कविताले पेट भरिंदैन, आङ पनि ढाकिंदैन । तर पनि त्यसो भनेर कविहरुले कविता लेख्न छाड्दैनन् । साहित्यका विभिन्न विधाहरुमध्ये कविता पनि एउटा शक्तिशाली विधा मानिंदै आएको छ ।
उसो त कविता र कविको खिस्सी उडाउने चलन पनि त्यति नौलो छैन र हाम्रो समयका कथित बेस्टसेलरहरुमध्ये कविताका पुस्तकले विरलै ठाउँ पाउँछन् । हुन पनि मानिसले कति कविता पढ्छन् भन्ने कुरा समाजमा मानवीय संवेदना कत्तिको छ भन्नेमा भर पर्छ । त्यसै गरी कत्तिको राम्रा कविता लेखिन्छन् भन्ने कुरा चाहिं कति साधनाशील र प्रतिभाशाली कविहरु छन् भन्ने कुरामा भर पर्छ ।
इमान्दार भएर भन्नुपर्दा म आफैं त्यति धेरै कविता पढ्ने मानिस हैन तर आफैंले कहिलेकाहीं लेख्ने गरेका झूर कविताको सापेक्ष राखेर हेर्दा कतिपय कविका कविताहरुले ज्यादै प्रभावित बनाउँछन् । भुपि शेरचन र श्रवण मुकारुङका शक्तिशाली कवितापछि मलाई त्यही स्तरमा विनोद विक्रम के सीका कविताले छोएका छन् । त्यसैले कविको मौखिक अनुमति लिएर यो एउटा शक्तिशाली कविता यहाँ प्रस्तुत गरेको छु ।
साँझ साँझतिर
रामप्रसादको पुरानो घरमा
आइपुग्यो भूमण्डलीकरण
त्यो भन्छन् नि अङ्ग्रेजीमा ‘ग्लोबलाइजेशन ’
हे, आइपुग्यो ‘ग्लोबलाइजेशन ’
गोरो,
अग्लो,
नीलो आँखा भएका,
सुन्दर
त्यो भन्छन् नि अंग्रेजीमा ‘ह्याण्डसम ’
हो, ‘ह्याण्डसम’ भूमण्डलीकरण
राम्रसादले यथासक्य गर्यो अतिथि सत्कार
खानपिनपछि
भूमण्डलीकरणले आफ्नो झोला खोल्यो
र, बाँड्न थाल्यो
पहिलो विश्व
त्यो भन्छन् नि अंग्रजीमा ‘फस्र्ट वल्र्ड’
हो, ‘फस्र्ट वल्र्ड’का चिल्ला कोसेलीहरु
रामप्रसादको कान्छो छोरोलाई
एक डिब्बा चकलेट दियो
उः दंग पर्यो
जेठो छोरोलाई
एक दर्जन कण्डम दियो
उसले अप्ठ्यारो मान्यो
रामप्रसादकी छोरीलाई
ब्रा, मेकअप किट र जेतेमेते दियो
ऊ लाजले रातो भई
रामप्रसादकी आमालाई
छातीमा ‘सेक्सी लेडी’ लेखिएको
रातो स्वेटर दियो
बूढी मक्ख परिन्
रामप्रसादकी श्रीमतीलाई
घुँडामा फाटेको जिन्स प्यान्ट दियो
उसले अलिक चित्त दुखाई
रामप्रसादको पालोमा
झोला रित्तियो
उदार भूमण्डलीकरणले
आफूले पिइरहेको क्यानवियर थमाइदियो उसका हातमा
भोलिपल्ट रामप्रसादको घर ब्यूँझँदा
भूमण्डलीकरण हिंडिसकेको थियो
खाली–खाली थियो घर
गायब थियो
भकारीमा भएको दुई–चार मुरी धान
गायब थिए
लत्ता कपडा र ओढ्ने–ओछ्याउने
रामप्रसादका आमा, श्रीमती र छोरीका
नाक–कान थिए बुच्चै
(झाँक्रा फिंजाएर रोइरहेकी थिई छोरी
राती त्यो घातीले
पेनकिलर भने उसलाई खुवाइदिएछ स्लिपिङ ट्याब्लेट
र, गाडेछ दाँत
अभाव र संघर्षमा खारिएको तेस्रो विश्वको बैंसमा)
Photo sources: here, here and here (All in public domain) |
भर्खर घोगा लाग्न थालेका थिए मकैमा
लहरा नै चटाचुन्न पारेर
टिपिएका थिए काँक्रा र फर्सी
रित्तो थियो गोठ पनि
टाट्नामा थिए रगतका टाटाहरु
चितुवा पसेको भए
जंगल उन्मुख हनुपथ्र्यो, बाटामा रगतका छापहरु
ती त सीधै सहरतिर सोझिएका थिए
अचेल रामप्रसादको घरलाई ढाकिरहन्छ कुहिरोले
अतृप्ति, असन्तोष र रुग्णता मडारिइरहन्छन्
अतीव बेचैन छ रामप्रसादको घर
मान्छेहरु भन्ने गर्छन्–
दिनमा एउटा क्यानबियर खाएन भने
रामप्रसाद बौलाउँछ अचेल
त्यो भन्छन् नि अंग्रेजीमा ‘क्रेजी’
हो, दिनमा एउटा क्यानबियर खाएन भने
‘क्रेजी’ हुन्छ रामप्रसाद ।
No comments:
Post a Comment