विद्यार्थी राजनीति दलीय राजनीतिको बिकाउ हतियार नभइदिएको भए आज नेपालको समग्र शैक्षिक अवस्था यस्तो हुने थिएन । हाम्रा सरकारी कलेजहरुले स्तरीय शिक्षा दिन सक्ने वातावरण भएको भए आज देशको एउटै आर्थिक गतिविधि श्रम निर्यात गर्नु पनि हुने थिएन । त्यसै गरी चिकित्सकहरुले देशको समग्र प्रणाली सुधार्ने क्षमता र इच्छा शक्ति दुवै राख्दैनन् । तर चिकित्सा र स्वास्थ्य क्षेत्रमासम्म उनीहरुको नेतृत्वमा सुधारको अपेक्षा गर्न सकिन्छ । र पूर्णकालीन राजनीति गर्नेहरुलाई यो क्षेत्रमा खेल्न दिनु भनेको आइओएम लगायतका जिम्मेवार निकायहरुलाई अन्य कुनै सरकारी क्याम्पसजस्तै दलीय राजनीतिको अखडा बनाउनु हो ।चिकित्सामा स्नातकोत्तर तहको ढिलो भइसकेको शैक्षिक सत्रका लागि हाल चलिरहेको अनलाइन फाराम वितरण रोक्नुपर्ने र विद्यार्थी भर्ना दोब्बर पार्नुपर्ने जस्ता माग राखेर अठार विद्यार्थी संगठनले आइओएमलाई तालाबन्दीसम्म गरेर त्यहाँ आरक्षणका लागि दबाब दिने भएछन् ।
के अर्थ छ त विद्यार्थीहरुको विरोधको?
आरक्षणको मुद्दामै यसअघि दुईवटा लेखहरु (यहाँ र यहाँ)मा चर्चा भइसकेकाले फेरि त्यही कुरा नदोहोर्याऊँ । तर विद्यार्थी संगठनहरुले घोषणा गरेको नयाँ कार्यक्रमको पृष्ठभुमिमा केही कुरा स्पष्ट पार्नैपर्ने देखिन्छ ।
शायद विज्ञप्तिमा सही गर्ने सबै विद्यार्थी नेताहरुलाई थाहा पनि छैन होला, स्नातकोत्तर तहमा पढ्ने व्यक्तिहरु सबै एमबीबीएस वा बीडीएस डिग्री लिइसकेका चिकित्सकहरु हुन् । विद्यार्थी भनिए पनि ती दर्ता भइसकेर अभ्यास गर्दै गरेका चिकित्सक हुन् र भइसकेका चिकित्सकहरुको विशेषज्ञताका लागि हुने स्नातकोत्तरको पढाइका बारेमा चिन्ता लिन चिकित्सकहरुका आफ्नै संघ संगठनहरु सफल छन् ।
त्यसबाहेक संस्थालाई भागवण्डाको राजनीतिले थला पारेको विरोधमा स्नातक तहका विद्यार्थीहरुले समेत आइओएमका दलीय विद्यार्थी संगठनहरु भंग गरिदिएको बदला लिने र यहाँ फेरि जरा हालेर मारमुंग्रीको राजनीति गर्ने अभीष्ट ती संगठनहरुको रहेको देखिन्छ ।
आइओएममा आरक्षण चाहिन्छ भनेर आन्दोलनरत पक्षहरुको हालसम्मको रवैया के रहँदै आएको छ भने अन्तरिम संविधानको उनीहरुको व्याख्यालाई मान्ने हो भने नेपालभरमा कुनै स्नातकोत्तरको एउटा सीट छ भने त्यो पूरा गर्न विभिन्न समुदायका व्यक्तिहरुका अंगहरु काटेर समावेशी मानव तयार पारेर त्यो सीट दिइनुपर्छ ।
बेलाबेलामा खुकुरी हानाहान गर्ने विद्यार्थी संगठनहरु यो मुद्दामा एक ठाउँमा रहेको भान पार्न खोजेका छन् र यो आन्दोलनबाहेक तीमध्ये कतिको अस्तित्व कहाँ थियो भनेर खोज्नुपर्ने अवस्था छ । तर अंक अठार पुर्याउँदा उनीहरुले भुलेको कुरा के छ भने, यो देशमा चानचुन सय राजनीतिक दल छन् र तिनका तीभन्दा बढी विद्यार्थी संगठन ।
के फरक छ अन्य शिक्षामा र चिकित्सा शिक्षामा?
नेपालका विद्यार्थी संगठनका नेताहरुले आफ्नो भाषणमा हाम्रो गौरवशाली संगठनले फलानो आन्दोलनमा यस्तो भुमिका खेल्यो भनेर कुर्लिन्छन् तर एक वा केही दशकको फरकमा आउने राष्ट्रियस्तरका आन्दोलनहरुबाहेक उनीहरुका कुल गतिविधि भनेका सडकका रेलिङ भाँच्ने, टायर जलाउने र गाडी तोडफोड गर्ने नै हुन् । त्यति गरेपछि देश र विश्वको राजनीतिबारे कखरा नजाने पनि नेपालमा विद्यार्थी राजनीति जमिहाल्छ, खाली मातृ पार्टीका नेताहरुको चाकरी गर्न जान्नु पर्यो ।
तर चिकित्सक र चिकित्साका विद्यार्थीहरुका प्राथमिकता भिन्न छन् ।
हालसालै अख्तियार र नेपाल मेडिकल काउन्सिलको निरीक्षणपछि केही मेडिकल कलेजहरुको स्नातकोत्तर सिट शत प्रतिशतसम्मले घट्न पुग्यो जब कि त्यहाँ वर्षौं ती कार्यक्रमहरु चलिरहेका छन् । तिनै कलेजहरुमा स्नातक तहको हालत पनि झण्डै त्यस्तै छ । चिकित्सक उत्पादनमा लापरवाही हुँदा देशको स्वास्थ्य सेवा नै तहसनहस भयो भनेर चिकित्सकहरुले गत वर्ष माघभर आन्दोलन गरे । र आवश्यकता अनुसार चिकित्सा क्षेत्रमा कायम भद्रगोल र बेथितिका विरुद्ध लड्न उनीहरु सक्षम र तयार दुवै छन् ।
विद्यार्थी राजनीति दलीय राजनीतिको बिकाउ हतियार नभइदिएको भए आज नेपालको समग्र शैक्षिक अवस्था यस्तो हुने थिएन । हाम्रा सरकारी कलेजहरुले स्तरीय शिक्षा दिन सक्ने वातावरण भएको भए आज देशको एउटै आर्थिक गतिविधि श्रम निर्यात गर्नु पनि हुने थिएन ।
तर पनि चिकित्सकहरुले देशको समग्र प्रणाली सुधार्ने क्षमता र इच्छा शक्ति दुवै राख्दैनन् । चिकित्सा र स्वास्थ्य क्षेत्रमासम्म उनीहरुको नेतृत्वमा सुधारको अपेक्षा गर्न सकिन्छ । र पूर्णकालीन राजनीति गर्नेहरुलाई यो क्षेत्रमा खेल्न दिनु भनेको आइओएम लगायतका जिम्मेवार निकायहरुलाई अन्य कुनै सरकारी क्याम्पसजस्तै दलीय राजनीतिको अखडा बनाउनु हो ।
आज देशभरका सरकारी क्याम्पसहरुमा शिक्षाको गुणस्तर दयनीय भएर जीविकाका लागि ज्ञान र सीप हासिल गर्न नसकेका व्यक्तिहरु खाडीको मरुभुमिमा भेडा चराइरहेछन् तर भोलि विद्यार्थी राजनीतिका कारण आइओएम, न्याम्स, बीपीकेआइएचएस जस्ता संस्था थिलोथिलो भए र ज्ञान र सीप नभएका चिकित्सक उत्पादन हुन थाले भने के हुने हो? यो हो अहिले गम्भीर भएर सोच्नुपर्ने मुद्दा ।
चिकित्सक भर्सेज विद्यार्थीः फरक प्राथमिकता र विकल्पहरु
यो असहज परिस्थितिमा चिकित्सक र चिकित्साका विद्यार्थीहरुसामु दुई विकल्प छन् ।
पहिलो, अस्तित्व र भुमिकाको खोजीमा रहेका र चिकित्सा पेशालाई पटक्कै नबुझेका पाखुरेहरुलाई आफ्नो हर्ताकर्ता हुन दिएर चुपचाप बस्ने ।
दोस्रो, एक भएर बेलैमा आइओएमजस्ता संस्थाहरुको राजनीतिकरणको प्रतिरोध गर्ने । त्यसका लागि आसन्न स्नातकोत्तरको प्रवेश परीक्षा समयमै सुचारु गर्न सबैले नैतिक र भौतिक दुवै रुपमा लाग्नुपर्ने देखिन्छ ।
राजनीतिलाई पेशा बनाएर विद्यार्थीकालदेखि नै देशलाई ध्वंश पार्ने दिशामा दीक्षित भएका हाम्रा दलीय विद्यार्थी संगठनहरुले के बुझ्नु जरुरी छ भने जुन क्षणदेखि उनीहरुले यो मुद्दामा बक्तव्यवाजी गर्न थाले, त्यही क्षणदेखि यो मुद्दा आइओएममा आरक्षण दिने वा नदिने भन्नेबाट बदलिएर त्यहाँ नग्न दलीय राजनीतिलाई प्रवेश दिने कि नदिने भन्नेमा बदलिइसक्यो ।
जहाँसम्म संविधानले परिकल्पना गरेको समावेशी समाजको परिकल्पना छ, त्यसलाई साकार पार्न दुरदराजका विपन्न मधेशी, दलित, महिला र जनजातिहरुको जीवनस्तर उकास्न र तिनलाई शिक्षित बनाउनु आवश्यक छ । त्यो काम गाह्रो छ र त्यो गर्न स्वाभाविक रुपमा हाम्रा विद्यार्थी संगठनहरु तयार छैनन् । सरकारी स्कुलमा दलका कार्यकर्ता भर्ती गरेर तिनलाई अस्तव्यस्त पार्नु, निजी स्कुलमा बेलाबेलामा तालाबन्दी गरेर चन्दा असुली गरेपछि ताला खोल्नु, रातारात फर्जी विद्यार्थी भर्ना गरेर स्ववियुको चुनाव जित्नु र पदमा पुगेर भविष्यमा गर्नुपर्ने ठूलो स्तरको आर्थिक अनियमितता र भ्रष्टाचारका लागि अभ्यास गर्नु, यी हुन् सजिला र हालसम्म गरिंदै आएका कामहरु ।
पहिले नै चिकित्सकका रुपमा दर्ता भएर अभ्यास गरिरहेका व्यक्तिहरुका लागि आरक्षणको नारा उराल्नु भनेको ती संगठनहरुको राजनीतिक वा आर्थिक लाभ हासिल गर्ने नयाँ हतियारको खोजीबाहेक केही हैन भनेर अब भनिरहनुपर्दैन ।
अन्तमा
जहाँ स्वार्थहरु एक आपसमा टकराउँछन्, त्यहाँ द्वन्द्वको अवस्था आइ नै हाल्छ । तैपनि यो मुद्दामा द्वन्द्व र विग्रहको अवस्था गहिरिएर नजाओस् भन्नेतिर सबैको ध्यान जानु आवश्यक छ । त्यति हुँदाहुँदै पनि चिकित्सा पेशासित सम्बन्धित मुद्दामा चिकित्सा विज्ञानमा कतै अस्तित्वमै नभएका अमुक संगठनहरुले धावा बोलेको स्थिति चिकित्साका विद्यार्थी र चिकित्सकहरुले सहन गर्ने अवस्था छैन ।
No comments:
Post a Comment