यदि डा के सीको मुद्दा यत्तिकै तुहिने हो भने भोलि गएर करोडपति वा अरबपतिहरुले मात्र आफ्ना बच्चाहरुलाई न्यूनतम पूवार्धार र जनशक्ति नभएका मेडिकल कलेजहरुमा पढाउन सक्ने अनि निम्न र मध्यम वर्गबाट आएर आफैं लगानी गर्न नसक्ने चिकित्सकहरुले आजीवन तिनै धनाढ्यहरुकहाँ कमैयाजस्तो भएर बसिरहनु पर्ने अवस्था छ ।
डा गोविन्द के सीको आमरण अनशनपछि सञ्चार माध्यमहरुले त्रि वि शिक्षण अस्पताल, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र त्रिभुवन विश्वविद्यालयबारे त्यस्ता धेरै कुरा बाहिर ल्याएका छन् जुन सामान्य अवस्थामा कहिल्यै सञ्चार माध्यमहरुमार्फत् आम मानिसमा पुग्ने थिएनन् । लहरो तान्दा पहरो थर्कने भनेझैं सार्वजनिक संस्थाहरुमा राजनैतिक हस्तक्षेप र नग्न भ्रष्टाचारको श्रृंखला सम्बन्धी एकपछि अर्का समाचार आइरहेको अवस्था छ ।
यसैबीच एउटा यथार्थ के छ भने, भ्रष्ट राजनीतिज्ञहरुबाट किनिएका खास मानिसहरुबाहेक चिकित्सा पेशाका सबै मानिसहरुले अहिले डा गोविन्द के सीका मागप्रति ऐक्यबद्धता जनाइरहेका छन् । चिकित्सा क्षेत्रका नेतृत्वदायी निकायहरुमध्ये नेपाल मेडिकल काउन्सिल निजी स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षाको क्षेत्रका पैसावाल मानिसहरुबाट किनिइ नै सकेको र पेशागत हक हितको लागि भनेर खडा गरिएको नेपाल चिकित्सक संघ पनि आफ्ना पदाधिकारीहरुको त्यस्तै निहित स्वार्थबाट माथि उठ्न नसकेको अवस्थामा किन बाँकी सबै जसो चिकित्सकहरु डा के सीको एजेण्डामा लागि परेका छन्? के चिकित्सा क्षेत्रका अपवादबाहेकका मानिसहरु नेपालको जस्तो समाजमा पत्याउनै नसक्ने गरी भ्रष्टाचार नगर्ने मात्र नभई भ्रष्ट गतिविधि सहनै नसक्ने स्तरमा पुगिसकेका हुन्? त्यसो हो भने किन हाम्रो स्वास्थ्य क्षेत्र यस्तो अस्तव्यस्त बन्न पुगेको होला? यी प्रश्नका उत्तरले अहिले विद्यमान् माहोललाई बुझ्न धेरै सहयोग गर्छन् ।
यथार्थ के हो भने समाजका अरु पेशामा झैं चिकित्सा क्षेत्रमा पनि सक्षम र अक्षम, स्वच्छ र भ्रष्ट उद्देश्य भएका मानिसहरु छन् । खाली आफ्नो ज्यानलाई दाउमा राखेर पद्दति र पेशागत तथा आम मानिसको हितका लागि लड्ने डा गोविन्द के सीबाहेक अर्को मानिस छैन । र सबैजसो चिकित्सकहरुले डा के सीलाई समर्थन जनाउनुमा पेशा र समाजको हितको कुरा त आफ्नै ठाउँमा छ तर निर्णायक पक्ष चाहिं डा के सीका मुद्दाको सुनुवाइ हुनु वा नहुनुले एक एक चिकित्सकको भविष्यमा पार्ने प्रत्यक्ष प्रभाव हो ।
त्यो कसरी भने, देशको समग्र निजी स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षा क्षेत्र भ्रष्ट राजनीतिज्ञहरुको प्रत्यक्ष संयोजनका साथ तीव्र गतिमा सीमित धनाढ्यहरुको एकाधिकारको सिकार भइरहेको छ । ती धनाढ्यहरुको कार्टेलले नेपाल मेडिकल काउन्सिलजस्ता संस्थाहरु आफ्नो पूर्ण कब्जामा पारेर अब खास मानिसहरुको नियुक्तिमार्फत् आइओएम जस्ता संस्थाहरुलाई पनि आफ्नो कब्जामा पार्न पूरा कोशिस गरिरहेका छन् । दुर्भाग्य के छ भने, नियामक र नियमन हुने निकायहरुको भुमिका साटफेर भएर काउन्सिल र विश्वविद्यालयले निजी मेडिकल कलेजलाई नियमन गर्ने हैन कि निजी मेडिकल कलेजका मालिकहरुले काउन्सिल र विश्वविद्यालयलाई नियमन गरिरहेको अवस्था छ ।
एकातिर भएका त्रि वि शिक्षण अस्पताल र वीर अस्पतालजस्ता सरकारी वा सार्वजनिक संस्थाहरु धराशायी हुँदै जाने र अर्कोतिर ती सिमित धनाढ्यहरुको धन, शक्ति र सत्तासम्मको पहुँच तीव्र गतिमा बढ्ने हुँदै गर्दा अब समग्र चिकित्सकहरुका सामू धेरै कम विकल्प छन्ः १) धराशायी हुँदै गरेका भए पनि सरकारी संस्थाहरुमा छिर्ने २) सरकारी संस्थाहरुमा आपुर्तिभन्दा माग दशौं गुना कम भएको अवस्थामा बाँकी सबैले रोजीरोटीका लागि सीमित धनाढ्यहरुका शरणमा परेर दयनीय अवस्थामा असुरक्षित रोजगारी लिएर बस्ने ३) कुनै पनि तरिकाले विदेशिने ।
सांकेतिक रुपमा भन्नुपर्दा चिकित्सा शिक्षा र सेवा दुवैको क्षेत्रमा राजमार्गको एक्लो होटलले बासी भातलाई ५०० रुपैयाँ तिरेर खाए खा नत्र भोकै बस् भनेजस्तो अवस्था सिर्जना हुँदै गएको छ । पचास लाख तिरेर एम बी बी एस वा डेढ करोड तिरेर एम डी पढ्न सक्छौ भने पढ, नत्र नपढ, पचास हजार मासिकमा काम गर्छौ भने गर नत्र नगर । राजमार्गका होटलवालाले यात्रुसित लिएको पैसाको हिस्सा गाडीवालालाई दिएर सधैं त्यहाँ आउन बाध्य गरेझैं यी धनाढ्यहरुले पनि राजनीतिज्ञहरुलाई त्यसरी नै हातमा लिने गरेका छन् ।
यसरी राजमार्गका होटलमा ठगिने यात्रुकोजस्तै अवस्थामा अलपत्र परेका चिकित्सकहरुले स्थिति बदल्ने एक मात्र हतियारका रुपमा डा गोविन्द के सीको आन्दोलनलाई लिएका छन् । चरम भ्रष्टाचार, अनियमितता, नीतिगत सुस्तता र घातक स्तरको राजनैतिक हस्तक्षेपबाट गुज्रिरहेका वीर अस्पताल र धरानस्थित बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता संस्थाका चिकित्सकहरु अहिले डा के सीका माग पूरा गर्न त्रि वि शिक्षण अस्पतालका चिकित्सकहरुभन्दा पनि व्यग्र भइरहेको अवस्था छ । त्यो किन पनि भने अन्ततः शिक्षा र रोजगारी दुवै स्तरमा देशका सबै चिकित्सकहरुको भविष्य एक अर्कासित जोडिएका छन् । सबैको साझा चिन्ता के पनि हो भने डा के सी अवकास नजिकै रहेको अवस्थामा धनाढ्यहरुको कार्टेललाई चुनौती दिने अर्को उहाँजस्तो सशक्त व्यक्ति र अवसर हाम्रो पुस्ताका लागि कहिल्यै नआउने सम्भावना टड्कारो छ ।
सारमा भन्नुपर्दा चिकित्सक बन्न चाहनेले यथोचित लगानीमा चिकित्सक बन्न पाउनुपर्ने र चिकित्सक भइसकेका व्यक्तिहरुले सम्मानजनक रुपमा काम गर्ने वातावरण पाउनका लागि डा के सीका सातमा सातै माग पूरा हुनुपर्ने देखिन्छ । त्यसो हुन नसकेर न्यूनतम दुइ माग नै पूरा भए पनि माफिया भनिने धनाढ्यहरु र प्रचण्ड र के पी ओलीजस्ता राजनैतिक कुपात्रहरुबीचको गठजोड तत्कालका लागि कम प्रभावकारी भएर जाने अवस्था छ । यदि डा के सीको मुद्दा यत्तिकै तुहिने हो भने भोलि गएर करोडपति वा अरबपतिहरुले मात्र आफ्ना बच्चाहरुलाई न्यूनतम पूवार्धार र जनशक्ति नभएका मेडिकल कलेजहरुमा पढाउन सक्ने अनि निम्न र मध्यम वर्गबाट आएर आफैं लगानी गर्न नसक्ने चिकित्सकहरुले आजीवन तिनै धनाढ्यहरुकहाँ कमैयाजस्तो भएर बसिरहनु पर्ने अवस्था छ ।
ठीक यसै कारणले देशभरका चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिललाई कुरीकुरी गर्दै डा के सीका मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।
No comments:
Post a Comment