The trio behind the change: Dr Govinda K C, the ascetic, Dr. Prakash Sayami, the incorruptible and Dr. Bhagawan Koirala, the efficient |
पृष्ठभुमिः
नेपालको विडम्वना के छ भने, सरकारी सेवा प्रदायक संस्थाहरु सेवा प्रवाह गर्ने भन्दा पनि त्यहाँका जागिरेहरुको हित गर्नमा उद्यत छन् भने त्यस्ता निजी संस्थाहरुचाहिं व्यवसायका अरु पक्ष बिसेंर विशुद्ध तात्कालिक नाफामा केन्द्रित छन् । परिणाम स्वरुप आम मानिसले न सरकारी संस्थाहरुबाट यथोचित सेवा पाउँछन् न त निजीको खर्च नै व्यहोर्न सक्छन् ।
खासगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा यो समस्याबाट मानिसहरु नराम्रोसँग प्रताडित छन् । अझ देशको तरल राजनीतिक अवस्थाबीच बचेखुचेका सरकारी वा सार्वजनिक सम्पत्तिको छिनाझप्टीमा लागेका राजनीतिक दलहरुका गतिविधिले एकातिर सरकारी संस्थाहरुलाई ध्वस्त बनाउँदैछन् भने अर्कोतिर निजी संस्थाहरुसित आर्थिक र अन्य साँठगाँठ गरेर तिनको उचित अनुगमन र नियमन नहुने अवस्था सिर्जना गरेर आम मानिसको स्वास्थ्यजस्ता संवेदनशील पक्षसित खेलबाड गरिरहेका छन् ।
यही पृष्ठभुमिमा त्रि वि शिक्षण अस्पतालमा लामो समय चलेको आन्दोलनले के परिवर्तन ल्यायो वा ल्याएन भन्नेबारे यो आलेखमा छोटो चर्चा हुनेछ ।
शिक्षण अस्पतालको आन्दोलन सर्सरी हेर्दा
यो ब्लगमा हालसम्म सबैभन्दा धेरै चोटि पढिएको शिक्षण अस्पतालमा आन्दोलनःकिन? शीर्षकको लेखको एउटा अनुच्छेद यस्तो थियोः
अहिलेको आन्दोलनले समग्र समस्याहरुलाई स्वाट्टै बढारेर लैजानेछ भन्ने कसैको अपेक्षा पनि हैन । तर आन्दोलनको प्रमुख माग पुरा भएर अहिले झैं राजनीतिक भागबण्डाको चोरबाटोबाट नभएर जिम्मेवार मानिसहरु योग्यता र वरिष्ठताको आधारमा आउने हो र कुर्सीमा बस्नासाथ मालिकहरुलाई कति कति करोड भनेर दिमाग खियाउनु पर्ने अवस्था नहुने हो भने कुनै व्यक्ति आए पनि अस्पताल यो स्तरको लथालिंग र भताभुंगको अवस्थाबाट बाहिर आउन सक्छ ।
तर इमान्दार भएर भन्नुपर्दा आफैंले यो भाव प्रकट गर्नुको कारण ममा यो संस्थामा वास्तविक सुधार सम्भव छ भन्ने विश्वास भएर भन्दा पनि त्यसखालको सुधार हुनुपर्छ भन्ने मुद्दालाई बल पुगोस् भन्ने थियो । हुन पनि देशमा चारैतिर अव्यवस्था, भद्रगोल र मनपरीतन्त्र भएको बेला खाली एउटा संस्थामा सुधारको प्रयास सफल हुने सम्भावना झिनो थियो ।
तर लगत्तै आदरणीय गुरु डा गोविन्द के सी अनशन बसेपछि भने परिस्थिति धेरै बदलियो र संस्था सुधारको विशुद्ध अभियानमा लाग्ने भन्दा पनि संस्थासँग आफ्नो भविष्य जोडिएकाले यो संस्था धराशायी नभइहालोस् भन्ने धेरै मानिसहरु आन्दोलनसित जोडिने अवस्था आयो । अनशन लम्बिंदै जाँदा नैतिकता र पेशागत निष्ठा बेचेर राजनीतिज्ञहरुसित पद किनेका त्रि वि का पदाधिकारीहरुको छलछाम र धोखाधडीले स्थितिलाई जटिल त बनायो नै निकास पनि टालटुले पाराले दियो र डेढ महिनामै समस्या बल्झेर डा के सी फेरि अनशन बस्नुपर्ने अप्रिय अवस्था आयो ।
दोस्रो अनशन ताका एमाले भन्ने दलको खल्तीमा बन्द त्रि वि का उपकुलपतिको झन् तल्लो स्तरको जालझेल र शिक्षण अस्पताल परिसरमा सो दलका भरौटेहरुको प्रति–अनशनको चर्तिकलाले डा के सीको छवि धमिल्याउने र समग्र आन्दोलनलाई नै बिथोल्ने चेष्टा गरेपछि त माहोल ज्यादै गम्भीर बन्न पुगेको थियो । त्यसको पनि केही महिनासम्म नवनियुक्त डिन डा प्रकाश सायमीलाई काम गर्न नदिइ राजीनामा दिन बाध्य बनाएपछि त समग्र आन्दोलनका उपलब्धिहरु गुमिसकेको आभास सबैलाई भएको थियो ।
ताजा अवस्था
एक व्यक्तिको प्रयासले मात्र संस्था बन्ने हैन । तर जिम्मेवार तहका मानिसले यथोचित प्रयास गर्ने हो भने अरु मानिसहरु पनि त्यस्तो प्रयास गर्न बाध्य हुन्छन् र संस्था स्वतः बन्ने प्रक्रियामा जान्छ भन्ने उदाहरण अहिले शिक्षण अस्पताल बनेको छ । पदाधिकारहिरुका मालिक नेताहरुका धेरैभन्दा धेरै मानिसलाई भर्ती गरेर दिनभर हाइ काढेर घाम ताप्दै गर्ने पदहरु सिर्जना गरेर साविकभन्दा बढी तलब खुवाउने ठाउँका रुपमा चिनिएको शिक्षण अस्पताल डा प्रकाश सायमीको सक्रिय कार्यकाल शुरु भएसँगै र खास गरी डा भगवान कोइरालाको कार्यकारी निर्देशकमा नियुक्तिपछि एकाएक बदलिएको छ ।
त्रि विका पदाधिकारीहरुको अनैतिक दबाबमा आउन अस्वीकार गरेर बरु राजीनामा दिएका डा सायमीलाई एउटा कुशल प्रशासकको रुपमा भन्दा पनि निष्ठावान् व्यक्तिको रुपमा संस्थामा चिनिन्छ । तर अस्पताल प्रशासनमा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्दमा कुशलता पाएर शिक्षण अस्पताल आएका डा भगवान कोइरालाको महत्वपुर्ण प्रशासनिक पदमा नियुक्ति हुनुले डा सायमीको टिमलाई अति प्रभावकारी बनाएको छ। नियुक्तिको महिनाभरमै संस्थाको अव्यवस्था र भद्रगोल बढारेर सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने मात्र हैन पाइलैपिच्छे हुने चुहावट र भ्रष्टाचारमाथि डा कोइरालाले धावा बोलेसंगै संस्थाको आर्थिक हैसियत सुधार हुँदै जाने पनि निश्चितजस्तै छ ।
संस्थामा कार्यरत चिकित्सकहरुले नियमबमोजिमको समय यो अस्पताललाई दिनुपर्ने अवस्था एकातिर सिर्जना हुँदैछ भने यहाँबाट बिरामीहरुलाई सुनियोजित रुपमा फर्काएर निजी अस्पताल धान्न दलाली गर्ने धेरै जना डा कोइरालाको फन्दामा परिसकेका जानकारीहरु आइरहेका छन् । आफु घाम ताप्न वा गफ चुट्न बिरामीलाई घण्टौं लाममा उभिन बाध्य पार्ने प्रवृत्ति त डा कोइरालाको एक सर्कुलरका भरमा बन्द भइसकेको छ नै सेवा प्रदान गर्ने भन्दा आफ्नो दिन आरामले काट्न मिल्ने गरी बनाइएका अरु दर्जनौं नियमहरु पनि तोडिइसकेका छन् । सेवामा गुनासो भयो वा चित्त बुझेन भने निजी अस्पतालमा जाऊ भनेर विरामीलाई थर्काउनेहरु पुरै निरुत्साहित भएका छन् ।
अस्पतालको सेवा प्रवाहमा सुधारले यहाँका सेवाग्राहीलाई राहत दिएको छ नै पछिल्लोपटक परीक्षा हेर्ने सहायक डिनजस्ता आकर्षक मानिने पदहरुमा भएको विनालेनदेनको नियुक्तिले त्रि वि अध्ययन संस्थानअन्तर्गतका सबै मेडिकल कलेजहरुलाई विद्यार्थी उत्तीर्ण गराउन प्रश्नपत्र किनबेच गर्ने जस्ता गतिविधिप्रति निरुत्साहित गर्ने मात्र हैन विभिन्न तहका प्रवेश परीक्षाहरुमा ठुलो रकममा सिटहरु किन्नेजस्ता गतिविधि बन्द हुने पनि निश्चित जस्तै छ । कालान्तरमा त्यसले देशभरका त्रि वि अन्तर्गतका मेडिकल कलेजहरुलाई शीघ्र लाभको चोर बाटोबाट नभएर उचित पुर्वाधार र गुणस्तरीय जनशक्तिको प्रयोगमार्फत् सोझो बाटोबाट मात्रै प्रगति गर्न बाध्य पार्ने पनि निश्चित छ ।
उपलब्धिः
फर्केर हेर्दा शिक्षण अस्पतालमा सुधारका लागि डा गोविन्द के सी को नेतृत्वमा लामो समय चलेको आन्दोलनले यो संस्थासँग सम्बद्ध यो पंक्तिकारलगायतका मानिसहरुका लागि एउटा उपलब्धि हासिल गर्योः संस्थालाई धराशायी हुने दिशाबाट रोकेर हाम्रो भविष्य अनिश्चित हुनबाट बचायो । तर सबैभन्दा ठुलो उपलब्धिचाहिं ती आम मानिसका लागि भयो जो यहाँ आएर पनि सेवाबाट पनि वञ्चित हुँदै निजी अस्पताल चाहार्थे वा केही मिनटमा सम्पन्न हुने कामका लागि घण्टौं लाममा उभिन्थे । ४ जना कर्मचारी एक घण्टा अघि काममा लाग्दा ५०० मानिस डेढ घण्टा लाममा बस्नबाट बचे भने त्यही दिन मानिसहरुको ७५० घण्टा समय बच्यो । एक दिनमा २० जना मानिस यहाँबाट निजी अस्पतालतिर तस्करी हुनबाट बचे र औसतमा रु २५,०००को सट्टा रु ५,०००मा उपचारबाट उम्के भने एकै दिनमा मानिसहरुको रु ४लाख बच्यो । तेह्रथुमबाट सेवा लिन यहाँ आइपुगेको बिरामीले अल्ट्रासाउण्ड वा सि टी स्क्यानजस्ता जाँचका लागि ४ दिन पछिको सट्टा आज वा भोलिको समय पाए भने तिनको ३ दिनको समय र हजारौंको खर्च बच्यो ।
त्यति मात्र हैन, निरीक्षणको औपचारिकताका लागि आउनेहरुका आँखामा छारो हाल्न एक दिनका लागि बिरामी र प्रोफेसरहरु किनेर काम चल्छ र केही पदाधिकारीहरुलाई केही करोडमा किनेपछि दशौं करोड आय हुने सीटहरु किन्न सकिन्छ भने किन नियमसम्मत रुपले जाने भनेर बानी परेका निजी मेडिकल कलेजहरु साँच्चै आफ्नो प्रवृत्ति बदल्न बाध्य भए भने त्यसबाट लाभान्वित हुने एउटा सिंगो पुस्ता छ जसले ती मेडिकल कलेजबाट उत्पादित हुने सयौं चिकित्सकहरुबाट सेवा लिनुपर्ने हुन्छ ।
निष्कर्षः
शिक्षण अस्पतालमा चमत्कार भइहाल्यो भन्ने मेरो आशय हैन, अहिलेका कदम भनेका स्वागतयोग्य शुरुवाती कदम मात्र हुन् । तर अव्यवस्था, भद्रगोल र आर्थिक अनियमितता नियमजस्तो र इमान्दारी र कुशल कार्य सम्पादनचाहिं अपवादजस्तो भइसकेको तथा राजनेताहरुको कमाइखाने भाँडो बन्दा आर्थिक रुपमा टाट पल्टिसकेको संस्थामा पनि सुधार गर्ने इच्छाशक्ति भएका मानिस उचित पदमा हुने हो भने तात्कालिक र दीर्घकालीन दुवै रुपमा संस्थाको हित गर्न र सेवाग्राहीहरुलाई झन्झटमुक्त सेवा दिन सम्भव छ भन्ने यसले देखाउँछ ।
अन्तमा एउटा अँध्यारो पक्षः यी सबबाट ठूलो घाटा व्यहोर्ने एउटा पक्ष छः राजनीतिक दल र यो संस्थामा जरा गाडेका तिनका कृपापात्रहरु । तिनले कुन कुनाबाट कुन रणनीति लिएर कसरी यो सुधारको प्रक्रियालाई अवरुद्ध गर्न आइपुग्ने हुन् हेर्न बाँकी नै छ । तर अब तिनीहरु आइ हाले पनि बसिसकेको नयाँ थितिलाई भताभुंग पार्न समय लाग्ने नै छ । सम्भवतः यो नै यो समग्र प्रक्रियाको सबैभन्दा ठूलो उपलब्धि हो र फर्केर हेर्दा यो ब्लगमार्फत् मैले प्रकाशित गरेका झण्डै दुई दर्जन ब्रेकिङ न्युज काइदाका टिप्पणीहरुको सार गलत थिएन भन्ने मलाई महसुस हुन्छ ।
No comments:
Post a Comment