केही दिनसम्म मिडियामा जताततै छाएको त्रि वि शिक्षण अस्पताल अचानक चर्चाबाट हराएको छ । सञ्चार माध्यमहरु रेग्मी सरकारको विषयमा केन्द्रित भएसँगै एकचोटि सबैको गम्भीर चासो र सरोकार पनि त्यतै मोडिएको छ । फलस्वरुप यहाँ अब ठूलै दुर्घटना भए पनि त्यो आम मानिसको नजरबाट टाढा रहने सम्भावना छ ।
नेपालको समस्या के छ भने आम सरोकारका पदमा पुग्ने ९५ प्रतिशत मानिस निकम्मा वा भ्रष्ट वा दुवै हुने गर्छन् । फलस्वरुप जब बाँकी ५ प्रतिशत मानिस काम गर्ने ठाउँमा पुग्छन् तिनको चर्चा चुलिन्छ र पूजा शुरु हुन्छ । न्यायपालिकाका राम प्रसाद श्रेष्ठ र प्रहरीका रमेश खरेलजस्तै चिकित्सा क्षेत्रमा हिजो डा गोविन्द के सीको चर्चा भएको थियो । डा के सीकै अनवरत संघर्षका परिणामहरुमध्ये एक थियो त्रि वि शिक्षण अस्पतालमा भएको डा भगवान कोइरालाको नियुक्ति ।
राम्रो काम गर्ने मानिसको चर्चा वा सराहना हुनु सकारात्मक हो र त्यसमा कसैले गुनासो गर्ने ठाउँ छैन । मेरो विचारमा डा कोइरालाले गरेका काम त्यो पदमा आउने कुनै पनि जिम्मेवार मानिसले नगरी नहुने कामहरु थिए –चलेको चलनअनुसार चाहिं त्यो पदमा आफू कमाउन र आफूलाई नियूत्त mगर्ने राजनीतिक शक्तिको चाकडी गर्नु सामान्य छ, त्यो अर्कै कुरा भयो । त्यसबाहेक डा कोइरालाको निर्विवाद वर्क एथिक्स र प्रोफेस्नलिज्म अनि प्रशासकीय क्षमताले छोटो समयमा धेरै परिवर्तन ल्याउन सम्भव भएको हो । कतिसम्म भने डा कोइरालाले बसालेका कति दीर्घकालीन थितिहरु उखेल्न अब आउने प्रशासकलाई राम्रै समय लाग्नेछ ।
तर समस्या के भइदियो भने मानिसको ध्यान तान्न प्रतिस्पर्धा गर्ने क्रममा कति सञ्चार माध्यमहरुले अनुमान र लहडको भरमा समाचार र विश्लेषणहरु पस्के । ट्याब्लोइड पाराको साँघू नामको पत्रिकाले त डा गोविन्द के सीको नामसमेत मुछेर अनुमानमा आधारित समाचार लेख्यो । परिणाम स्वरुप संस्थानमा डा कोइरालालाई हटाउन चाहने पक्षले मसला पायो र प्रचार गर्न थाल्योः हेर भगवानको करतूत, कस्ता कस्ता समाचार लेखाउन थाल्यो । कर्मचारीका नामबाट लेखिएको एउटा पाठक पत्रमा त भगवानले शिक्षण भित्रको एउटा युनिटलाई व्यवस्थित गर्न अस्पताल परिसरकै मनमोहन CTVS मा सारेको कुरालाई तिलबाट पहाड नै बनाइदियो ।
शिक्षण अस्पतालको अहिलेको विडम्बना के छ भने यही सन्नाटाको मौका छोपेर विगतदेखि नै निकृष्ट राजनीतिको राज चाहेका त्रि वि पदाधिकारीहरुले सुटुक्क डा कोइरालाको राजीनामा स्वीकृत गरेर विगत देखिको चलनलाई निरन्तरता दिने सम्भावना छ । त्यसो भएको अवस्थामा डा कोइरालाले सर्त राखेझैं शिक्षण अस्पताललाई बढी स्वायत्तता दिनु पनि नपर्ने र सबै रेग्मी सरकारतिर केन्द्रित भएका बेला कुनै ठूलो विरोधको पनि सामना गर्नुनपर्ने तिनीहरुको आँकलन हुन सक्छ । तिनले अहिले थोरै त्याग गर्न तयार हुने हो र अराजनीतिक मानिसहरुले नेतृत्व गरेको अहिलेको सरकारले पनि थोरै ध्यान दिने हो भने अझै पनि डा कोइराला फर्कने सम्भावना जीवितै छ । काम गर्ने वातावरण हुने मात्रै हो भने डा कोइरालालाई कसैले फकाउन वा फूस्ल्याउनु पर्ने अवस्था छैन भन्ने मेरो बुझाइ हो तर कदाचित् अहिले राजीनामा स्वीकृत भएमा शिक्षण अस्पतालले डा कोइरालाको सम्भावित योगदान गुमाउने मात्र हैन, डिन डा प्रकाश सायमीको टिमलाई समेत गुमाउनु पर्ने सम्भावना छ ।
त्यसैले अझै पनि सञ्चार माध्यम लगायत यस संस्थाहरुका शुभ चिन्तकहरुले हिलो छ्यापा्छ्यापको क्रमलाई बन्द गरेर अहिलेको सरकार र त्रि वि पदाधिकारीलाई घच्घच्याइरहने हो भने सम्भावित दुर्घटना रोक्नन ढिलो भइसकेको छैन तर यो अवस्था धेरै रहने छैन ।
No comments:
Post a Comment