले कुनै सीमा नै नराखी कटाक्ष गरेपछि त त्यसमा केही थप्न वा घटाउन म आफूलाई योग्य ठान्दिनँ । अन्तमा, पत्रकारितासित बाह्र हात परको साइनो पनि नभएको मानव विज्ञानको विद्यार्थी मलाई पत्रकारिताप्रति यत्रो चासो जाग्नुपछि एउटा व्यक्तिको एउटा किताब छ, त्यो होः विनोद मेहताको आत्मकथा लखनउ व्वइ । संचार गृहका मालिकहरुको अह्रनखटन मान्न नसक्दा एक पछि अर्को राम्रो सम्पादकको जागिर गुमाउने गरेका मेहताले अति तनावको कुनै अवस्थाबारे लेख्छन्ः त्यसबेला मलाई कञ्चटमा केही राउण्ड गोली पड्काउनुबाट रोक्ने केही मानिसहरु थिए । डर लाग्दो परिहास गर्दै कुनै बेला उनी कल्पिन्छन्ः उनको समाधिस्थलमा लेखिएको हुनेछ –भारतको सबैभन्दा धेरैचोटि बर्खास्त गरिएको सम्पादक । त्यसो त विनोद मेहता भारतीय पत्रकारिताको इतिहासमा एउटा सफल, व्यावसायिक र जिम्मेवार साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक बनेर त्यसमा इच्छा लागुञ्जेल काम गरेर सेवा निवृत्त भएका छन् । मेहताको देन आउटलुक लगायतका जिम्मेवार भारतीय संचार माध्यमहरु पूरा देशको खान तलासी मात्र नगरेर पत्रकारिता जगतभित्रैका लुकेका तमाम बेथिति र भ्रष्टाचारलाई पनि बिस्तारै बिस्तारै खोतल्दै जान थालेका छन् । टाइम्स अफ इण्डिया जस्ता कर्पोरेट मिडियामा नअटाएका र आफ्नो विवेकले पत्रकारिता गर्न खोज्ने मानिसहरु बिस्तारै तत्काल समृद्धि दिने टेलिभिजन र प्रिन्ट पत्रकारिता छाडेर आफ्नै खर्चमा चलाउनुपर्ने अनलाइन पत्रकारितातिर ढल्किंदै गएका छन् । त्यसैले मेरो मत के भने, सम्पादकलाई मार्ने प्रयासहरु नभएका हैनन्, ती मार्ने प्रयास पूरै असफल भएका पनि छैनन् । तर अहिलेको अवस्थामा सम्पादक मरिसकेको हो कि थङ्थिलो भएर लडेर फेरि तंग्रिने प्रयास गरिरहेको हो? एउटा स्वाभिमानी सम्पादक धनी संचार गृहमा नअटाउनु भनेको सम्पादकको अवसान हो कि फरक र बागी पत्रकारिताको जन्मने अवसर? कतै अहिलेको संकटले दक्षिण एशियाली पत्रकारितामा नयाँ र सुनौलो युगको जन्म दिने सम्भावना बोकेको त छैन? नेपालका स्थापित र व्यासायिक सम्पादकहरुको एउटा उल्लेख्य हिस्साले आफ्नो बागी चरित्रका कारण ठूला संचार गृहहरुमा अटाउन नसकेर एउटा नयाँ प्रयोग थालेको कुरा मैले सुनेको थिएँ, कतै त्यसले नेपालमा एउटा पत्रकार र सम्पादकलाई अनि पत्रकारितालाई नै फरक र नयाँ रुपमा फेरि जन्म दिने त हैन?
No comments:
Post a Comment