समग्रमा तीज हाँसखेल र रुवाबासीको अनौठो संगम हुन्थ्यो । वर्षाको पानीले जमिनको मैला धोएझैं मनको सारा मैला धोएर तीजका दिन भइसकेको वा हुनेवाला पतिका नाममा सबैजसो महिलाहरु व्रत बस्थे र एक दुई दिनपछि दशैंका लागि कति दिन बाँकी छ भनेर गन्दै सबै उदास अनुहार लगाएर आआफ्ना घरको बाटो समात्थे । तर तीजको त्यस्तो सर्वमान्य साँस्कृतिक महत्ता टिकिरहन सकेन र राष्ट्रिय राजनीतिमा आएको परिवर्तनले त्यसलाई पनि छुन पुग्यो । बहुदल कालको खुला राजनीतिसँगै दलहरुबीचको विभाजन गाउँसम्म पुग्यो ।
स्वभाविक रुपले उमेर बढ्दै गएसँगै व्यक्तिका लागि चाड पर्वहरुको महत्व घट्दै जान्छ । कति अवस्थामा साँच्चिकै चाडबाडले ल्याउने उत्साह र उमंग घट्दै जान्छ भने धेरै जसो मानिसले चाहिं तमाम झण्झटहरुसहितको वर्तमानबाट आनन्दित हुन नसकेर खोटरहित आनन्दका लागि स्मृतिका प्रियकर पाटाहरु मात्र बाँकी रहेका विगतका अनुभवहरुको शरणमा पुग्छन् । मेरा लागि पनि धेरै चाडहरु त्यस्तै हुन् तर तीज पर्वको बारेमा चाहिं मेरो एउटा अलग अनुभुति रहेको छ । पश्चिमका विकट पहाडी गाउँहरुमा एक–डेढ दशक अघिसम्म कायम रहेको तीजको विशिष्ट महत्व र त्यसयता समाजमा आएका सामाजिक तथा राजनीतिक परिवर्तनले यो पर्व मनाउने तरिकामा आएको परिवर्तन उल्लेखनीय छ ।
वर्षभर आउने धेरैजसो चाडपर्व गाउँका मानिसहरुका लागि तिनताका ठुलो राहत भएर आउँथे । रेडियो नेपालबाट फाटफुट गीत सुन्नुबाहेक संगीत र मनोरञ्जनका अन्य माध्यमहरुका लागि मानिसहरुले चाडपर्व वा भोजभतेरका अवसर नै कुर्नुपथ्र्यो । टाढा टाढा घटेका घटना–दुर्घटनाको जानकारीका लागि चाहिं सारंगीको तालमा गीत गाउँदै गाउँ चाहार्ने गाइनेहरुको प्रतिक्षा गर्नुपथ्र्यो । तुलनात्मक रुपमा हिउँदमा मेहनत गर्नुपर्ने कामहरु कम हुने भएकाले मानिसहरु वर्षा यामभर अधीरताका साथ हिउँदको प्रतिक्षा गर्थे ।
वर्षाको हिलोको काम सकेपछि आउने तीजले लगत्तै आउने दशैं र तिहारको जनाउ दिन्थ्यो । हिलोमा मकैबारी खन्नु, धान र कोदो रोप्नु, तिनलाई गोडमेल गर्नु, महिनौंसम्म दिनहुँ रुझ्दै घाँस काट्नुजस्ता कामले आजित भएका मानिसले सुस्केरा हाल्दै हिउँदको प्रतिक्षा गर्दा ठुला चाडबाडको लहरमा पहिले तीज आइपुग्थ्यो र केही दिनका लागि मानिसहरु सबै दुख भुल्ने कोशिस गर्थे ।
त्यो तीज पर्वको सबै भन्दा बढी महत्व चाहिं महिलाहरुलाई हुन्थ्यो । अनिवार्यजस्तै तीजमा माइतबाट चेलीबेटीलाई लिन कोही पुग्थ्यो र महिनौंपछि उनीहरु माइत जान पाउँथे । दर खाने दिन वर्षा भरि जम्मा भएको घ्यूमा अघिल्लो सालदेखि साँचेर राखेका चामल पकाएर घ्यू चुहाउँदै “खाजा” खानु र अर्को दिन तीजको व्रत बस्नु आम चलन नै थियो । तीजको केही दिनअघि देखि नै महिनौंपछि भेट भएका दिदीबहिनीहरुले “झोरा” भनिने खास भाकाको गीत गाउने गर्थे ।
ती झोरा गीत किन विशिष्ट हुन्थे भने बेलाबखत बिहेको बखत केटापक्षको घरमा गाइने रत्यौली गीतपछि महिलाका तर्फबाट समाजले पचाउने भनेकै ती गीत थिए । सानै उमेरमा गरिबी तथा अन्य विवशताले र कति अवस्थामा त रजस्वला हुनुअघि कन्यादान ग¥यो भने पुण्य हुन्छ भन्ने अन्धविश्वासका कारण सानैमा बिहे गरेर दुरदराज पठाइएका चेलीहरुले आफ्ना बाउआमाप्रतिको गुनासो र आक्रोश तथा घरमा आफुले सहनुपरेका प्रताडनालाई गीतमा उनेर गाउँथे र कति अवस्थामा त ती सुनेर बाउआमा भक्कानिंदै रुन्थे पनि । कतिले अघिल्लो तीजमा आउन नपाएको गुनासो गाउँथे त कतिले दाइजो नपाएको निहुँमा आफुमाथि भएको अत्याचार सुनाउँथे । त्यसबाहेक हरेक वर्ष जस्तो वर्षाको भेलले बगाएर वा अन्य दुर्घटनामा मर्न पुगेका मानिसहरुको मृत्युबारे पनि मेहनतसाथ गीत बनाएर गाइन्थ्यो ।
समग्रमा तीज हाँसखेल र रुवाबासीको अनौठो संगम हुन्थ्यो । वर्षाको पानीले जमिनको मैला धोएझैं मनको सारा मैला धोएर तीजका दिन भइसकेको वा हुनेवाला पतिका नाममा सबैजसो महिलाहरु व्रत बस्थे र एक दुई दिनपछि दशैंका लागि कति दिन बाँकी छ भनेर गन्दै सबै उदास अनुहार लगाएर आआफ्ना घरको बाटो समात्थे ।
तीज सकियो त दशैं लाग्योः घरमा कमेरो छेप्ने सुरसार |
तर तीजको त्यस्तो सर्वमान्य साँस्कृतिक महत्ता टिकिरहन सकेन र राष्ट्रिय राजनीतिमा आएको परिवर्तनले त्यसलाई पनि छुन पुग्यो । बहुदल कालको खुला राजनीतिसँगै दलहरुबीचको विभाजन गाउँसम्म पुग्यो । मानिसहरु दलमा त बाँडिए नै, महिलाहरुमा पनि आम रुपमा गृहस्थी धान्ने महिलाहरु र राजनीतिक रुपमा सक्रिय तथा दलका साँस्कृतिक कार्यक्रममा तीजबाहेक अरु समयमा पनि लाग्ने महिलाहरुबीच एउटा दुरीको विकास भयो र स्कुलजस्ता तीजको दिन सयौं मानिसहरु जम्मा हुने ठाउँमा पछिल्लो किसिमका महिलाहरुबीच आफ्नो वर्चस्व देखाउने प्रतिस्पर्धा हुन थाल्यो । कति अवस्थामा त गीतमा गालीगलौजहरु पनि सुनिन थाले र पहिले नाचगानमा सक्रिय हुने गरेका धेरै महिलाहरु तिनमा सहभागी हुनै छाडे ।
त्यसैबीच बढ्दो राजनीतिक चेतनासँगै छोरीलाई पढाउने क्रम बढेर गयो र उनीहरुको बिहेको उमेर पनि बढ्दै गयो । बदलिंदो सामाजिक संरचनासँगै परिवारमा बाउआमा र सासुससुराको हैकम कम हुँदै गयो र अपवादबाहेक बुहारीहरुका लागि पहिलेझैं निसास्सिँदो वातावरण रहेन । यी सबै कारणले तीज पहिलेजस्तो निर्विकल्प दुख बिसाउने चौतारी पनि रहेन ।
त्यसपछिको अर्को चरणको तीज देशमा व्याप्त संकटको प्रतिविम्ब थियो । माओवादीहरु पुलिस चौकी हान्दै अघि बढेसँगै बढीभन्दा बढी भुभागमा संत्रासको वातावरण व्याप्त हुँदै गयो । दिनहुँ कति मानिस मरे भनेर रेडियोले गन्ती गरिरहँदा मानिसलाई तीज मात्र हैन, कुनै पनि चाडको महत्व पहिलेजस्तो रहेन । जसले परिवारको सदस्य गुमाए, तिनका लागि त चाडवाड अभिषाप भए नै, जसका छोरा सैनिक वा प्रहरीमा थिए उनीहरु अनन्त त्रास र आशंकामा बाँच्न विवश भए । बेपत्ता पारिएकाहरुको कष्ट त झन् बढी थियो र तिनका लागि चाडबाड यातना बनेर आउन थाले । पहिले सयौं मानिस जम्मा हुने स्कुल प्राङ्गणहरु खाली हुन थाले र मानिस गीत गाउनु त के चर्को बोल्न समेत डराउन थाले ।
सशस्त्र द्वन्द्वको अन्तसँगै गाउँहरु फेरि उज्यालिन थाले । द्वन्द्वका बेला घर छाडेकाहरु पmर्कन थाले । केही कमाउने सुरमा गाउँका युवाहरु कुँडुलो लागेर खाडीतिर गए र धन कमाएर पठाउन थाले । बिस्तारै टेपरेकर्डर, सी डी प्लेयर र भिडियो हुँदै टी भी सेटजस्ता मनोरञ्जनका नयाँ नयाँ साधनहरु थ्पिंदै गए जसको फलस्वरुप रत्यौली, तीज गीत र गाइनेका गीतहरुजस्ता पुरातन माध्यमहरुको महत्व घट्दै गयो । केही वर्षमै बारीका कान्ला भत्काउँदै हिलाम्य बाटोमा हुलास शेर्पाका जीपहरु कुद्न थाले र मानिसका हातहातमा मोबाइलका सेट देखिन थाले । पतिहरुले यथेष्ट कमाउन थालेपछि एकाएक परिवारमा सासु र बुहारीको भुमिकामा ठूलो परिवर्तन आयो । कति बुहारी घरमै अह्रनखटन गरेर बस्न थाले भने अरु धेरै राम्रा निजी स्कुलमा पढाउन भनेर बच्चाहरु च्यापेर जिल्ला सदरमुकामदेखि काठमाडौंसम्म हानिए, लोग्नेको कमाउने ल्याकत हेरेर ।
फर्केर हेर्दा के लाग्छ भने मानिसहरुले बढी भौतिक श्रम गर्नुपर्ने, गरीबीको बोझ सापेक्षतः बढी भएको र परिवारको सामन्तवादी तथा पितृसत्तात्मक संरचना कायम रहेको पुरानो सामाजिक संरचना नेपालमा बहुदलकालका शुरुका वर्षहरुसम्म पनि कायम थियो र त्यो समाजमा तीजलगायतका पर्वहरुको ठुलो साँस्कृतिक महत्व थियो । बहुदलीय प्रजातन्त्रसँगै फस्टाएको पुँजीवादी व्यवस्थामा भने मानिसहरुका सामाजिक तथा पारिवारिक अन्तर्सम्बन्ध खुकुलिंदै जाने र बजार तथा उपभोग्य वस्तुप्रतिको लगाव बाध्यताको रुपमा विकसित हुँदै जाने प्रक्रियाले ती पर्वहरुको साँस्कृतिक महत्वलाई फिक्का तुल्याइदिएको छ । पुरानोबाट नयाँमा संक्रमण हुने यो प्रक्रियाको साक्षी भएकैले अहिलेको वयस्क पुस्ताले समाजको विकास क्रमका ती दुई चरणलाई तुलना गर्ने अवसर पाएको छ । मेरो विचारमा खासगरी महिलाहरुमा साक्षरता र आत्मनिर्भरता बढ्नु तथा समाजको समग्र समृद्धि बढ्नु त्यो परिवर्तनका सकारात्मक पाटा हुन् भने मुलतः श्रमशक्ति निर्यात गरेर आएको धन उपभोग्य चीजको बढ्दो खपतसँगै फर्केर विदेशतिरै जानु र देशको उत्पादनशील क्षेत्रको वृद्धि शुन्य प्राय हुनु त्यसका दुखलाग्दा र दीर्घकालीन रुपमा प्रत्युत्पादक पाटा हुन् । तीजका लागि रातो सारी र गहनाले छोपिएका महिलाहरुले मलाई यही कुराको याद दिलाउँछन् ।
1 comment:
मलाइ पनि केटाकेटी छदा को स्मृतिमा हुर्यायो यो लेखले..त्यतिबेलाको जस्तो चाडबाडको माहौल अहिले खोजेर कहाँ पाउनु ?
तीजमात्रै किन, हरेकजसो चाडपर्वहरु मान्ने मनाउने शैलीमा अनि तिनका महत्तामा गएको एक दसकमा लगभग छलांग भन्न लायक उलटफेर भएको देखिन्छ . देशको अर्थ राजनीतिक परिवर्तनसंगै भित्रिएको "आधुनिकता" ले हाम्रा कतिपय मौलिक परम्परा र चालचलनहरुमा धावा बोलेका छन् ..सवाल यत्ति हो कि Changed for good or changed for the worst ...
Post a Comment