सुन्दरताका नमुना मानिने तमाम भौतिक वस्तुहरुको एउटा कमजोरी छ । ती हुर्कन्छन्, फक्रिन्छन्, आफ्नो सुन्दरता र सुगन्ध फैलाउँछन् अनि अन्ततः वैलिएर झर्छन् । त्यसैले तिनको सुन्दरता क्षणभंगुर हुन्छ । फुलदेखि मानव शरीरसम्म वसन्तको हरियालीदेखि हिउँले सजिएका हिमालसम्म सबैले आफ्नो जीवनमा आरोह र अवरोहका अनेक चक्र बेहोर्छन् । जीवनको यो कुइनेटो न्यानो र घमाइलो हुन्छ भने अर्को कुइनेटो ओसिलो र अन्धकार हुन्छ । अर्को घुम्ती पुग्दा यो घुम्तीका साथीले विर्सिसक्छन् भने पुराना वैरीको ठाउँ पनि नयाँ वैरीले लिइसक्छन् ।
यो चक्रका बीचमै पनि समयसँग नखुइलिने केही वस्तुहरु छन् जसको सुन्दरता एकपछि अर्को पुस्ताले भोग्दै जान पाउँछ, तैपनि ती न खुइलिन्छन्, न त पातलिन्छन् नै । तिनको अर्को विशेषता के हो भने खास किसिमको त्यो सुन्दरताको अनुभुति जो कोहीले गर्न सक्दैन, जसले त्यो सुन्दरता चिन्छ, उसले मात्र त्यसको रसास्वादन गर्ने मौका पाउँछ ।
त्यस्ता विशेष सुन्दर वस्तुहरु हुन्ः कला र साहित्य । मानव जातिको उत्पत्ति यता इतिहासमा चिनिनका लागि एक किसिमका मानिसहरुले शक्तिका भरमा ठूला ठूला राज्यहरु खडा गरेर धेरै भन्दा धेरै मानिसमाथि शासन गरेका छन् भने अर्का थरी मानिसले आफ्नै बलबुताले, आफ्नै श्रम र पसिनाले केही सिर्जनाहरु गरेर गएका छन् जसले मानिसमा सत्ता र शक्तिले झैं त्रास र भयको सिर्जना नगरीकनै आफ्नो नाम र प्रभाव छाडेर जान सकेका छन् । ती सिर्जनाहरुले युगौंदेखि मानव जातिका लागि सौन्दर्यको एक अटुट श्रोतको काम गर्दै आएका छन् ।
हो ठिक त्यही सौन्दर्य खोजिरहेछु म यो काठमाडौंमा । साँगुरा गल्ली, थामिनसक्नु मानिसको चाप, धुवाँ र धुलोको कुहिरीमण्डल, सत्तादेखि सडकसम्म व्याप्त पाखण्ड र धोखाधडी, यस्तै यस्तै कुराले चिन्छन् काठमाडौंलाई मानिसहरु । यो खाल्टोले निर्ममतासाथ तिरस्कार गरेपछि गर्नु निन्दा गर्छन् मानिसहरुले यसको । त्यति हुँदा हुँदै पनि वर्षेनी लाखौं मानिसहरुलाई आफ्नो अँगालोमा आउन बाध्य पार्छ काठमाडौंले । यहाँ कति त सत्तामा व्याप्त केन्द्रीकरणका कारण घिसारिएर आउनेहरु छन् भने कति अरुचाहिं यसको सुन्दरताबाट लठ्ठिएर आउँछन् । तर दुर्भाग्य के छ भने चाहेर पनि यस खाल्टोको सुन्दरता पान गर्न पाउँदैनन् सबै मानिसहरु ।
हो म कुरा गर्दैछु सिर्जनाको एउटा केन्द्रका रुपमा काठमाडौं खाल्डोको । र सुन्दर कला वा साहित्यको सिर्जना गर्न नसके पनि तिनको सौन्दर्यको अनुभुति गर्ने दौडमा लागिरहेका छन् मजस्ता कैयौं मानिसहरु । नाटकघर देखि चलचित्र घरसम्म, आर्ट ग्यालरीदेखि पुस्तक प्रदर्शनीसम्म यो खाल्डोभित्र रहेर नेपालभित्र र बाहिरका सिर्जनाहरुको सौन्दर्य अनुभुत गर्न आतुर मानिसहरुको भीडै लागेको छ काठमाडौंमा । सुचना प्रविधिमा आएको चमत्कारका कारण सानो गाउँमा बदलिएको विश्वमा एक कुनाको सिर्जना सजिलै अर्को कुनामा पुग्ने गरेको छ । र मानिसले स्वादले कुरा गर्दे छन्ः कसको सिर्जनाको ओज कति? कलात्मकता र सुन्दरता कति र त्यसको प्रभाव कति? यो परिस्थितिमा पक्कै पनि हाम्रा सिर्जनाहरुले विश्वका सबै सिर्जनाहरुसँग प्रतिस्पर्धा गर्ने पर्ने स्थिति उत्पन्न भइसकेको छ ।
यही परिप्रेक्ष्यमा नेपाली नाटकको चर्चा गर्न मन लागेको हो मलाई । उहिले लयमा लेखिएका बालकृष्ण समका क्लिष्ट नाटकमा के बुझ्नुपर्ने हो भनेर कन्सिरी कन्याउँदै सोच्नुपरेको तथा विजय मल्लका सरल र बोधगम्य तथा मानवीय संवेदनाले भरिएका र धुरुक्क रुवाउनसम्म सक्ने नाटकहरु पढेपछि विधाका रुपमा नाटकको परिचय पाएको सम्झना आलै छ । तर यो खाल्टोमा प्रवेश पाउन संघर्षरत लाखौं मानिसहरुझैं मैले पनि यहाँ छिर्न झण्डै एक दशक संघर्ष गर्नुपर्यो । म यहाँ छिर्दा नेपालमा नाटकलाई आम रुपमा पढिने विधाबाट हेरिने विधामा पुर्याउने अभियानमा लागेका थुप्रै स्रष्टाहरुमध्ये गुरुकुल थिएटरको अभियान साँगुरो गोरेटोबाट सुरु भएर फराकिलो शहर बाटोसम्म पुगेको थियो र मानिसहरुको मुस्लो नाटक हेर्न जाने चलन बसिसकेको थियो । पहिलोपटक गुरुकुलमा सेतो कपाल हेरेदेखि नै नाटकले एउटा अलग्गै छाप छाडेको हो ममा ।
उसो त त्यसअघिका नाटकहरु छुट्नुको पीडालाई गुरुकुलका अरु नाटकले बिर्साउन नपाउँदै गुरुकुल आफ्नो थातथलोबाट उठ्नुपर्यो र त्यो स्थानमा अन्तिमपल्ट अग्निको कथा हेर्न जाँदा मानिसहरुका आँखामा संताप र निराशाको भाव स्पष्ट देखिन्थ्यो । अनिश्चित भविष्यपट्टि सुस्केरा हाल्दै सुनीलजीले दिएको छिट्टै भेट्ने आश्वासनले पनि धेरैलाई आश्वस्त पार्न सकेको थिएन । र पुरानो बानेश्वरको टाकुरोबाट एकाएक छिरलिएका थिए मनहरु । यथेष्ट सामाग्री, यथेष्ट कलाकार र यथेष्ट मेहनतका साथ यथार्थको निकटतम आभास दिने गुरुकुलका नाटकहरुले दर्शकहरुमा एउटा अलग छाप मात्र छाडेका नभई कनिकुथी नाटक हेर्न थिएटरमा पुग्ने दर्शकहरुको एउटा उल्लेख्य कोहोर्ट निर्माण गरेको थियो । दोहोरिइरहने कथा वस्तुमा यान्त्रिक अभिनयको कैदी बनेर वल्लो घाट न पल्लो तीर भएको नेपाली चलचित्र हेर्न वर्षौंअघि छाडेर विदेशी चलचित्रहरुमा झुम्मिन पुगेका नेपाली दर्शकहरुले सिर्जनात्मकताले भरिपुर्ण नाटकहरु हेर्न पाउँदा मनोरन्जन मात्र नभई अपनत्वको साथ गर्वले नेपाली नाटक हेर्ने गरेका थिए ।
गुरुकुल पुरानो बानेश्वरबाट उठेलगत्तै लामो अन्तरालपछि आफ्नो नयाँ अवतारमा प्रकट भएको सर्वनाम नाट्य संस्थाले नेपाली नाटकप्रेमीहरुलाई उल्लेख्य राहत दिएको थियो र छ । जटिल कथानकलाई समेत सरल रुपमा सापेक्षतः छरितो र सानो स्टेजमा जीवन्त रुपमा उतार्नु सर्वनामको विशेषता रहिआएको छ । यो अवतारमा सर्वनामले मञ्चन गरेका नाटकहरुमध्ये सबैभन्दा जीवन्त र प्रभावशाली करुण रसको नाटक बाँकी पृष्ठमा उक्त नाट्य समुहले द्वन्द्वकालीन नेपालको हुबहु चित्र उतार्न सफल भएको थियो ।
यही परिपृष्ठमा मञ्चबाट हराएको तर चर्चाबाट ओझेल नपरेको गुरुकुलको तत्वावधानमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवले नेपाली नाटकलाई अरु एक खुट्किलो माथि उकालेको मेरो ठम्याइ छ । यो महोत्सवमा मेरो आविष्कार भने नवागन्तुक (कम्तीमा पनि अधिकांश दर्शकका लागि) मण्डला थिएटर रह्यो । सत्य मोहन जोशीले लेख्नुभएको नाटक सुनकेशरीको कठिन नाट्यवस्तुलाई जीवन्त अभिनय गरेर मण्डलाका कलाकारले नेपाली रंगमञ्चको दायरा धेरै फराकिलो भएको आभास दिए । त्यो नाटक हेरेर फर्केपछि मैले एउटा सामाजिक संजालमा लेखेको थिएंः यही रफ्तार रहने हो भने कुनै दिन नेपाली चलचित्र लोप हुने तर सडक सडकमा नाटकहरुका सि डी को चोरी बिक्री हुने अवस्था आउन बेर छैन । ऐतिहासिकता मात्र नभएर भौतिक सौन्दर्यको क्षणभंगुरता र व्यक्तिका रुपमा नारीको जीवनमा त्यसले खेल्न सक्ने प्रतिकुल भुमिका बारे लेखकले प्रवाह गर्न खोजेको विशिष्ट सन्देशका कारण पनि त्यो नाटक अरु धेरै नाटक भन्दा फरक रहेको छ ।
त्यसबाहेक हेटौंडादेखि महोत्सवका लागि आएको तरंग समुहको नाटक अमरसिंहको खोजीमा अमरसिंह नाटकले पनि नेपाली रंगकर्मको दायरा लाई काठमाडौं खाल्टोको भौतिक सीमाले रोकेको छैन भन्ने पुष्टि गरेको छ । अनेक बाधा र व्यवधानहरु बीच पनि कलाकारहरुले आफ्नो जीवनको उर्वर हिस्सा अझै व्यावसायिक रुपमा स्थापित हुन नसकेको रंगकर्मका लागि लगानी गरेका छन् भन्ने प्रमाण हो यो हेटौंडेली कलाकारहरुको लगाव । त्यसबाहेक अर्को नेपाली नाट्य समूह एक्टर्स स्टुडियोले यस अगाडि मञ्चन गरेको नाटक ओह स्टार दुनियाँबाट थुप्रै कला पारखीहरुबीच बनाएको छविकै कारण महोत्सवमा मञ्चन भएको नाटक काफ्काः एक अध्यायमा थामिनसक्नु भीड भएकाले नाटकै हेर्न नपाउनेमा यो पंक्तिकार पनि थियो ।
महोत्सव टुंगिने तरखरमा छ तर अव्यवस्था, भाडभैलो र मनपरीतन्त्रबाट आजित भएका काठमाडौंवासीमध्ये नाट्य घरसम्म पुगेर कलाको सौन्दर्य अनुभुत गरेर केही हदसम्म भए पनि जीवनको एकाकीपनलाई मेटाउनेहरुको मन भने अझै अघाएको छैन । गुरुकुलको आसन्न पुनरागमनको सुखद समाचारसँगै सर्वनामले आफ्नो नाट्यकर्म अरु नाट्य समुहहरुको संयोजनमा समेत जारी राख्नु र शानदार रुपमा मण्डला थिएटरको आगमन हुनुले मलाई एउटा आभास दिएको छः नेपालको रंगकर्म आफ्नो स्वर्णयुगमा प्रवेश गर्दैछ । यो युगको उत्कर्षसम्म मलाई काठमाडौं खाल्डोले अँगालिराख्ला भन्ने कुरामा मलाई भरपुर अविश्वास भएकैले यो महोत्सवका नाटक नछुट्याउने मेरो असफल प्रयत्न रहेको थियो ।
जाडोको हतकडीले बिस्तारै काठमाडौंवासीलाई कस्दै ल्याएको छ र घाम मानिसलाई बढी नै प्यारो लाग्न थालेको छ । सिंहदरबारदेखि स्यालदरबारसम्म सत्ताको खिंचातानी जारी छ र किनाराबाट मानिसहरुले त्यो खिचातानीको कुरुपतालाई टोलाएर हेरिरहेका छन् । भविष्यको अन्योल हेरेर मानिसले न हाँस्न रोकेका छन् न त रुन नै । मानिसको त्यही खुशी र पीडाको संगमलाई नेपाली नाटकले दुरुस्त पार्न कोशिस गरिरहँदा वासी मसला हालेर पट्यार लाग्दा छ दर्जन जति नेपाली चलचित्रहरु केही महिनामै प्रदर्शनमा आएर लगानीको सानो हिस्सा उठाएर हलहरुबाट उत्रे भन्ने सुनिन्छ भने नेपाली संगीतमा धनी सिकारुहरु नआउने हो भने त्यो क्षेत्र पनि शुन्यप्रायः हुन्छ भन्छन् जानकारहरु । केही आशलाग्दा आख्यानकारहरुमार्फत् जुर्मुराइरहेको नेपाली उपन्यास साहित्यसँगै सिर्जनात्मक सुन्दरताको अर्को जीवन्त विधा बनेर नेपालमा नाटक आएको मेरो ठहर छ । र दिनानुदिन थप जर्जर हुँदै गइरहेको जनजीवनमा केही भए पनि शीतलता र सौन्दर्य छर्ने जुन कार्य गरेको छ, जुन चानचुने कुरा हैन ।
No comments:
Post a Comment