(यही वर्ष झलक सुवेदीको ब्रिटिश साम्राज्यका नेपाली मोहराः गोर्खा भर्तीको नालीबेली भन्ने पुस्तक निस्क्यो । साथै यसै वर्षको चलचित्र महोत्सव किम्फमा केशाङ शेतेन निर्देशित हु विल बी अ गुर्खा नामक वृत्तचित्रले उत्कृष्ट वृत्तचित्रको रुपमा दोहोरो पुरस्कार जित्यो । संयोगबश यो शुक्रवारदेखि उल्लेखित वृत्तचित्र काठमाडौंका मल्टिप्लेक्स हलहरुमा आम रुपमा प्रदर्शनमा आउँदै रहेछ । पुस्तक, वृत्तचित्र र सम्बन्धित एउटा बहसमा उठेका कुरालाई समेटेर यस ब्लगमा द गुर्खा लिगेसीः नेपाल्स नेस्नल शेम शीर्षकको लेख प्रकाशित भयो । अंग्रेजीमा पढ्न असहज मान्ने पाठकहरुका लागि गोर्खा भर्तीसम्बन्धी उक्त लेखका मुख्य मुख्य दाबी, तर्कहरु र विश्लेषणलाई समेटेर यो छोटो लेखमा बुँदागत रुपमा प्रस्तुत गरिनेछ ।)
शुरुवातः
म आफ्नो राष्ट्रवादी छविमा सम्म गौरव गर्न रुचाउँदिन त्यसैले यहाँ अति वा अन्ध राष्ट्रवादको प्रश्न उठ्दैन । साथै कुनै बेला सर्वहारा अधिनायकवादको सपना देख्ने गरे पनि अब त्यो अवस्था नरहेकाले मैले गर्ने विश्लेषणमा अन्य आलोचकलाई गोर्खा भर्तीको विषयमा आरोप लगाउने गरिएझैं कर्मकाण्डीय साम्यवादको चस्मा लगाएर विश्लेषण गरेको भन्न पनि मिल्दैन । तेस्रो, गोर्खा भर्ती शुरु गर्ने र शताब्दीभर त्यसलाई निरन्तरता दिने क्रममा त्यो प्रक्रियाबाट अकूत फाइदा लिने पक्षहरुको कडा आलोचना गर्दै रहँदा बाध्यता, रहर र भ्रमको चक्रमा परेर त्यो प्रक्रियामा होमिन पुगेका नेपाली युवाहरुप्रति व्यक्तिगत रुपमा मेरो असीम सहानुभुति छ ।
वृत्तचित्रका कुराः
हु विल बी अ गुर्खा मा केशाङको उत्कृष्ट कलाचेतले काम गरेको छ र अझै पनि भर्ती भएर बेलायत जाने सपना देख्ने हजारौं युवाको मनस्थिति उतार्न वृत्तचित्र सफल छ । तर मेरो चिन्ता के हो भने रुख देखाएर झाडी बिर्साउने भनेझैं अहिले एक दिनको यथार्थ उतारेर कतै यो वृत्तचित्रले चाहेर वा नचाहेर गोर्खा भर्तीसँग जोडिएका सान्दर्भिक ऐतिहासिक प्रश्नहरुलाई थप पृष्ठभुमिमा धकेल्ने त हैन? वृत्तचित्रमा गोर्खा भर्तीका ऐतिहासिक पाटाहरु नअटाउनुको कारण निर्देशकको विधागत सीमा थियो वा पोखराको भर्ती डिपोभित्र निर्बाध खिच्न अनुमति पाएबापत ब्रिटिश पक्षप्रति जनाइएको कृतज्ञता? छोटै सही, वृत्तचित्रको शुरुका केही मिनेटमा गोर्खा भर्तीसम्बन्धी खासगरी विश्वयुद्धका लागि जर्बवस्ती लगिएका नेपाली युवाहरुको संख्या र मृत्यू, गम्भीर चोट र बेपत्ता गरी तिनका भोगाइलाई आँकडाबद्ध गरेर राखेको भए के त्यो वृत्तचित्रले अहिलेको जस्तो संदेश दिन्थ्यो?
पुस्तक र बहसः
अन्तर्निहित सन्देशका हिसाबले केशाङको वृत्तचित्र भन्दा ठीक विपरीत चरित्र बोकेको पुस्तक हो झलक सुवेदीको ब्रिटिश साम्रज्यका नेपाली मोहराः गोर्खा भर्तीको नालीबेली । किम्फकै दौरानमा भएको र सुवेदी पनि उपस्थित एउटा बहसमा दर्शक दीर्घाबाट एउटा लम्बेतान भाषण आएको थियो गोर्खा भर्तीको निरन्तरताको पक्षमाः युवाहरुलाई भोक मेट्न खाडीमा धकेल्नु (वा बेच्नु) पर्ने यो देशमा आम्दानीको राम्रो श्रोत गोर्खा भर्ती किन बन्द गर्ने?
द गुर्खा लिगेसीः नेपाल्स नेस्नल शेम लेखमा तर्कको उठानः
उसो त अस्थिरता र संकटले ग्रस्त नेपालमा मानिसलाई चिन्ता लिने विषयहरुको खाँचो छैन र गोर्खा भर्ती पनि सामान्यतः सीमित मानिसहरुको चासोको विषय रहँदै आएको छ । तर व्यक्तिगत भन्दा पनि समुदायको रुपमा नेपालीहरुको पहिचान, त्यसको ऐतिहासिक उठान र गोर्खा भर्तीजस्ता विषयले त्यसमा पारेको प्रभाव हाम्रो सामाजिक चेतनाका बिर्सन नहुने तत्वहरु हुन् । तिनमा बहस नहुनुको मतलब ती विषयमा बहसयोग्य तत्वहरु छैनन् भन्ने त छैन नै बहस नहुँदा ती विषयमा गलत धारणा वा बुझाइहरु कायम रहने अवस्था छ ।
बेलायतका लागि लड्ने नेपाली युवाहरुको हैसियत आम रुपमा अंग्रेजीमा मर्सिनरी भनेर चिनिने विशुद्ध पैसाका लागि काम गर्ने मानिसहरुभन्दा कति फरक छ भन्ने बहस चल्दै आए पनि हालैको एक घटनाले ती युवाहरुले बेलायतलाई प्रदान गर्ने सेवाको प्रकृतिबारे धेरै प्रश्नको जवाफ दिन्छ । अफगानिस्तानमा कम्व्याटका बेला तालिबान ठानिएको मानिसलाई मारेपछि त्यसको प्रमाणस्वरुप टाउको काटेर मालिकसामु ल्याएर आएको बर्बर घटनाले अपभ्रंश हुँदै गुर्खा भनिने गरिएका ती युवाहरुमा भर्तीपछाडि विकसित हुने मनस्थितिको आँकलन गर्न मदत पुर्याउँछ । सुबेदीको पुस्तकमा बिस्तार गरिएझैं ऐतिहासिक रुपमा बेलायतले नेपाली युवाहरुलाई भर्ती लिनुको कारण गत शताब्दीका ठूला युद्धहरुका लागि उसलाई अचानक ठूलो संख्यामा युवा सिपाहीहरुको आवश्यक पर्नु थियो । आधुनिक विश्वको सबैभन्दा पछिल्लो औपचारिक साम्राज्यका हिसाबले सामान्य मानवीय संवेदना भएका आम युवालाई लिएर संवेदनाविहीन लडाकु सिपाही बनाउने कलामा बेलायत विश्वका अरु धेरै शक्तिहरुभन्दा अगाडि भएको पनि उक्त घटनाले देखाउँछ ।
नेपाली युवाहरु रोजगारीका लागि खाडीलगायतका मुलुकहरुमा जानुपर्ने अवस्था रहेसम्म गोर्खा भर्ती रोक्नु हुँदैन भन्ने तर्कमा पनि कुनै तुक छैन किनकि अहिलेको पुँजीवादी विश्वको कुनै पनि कुनामा उत्पादनका साधनहरु मुठ्ठीभर मानिसहरुको कब्जामा रहेकाले बाँकी सबैजसो मानिसका लागि कुनै न कुनै रुपमा श्रम बेच्नुबाहेक अर्को विकल्प छैन, चाहे त्यो स्वदेशमा होस् वा विदेशमा । त्यस्तै ज्यालाका लागि श्रम साट्नु र खास ज्याला पाए अरु कसैका लागि मानिस मार्न वा आफैं मर्न तयार हुनु भनेका दुई आधारभुत रुपमा अलग कुराहरु हुन् । गोर्खा भर्तीको प्रसंगमा विगतदेखि अहिलेसम्म बेलायतलाई सेवा पुर्याएबापत नियमित रुपमा ज्याला पाएका नेपाली युवाहरुले हाम्रो समाजमा राम्रै आर्थिक तरक्की गरे भन्दैमा बेलायतले दलालहरुमार्फत् गाउँगाउँबाट फकाएर वा झुक्याएर दुई विश्व युद्धमा धकेलेर मारिएका, अंगभंग भएका र युद्धपछि बेवारिसे बनाइएका मानिसहरुको नियति बिर्सनुहुँदैन भन्ने मेरो मान्यता हो । त्यो तथ्यलाई इमान्दार रुपमा आत्मसात गरेको पाइँदैन अहिले गोर्खा भर्तीको पक्षपोषण गर्ने मानिसहरुले जो हात्तीको पुच्छर छामेर अन्धो मानिसले हात्तीको आकार लठ्ठीजस्तो हुन्छ भनेजस्तै नेपालीहरुको जीवन बुटीको रुपमा रहेको भर्तीलाई बन्द गर्न हुँदैन भनेर चिच्याइरहन्छन् ।
अब आयो स्वभाविक रुपमा लिइने गोर्खाली बहादुरीको कुरा । भारतमा कामदार नेपालीहरुलाई बहादुर भनेर बोलाउनु सामान्य भएजस्तै गोर्खा सैनिकको चर्चा हुनासाथै तिनको बहादुरीको पनि चर्चा हुने गर्छ । तर बहादुरीको त्यो पहिचानका लागि ती सैनिकले वास्तवमा बेलायतको तर्फबाट आफ्नो छविको कुन स्तरको दानवीकरणको सामना गर्नुपरेको छ भन्ने यो उदाहरणले देखाउँछ । सन् १९८२ को माल्भिनास वा फक्ल्याण्डको लडाइँ अगाडि नै बेलायतले युद्ध जित्न एउटा प्रोपोगाण्डा युद्ध चलाएको थियो जसमा गोर्खा सैनिकहरुलाई यसरी चित्रित गरिएको थियोः 'Gurkhas are the sword-wielding monsters who cut off their enemies' heads and then hold the several heads by the hair and cut off the ears'. अर्थात् गुर्खाहरु त्यस्ता तरवारधारी दानवहरु हुन् जो शत्रुको टाउको काटेपछि रौंमा समातेर धेरै टाउकाहरु झुण्ड्याउँछन् अनि तिनका कानहरु काट्छन् । दुर्भाग्यवश माथि उल्लेखित गरिएको घटनामा झैं गोर्खा सैनिकका जंगली बर्बरता देखाउने कामहरुले तिनको दानवीय छवि बेलायतको प्रोपोगाण्डा मात्र नभएर यथार्थमा तिनको व्यवहारको नतिजा पनि हो भन्ने देखाउँछ । त्यसो त ती सैनिकहरुको त्यस्तो व्यवहार बहादुरी नभएर कलंकपुर्ण बर्बरता र निख्खर दास मनोवृत्तिको उपज हो भन्न हिच्किचाउनुपर्दैन र यस्तै कारणले गोर्खा बहादुरीको प्रसंग हाम्रा लागि गौरव नभएर लज्जाको विषय हो ।
अब आयो गोर्खा भर्तीका कारण नेपालमा आएको समृद्धिको कुरा । भर्तीकै कारण नेपालको अर्थतन्त्र भरथेग भएको भन्ने विश्वास कति मिथ्या छ भन्ने बुझ्न त झलक सुवेदीको पुस्तक नै पढ्ने सल्लाह छ मेरो पाठकहरुलाई । तर उक्त पुस्तकको केन्द्रमा रहेका गेसो अध्यक्ष पदम बहादुर गुरुङको एउटा भोगाइले नेपालीहरुप्रति ब्रिटिशहरुले गर्ने व्यवहारको प्रतिनिधित्व गर्छ । भर्ती गरेर लड्न मलेसियामा खटाइएका र लडाइँ सिद्धिनासाथ रिडन्डेन्सीमा पारेर घर खेदिएका गुरुङ पछि फेरि ब्रुनाइका सुल्तानका निजी गार्डका रुपमा त्यहाँ खटिएका थिए । त्यस्ता नेपाली गार्डहरुलाई ब्रुनाइले दिने ज्याला र सुविधाहरु नियमित बेलायती गुर्खा सैनिकले पाउने ज्याला र सुविधाहरुभन्दा धेरै भएपछि त्यहाँ असन्तोष बढ्न नदिने उद्देश्यले सुल्तानलाई थाहै नदिइ त्यहाँका बेलायती अधिकारीले खाली नेपाली गार्डहरुको मात्र सेवा सुविधा कटौती गरेका थिए । ब्रिटिश आर्मीले पैसा ल्याएर ओछ्याएकै कारण सम्पन्न भएको ठानिने गरेका पोखरा र धरानजस्ता शहरहरुको सम्पन्नताका लागि त गोर्खा सैनिकहरुलाई बेलायतले दिएको पैसाको भन्दा निजी नेपाली गार्डहरुलाई ब्रुनाइका सुल्तानले दिएको धनराशिको ठुलो भुमिका थियो भन्ने जान्दा पनि धेरैलाई अचम्म लाग्न सक्छ ।
निष्कर्षः
गोर्खा भर्तीको प्रक्रियाबाट बेलायतले कति फाइदा लियो र बदलामा नेपाली सिपाहीहरुलाई कति दियो भन्ने प्रश्नको पूरा ऐतिहासिक उत्तर आउन बाँकी नै छ । पोखरा वा धरानमा टल्किने बंगला बनाएको छिमेकी लाहुरेलाई हेरेर त्यो एकजना बराबर युद्धमा मारिएका, बेपत्ता पारिएका वा अंगभंग बनाइएका तथा जीवनका उत्पादनशील वर्षहरु बेलायतकी रानीको सेवा गरेर युद्धपछि बेवारिसे छाडिएका अरु १० जनाको नियति भुल्नु त नेपालीहरुका लागि सामान्यजस्तै भइसकेको छ । तर मालिकका रुपमा बेलायतले जे जति दियो हामी त्यसैका लागि कृतज्ञ हुनुपर्छ भन्ने दास मनोवृत्तिका मानिसहरुको प्रतिकार गर्दै क्षति पुर्ति र आत्मसम्मानका लागि बेलायती सरकारसँग आँखा जुधाएर हिसाबकिताब माग्ने हैसियत बनाएको गेसो र त्यसका अध्यक्ष गुरुङको प्रयासले नेपालीहरु पुर्ण रुपमा अकर्मण्य र दासत्वको अवस्थाप्रति निस्फिक्र मानिसहरु हैनन् भन्ने प्रभावचाहिं अन्तर्राष्ट्रय स्तरमा छाडेको छ । हिजो युवाहरुलाई बेचेर बेलायत सरकारसँग मोटो रकम असुल्न पल्केका नेपालका शासकहरुमा अझै पनि नेपालको राष्ट्रिय छवि र प्रतिष्ठाको यस्तो विषयलाई खोतल्ने र मनन गर्नेसम्म इच्छाशक्ति छैन ।
तर हामीले चाहेर वा नचाहेर नेपाललाई विश्वले चिन्ने थोरै माध्यमहरुमध्ये गोर्खा सैनिकहरुले निर्माण गरेको नेपालीहरुको छवि पनि आउँछ । त्यो छवि इतिहासका सरकारी किताबहरुमा र मुलधारका पश्चिमा सञ्चारमाध्यममा सापेक्षतः सकारात्मक छ । तर बेलायतले आफ्नो आवश्यकताअनुसार गोर्खा सैनिकहरुलाई रक्तपिपासु दानवहरुको रुपमा जबर्जस्त चित्रण गर्ने गरेकाले विश्वका विभिन्न भुभागका मानिसहरुले नेपालीहरुलाई पैसाको लागि जे पनि गर्ने बर्बर दानवहरुका रुपमा चिन्ने अवस्था अद्यापि विद्यमान् छ । ठीक यसै कारणले गोर्खा भर्तीको समग्र प्रक्रियालाई नेपालको गौरव हैन कि नेपाली युवाहरुको आर्थिक विपन्नताको फाइदा उठाएर बेलायती साम्राज्यले तिनलाई आफ्नो स्वार्थमा प्रयोग गरेको तथा समग्र नेपाली जातिकै छविको दानवीकरण गरेकाले नेपालको राष्ट्रिय लज्जा वा कलंकको विषयका रुपमा लिनुपर्छ भन्ने मेरो तर्क हो । योसँगै अब पनि त्यो कलंकपुर्ण प्रक्रिया कायम राख्नु भनेकै वर्षेनि २०० जति युवाहरुको राम्रै कमाइका लागि तीन करोड नेपालीहरुको छवि रक्तपिपासु दानवका रुपमा कायम राख्ने उद्योग गर्नु हो । त्यसैले अविलम्ब भर्तीको त्यो प्रक्रिया रोकिनुपर्छ ।
No comments:
Post a Comment