प्रिय खगेन्दाइ,
एउटा लेखकको मानक के हो? लेखक कस्तो हुनुपर्छ? जवाफ मसँग थिएन । तर लेखक भनेको खगेन्द्र संग्रौलाजस्तो हुनुपर्छ भन्ने चाहिं लाग्थ्यो । कान्तिपुरमा हरेक बुधबार आउने ‘बेलाको बोली’ स्तम्भको व्यग्र प्रतिक्षा हुन्थ्यो । त्यो स्तम्भमार्फत म आफैं तपाइँको चेतनाका अन्तरकुन्तर पुगेर आफ्नोभन्दा फराकिलो दृष्टिले संसारलाई हेरेजस्तो लाग्थ्यो । साथीभाइले जब गालीबाहेक केही नगर्ने भनेर तपाइँलाई पन्छाउँथे, म प्रतिवाद गर्थेंः एउटा खगेन्द्र संग्रौलाले निरन्तर शक्तिशालीहरुलाई जवाफदेही बनाउन खोज्दा उसबाट पनि भजनकै अपेक्षा गर्ने तिमीहरु कस्ता? पछि, खास गरी विदेशी स्तम्भकारहरुलाई पढ्न थालेपछि आदर्श लेखकको एउटै मानक नहुँदोरहेछ, लेखक पनि हामीजस्तै गुणदोषयुक्त मानिस रहेछन्, तिनीसँग जगत्का सबै प्रश्नका उत्तर नहुने रहेछन् र तिनले लेखेको कुरा अकाट्य नहुँदोरहेछ भन्ने बोध हुँदै गयो । समयक्रममा तपाइँको पनि स्तम्भ लेखनको ‘बक्रयात्रा’ले विश्राम लियो ।
खैर खगेन्दाइ, यो त भयो तपाइँसँग म कसरी भावनात्मक रुपमा जोडिएँ भन्ने कुरा । यो टिप्पणीको विषयचाहिं अलिकति फरक छ । तपाइँको अनुवादमा याङ मोको ‘युवाहरुको गीत’ पटक पटक पढेको झण्डै दुई दशकपछि त्यो पुस्तकप्रतिका यहाँका भावनाहरु पढ्न पाइयो हालै कोशेलीमा । पढ्नासाथ त्यसको जवाफमा केही लेख्नै पर्ने बोध भयो ।
सो पुस्तक कथा र लेखन कौशलका हिसाबले अब्बल त छ नै, म्याक्सिम गोर्कीको ‘आमा’ र निकोलाइ आस्त्रोभस्कीको ‘अग्निदीक्षा’सँगै त्यो पुस्तक यस्ता खजाना हुन् जसले तपाइँ हामीलाई सपना देख्न सिकाए । चिरकालसम्म यस्तै अभावग्रस्त र अन्यायपूर्ण रहलाजस्तो लाग्ने यथार्थबीच ती पुस्तकले हाम्रो जीवनमा यस्तो प्रकाश छरे जसको आलोकमा हामीले संसार बदलिनेछ भन्ने विश्वास मात्रै आर्जेनौं हामीले नै यसलाई बदल्नेछौं भन्ने सपना समेत देख्न सक्यौं । तपाइँ हाम्रो पुस्ताका धेरै मानिसहरुको चेतना निर्माणमा ती पुस्तकले विशिष्ट भुमिका खेलेका छन् । झुटो बोल्नु हुँदैन र चोर्नु हुँदैन भनेर हामीलाई परिवार र स्कुलको नैतिक शिक्षाले सिकायो भने अरु वा संसारको भलाइका लागि लड्नुपर्छ र त्यसका लागि त्याग र बलिदान दिनुपर्छ, अभाव, पीडा र यातना सहनुपर्छ भनेर हामीलाई तिनै पुस्तकले सिकाएका हुन्, तिनमा चित्रित क्रान्तिहरुका कथाले सिकाएका हुन् । अर्थ संकलनमा एकाग्रता र उपभोगमा प्राथमिकता व्यक्तिको भ्रष्टीकरणका पहिला खुट्किला हुन् भन्ने बोध पनि हामीलाई तिनले दिएका हुन् ।
कोशेलीमा प्रकाशित तपाइँको संस्मरणात्मक निबन्धको निचोड यस्तो छः नेपाली बाम नेताहरु, जो तपाइँ हाम्रै जस्तो कम्युनिष्ट चेतना र नैतिकताबीच हुर्केका हुन् सत्ता र शक्तिको स्वाद चाखिसकेपछि अब उनीहरुले त्यो सब भुले । अब अर्थ संकलन तिनको एक मात्र ध्येय भयो, सुविधाहरुको उपभोग तिनको जीवनको एक मात्रै सार्थकता । दुवैले तिनलाई भ्रष्ट बनाए । यो अवस्थाका कारण उनीहरुमा ‘युवाहरुको गीत’की नायिका ताओ चिङको जस्तो क्रान्तिकारी चरित्र त रहेन नै, उक्त उपन्यास अनुवाद गरेर पढाउने खगेन्द्र संग्रौलासित समेत दुरी राख्न विवश अवस्थामा पुगे ।
हाम्रा नेतागणबारे यहाँले जे भन्नुभयो, त्यसमा थपेर सहमति जनाउन सकिएला, विमति जनाउनुपर्ने कारण छैन । तर तपाइँसँग मेरो विमति ‘युवाहरुको गीत’ छापिंदाताकाको र सन् १९७बmउस६ पछिको चीनको चित्रणमा छ । प्रकारान्तरले विश्व कम्युनिष्ट आन्दोलनलाई कसरी हेर्ने भन्ने प्रश्नमा तपाइँसँग मेरो विमति छ । तपाइँ लेख्नुहुन्छः
‘युवाहरुको गीत’ प्रकाशित भएको सुखद साल हो सन् १९५८ । सन् १९५९ मा चिनियाँ क्रान्तिको दशौं वार्षिकोत्सवको औसरमा यस उपन्यासमा आधारित फिल्म सार्वजनिक भयो ।... जब सन् १९७६ आयो, याङ मो र ‘युवाहरुको गीत’का दुखका दिन शुरु भए । उक्त साल, सनातनी क्रान्तिकारीहरुको आक्षेपकारी भाषामा, शासनको बागडोर पुँजीपन्थीहरुका हातमा प¥यो । त्यसपछि के भयो? चतुर शासकको कालो बिरालो र सेतो बिरालोको कथनले बजार पिट्यो । अब व्यक्तिवादले टाउको उठायो । संस्कृतिमा स्वार्थी प्रतिस्पर्धा हावी भयो । लोभले त्यागलाई ओझेलमा पा¥यो । सादगीलाई विलासिताले निस्तेज तुल्यायो ।...
प्रिय खगेन्दाइ, चीनमा भएको क्रान्ति र प्रतिक्रान्तिबारेको यस्तो व्याख्या मैले पहिलोपल्ट सुनेको कक्षा ८ पढ्दा हो । नेकपा मसालको ‘लाल किल्ला’ भनिने बाग्लुङको हाम्रो स्कुलमा सहपाठी साथी तथा नेता नर बहादुर केसीले हामीलाई यस्तो दिव्यज्ञान बाँड्थे । सर्वहारा क्रान्तिमार्फत संसार बदल्ने हाम्रो सामुहिक संकल्पको केन्द्रमा भएका उनीसँग हरेक प्रश्नको उत्तर छ जस्तो लाग्थ्यो हामीलाई । बामपन्थ असल, दक्षिणपन्थ खराब । क्रान्ति मुक्तिदायी, प्रतिक्रान्ति बन्धनयुक्त । नेपाल कम्युनिष्ट पार्टी राम्रो, नेपाली काँग्रेस नराम्रो । साम्यवाद असल, पुँजीवाद खराब । त्याग असल, उपभोक्तावाद खराब । जीवन र जगत्का यावत समस्याको श्यामश्वेत र अकाट्य उत्तर हामीले पाएको त्यही बेलादेखि हो ।
हाम्रो त्यो निर्दोष वैचारिक पाठशालामा पहिलो ंधक्का तब लाग्यो जब स्कुल सक्दानसक्दै जीविकाको कठोर यथार्थले साथी नर बहादुर र उनीजस्ता धेरै कमरेडहरुलाई आफैं भारतीय सेनामा भर्ती भएर ‘बिस्तारवाद’को सेवा गर्न विवश तुल्यायो । दोस्रो धक्का तब लाग्यो जब कक्षा १२ पछि मैले सनातनी बाम साहित्य बाहिरका सामाग्रीबाट सोभियत संघ र साम्यवादी चीनबारे पढेर बुझ्न थालें ।
तपाइँले सुखद भनेको सन् १९५८ मा चीनमा के भइरहेको थियो? चीनमा माओत्सेतुङको नेतृत्वमा ‘साम्यवाद’ स्थापना भएको दशक बित्ने संघारमा थियो । युरोप र एसियाको विशाल भुभागमा ‘कम्युनिष्ट’ सोभियत संघ स्थापना भइसकेको अवस्थामा भुभाग र जनसंख्या दुवै हिसाबले ठूलो चीनमा उस्तै व्यवस्था आएकाले पश्चिममा स्थापित पुँजीवादी अर्थ प्रणालीले कडा चुनौतीको महसुस गरिरहेको थियो । संसारभरका विचारक र राजनीतिज्ञहरु अमेरिकाको जस्तो पुँजीवाद ठिक कि सोभियत संघ र चीनको जस्तो साम्यवाद ठीक भन्नेमा दुई ध्रुवमा विभाजित भएका थिए । सन् १९५३ मा जोसेफ स्टालिनको मृत्यु भए यता कम्युनिष्ट विश्वको सर्वेसर्वा नेता हुने माओको इच्छा चुलिएको थियो । त्यसका लागि चीनको अर्थतन्त्रको सोभियत संघलाई नै उछिन्ने गरी तीव्र विकास अनिवार्य थियो ।
तर झण्डै शताब्दीभर विदेशीहरुको हस्तक्षेपले थिल्थिलो भएको चीन सन् १९२७–४९को लामो गृहयुद्धका कारण हरितन्नम अवस्थामा पुगेको थियो । संरक्षकबाट प्रतिस्पर्धीमा दरिंदै गरेको सोभियत संघबाट आउने सहयोगले सीमित मात्रै प्रभाव पार्न सक्थ्यो भने सन् १९४९ को क्रान्तिसँगै बाँकी विश्वसित चीनको सम्बन्ध करीब विच्छेदित थियो । त्यो अवस्थामा चीनको तीव्र आर्थिक विकास हातले पहरो फोड्नुजस्तै थियो ।
ढल्दो सामन्तवादको गर्भबाट पुँजीवाद जन्मेजस्तै परिपक्व भएर ढल्दो पुँजीवादको गर्भबाट मात्रै समाजवाद जन्मन सक्छ भन्ने माक्र्सको दर्शन र प्रक्षेपण थियो । तर लेनिन नेतृत्वमा स्थापित सोभियत संघले रुसी समाजलाई सामन्तवादबाट ‘साम्यवाद’सम्मको छलाङ लगाएर माक्र्सको त्यो दर्शनलाई चुनौती दिएको थियो । रुसी क्रान्तिमा माक्र्सले परिकल्पना गरेझैं औद्योगिक मजदुरहरु हर्ताकर्ता थिए भने माओले चलाएको चीनियाँ क्रान्तिमा त माक्र्सले तिरस्कारपूर्वक क्रान्तिकारी चेतनाविहीन ‘आलुको बोरा’ भन्ने गरेका गरीब किसानहरुले मुख्य भुमिका खेलेर क्रान्ति सम्पन्न गरेका थिए । त्यसैले मानिस जातिका इतिहास र अनुभवजन्य सीमाहरु माओलाई मिथ्या लाग्थे । इच्छाशक्ति र सही कार्यक्रम भए असम्भव केही पनि थिएन । कार्ल माक्र्सले देखाएको साम्यवादसम्मको लामो र दुरुह यात्राका लागि धैर्य नहुने संसारभरका कम्युनिष्टहरुले माक्र्सवादका पछाडि लेनिनवाद र माओवादको फुर्को लगाएर छोटो बाटोबाट आफ्नै जीवनकालमा‘आदर्श’ साम्यवादी राज्य निर्माण गर्ने सुत्र पछ्याए । माक्र्सवादमा जुन काम नौ महिना नपुग्दै बच्चा जन्माउनेजस्तो असम्भव वा प्रत्युत्पादक प्रतित हुन्थ्यो, माओवादसम्म आउँदा त्यो काम कम्युनिष्ट पार्टीहरुको क्रान्तिकारिताको मानक बन्न पुग्यो ।
असम्भवलाई सम्भव पार्दै पहिले सोभियत संघलाई आर्थिक रुपमा पछि पार्ने अनि पश्चिमा विश्वलाई पनि माथ ख्वाएर संसारभर आफ्नो नेतृत्वमा अकण्टक साम्यवाद स्थापना गर्ने माओको महत्वोन्माद वा ‘मेगालोमेनिया’को शुरुआती वर्ष थियो सन् १९५८ । त्यस वर्ष शुरु भएको महान फड्को वा ‘द ग्रेट लिप फरवार्ड’का ५ वर्ष विश्व इतिहासमै ठूलो भोकमरीका लागि चिनिन्छन् । त्यसरी मर्ने चीनियाँहरुको संख्या १ करोड ८० लाखदेखि ४ करोड ५० लाखसम्म रहेको मानिन्छ । तीमध्ये ठ्याक्कै कति माओको आर्थिक नीतिका कारण मरेका हुन्, कति असामान्य रुपमा उच्च प्राकृतिक मृत्युदरले मरेका हुन्, तीमध्ये राजनीतिक हिंसाकै कारण मर्ने कति थिए भन्ने विवाद अद्यापि कायम छ । तर माओकालीन चीनका दस्तावेजहरुको अध्ययन गरेर साढे चार करोड मृत्युको आँकडा निकाल्ने हङकङ विश्वविद्यालयका इतिहासकार फ््रयांक डिकोटरको अनुमान त्यस्तै अध्ययन गर्ने अन्य चीनियाँ लेखकहरु याङ सिशेङ (३.६ करोड), चेन यीजी (४.३ करोड) र यु सिग्वाङ (५.५ करोड)को अनुमानसँग मेल खान्छ ।
यसरी मारिने चीनियाँहरुमध्ये धेरै माओ वा उनको लालसेनाबाट मारिएका पक्कै हैनन् । मानिसहरुलाई मार्नुपर्ने वा उनीहरु मारिने अवस्था सिर्जना गर्नुपर्ने कारण पनि माओसँग थिएनन् । तर सामन्तवादबाट साम्यवादमा छलाङ मारेजस्तै कंगाल मुलुकबाट विश्वकै समृद्ध मुलुकमा छलाङ मार्न उनले अँगालेको आर्थिक नीतिका कारण प्रलयकारी भोकमरी भएको थियो । जमिनको सामुहिकीकरण र ‘कम्युन’को निर्माण त्यो नीतिको पहिलो कदम थियो । हजारौं वर्ष अनेक वंशका साम्राज्यकालमा किसानसित रहँदै आएको, उनीहरुको भावना र पहिचानसित जोडिएको जमिन एकाएक राज्यको भयो । आफ्नो ‘जिन’मै जमिन खोस्रेर अन्न उब्जाएर खाने अवधारणा बसेका चीनियाँहरु एकाएक पार्टीका लागि खेती गरिदिने र उसले तोकेको अन्न उसैले तोके जति गाँस खान पाउने प्राणीमा बदलिए ।
मानव जीविकाको यस्तो आदिम उपकरण हातमा पर्नासाथ माओको कम्युनिष्ट पार्टीले कम्युनहरुलाई उडन्ते अनुमान र महत्वाकांक्षाका आधारमा अन्न उत्पादनको असम्भव रुपमा उच्च लक्ष्य दिन थाल्यो । माथिल्लो कमिटीलाई खुशी पार्न तल्लो कमिटीले यथार्थ उब्जनीभन्दा निकै बढीको आँकडा माथि दिने र कागजी ‘सप्र्लस’ सिर्जना गर्ने थिति बस्यो । मिथ्या रेकर्ड रिपोर्टिङ गर्ने त्यो सिल्सिला पार्टीको गाउँ कमिटीबाट शुरु भएर अध्यक्ष माओसम्मै पुग्थ्यो । जब पार्टीका कमरेडहरु अन्न संकलनका लागि आउँथे, काम गर्ने किसानको छाक टार्ने अन्न पनि नछाडी लगेर जान्थे किनकि पहिले दिइएको हावादारी लक्ष्य अनुसार अन्न नपुग्दा उनीहरु आफैं निशाना बन्थे । जहाँ ‘सप्र्लस’ तोकिएको जमिनमा खडेरी वा अन्य प्राकृतिका कारणले किसानालई नै पुग्ने अन्न उब्जेको हुँदैनथ्यो, त्यहाँका किसानहरु ‘प्रतिक्रान्तिकारी गद्धार’ घोषित हुन्थे र उनीहरुमाथि हिंसा हुन्थ्यो ।
आदेश जति केन्द्रबाट आउने, तिनको कार्यान्वयनको विवरण मात्रै भुइँ तहबाट माथि पुग्ने एकतर्फी सुचना प्रवाहका कारण चार चार वर्षसम्म यो दुश्चक्र चलिरह्यो । यस्तो बौलठ्ठीपन विरुद्ध आवाज उठाउने पार्टी सम्बद्ध विवेकशील मानिसहरु समेत गद्दार घोषित भएर सफायामा परे । यसैबीच तीव्र औद्योगिकीकरणका लागि स्टील उत्पादनका लागि तोकिएको असम्भव लक्ष्य (सन् १९५८ देखि एक वर्षमा दोब्बर स्टील उत्पादन, १५ वर्षमा औद्योगिक उत्पादनमा बेलायतलाई उछिन्ने) पूरा गर्न तीन वर्षमा झण्डै ५ हजार मध्यम र ठूला सरकारी स्टिल उद्योग खुले । राज्यका गैर–कृषि क्षेत्रका जागिरेहरुको संख्या १९५७ र १९६०का बीचमा दोब्बर बढ्यो । त्यसले नाजुक कृषि क्षेत्रलाई झन् धेरै दबाबमा पा¥यो । किसानका घर घरका धातुका भाँडाकुँडा पगालेर स्टिल उत्पादन गर्न खोज्दा मानिसका पकाउने र खाने भाँडा गुमे भने परिणामचाहि कमजोर र निकै कम उपयोगी ं ‘पिग आइरन’ बन्न पुग्यो ।
पाँच वर्षपछि यस्तो गलत आर्थिक नीतिका दुष्परिणाम बेवास्ता गर्नै नमिल्ने भए । अर्थतन्त्रले सोभियत संघलाई उछिन्नु त कता कता, उल्टै यसै निम्छरो चीनियाँ अर्थतन्त्रको आकार नै खुम्चिन पुग्यो । जनसंख्याको ५ प्रतिशत जति मानिस भोकमरीमा मरे भने चीनको ६०० वर्षको इतिहासमा पहिलोपल्ट १९६० र ६१ बीचमा जनसंख्या घट्न पुग्यो । यस्तो अवस्थामा पार्टीभित्रै विरोधी आवाजहरुको गुन्गुनाहट सुनिनु स्वभाविक हो । महान फड्कोको दौरानमा भएका कमजोरी स्वीकारेर नीति बदल्नुको सट्टा माओले केही वर्षको अन्तरालमा भिन्न मतलाई निमिट्यान्न पार्न दशक लामो विनाशकारी सांस्कृतिक क्रान्तिको तानाबाना बुने । राजनीतिक हिंसा र बर्बरताको परिष्कृत श्रृंखला सन् १९७६ मा माओको मृत्यु भएपछि मात्रै रोकियो ।
प्रिय खगेन्दाइ, बाम वृत्तमा श्रद्धापूर्वक पूजा गरिने सांस्कृतिक क्रान्तिका अगाडि मैले विनाशकारी शब्द लगाउँदा तपाइँमा कस्तो भाव उत्पन्न हुन्छ, म जान्दिनँ । तर तपाइँको जस्तो बागी चेतना भएको मानिसले सन् २०१९ मा उभिएर त्यो समयका यावत् क्रुरताहरुका वस्तुगत विवरणसहितका सामाग्रीहरु पढ्नुभएन होला भनेर विश्वास गर्न मलाई गाह्रो छ । ती पढिसकेपछि सांस्कृतिक क्रान्तिलाई पार्टीका कमरेडहरुले जस्तै प्रश्न र संशयको घेराभन्दा माथि राख्नुहुन्छ भनेर कल्पना गर्न पनि मलाई गाह्रो छ । बुर्जुवा शिक्षा र सम्भ्रान्तहरुको निन्दा गर्दै देशभरका कलेज र विश्वविद्यालयहरु बन्द गरेर प्राध्यापक र विद्यार्थीहरुलाई बंगुर पालनका लागि गाउँमा खटाउनु तथा युवाहरुको भिजिलान्ते दस्ता परिचालन गरेर विरोधी वा सम्भावित विरोधीको निन्दा र सफाया गर्नु सांस्कृतिक क्रान्तिका मुख्य गतिविधि थिए ।
सन् १९७६ मा माओको मृत्युपछि चीनमा के भयो? देङ स्याओ पिङ नेतृत्वको चीनियाँ कम्युनिष्ट पार्टीले प्रतिस्पर्धी मानिने पश्चिमा पुँजीवादी लोकतन्त्रहरुबाट पुँजीवादचाहिं भित्र्याए, लोकतन्त्रमाथिको निषेधलाई कायम राखे । महान् फड्कोका प्रलयकारी परिणाम छताछुल्ल भएको बेला सन् १९६२ मै कम्युनिष्ट युथ लिगको सम्मेलनमा देङले भनेका थिएः जबसम्म बिरालोले मुसा मार्छ, तबसम्म त्यो कालो वा सेतो भएर केही फरक पर्दैन । माओको मृत्यूपछि सो उक्तिलाई चरितार्थ गर्दै उनले चीनमा लगानीका लागि संसारभरको पुँजीको बाटो खोलिदिए । युरोप र अमेरिकाभन्दा बीसौं गुणा कम ज्यालामा काम गर्ने चीनियाँ कामदारहरु लगाएर शीघ्र नाफा कमाउन खोज्ने लगानीकर्ताहरु कुँडुलो लागेर चीन आए । कर छुट र अन्य सुविधासहितका विशेष आर्थिक क्षेत्रहरुका कारण कुनै बेलाका अनकण्टार गाउँहरु एकाध वर्षमा अत्याधुनिक महानगर बने । कलकारखानाहरु चीनमा भित्रिएसँगै रोजगार मात्रै भित्रिएन, ज्ञान र प्रविधि पनि भित्रियो । मोटरसाइकल कम्पनीमा कामदार बनेर छिरेका चीनियाँहरुले ‘रिभर्स इन्जिनियरिङ’ मार्फत मोटरसाइकल नै बनाउने विधि सिकेर आफ्नै कम्पनी खोल्न थाले ।
खगेन्दाइ, तपाइँले १९७६ पछिको चीनलाई व्याख्या गर्न चार वटा शब्द प्रयोग गर्नुभएको छः व्यक्तिवाद, स्वार्थी प्रतिस्पर्धा, लोभ र विलासिता । यी चार शब्दविना त्यो समयको सही चित्रण हुन सक्दैन । तर यथार्थको अर्को पाटो के हो भने विश्व बैंकका अनुसार चीनमा निरपेक्ष गरीबहरु (दिनमा १.२५ डलरभन्दा कम खपत गर्नेहरु)को संख्या सन् १९८१ मा ८३.५ करोड रहेकोमा २००८मा आउँदा १७.३ करोडमा झरेको थियो । अर्थात् ती १७ वर्षको अवधिमा ६६ करोड चीनियाँहरु निरपेक्ष गरिबीको रेखा पार गर्न सफल भए । आजका दिनसम्म आउँदा त्यसरी गरिबीको रेखा पार गर्ने चीनियाँहरुको संख्या ८५ करोड नाघेको छ । दशकौंको तीव्र आर्थिक वृद्धिका लागि चीनले चर्को असमानता र तीव्र पर्यावरणीय स्खलनजस्ता मुल्य चुकाएको पक्कै छ । तर जुनसुकै तर्क लगाए पनि १९७६ अगाडिका चीनियाँ शासक माओलाई नायक र त्यसपछाडिका देङलगायतका नेताहरुलाई खलनायकका रुपमा चित्रण गर्नु भनेको यसबीच निरपेक्ष गरिबीको घेरा नाघेका तथा समृद्धि हासिल गरेका झण्डै एक अर्ब चीनियाँहरुको भावना र संवेदनालाई निषेध गर्नु हो ।
प्रिय खगेन्दाइ, कक्षा आठमा साथी नरबहादुरबाट प्राप्त वैचारिक विरासत त्याग्न मैले लामो समय संघर्ष गरें । माओ र स्टालिनका बर्बरतासम्बन्धी यावत् सामाग्रीहरु पढ्दा पनि मलाई त्यो विरासत त्यागिहाल्न सहज भएन । तर्क एकतिर हुन्थे, मेरो भावना अर्कैतिर । तर एक दिन इतिहासको यस्तो क्षणबारे पढेें जसले मलाई ‘हामी कम्युनिष्ट, कम्युनिष्ट महान्’ भन्ने जीवन दर्शन त्याग्न सहज बनाइदियो । त्यो क्षण थियो ९ नोभेम्बर १९३२को साँझ । नादेझ्दा अलिलुएभा नामक ३२ वर्षे महिलाले त्यस साँझ कञ्चटमा गोली हानेर आत्महत्या गरिन् । ती थिइन् जोसेफ स्टालिनकी पत्नी । सर्वहारा शासनबारे आफूले देखेको सुन्दर सपनाको कुरुप पटाक्षेप असह्य भएपछि उनले आत्महत्या गरेकी थिइन् । कथित साम्यवादी शासनको यथार्थ चित्रण गर्ने सबैभन्दा उपयोगी विम्ब शायद यो होः अहिलेसम्म पनि उनको मृत्युको आधिकारिक कारणका रुपमा ‘एपेन्डिसाइटिस’ अंकित छ ।
अन्तमा, बितिसकेका कुरामा यति साह्रो घोत्लिनु किन? ‘हामी कम्युनिष्ट, कम्युनिष्ट महान्’ भन्ने रुढी मन्त्र जप्नुको सट्टा स्टालिन र माओ शासनको क्रुर र प्रलयकारी यथार्थबारे प्रचण्ड र बाबुरामहरु समयमै घोत्लिएको भए शायद आज १७ हजार थप नेपालीहरु जीवितै हुन्थे । कति फरक पार्छ इतिहासको सही पठनले!
No comments:
Post a Comment