कसरी कुनै बेला सास थामेर यातना सहने किशोरी र युवतीहरुले हामीलाई जीवन र समाजसम्बन्धी खरो व्यवहारिक ज्ञान दिइरहेका छन्
कमलरी सिर्जना चौधरीको इहलीला समाप्त भएसँगै कमलरी प्रथा लगायत उत्पीडनका अन्य धेरै तरिकाहरुबारे राम्रै बहस भएको छ । तर अझै पनि हाम्रो बहस समस्याको केन्द्रमा पुग्ने भन्दा पनि सतहमा चक्कर काट्ने पाराको भएको देखिन्छ ।
हत्या कि आत्महत्या?
प्रहरीले हिजो मात्र चौधरीको हत्या हैन, आत्महत्या भन्ने रिपोर्ट सार्वजनिक गरेछ । तर हिजोसम्म आउँदा एउटी सिर्जनामा भएको अत्याचारको झल्को दिने गरी अरु दर्जनौं पूर्वकमलरीहरुमाथि बर्बर दमन गरिसकेको थियो राज्यले प्रहरीमार्फत् । तिनको गल्ती थियो, न्याय खोज्न काठमाडौं धाउनु ।
यसरी प्रहरीको रिपोर्ट बन्नुअघि नै पुलिस लगायत राज्यका निकायहरु पीडितलाई न्याय दिने भन्दा पनि पीडकलाई बचाउनमा उद्यत हुन् कि भन्ने सन्देश पुगिसकेको थियो र पुलिसको दाबीप्रति ओठ लोप्र्याउने मानिसहरु धेरै हुनु स्वभाविक हो ।
चौधरीको आत्महत्या भएको अवस्था कम पत्यारलाग्दो भए पनि असम्भवैचाहिं हैन । तर यदि आत्म हत्या नै हो भने पनि एउटी १२ वर्षे बालिकाले आत्म हत्या गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो? परिक्षाको डर भनेर पुलिसले दिएको कारण झारा टार्ने खालको त छ नै त्यसले सतहभित्र लुकेको यथार्थलाई थप छोपछाप गर्ने प्रयास गरेको देखिन्छ ।
यसरी हेर्दा सिर्जनाले आत्महत्या गरेकै भए पनि उनका मालिकले तत्काल हत्याको प्रत्यक्ष आरोपबाट त उन्मुक्ति पाउँछन् तर त्यो वातावरण सिर्जना गर्ने तात्कालिक कर्ताको रुपमा उनले उन्मुक्ति पाउन सक्दैनन् ।
सामुहिक अपराध
सिर्जना चौधरी र कमलरी प्रथालाई सानो घेरामा राखेर मात्र हेरियो भने त्यसले पीडितलाई न्याय गर्न सक्दैन । त्यो प्रथाका सामाजिक मात्र नभएर राजनीतिक र आर्थिक पाटाहरु पनि छन् । तिनलाई बुझ्न एकपटक निकट विगतको अनुभवलाई हेरौं ।
पछिल्लो संविधान सभा विघटन हुनुअघिको कुरा हो । नयाँ संविधान बनेर देश संघीयतामा जाने लक्षणहरु देखिंदै जाँदा देशमा असाधारण घर्षणको अवस्था पैदा भयो । त्यो कतै बौद्धिकहरुबीचको बहसमा सीमित भयो भने कतै मानिसहरु भौतिक रुपमै प्रदर्शन र वितण्डामा उत्रिए ।
त्यो समयमा देशकै सबैभन्दा बढी अस्तव्यस्त क्षेत्र सुदुर पश्चिम थियो र खासगरी त्यहाँको तराइमा त गृहयुद्दकै अवस्था सिर्जना गर्न उद्यत थिए मानिसहरु । नारा थियोः अखण्ड सुदुर पश्चिम । तर त्यो आन्दोलनको केन्द्रीय एजेण्डा अर्कै थियोः त्यहाँको यथास्थिति कायम राख्ने ।
के हो त सुदुर पश्चिम तराइको यथास्थिति? कुनै बेलाका भुपति थारुहरु अहिले मुलतः पहाडबाट झरेका नयाँ भुपतिहरुका कामदार र सेवक बनेका छन् । हलियादेखि कमलरीसम्म नाम धेरै छन् तर आफ्नै थातथलोमा शरणार्थी बनाइएका थारुहरुको साझा समस्या त्यही होः जमिनमा स्वामित्व नहुनु, आफ्नो आयको दिगो स्रोत नहुनु, शिक्षामा पछिडिनु, स्वास्थ्य सेवाबाट वञ्चित हुनु अनि अन्ततः सास धान्न यो वा त्यो रुपमा मालिकहरुको सेवा गर्नु ।
सुदुरपश्चिमको त्यो समस्या मध्यपश्चिमको दाङमा अझै विकराल रुपमा रहेको पाइन्छ र नेपालमा अझै पनि सामन्तवाद सबैभन्दा धेरै हावी भएको ठाउँको रुपमा दाङ आउँछ ।
अखण्ड सुदुरपश्चिम आन्दोलनले कायम गर्न खोजेको यथास्थिति अझै पनि जीवित छ र फलस्वरुप दाङ र सुदुर पश्चिम तराइबाट चिनेका मानिसहरुको जालोमार्फत् राजधानी र अन्य शहरतिर कमलरी वा घरेलु कामदारका रुपमा तस्करी हुने प्रक्रिया पनि जारी छ ।
यसरी हेर्दा कमलरी प्रथा एउटा सीमित विकृति वा अपवादभन्दा पनि त्यहाँको आर्थिक–सामाजिक अवस्थाको एउटा द्योतक हो र त्यस क्षेत्रलगायत नेपालको शासक वर्गकै सामाजिक स्वार्थ त्यसमा जेलिएर आएकाले त्यसलाई सीमित प्रक्रिया र त्यस्ता घटनालाई छिटपुट घटनाको रुपमा लिन सकिंदैन ।
कमलरी वा बाल घरेलु कामदार नै किन?
सिर्जना चौधरीलाई पनि उनका मालिककी पत्नीले चिनजानमार्फत् दाङबाट ल्याएको बुझिन्छ । देशमा बेरोजगारीको यत्रो समस्या छँदाछँदै किन मानिसहरु थारु बालबालिकाप्रति हुरुक्क हुन्छन् त? किन सुदुर पश्चिमका पहाडियाहरु रगतको खोलो बगाएर भए पनि सुदुरपश्चिमलाई अखण्ड राखन र कमलरी लगायतका प्रथाहरुलाई जीवतै राख्न उद्यत छन्?
उत्तर के हो भने, अहिले शहरमा घरेलू काम गर्ने प्रौढ, खासगरी स्वास्नी मानिसहरु राम्रैसँग भेटिन्छन् । तर तिनले मासिक ३ देखि ४ हजार लिएर बिहान बेलुका १,१ वा २,२ घण्टा मात्रै काम गरिदिन्छन् । यसरी हेर्दा एउटा बँधुवा बाल मजदुरले १ वा २ हजार मासिकमा गर्ने १४, १५ घण्टा कामका लागि १२ देखि १६ हजार जति खर्चिनुपर्ने हुन्छ ।
त्यसमाथि एउटा निसहाय बालक वा बालिकालाई राखेपछि उसले वर्षौंसम्म विना व्यवधान काम गर्न बाध्य हुन्छ र उसबाट श्रम शोषण गर्ने कैयौं तरिकाहरु हुन्छन्, जसलाई हाम्रो गौरवशाली प्रहरीले परिक्षाको डरले आत्महत्या गरेको भनेर ढाकछोप गरेछ ।
र अन्तमा
देशभर बेथिति र निराशै निराशाको मौसम भएका बेला हुल्याहा र उपद्र्याहाहरुको कब्जामा परेको काठमाडौंको सडक आफ्नो अस्तित्वका लागि लडिरहेका पूर्व कमलरीहरुले तताए भन्ने सुन्दा ओठ लेप्र्याउनेहरु त छँदैछन्, एउटा आत्महत्याका लागि किन यत्रो कोकोहोलो भनेर प्रश्न गर्नेहरु पनि छन् तर यो पंक्तिकारलगायत धेरै मानिसहरुमा चाहिं यी घटनाक्रमले देशको सामाजिक जीवनको गतिहीन तलाउमा ढूंगा हानेर एउटा तरंग पैदा गरेको महसुस गरेका छन् ।
यो आन्दोलनका क्रममा कुनै बेला मालिकको गाली र झापडको त्रासले वर्षौं नारकीय जीवन बिताएका किशोरी र युवतीहरु पुलिसका लाठीको प्रतिकार गर्दै चिसो भुइँमा भोकै सुतेर आन्दोलन गर्नुले अबको नेपाल पहिलेको जस्तै रहनु असम्भव छ भन्ने स्पष्ट संकेत गरेको छ ।
लम्पट र अकर्मण्य खिलराज सरकारको दमन निन्दनीय त छ नै, कमलरीहरुको आन्दोलनले आरामदायी कोठामा बसेर यता वा त्यता शब्दहरु छर्केर समाज बदल्न केही गरेको भ्रममा बाँचिरहने यो पंक्तिकारलगायतका आर्मचेयर इन्टेलेक्चुअलहरुलाई पनि दरो झापड हानेकोजस्तो मेरो बुझाइ छ । दिनरात कुरा काटेर नथाक्ने हामीहरु केही गर्न सडकमा उत्रन त कता हो कता न्युनतम एजेण्डा तय गर्न सामाजिक संजालमा बहस थाल्ने मात्र हो भने पनि भनाभन र हिलो छ्यापाछ्यापले उत्तिखेरै कुरुप हुन्छौं र फेरि अर्को विषयमा कुरा काट्न थाल्छौं । त्यसैले त हामीमाथि खिलराजको शक्तिमोह, प्रचण्डको विद्रुप मेगालोमेनिया, बाबुरामका लज्जास्पद फुटानी, झलनाथका शब्दका पुल अनि सुशीलका कहिल्यै नरहने अडानका बारेमा छलफल मात्रै गरिरहहँदा देशचाहिं निरन्तर ओरालो लाग्दैछ ।
मलाई लाग्दैछ, पूर्व कमलरीहरु आफ्नो अस्तित्व रक्षाका लागि मात्र नभएर ढोंग र किंकर्तव्यविमुढतामा हराएका हामी शहरियाहरुलाई जीवन र जगत्का बारेमा एउटा गहन शिक्षा दिन आएका हुन् ।
No comments:
Post a Comment