गोविन्द के सीको ऐनामा हाम्रो आफ्नै जीवनलाई अवलोकन गर्दा
कसैले कुनै दिन यस्तो भनेको थियोः आइ वज बर्न इन्टेलजेन्ट, एजुकेशन रुइन्ड मी अर्थात् म बुद्धिमान् जन्मेको थिएँ, शिक्षाले मलाई मूर्ख बनायो ।
आजको दिनको मौसमले शिशिरको बहिर्गमन र वसन्तको आगमनको संकेत गरेको छ, भलै हाम्रो पात्रोमा वसन्त आउन अझ एक महिना किन बाँकी नहोस् । आकाशमा बादल मात्रै छैन, त्यसलाई बतासको झोंक्काले चलायमान बनाइरहेको छ । बादलमा छिन छिनमा अनेक आकृतिहरु बन्दै बिलाउँदै गरेका छन् । केही गिद्धहरु धेरै उचाइमा भद्र पाराले बिस्तारै समुद्रमा तैरिएको हाँसझै तैरिइरहेका छन् भने कम उचाइमा कागहरु तीव्र गतिमा यताउता उड्दैछन् । सिमसिम पानी पर्दै बन्द हुँदै गरेको छ ।
The Terrace at Saint-Germain, Spring by Alfred Sisley (Source: Wikimedia Commons) |
हिजो मात्र प्रेम दिवस भनेर केटाकेटीहरु कल्याङमल्याङ गर्दै थिए, शायद यो प्रेम गर्न उक्साउने मौसम पनि हो क्यारे । स्मृतिका कुनै कन्दराहरुमा कतै आख्यानमा पढिएका त कतै जीवनमै भोगिएका प्रेमका जीवनदायी क्षणहरु लुकेका छन् र तिनलाई बेला बखत ताजा हुन कुनै दिवस चाहिंदैन ।
यस्तो परिवेशमा म फेरि पनि याद गर्दैछु कुनै खारिएको विद्वानको त्यही उक्तिः म बुद्धिमान् जन्मेको थिएँ, मलाई शिक्षाले मूर्ख बनायो ।
बाल्यकालमा हामी हठी र स्वार्थी हुन्छौं । उनै बाबुआमा हामीले भनेको पुर्याइदिंदा भगवान् लाग्छन् भने त्यसो नगर्दा वैरी । हाम्रा इच्छा र आकांक्षाहरु सामान्य हुन्छन् र तिनलाई पुर्ति गर्न दुई चिम्टी समझदारी र दुई पैसा कमाइ भएका बाबुआमा छन् भने त्यति गाह्रो पर्दैन । बिस्तारै खाने र खेल्ने कुराप्रति हाम्रो लगाव कम हुँदै जान्छ र संसार देख्दै गएपछि सन्तुष्टि र असन्तुष्टिमा बाँडिएको हाम्रो भावलाई दर्जनभन्दा बढी फरक फरक भावहरुको जटिल अन्तक्रियाले विस्थापित गर्छ । हामी संसारमा भएका राम्रा र नराम्रा, सुन्दर र कुरुप, सबल र निर्वल, सरल र जटिल चीजहरुको भेद छुट्याउन सक्ने हुन्छौं । हाम्रा इच्छा, आकांक्षाहरु झांगिंदै जान्छन् । अरुलाई हेर्दाहेर्दै हामीहरु आफूलाई पनि हेर्न सिक्छौं, अरुको जिन्दगी हेरेर आफ्नो भविष्यबारे कल्पना गर्छौं । जीवनको एउटा लक्ष्य बनाउँछौं र एउटा संकल्प गर्छौं ।
मेरो विचारमा जीवनको स्वर्णीम समय भनेको किशोरकालको त्यो समय हो जब हामी बरु आफ्नो जीवन बलिदान गरेर भए पनि संसारलाई सुन्दर बनाउने सपना देख्छौं । अहिलेको जीवन पद्धति, शिक्षा, समाज र बजारले अहिलेका किशोरकिशोरीहरुको त्यस्तो सपनाको हत्या गरेको छ भने त्यसमा मलाई खेद छ तर हामी किशोर हुँदाको समयले हामीलाई सपनासम्म देख्नबाट वञ्चित गरेको थिएन ।
बिस्तारै यौवनावस्थाले गाँज्दै ल्याउँछ । अरु पशुहरुमाजस्तै मानिसमा पनि हर्मोनजन्य शारीरिक र मानसिक परिवर्तनहरु आउँछन्, सिकाइको प्रक्रिया त अनवरत चलि नै रहन्छ । संसार जति नजिकबाट हेर्यो, त्यति कुरुप लाग्छ, किशोरकालमा फलामे खुट्टा भएजस्तो लाग्ने आदर्श व्यक्तिहरु धुलौटे माटोको खुट्टा भएजस्ता लाग्छन् । पहिले कालो र सेतो भनेर हेर्ने गरेका वस्तुहरु अब खैरा खैरा लाग्न थाल्छन् । आकांक्षाहरु धमिलिएजस्तो, सपनाहरु बिर्सिएजस्तो, विश्व र समाजका लागि भनेर बनेका आदर्शहरु बिस्तारै बिस्तारै घर परिवारको स्तरमा ओर्लिन्छन्, हामी आफ्नै सानो घेरा बनाउँछौं र त्यसको कैदी बनेर बस्छौं । कहिलेकाहीं यस्तो बन्दी जीवनबाट विरक्त लाग्छ र उन्मुक्त बनेर हिंड्न मन लाग्छ । गृहस्थीले टनटनी बाँधेको हुन्छ, त्यही बन्धनभित्र स्वतन्त्रता खोज्छौं हामी, निद्रा नलागी पल्टेको बेला सपना देख्ने कोशिस गर्छौं हामी । सफलता हात लाग्दैन, चुरोटको धुवाँमा सुन्दर आकृति खोज्छौं र रक्सीको नसामा उदात्त स्वतन्त्रता खोज्छौं ।
The Scream by Edvard Munch (Source: Wikimedia Commons) |
रात जान्छ, दिन आउँछ । शिशिर जान्छ, वसन्त आउँछ । आरु फूल्छ, फल लाग्छ, पाक्छ, झर्छ, पात झर्छन्, रुख उजाडिन्छ र फेरि पालुवा लाग्छ । फेरि आरु फूलेको हेर्दै गर्दा हामीलाई समय चक्रमा चलेजस्तो लाग्छ, हामी कहिले नयाँ वर्ष भनेर चिच्याउँछौं त कहिले जन्म दिन भनेर । तर समय त एउटा स्पाइरल आकारमा चलिरहेको हुन्छ, हरेक वर्ष उहीं पुगेजस्तो लाग्छ तर हामी समयको अर्कै बिन्दुमा पुगिसकेका हुन्छौं । संसार बदलिइसकेको हुन्छ, उमेर घर्किसकेको हुन्छ र आयु छोट्टिइसकेको । सपनाहरु स्मृतिमा थप धमिलिंदै जान्छन् र किशोरकालको संकल्पमा खियाको अर्को पत्र लागेसँगै त्यो संकल्पलाई हामी संकल्प भनेर चिन्न पनि छाड्छौं र भन्छौंः दुई दिनको जिन्दगी खानैलाई त हो, आखिर मरेरै त जानुछ । खानुबाट शुरु भएको जिन्दगी खानामै गएर टुंगिन्छ । बच्यो भने पहिलेको संकल्पको ठाउँमा केही कुण्ठा, केही तिक्तता र केही लघुताभास बाँकी रहन्छ, हैन भने के न के ।
................ शिक्षाले मलाई मुर्ख बनायो भनेझैं यो संसार र समाजले दिने शिक्षाले हामीलाई मुर्ख बनाउँछ । त्यति मात्र हैन स्वार्थी, ढोंगी र पाखण्डी पनि बनाउँछ ।
#####
यस्तो पृष्ठभुमिमा नेपालमा एक जना मात्र गोविन्द के सी हुनु अनौठो हैन । मैले पटक पटक भनेको छु, के सी अलौकिक व्यक्ति हुनु त कता, कता, आदर्श व्यक्तिसम्म हैन । युवावस्था लाग्नासाथै सपनाको हत्या हुने समाज नभैदिएको भए समाजमा गोविन्द के सीहरु यति धेरै हुन्थे कि तिनीहरुको गणना गरेरै साध्य हुँदैनथ्यो । म त गोविन्द के सीलाई एउटा बढ्न र समय र समाजअनुसार चल्न नसकेको एउटा पिछडिएको मान्छे भन्छु । उसको बुद्धि अहिले पनि त्यस्तो किशोरको जस्तो छ जसले एक्ले पहाड छिचोलेर भए पनि संसार बदल्ने सपना देख्छ । हामीले बीस वर्ष नटेक्दै त्यो सपना पोलेरै खाइसक्यौं, तीस नकट्दै बिहे गरेर बालबच्चा निर्माण गर्यों । दुनियाँ बदल्ने हैन, आफू बदलिने, अरुका लागि लड्ने हैन, अरुसित लड्ने, आफू नैतिक बन्ने हैन, अरुबाट नैतिकता खोज्ने, यो हो आजको दर्शन र परिपक्व विचार । गोविन्द के सीले न त बिहे गर्यो न त बालबच्चा जन्मायो । कपाल फूलाइसक्दा पनि किशोरवयमै अड्किराखेको एउटा गोविन्द के सीले आज नेपालको एउटा प्राणघाती अरिंगालको गोलोमा ढुंगा हान्ने धृष्टता गर्यो ।
त्यो गोलोको कहानी कस्तो छ भने, इतिहास लेखिन थालेको समयदेखि नै समाज एउटा गाउँ र एउटा अरिंगालको गोलोमा विभक्त छ । त्यो मानवद्वेषी गोलोदेखि मानव बस्ती सधैं त्रस्त हुँदै आएको छ । अरिंगालहरु सरर उड्दै बस्तीमा आउँछन्, मानिसलाई चिल्छन्, मानिसहरु हारगुहार र रोईकराई गर्छन्, कोही कोही त मर्छन् पनि । गोलोमा चाकाहरु हरेक वर्ष थपिंदै जान्छन्, मानिसहरु यो वर्ष यति मानिस टोकिएलान् र यति मानिस मर्लान् भनेर अनुमान लगाउँदै बस्छन् । कहिलेकाहीं अरिंगालहरु अचाक्ली गर्छन्, कैयौं मानिसहरुलाई एकैचोटि मार्छन् । मानिस भेला भएर जम्जमाउँछन् र एउटा राँको तयार पार्छन् । त्यो लिएर कुनै बहादुरलाई रुख चढाउँछन्, निष्पट्ट अन्धकारमा । बास बसेका अरिंगालको गोलोमा आगो झोसिन्छ, अरिंगालहरु क्रुद्ध हुन्छन् र आगो लगाउने मानिसलाई ठहरै पार्छन् । तैपनि आगो रोकिंदैन, चाका जल्छ, अरिंगालका बच्चा झेल्सिन्छन् र मानव बस्तीले खुशी मनाउ गर्छ ।
मनिस केही दिन चैनले बस्छन् तर फेरि केही दिनमा अर्को रुखमा अरिंगालले गोलो लगाउन थालेको गाइँगुइँ सुनिन्छ । तैपनि मानिस आफ्नै धुनमा रहन्छन्, तबसम्म, जब फेरि पहिले झैं धेरै मानिसहरु मारिंदैनन् । पटक पटक आगो झोसिसकेपछि अरिंगालले नयाँ तरिका सिक्छन् । एउटा ठूलो गोलो कतै हुँदैन तर सानो गोलो नभएको रुख पनि हुँदैन । रुख रुखमा, हाँगा हाँगामा अरिंगालका गोला हुन्छन् भने घरका छाना छानामा बारुलाका गोलाहरु । अरिंगालहरुले पाकेका नास्पातीहरु खाइदिन्छन्, घारभित्र बसेर माहुरी सखाप पारिदिन्छन्, घाँस काट्न गएपिच्छे बारुलाहरुले हातमा टोकिदिन्छन् र मानिसहरु अरिंगाल र बारुलाबाट प्रताडित हुन अभ्यस्त हुन्छन् ।
यो हो अवस्था हाम्रो नेपालको । यहाँका अरिंगाल र बारुला को हुन् भनेर खुलाउनसम्म जरुरी छैन किनकि तिनको चिलाइ र डसाइ नखाने र आफ्नो औकातअनुसार अरुलाई नडस्ने मानिस भेट्न गाह्रै पर्ला ।
यस्तो अवस्थामा राजनीतिको खोल ओढेर अपराधतन्त्र मच्चाइरहेका व्यक्तिहरुले विष भरेर पठाएका डर लाग्दा अरिंगालहरुको गोलो हातले चलाउने दुस्साहस गर्यो किशोर बुद्धिको गोविन्द के सीले । विषतन्त्रले रोजीरोटी जुराइदिएको एउटा बौद्धिकले आफ्नो वयस्क बौद्धिकता प्रकट गर्दै ट्वीट गर्योः डा गोविन्द के सी डाक्टर हुन् कि रोग, छुट्याउनै गाह्रो पर्यो । अर्को प्रकाण्ड पत्रकारले आफ्नो वृद्ध बौद्धिकता छाँट्दै लेख्योः महात्मा गान्धीले डुबाउन थाले टिचिङ हस्पिटल ।
के सीलाई चुप लगाउने वा मार्ने बल अरिंगालहरुसित नभएको हैन । तर ऊ अरुझैं राती लुकेर गोलोमा आगो सल्काउन गएन । अरुले झैं ढुंगा पनि हानेन । ऊ त मध्य दिनमा सारा मानिसलाई साक्षी राखेर एउटा मूर्ख किशोर झैं खाली खुट्टा रुखमा सुरेली खेल्दै गयो र गोलोमा पुगेर चुनौती दियोः मलाई मार्छौ भने मार तर यो मानवद्वेषी गोलो अब यहाँ रहन भएन ।
अरिंगालको चिलाइबाट आहत भएका नजिकको मानव बस्तीका मानिसहरु के सीको पछि एकजुट भएर लागे भने युगौंदेखि अरिंगालको चिलाइ खाएका मानिसहरुबारे जानकार बुज्रुकहरु पनि आफ्नो काम छोडेर यता लागे । एउटा रुखको एउटा गोलो हट्नुले मानव सभ्यताको कायापलट गर्ने हैन भन्ने जान्दाजान्दै पनि कम से कम एउटा मानव बस्तीको उद्धार होस् भनेर मानिसहरुले होस्टेमा हैंसे गरे । कतिलाई इतिहासको कुनै नेताको याद आयो त कतिलाई आफ्नै किशोरकालको । मनभित्रको बिर्सिएको कुनामा हराउन थालेको गोविन्द के सीलाई धेरैले अनुभुत गरे र वर्षौंपछि अरिंगालहरुको ज्यादतीबारे खुलेर बोले ।
अरिंगालहरुको समुदायमा खल्बली मच्चियो । जंगलको बीचतिर रहेका ढाडे अरिंगालहरुले महसुस गरे मानव बस्ती नजिकै आफ्नो उपस्थिति नहुनु भनेको त आफ्नो अस्तित्वमै शंका उब्जनु हो । त्यसै गरी रुखमुनि कुँडुलो लागेका मानिसहरुलाई बिच्काउनु भनेको पनि खतरनाक कुरा हो । त्यसैले तिनले गोविन्द के सीलाई मार्न चाहेनन् र वार्ताका लागि तयार भए । भनेः हामी यो हाँगाको अलि टुप्पोतिर सर्छौं, भएन भने अझ माथिल्लो हाँगामा सर्छौं । गोविन्द के सीले भन्योः तिमीहरु जंगलको केन्द्रतिर सीमित भएर बस, मानव बस्तीको कुनै पनि रुखमा नबस । उनीहरुले भनेः हामी सर्दै गर्छौं तर अहिलेलाई यो रुख मात्र छाडेर सहमति गरौं, बिस्तारै हट्दै जाउँला । किशोर मनलाई बोकेको वृद्ध शरीरले रुखको टुप्पामा पुगेर धेरै बेर धान्न सम्भव पनि थिएन । के सीको शरीर कमजोर हुँदै गयो र उसका शुभेच्छुकले भनेः रात रहे अग्राख पलाउँछ, एउटा किशोर रहिरह्यो भने वृद्धहरुको समाजमा केही आशा कायम रहन्छ, त्यसैले अरिंगालले एउटा मात्र रुख छाडे पनि यो किशोरलाई तल झारेर बचाऊँ ।
के सी तल झर्यो, मानिसहरु आ आफ्नो काममा फर्के तर अरिंगालहरुले फेरि कहिलेदेखि त्यही रुखमा समेत गोलो लगाउन थाले, कसैले भेउ पाएन । फेरि अर्को दिन के सी गज्र्योः म फेरि रुख चढेर यी अरिंगाललाई भगाउँछु । यो क्रम पटक पटक दोहोरिरह्यो ।
#####
लेख्दालेख्दै साँझ परेको छ । रात ओसिलो र अन्धकार छ । शहर आफ्नै धुनमा व्यस्त छ । रेडियोभर मानिसहरु कराइरहेछन् । टी भीमा या त विज्ञापन गुञ्जिरहेको होला नत्र भने कुनै सिरियलमा रुवाइधुवाइ चलिराखेको होला ।
अरिंगालको गोलो खसाल्न भनेर चौथोपल्ट रुख चढेर के सी आज भुइँमा झरे लगत्तै साँझ पर्दै गरेको आकाश हेरेर लेख्न बसेको अब रातको नौ बजिसकेको छ । शहरको पट्यार लाग्दो रातमा न कीराहरु झ्याउँझ्याउँ गर्छन्, न त भ्यागुताहरु नै ट्वार ट्वार गर्छन् । के सीको ज्यान चौथो पटक पनि अरिंगालहरुको मुखमा पुगेर बचेरै फर्केको उपलक्ष्यमा पेटमा परेका तीनवटा जेरी, तरकारी र आधा किलो अंगुर अब पच्ने क्रममा छन् तर अरिंगालहरुको धोखाधडी र संगठित क्षमता अनि मानव बस्तीमै लुकेर बसेका अरिंगाल र बारुलाहरुको बिस्तार र क्षमता देख्दा मनमा परेको आघातले बिर्सिनलाई अझै वहाना खोजिरहेको छ ।
उसो त तिम्रो पूरा जिन्दगीको उपलब्धि के हो भन्दा यति टन चामल र दाल पचाएको, यति पैसा कमाएको, यति सिरियल र फिल्म हेरेको, यति जना मानिस भेटेको र यतिसित भनाभन गरेको भन्ने विवरण पेश गर्ने हैसियत भएका हामी सबैले समाज बदलिएन, अरिंगालहरु फैलिए र मानव बस्तीमा बसिनसक्नु भयो भनेर रुनुको कुनै औचित्य छैन ।
तर पनि जिन्दगीका कुनै कुनै मोडमा किशोरकाल यता मनभित्रै छिपेर बस्न बाध्य न्याय र विद्रोह चेत सतहमा आउँदा भने अरिंगालहरुलाई खबरदारी गर्न र गोविन्द के सीजस्ता मानिसलाई बचाउन आउने मानिसहरुको संख्या ठूलै रहेछ भन्नेचाहिं देखियो । के सीको सिकार गरेर बौद्धिकताको खेती गर्ने सामाजिक कुरौटेहरुदेखि के सीको प्रयासबीच उत्पन्न परिवेशमा आम मानिसको आक्रोशलाई भर्याङ बनाएर माथि जान चाहने सञ्चार माध्यमहरु अति नै सक्रिय भएको अवस्थामा समेत छातीमा हात राखेर के सीले गलत उद्देश्य राखेको छैन भनेर विश्वासपूर्वक उसलाई हृदयदेखि नै सहयोग र सद्भाव राख्ने बुद्धिजीवी र मिडियाकर्मीहरु पनि देखिए । के सीले अरिंगाल लखेट्न खोजेको रुखसित टाढाको साइनोसमेत नभएका मानिसहरु हाम्रो बस्तीमा त अरु नै अरिंगालहरुको अझ उत्पात पो छ त भनेर के सीप्रति ऐक्यबद्धता जनाउने मानिसहरु पनि भेटिए ।
#####
म त्यसै पनि व्यक्ति पूजाको विरोधी, त्यसमाथि डा के सी भगवान् हैन भनेर भन्दै आएको छु । त्यसैले मैले के सीलाई पुज्ने कुरै आउँदैन । तर मानिसको कल्पना न हो, म कल्पन्छुः आजका दिनमा अरिंगालको गोलोमा हात राखेर के सीले ज्यान दियो । ज्यान जानुअघिको तन्द्रामा उसले के देख्ला? त्यसै पनि रुखको टुप्पामा अरिंगालको गोलोमा हात राखेर नचल्मलाई बसिरहनु सजिलो काम हैन, रात रातभर सिरानीमा मन्द स्वरमा भजनहरु बजिरहेको सुन्दा के सीलाई क्षणहरु कटाउन शारीरिक रुपमा कष्ट भैरहेको छ भन्ने स्पष्ट हुन्छ । त्यसमाथि बारुलाहरु र अरिंगालका एजेण्टहरु आएर दिइजाने मानसिक तनाव खप्नु अर्को कष्ट हो । यति हुँदासमेत अरिंगालहरुले हामी त मानिसको भेषमा छौं त्यसैले हामी मानव बस्तीमा बस्न, मान्छे टोक्न र मार्न पाउनुपर्छ र पाउँछौं भनेर गर्जन गर्दै कसले के गर्दोरहेछ भनेर चुनौती दिएको खबर सुन्दा के सी बेडबाट जरक्क उठेको त मैले देखेकै हो तर त्यो बेलाको मानसिकता कस्तो हुन्छ भनेर चियाउने कुनै आँखी झ्यालचाहिं कतै थिएन ।
फेरि सोच्छुः अब माथि नै जाने भइयो भन्ने निश्चित हुँदा होशमै भएको भए के सीले आफ्नो जीवनको कसरी मुल्यांकन गथ्र्यो? उसले देश विदेशमा दशकौंमा सेवा पुर्याएका झुत्रे झाम्रे मानिसका अनुहारहरु झल्झली आउँथे होला, सेवाका क्रममा उसले गरेका ओराली उकाली, पार गरेका खोल्सा, पहिरो, खहरे र नदीहरु फेरि जीवन्त भएर देखिन्थ होला । र सबैभन्दा ठूलो जुन अरिंगालरुपी दानवहरुलाई उसले कठालोमा समातेर ¥याख्¥याख्ती पारेको थियो, जसको रातारात अरबपति बन्ने योजना उसले तुहाइदिएको थियो, र ती लाखौंलाख नेपालीहरु जसको स्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका लागि लडेको थियो, ती सबै पनि एकचोटि उसको स्मृतिपटमा आउँथे होला ।
कल्पना न हो, कुनै भवितव्य परी मैले पनि भोलिको दिनमा त्यसरी नै पछि फर्केर मेरो जीवनको कुल उपलब्धि के त भनेर हेर्नु पर्ने अवस्था आयो भने मेरो हिसाब खाली त हुनेछैन? जीवनका सम्झन योग्य क्षण वा अवस्था भनेर मैले के सम्झनेछु? सडकमा हिंड्दा आकलझुकल देखिएका अनुहारहरु? घाँस काट्न जाँदा पार गरेका पहिरा र खहरेहरु? दारु खाएर झगडा गर्दा कठालो समातिएको मान्छे? बाटोमा पाँच रुपैयाँ दिंदा खुशी भएको मगन्ते? मिठो मःमः ख्वाउने पसल वा सधैं तरकारी किन्न जाने बजार? भोलिका मानिसले मलाई सम्झन खोजे भने केको बलले सम्झनेः आरआइपीले भरिएको फेसबुकको खाता कि मेरा हजारौं ट्वीटले सजिएको ट्वीटर खाता? त्यसले फरक के पार्छ? के भोलि कोही हुनेछ जसले मलाई सम्झेर भन्नेछ कि यसले मेरो ज्यान बचाएको थियो वा संकटबाट पार गराइदिएको थियो?
के सीले पटक पटक गरेको प्रयासबाट पनि अरिंगालहरु अझै मानव बस्तीबाट भागेका छैनन् र एक व्यक्तिको प्रयासबाट ती कहिल्यै भाग्ने पनि छैनन् । साना ठुला प्रजातिका राता र काला अरिंगालहरु अझै पनि के सीजस्ता मानिसहरुलाई सखाप पारेर बस्तीका रुख रुखमा मात्र हैन, घरका छाना छानामा गोलो बनाउँछौं भनेर ध्वाँस दिंदै हिंडेका छन् । सबैभन्दा ठूलो कुरा त ती अरिंगालहरु छद्म भेषमा छन् र मानिसहरु तिनलाई आफ्नै प्रजातिको सम्झँदै आएका छन् । तर बिर्सनै नहुने कुरा के भने, के सीले केही त्यस्ता कुरा व्यवहारमा देखाइदिएको छ जसबारेमा हामी सबैलाई पत्तोसम्म छैनः एक, अरिंगालहरु अजेय छैनन्, संगठित बल यथेष्ट समयका लागि लाग्ने हो भने ती पछि हट्छन् । दुईः मानव बस्तीमा मूर्दाघाटको जस्तो सन्नाटा भए पनि सबै मरिसकेका छैनन् र सबैको न्याय र विद्रोह चेत मरिसकेको छैन, त्यो खाली सलाइको ओसिएको काँटीजस्तो बनेर बसेको छ । सबै मानिस लोभ र भोकबाट निर्देशित बाल्यकालबाट एकैचोटि स्वार्थबाट निर्देशित वयस्क जीवनमा पुग्दैनन् र तिनको किशोरकालमा बलेको संसारमुखी जीवन धारणा फेरि जीवन्त बनेर आउने सम्भावना पनि हुन्छ ।
र के सीको आन्दोलनको परिस्थितिजन्य सन्देशचाहिं यो होः ऊजस्ता एक्लै अरिंगालको गोलो चलाउन जाने मानिसहरु एक युगमा एक चोटि मात्र आउँछन् । समाजलाई अरिंगालहरुबाट मुक्त गर्ने बाटो त्यो मात्र चाहिं कदापि हैन । समय र परिस्थितिअनुसार अरिंगालहरु रुप बदलिरहन्छन् र हामीमध्ये कति बारुला बनेर तिनलाई सघाइरहेका हुन्छौं । समाजमा थोक स्तरमा हुने युगान्तकारी परिवर्तनहरुले जंगलमा बसेर राज गर्ने अरिंगालहरुलाई त निमिट्यान्न पार्छ तर हाम्रै बीच लुकेर बसेका छद्मभेषी अरिंगालहरुलाई केही गर्न सक्दैन । तिनलाई नंग्याउने र लखेट्ने एक दिनको काम नभएर चलिरहनुपर्ने नियमित प्रक्रिया हो । जबसम्म हामीहरु स्वार्थी बालकबाट एकै चोटि धुर्त वयस्क बनेर निस्कने प्रक्रिया जारी रहन्छ, तबसम्म अरिंगालहरुले पनि आच्छुआच्छु पारी नै रहनेछन् । आशा छ, गोविन्द के सीको प्रेरणा पाउने जति सबैले आफू भित्रको किशोर सुलभ न्याय चेत र विद्रोह चेतलाई जीवितै राख्नेछन् ।
No comments:
Post a Comment