Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Wednesday, August 26, 2020

रुसी भ्याक्सिनले जन्माएको भय

 

हठात् रुसले कोभिड–१९ को भ्याक्सिनलाई स्वीकृति दिएको समाचार आयो ।

‘रुसले कोरोनाको भ्याक्सिन बनाएको हो?’ भनेर साथीहरुले सोध्न थाले । सामाजिक सञ्जालको युगमा समाचारमा आउँदैमा मानिसले सबै कुरा पत्याइहाल्दैनन् । त्यसैले चिकित्सकका नाताले मलाई त्यो प्रश्न सोधिनु स्वभाविक थियो ।

तर मेरा लागि त्यो प्रश्नको उत्तर सहज थिएन ।

हो भनौं भने भ्याक्सिन विकासको स्थापित विधिको धज्जी उडाएर दिइएको त्यस्तो स्वीकृति त्यति धेरै अर्थपूर्ण थिएन । कसैले चाहंदैमा जादुको छडीले झैं यस्ता आविष्कार हुन सक्ने भए इतिहासमा सबैभन्दा छिटो विकसित मम्प्सको भ्याक्सिन बनाउन चार वर्ष लाग्ने थिएन ।

हैन भनौं भने सर्वप्रथम अन्तरिक्षमा स्पुतनिक भु–उपग्रह पठाउने रुसले स्पुतनिक–५ नाम दिएर भ्याक्सिन घोषणा गरिसक्यो । अरु केही देशका शासकहरुले त्यो भ्याक्सिन प्रयोग गर्ने समेत बताइसके । अन्तर्राष्ट्रिय मिडियामा कथम् त्यो भ्याक्सिनले काम गरिहाल्यो भने के होला भन्ने विषयमा विमर्श हुन थालिसक्यो ।

फेरि भ्याक्सिन निर्माणको प्रक्रिया रुसबाहेकका देशमा राजनीतिक दबाब र प्रभावबाट अछुतो रहेको भन्ने पनि हैन । भ्याक्सिन निर्माणको वैज्ञानिक प्रक्रियामा राजनीतिक हस्तक्षेपको समाचार यस अगाडि भारतबाट आइसकेको थियो । अमेरिकामा त डोनाल्ड ट्रम्पले बारम्बार नोभेम्बर ३ को चुनाव अगाडि नै भ्याक्सिन ल्याउन कम्पनीहरुलाई नाजायज दबाब दिएको कुरा कसैबाट छिपेको छैन ।

भ्याक्सिनबारे अनेक खाले दाबी र प्रचारवाजीमा धेरै देश उत्रिए पनि रुसको करतुत चाहिं बाँकी सबैभन्दा अलग थियो । भ्याक्सिनका धेरै उम्मेदवारहरु जुन चरणमा गएर असफल हुने हुन् ‘फेज थ्री क्लिनिकल ट्रायल’ नामक त्यो चरणमा प्रवेशै नगरी उसले भ्याक्सिनलाई मान्यता दिएको थियो ।

परिणामः फिलिपिन्सका रोड्रिगो दुतेर्तेजस्ता शासकले मात्रै त्यो भ्याक्सिन प्रयोग गर्ने बताएनन्, संसारको धेरै देशमा मानिसमा भ्याक्सिन तत्काल बनेर महामारीलाई रोक्छ कि भन्ने आशा पलायो ।

जब केही चिकित्सा समुदायकै साथीहरुले त्यो भ्याक्सिनलाई गम्भीरतापूर्वक लिएको थाहा पाएँ, म झसंग भएँ ।

स्पुतनिक ५ भ्याक्सिनका बारेमा कुरा हुँदा चिकित्सक साथीलाई मैले बताएँः रुसले तीसौं हजार मानिसमा गर्नु पर्ने फेज थ्री ट्रायल नै नगरी भ्याक्सिन दर्ता गरेको छ, त्यस्तो भ्याक्सिनको के आश गर्नु?

साथीले भनेः तीसौं हजारमा त अब प्रयोग गरिहाल्छ नि ।

उनको कुरा ठिकै हो । दर्ता भइसकेपछि स्पुतनिक–५ को प्रयोगमा कम्तीमा रुसभित्र कसैले छेकवार लगाउन सक्दैन ।

तर विज्ञानको इतिहासले के भन्छ भने त्यसरी नयाँ भ्याक्सिन प्रयोग गर्दा परिणाम यीमध्ये एउटा हुन सक्छः

. भ्याक्सिनले काम गर्छ र सुरक्षित छ

. भ्याक्सिनले काम गर्छ तर उल्लेख्य संख्यामा गम्भीर जटिलता ल्याउँछ

. भ्याक्सिनले काम गर्दैन तर जटिलता ल्याउन सक्छ

. भ्याक्सिनले संक्रमण रोक्नुको सट्टा संक्रमणको वा जटिलताको जोखिम झन् बढाउँछ

 रुसले झैं हतारमा नयाँ भ्याक्सिन दर्ता गर्दा के मानिएको हुन्छ भने यी चारमध्ये पहिलो परिणाम नै आउँछ । तर त्यो सम्भावनाको मात्रै कुरा हो, सुनिश्चितताको हैन ।

मानौं कि ती साथीले भनेझैं तीसौं हजार वा लाखौं मानिसले अब उक्त भ्याक्सिन लिने चरण नै सामान्य भ्याक्सिन विकासको फेज थ्री ट्रायलसरह हो । त्यस क्रममा भ्याक्सिनका राम्रा वा नराम्रा प्रभाव र प्रभावकारीताको टिपोट पक्कै रुसी चिकित्सक र वैज्ञानिकहरुले गर्नेछन् । त्यस क्रममा परिणामले भ्याक्सिन काम गर्ने र सुरक्षित देखियो भने त ठिकै हो । तर काम नगर्ने वा गम्भीर जटिलता देखिने भयो भने के होला?

विकसित हुँदै गरेको भ्याक्सिनलाई प्रतिष्ठाको विषय बनाएर आवश्यक शोध विनै संसारकै पहिलो कोभिड भ्याक्सिन घोषणा गरेपछि रुसले त्यस्तो प्रतिकुल नतिजा कसरी सार्वजनिक गर्ला?

रुसी भ्याक्सिनले पार गरेको भनिएको पहिलो र दोस्रो चरणको ट्रायल (जसले मुलतः प्रभावकारिता नभई भ्याक्सिन कति सुरक्षित छ भनेर हेर्छन्)का नतिजाहरु समकक्षी वैज्ञानिकहरुको निगरानी (पियर रिभ्यु)का लागि उपलब्ध गराइएको थिएन । त्यसैले अबका दिनमा आउने भ्याक्सिनसम्बन्धी नतिजा पनि उसरी नै अन्धकारमा तयार हुने निश्चित जस्तै छ ।

 अब एउटा अवस्था कल्पना गरौंः स्पुतनिक ५ प्रभावहीन वा प्रत्युत्पादक वा दुवै हुने कुरा रुसी वैज्ञानिकहरुले तीसौं हजार मानिसमा सो भ्याक्सिन प्रयोग गरेपछि पत्ता लाग्यो ।  सम्भवतः तबसम्म सिंगो रुसी जनसंख्या र अरु धेरै देशका लागि पुग्ने भ्याक्सिनका डोजहरु रुसभर र धेरै देशमा पुगिसकेका हुनेछन् ।

त्यो अवस्थामा भ्याक्सिनलाई असफल घोषणा गरेर नष्ट गर्ने वैज्ञानिकको विवेक हावी होला कि जसोतसो भ्याक्सिन दिइहालेर साख बचाउने रुसी राष्ट्रपति पुटिनको प्रयास हावी होला?

...

भ्याक्सिन विकास गर्ने शुरुआती चरण भनेको मानिसमा संक्रमण नगराइ संंक्रामक जीवविरुद्ध प्रतिरोधी क्षमता विकास गर्ने विभिन्न उम्मेदवार पदार्थहरुको छनोट हो । अक्सर यही चरणले वर्षौंको समय लिने गर्छ । तर पछिल्ला दशकहरुमा धेरै खाले प्रविधिहरुको तीव्र विकास भएकाले चीनले सार्स–कोभी–टुको आनुवंशिक संरचना सार्वजनिक गरेको केही सातामा विश्वभरका धेरै वैज्ञानिक र कम्पनीहरुले त्यस्ता उम्मेदवारहरुको खोजी गरे ।

त्यसपछिको चरणमा उक्त पदार्थहरुको पशुमा परीक्षण गरेर प्रभावकारिता र जटिलता वा दुष्प्रभाव हेरिन्छ । यो चरणमा महिनौंको समय लाग्न सक्छ । छिटो भ्याक्सिन बनाउने हतारोमा यसपल्ट कतिपय कम्पनीले यो चरणलाई नै बाइपास गरेर सिधै मानिसमा परीक्षण गरेका छनु ।

मानिसमा हुने पहिलो परीक्षण वा फेज वान सेफ्टी ट्रायलमा सानो संख्याका स्वयंसेवीहरुमा उक्त पदार्थ कति सुरक्षित छ भनेर परीक्षण गरिन्छ । साथै त्यसले शरीरमा रोग प्रतिरोधी प्रणालीलाई प्रभावित गर्छ कि गर्दैन भनेर हेरिन्छ । यसको नतिजा जति लामो समय हेरेर चुस्त विश्लेषण ग¥यो, कुनै जटिलता छुट्ने सम्भावना उत्तिकै कम हुन्छ ।

पहिलो चरणबाट सुरक्षित ठहरिएको भ्याक्सिन उम्मेदवारलाई अलि ठूलो संख्या (सयौं)का स्वयंसेवीहरुमा फेरि प्रयोग गरिन्छ । फेज टु एक्स्पाण्डेड ट्रायल भनिने यो चरणमा पनि मुलतः उक्त पदार्थ कति सुरक्षित छ भनेरै वर्षौंसम्म (कोभिडको हकमा महिनौंसम्म) हेरिन्छ । साथै फरक उमेर समुहको रोग प्रतिरोधी प्रणालीमा कस्तो प्रभाव पार्छ भनेर पनि हेरिन्छ । होशियारीपूर्वक अध्ययन गर्दा यस चरणमा पनि कडा दुष्प्रभाव नदेखिएमा बल्ल तेस्रो चरणको बाटो खुल्छ ।

‘फेज थ्री इफिकेसी ट्रायल’मा बल्ल भाइरसको प्रभावकारिताको असली परीक्षण हुन्छ । यो चरणमा बीसौं हजार स्वस्थ स्वयंसेवीहरु भ्याक्सिन लगाएपछि समुदायमा फर्कन्छन् । ‘कन्ट्रोल’ भनिने उस्तै तर भ्याक्सिन नपाएका मानिसहरु पनि समुदायमै रहेर यो ट्रायलको हिस्सा बन्छन् ।

त्यसपछि संक्रमण समुदायमा फैलँदा भ्याक्सिन पाउने स्वयंसेवीहरु र कन्ट्रोल समुहका मानिसहरुबीच संक्रमण दरको तुलना हुन्छ । दुई समुहबीच संक्रमित हुने दर उल्लेख्य रुपमा भिन्न भएन भने भ्याक्सिन असफल हुन्छ । अमेरिकाका फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनका अनुसार कम्तीमा ५० प्रतिशत स्वयंसेवीहरुलाई संक्रमणबाट बचायो भने मात्रै कुनै कोभिड भ्याक्सिनलाई सफल मान्न सकिन्छ ।

स्वयंसेवीहरु समुदायमा फर्केपछि संक्रमण समुदायमा पुगेन वा रहेन भने भ्याक्सिनको प्रभावकारिताको परीक्षण नै हुन सक्दैन । त्यसैले चीनले विकास गर्दै गरेका दुई भ्याक्सिनहरु अहिले संयुक्त राज्य इमिरेट्समा फेज थ्री क्लिनिकल ट्रायलमा छन् ।

अक्सर यो चरणमा वर्षौं समय बित्ने गर्छ र अधिकांश भ्याक्सिन यही चराणमा असफल हुन्छन् । यो चरणमा जति धैर्यतापूर्वक धेरै मानिसमा अध्ययन ग¥यो, उति नै असामान्य खालका जटिलताहरु पत्ता लाग्ने सम्भावना हुन्छ ।

यी सबै चरणमा अध्येताहरुले निकालेका परिणाम अरु अध्येताहरुले ‘पियर रिभ्यु’मार्फत् केलाउँछन् । सबै चरण सकिएपछि पत्ता लागेका सबै तथ्य र तयार भएका आँकडाहरुको बृहत् विश्लेषण हुन्छ । हरेक पाइलामा अब्बल ठहरिए मात्रै कुनै भ्याक्सिनको उम्मेदवार दर्ता वा स्वीकृतिका लागि सम्बन्धित निकायमा पुग्छ । ती निकायले फेरि स्वतन्त्र रुपमा नतिजाहरुको परीक्षण गर्छन् । अनि सबै ठिकठाक भए मात्रै भ्याक्सिन स्वीकृत हुन्छ ।

...

बनेका भ्याक्सिनहरु साँच्चिकै प्रभावकारी र सुरक्षित होउन् भनेर वैज्ञानिकहरुले विकास गरेको प्रक्रिया लत्याएर स्पुतनिक ५ बनाएपछि त्यसबारे मानिसलाई ढुक्क बनाउन रुसी सञ्चार माध्यमहरुले भनेः राष्ट्रपति पुटिनकी छोरीले समेत यो भ्याक्सिन लगाइन् र उनी ठिकठाक छिन् ।

तर पुटिन वा जोसुकैकी छोरी भए पनि यस्ता अध्ययनमा व्यक्तिका रुपमा उनको गणना एक भनेरै हुने गर्छ । अध्ययनमा उनको सहभागिताले (यदि साँचो हो भने) बीसौं हजारमा हुनुपर्ने अध्ययनको क्षतिपुर्ति हुन सक्दैन ।

यो कुरा बुझ्न त्यति गाह्रो छैन तर रुसले भ्याक्सिन बनाएको सन्देहास्पद समाचारले जति मानिसलाई आशावादी बनाएको छ, त्यो हेर्दा लाग्छ जीवन–मरणसँग जोडिएका वैज्ञानिक विषयमा मानिसहरुलाई सुसुचित गर्न वैज्ञानिक र चिकित्सक समुदायले धेरै काम गर्न बाँकी छ । 

र झनै महत्वपूर्ण कुरा, अहिले त रुसले बनाएको भ्याक्सिन कस्तो होला भन्ने हाम्रा लागि बोद्धिक विमर्शको विषय मात्रै छ । भोलि जब धेरै देशले धेरै खाले भ्याक्सिन सफल भएको दाबी गर्नेछन् र नेपाल कुन देशको कुन भ्याक्सिन लिने भन्ने दोधारमा हुनेछ, यो हाम्रा लागि जीवन–मरणको विषय बन्नेछ । कोभिडका लागि स्वास्थ्य सामाग्री खरीदमा जसरी अनियमितता भयो, त्यो हेर्दा भ्याक्सिन खरीदमा पनि हाम्रो स्वास्थ्य भन्दा नेताहरुले अरु नै कुरालाई प्राथमिकतामा राख्ने सम्भावना जीवितै छ ।

कसले कस्तो भ्याक्सिन विकास गरेको दाबी गर्छ भनेर उत्साहित हुनु सजिलो छ । तर भोलि हाम्रा सामू हुने भ्याक्सिनका अनेक विकल्पमध्ये पारदर्शी र सही विकल्प छान्न राज्यलाई बाध्य पार्नु सजिलो हुने छैन । तर त्यसो गर्नुको विकल्प पनि छैनः सत्तामा हुनेहरुको लगाव, झुकाव वा विवशताका कारण फिलिपिन्सका दुतेर्तेले झैं कुनै विकल्पमा हाम फाल्दा भ्याक्सिनले हामीलाई कोरोनाबाट बचाउनुको सट्टा अर्को स्वास्थ्य संकटमा धकेल्न सक्नेछ ।

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more