जिल्ला अस्पतालमा काम गर्दाको कुरा हो ।
उपचारका क्रममा सामान्य ठाकठुक भएपछि रक्सीले टिल्ल बिरामीको श्रीमानले सहकर्मी डाक्टरलाई धम्की दिन थाल्यो । भनाभनलाई सामान्य मानेर साथी क्वाटर फर्केर सुतिसकेका थिए तर यता इमर्जेन्सीमा उसलाई थुतेर मार्छु भन्दै सुन्न नसकिने गाली र नयाँ नयाँ धम्कीको वर्षा हुन थाल्यो ।
धेरै बेरको तनावपछि पुलिस आयो, हामीले राहतको सास फेर्यौंः अब ऊ दण्डित होला, पक्रिएला, अरु धेरै जँड्याहाहरुलाई झैं मदिरा सेवनको कसुरमा उसलाई पनि कारवाही होला भनेर ।
तर प्रहरीले उसलाई ससम्मान गाडीमा हालेर श्रीमतीसहित अर्को अस्पताल पुर्याएर छाडिदिएछ ।
अर्को दिन छलफलका लागि जिप्रका बोलाइयो । माहोल हेर्दा ऊ पीडित र हामी दोषी जस्तो लाग्थ्यो । ऊ गर्जेर कुरा गर्दै डिएसपीका अगाडि साथीलाई नयाँ नयाँ धम्की दिइरहेको थियो । हामी लाचार थियौं ।
कारणः ऊ जिल्लाको तरुण दलको ठूलै पदमा रहेछ । हामी खाली आउने जाने डाक्टर थियौं भने उसको एक फोनको भरमा डीएसपीको सरुवालगायत कुनै पनि किसिमको पत्तासाफ हुन सक्थ्यो । प्रमुख जिल्ला अधिकारीको अवस्था पनि त्योभन्दा फरक थिएन।
अन्तमा लाज छोप्न प्रहरीले उसलाई अलग्गै लगेर सम्झायो, शायद, आफ्नो लाज बचाइदिन अनुनय विनय गर्यो र दुई पक्षबीच मिलापत्र जस्तै केही भयो । अन्तमा हामी अपमानको विष घुटुक्क निलेर अपराधी झैं लुरुक्क फक्र्यौं, ऊ, विजेता झैं दलबलसहित अझ त्यहीं थियो ।
डाक्टर भएकोमा त्यस दिन निकै ग्लानि र अपराधबोध भएको थियो । वैकल्पिक रोजगारीले पेट भर्न मात्र सकिने भए यो पेशा छाड्न हुन्थ्यो भन्ने भावना बलियो भएर आएको थियो ।
केही दिन अगाडि दोलखाको चरिकोट अस्पतालमा जे भयो, त्यो हेरेपछि चाहिं डाक्टरी पेशाप्रति मभन्दा निकै धेरै लगाव भएका एक डाक्टर साथीले लेखेः मभित्रको डाक्टर मर्यो । मेरो मनमा पनि झन्डै त्यही भाव प्रकट भयो।
एउटा भिडियो छ, त्यसमा अस्पतालका डाक्टर, नर्सलगायतका कर्मचारीले लाम लागेर भीडलाई झुकेर नमस्कार गरेका छन् । भीडको चर्को होहल्लाबीच एकै छिनमा तिनले माफी माग्छन् र आफ्नो कमजोरीका कारण बिरामी बच्चा मरेको स्वीकार्छन् । एक जनाले माफीनामा जस्तै लाग्ने छलफलको निर्णय सुची पढ्छन् । भीडबाट एउटी महिलाले चर्को स्वरमा भन्छिन्ः हाम्रो बच्चा त मारिदिनुभयो, अरुका नमारिदिनुहोला ।
तिनका ओइलाएका अनुहारको विचलित भाव हेरेपछि प्रस्टै छ, त्यो माफीनामा डाक्टर र स्वास्थ्यकर्मीहरुको आफ्नो ज्यान बचाउने काइदा हो । ज्यान बचे, जाबो इज्जत त कुन कुरा भयो र?
यी पंक्ति लेखिंदा उक्त भिडियो एक जनाको फेसबुक एकाउन्टबाट २६ हजार पल्ट हेरिइसकेको छ, र ३२६ पल्ट शेयर भइसकेको छ । ती सबैमा गरेर यो लाखौंपल्ट शेयर भएको र हेरिएको हुन सक्छ । त्यसमाथि हातमा मोबाइल हुने सबैले यो घटनालाई खिचेका छन् र तीमध्ये कतिले सामाजिक सञ्जालमा राखे त्यसको अत्तोपत्तो छैन । त्यतिले नपुगेर डाक्टर सरुवा भएर अरु जिल्लामा जालान् भनेर चेतावनी दिंदै अलग्गै फोटो खिचेर पोस्ट गरिएको छ ।
त्यो भिडियोको तल सबैजसो कमेन्टमा डाक्टरलाई सरापिएको छ, कम्तीमा तीन जनाले डाक्टरलाई फासी दिनुपर्ने वा मार्नुपर्ने भनेर लेखेका छन् ।
ती डाक्टरको पीडा नेपालका बाँकी सबै डाक्टरलाई महसुस हुन्छ । उपचारका क्रममा दुर्घटना वा लापरवाही जे पनि भएको हुन सक्छ । तर उहिले माओवादीले गर्ने भाटे कारवाही पाराको न्याय त्यसको उपचार हैन । लापरवाहीको उजुरी त नेपाल मेडिकल काउन्सिलमा परेर उसले यसको सुनुवाइ गर्नुपर्ने हो । डाक्टर वा स्वास्थ्यकर्मी दोषी पाइए उनीहरुमाथि कानुनबमोजिम कारवाही हुनुपर्ने हो, निर्दोष पाइए उनीहरुले सफाइ पाउनुपर्ने हो ।
तर मेडिकल काउन्सिलको हातखुट्टा काटेर पछारिएको जस्तो अवस्था छ । उसका गतिविधि शुन्यप्रायः छन् । अरु त अरु वार्षिक रुपमा हुने सीट निर्धारण गर्ने आफ्नो आधारभुत काम उसले गर्न पाएको छैन । कारण छ, आफ्नो स्वार्थका लागि जे पनि गर्ने अख्तियार दुरुपयोग आयुक्तहरुको हस्तक्षेप ।
उता डाक्टर आफूले नगरेका अपराध कबुलेर आफ्नो एक थान बचाउन अभिशप्त छन् । यता बिरामीको हित गर्ने र डाक्टरबाट हुने गल्ती रोक्ने जिम्मा लिएको मेडिकल काउन्सिल पक्षघातग्रस्त भएर बसेको छ ।
....
अहिले नेपालमा कार्यरत डाक्टरलाई अपराधबोध हुने माथिका उदाहरण समस्याको एउटा पाटो मात्र हो ।
त्योभन्दा अझ चर्को प्रताडना अर्कै छ ।
नेपालभित्र वा बाहिर कहीं पढेका पनि चानचुन ९० प्रतिशत डाक्टरले चर्को शुल्क पढेर त्यो डिग्री लिनुपर्छ । पछिल्लो समय तीस लाखदेखि एक करोडसम्म खर्च गरेर डाक्टरी पढ्नेहरु भेट्न सकिन्छ । अहिले एमबीबीएस कोर्सको औसत कुल खर्च ५० लाखको हाराहारीमा हुन आउँछ । र त्यो निरन्तर बढ्दो छ।
केही समयअगाडि बीबीसी नेपालीसँगको अन्तर्वार्ताका क्रममा नेपालका निजी मेडिकल कलेजहरुको संगठनका अध्यक्ष भोला रिजाललाई सोधिएको थियोः तपाइँहरु शुल्कचाहिं ५० औं लाख लिने अनि पास गरेका डाक्टरलाई तलब चाहिं कति दिनुहुन्छ ।
भोलाजीले जवाफ दिनुभएन किनकि उहाँसँग जवाफ थिएन । एमबीबीएस डाक्टरलाई जागिर दिए पो तलब दिनु! उहाँहरुको काम त खाली डाक्टर उत्पादन गर्नु हो । मेडिकल कलेजको अस्पतालमा बिरामी हेर्नका लागि बँधुवा मजदुरझैं काम लाद्न मिल्ने विद्यार्थी डाक्टर भइहाल्छन्, अनि किन तलब दिइ दिइ एमबीबीएस डाक्टरलाई जागिरमा राख्नु?
भोलाजीको मुखबाट एउटा ब्रम्ह सत्यचाहिं फुस्क्योः अहिलेको नेपालमा पैसाका लागि डाक्टरी पढ्ने हैन, सेवाका लागि हो ।
कति गजब । घरखेत बेच । राज्यले तोकेकाभन्दा बीसौंलाख बढी तिर र पढ अनि मानव सेवा गर, तलब सुविधाको अपेक्षा नगर । यस्ता विलक्षण तर्क गर्न व्यवसायी बस्ने शायद विश्वको एक मात्र देश नेपाल हो ।
अहिले काठमाडौंको अस्पतालमा एक जना एमबीबीएस डाक्टर (मेडिकल अधिकृत)को माग भयो भने बीस वटा निवेदन आइपुग्छन् । अस्पतालले मन लागे जति डाक्टर भोलेन्टियरका रुपमा राख्न सक्छ । लोक सेवामा सय जना माग्यो भने २ हजारको आवेदन पर्छ ।
डिग्री लिएका तर भोलिन्टियर समेत गर्न नपाएर सिकेको सबै कुरा बिर्सिसकेका डाक्टरहरुको तथ्यांक नेपालमा छैन तर खास गरी नेपाल बाहिर पढेर आउने र भनसुन गर्न नसक्ने धेरैको हालत अहिले त्यस्तै छ ।
भोलाजीले भनेका ठिकै हो, अब कमाउनका लागि डाक्टरी पढ्ने हैन । कि स्वयंसेवा गर्न, कि बेरोजगार बस्न ।
.....
अब दशैं लागिसकेको छ । हामीलाई यो मनाउन हतार छ । यस्तो बेलामा किन अनशन बसेको होला भनेर हामी धेरैलाई डा गोविन्द केसीसित रिस उठेको छ । उहाँको समर्थनमा खुलेर आउने कति जना त्यसरी आउन सकिरहेका छैनौं ।
राज्यले गर्छु भनेको काम गर्दै त छ, कति जिद्धी गरेर अनावश्यक अनशनमा बसेको होला? धेरैलाई यस्तै लागेको छ ।
तर राज्यले वास्तवमा के गरिरहेको छ, कमैलाई थाहा छ ।
राज्यले पछिल्लो पटक बाध्यतावश नै भए पनि धेरै काम अघि बढाएको छ (तिनको टुंगो लाग्न प्रक्रियाका लागि कुर्नुपर्छ भन्नेमा दुई मत छैन) । त्यसबाट मेडिकल शिक्षामा धेरै सुधार हुने धेरैको अपेक्षा छ ।
तर ती सुधार भएसँगै जसको स्वार्थमा आँच आउने हो, उनीहरुले त्यसलाई निष्काम बनाउन राज्यका खास निकायहरुसित मिलेर भित्रभित्रै धेरै काम गरिसकेका छन् । यता सुधार भएजस्तो पनि देखिने, उता आफ्नो ब्रम्हलुट पनि कायम हुने ।
यो अवस्थाबारे पहिले जानौं र डा केसीबारे धारणा बनाऔं ।
...
खेलमा दुई टिम हुन्छन् र तेस्रो पक्ष रेफ्री हुन्छ । उसबाट निष्पक्षताको अपेक्षा गरिन्छ । मानिलिनोस्, दुई टिमबीच खेल भयो । निष्पक्ष रेफ्रीले खेलाएको त्यो खेल सम्पन्न भयो, मानिलिऔं, 'ड्र'मा टुंगियो ।
त्यसपछि आयोजकले अनौठो निर्णय गर्यो, दुईमध्ये एक टिमको अतिरिक्त खेलाडीलाई रेफ्री बनाएर फेरि खेल खेलाउने । स्वभावतः जुन टिमको रेफ्री थियो, उसले आफ्नो टिमलाई जितायो ।
नेपालमा मेडिकल शिक्षाको शुल्क निर्धारणको कथा हो यो । अभिभावकले डाक्टरी डिग्रीका लागि कति शुल्क तिर्दा उचित हुन्छ भनेर राज्यले बनाएको विज्ञहरुको टोली (माथेमा कार्यदल)ले देशविदेशको लामो अध्ययन गरेर तथा विज्ञहरुसँग परामर्श गरेर एमबीबीएस कार्यक्रमको शुल्क ३५ लाख र बीडीएसको २० लाख तोक्यो । त्यही शुल्क एक वर्ष कार्यान्वयनमा समेत गयो ।
त्यसपछि चिकित्सा शिक्षा ऐन प्रक्रियामा रहँदा र त्यसअन्तर्गत बन्ने स्थायी आयोगले माथेमा कार्यदलको सुुझाव अनुरुप शुल्क कायम गरेर प्रत्येक २ वर्षमा परिवर्तन गर्दै जाने सम्झौता भयो।
यो देखिने कुरा थियो। पर्दापछाड़ि अर्कै खिचड़ी पाकिरहेको थियो। अघिल्लो वर्ष माथेमा कार्यदललाई शुल्क निर्धारणको जिम्मा दिएको राज्यले अवर्णनीय तरिकाले चोर बाटोबाट फेरि शुल्क निर्धारणकै लागि भनेर एउटा समिति बनाइयो ।
त्यसका हर्ताकर्ता थिएः डा भोला रिजाल ।
पैसा कमाउन हैन सेवाका लागि डाक्टर बन्नुपर्छ भन्ने डा रिजालको टोलीले लाजै नमानी शुल्क झण्डै दोब्बर बनाउने सुझावसहित प्रतिवेदन बुझायो । सम्भवतः हाम्रो तदारुक सरकारको योजना यही शैक्षिक सत्रदेखि त्यसलाई लागू गर्नेछ । प्रतिवेदन बुझाइएको समय यस्तो थियो की कि त्यसको केही दिनमा मेडिकल कलेजहरुमा भर्ना शुरू हुंदै थियो।
अघिल्लो साल राज्यले कडाइ गरेपछि धेरै कलेजले ४० देखि ६० लाखसम्म असुलेका भए पनि ३५ लाखभन्दा थप रकम टेबलमुनिबाट लिएका थिए र अख्तियारको आशीर्वादमा चानचुन डेढ अर्ब रुपैयाँको कालोबजारी भएको थियो ।
यो वर्ष रिजाल प्रतिवेदन अनुसार शुल्क कायम भयो भने नेपालका २ हजार अभिभावकमाथि औसत २० लाख रुपैयाँ थप आर्थिक भार पर्नेछ । अर्थात्, थप चार अर्ब रुपैयाँ अभिभावकको खल्तीबाट मेडिकल कलेजहरुको खातामा पुग्नेछ ।
अरु सबै काममा ढिलासुस्ती गर्ने नेपाल सरकारले रिजाल प्रतिवेदन बनाउन र लागू गर्न किन हतारिंदैछ, त्यसको प्रस्ट जवाफ यही चार अर्बमा लुकेको छ ।
अनशन नबसेको अवस्थामा डा केसीले जति नै चर्को विरोध गरेको भए पनि यो थप चार अर्ब असुल्ने काम निर्बाध चल्ने थियो । विद्यार्थी र अभिभावक त्यो चर्को शुल्क तिर्न बाध्य हुन्थे र अबदेखि नेपालको मेडिकल शिक्षा सधैंका लागि दोब्बर महंगो हुन्थ्यो ।
सबै जनाको दशैं मनाउने मुड बनिरहेको बेला कसैको कुरा नसुनेर त्रिवि शिक्षण अस्पतालको एउटा साँघुरो कोठामा भोकै पल्टेका डा केसीले किन त्यसो गर्दैछन् भन्ने प्रश्नको एउटा महत्वपूर्ण उत्तर यो पनि हो ।
....
अब कल्पना गर्नुस्, रिजाल प्रतिवेदनले सुझाएअनुसार तपाइँको छोरा वा छोरीले ६२ लाख तिरेर एमबीबीएसको डिग्री लियो । ऊ डा रिजालकै सुझावअनुसार शहरमा बसेर पैसा कमाउनको सट्टा सेवा गर्न भनेर कुनै दुर्गम जिल्लामा पुग्यो ।
त्यहाँ भवितव्य परेर उपचारका क्रममा कुनै बिरामीको मृत्यू भयो ।
अनि जिल्लावासीहरुको उग्र भीडले उसलाई आफ्नो लापरवाहीका कारण बिरामीको मृत्यू भएको कुरा सकारेर माफी माग्न लगायो । त्यसको भिडियो यहाँले हेर्नुभयो ।
भविष्य पनि बनाउँछु र सेवा पनि गर्छु भनेर डाक्टर बनेको सन्तानको त्यो स्थिति हेर्दा तपाइँलाई कस्तो लाग्ला? करोडको खर्च र दश वर्ष लगाएर डाक्टर बनेको सन्तानले अब यसरी काम गर्न सकिंदैन वैकल्पिक रोजगारी खोज्नुपर्यो भन्यो भने तपाइँलाई कस्तो लाग्ला?
त्यो अवस्था आउनबाट रोक्नका लागि भनेर बनेको राज्यको अंगलाई अर्को संवैधानिक निकायका भ्रष्ट पदाधिकारीले आफ्नो स्वार्थका लागि निकम्मा तुल्याइदिएका छन् । लेनदेन र दलाली गर्नेहरु अरबौं रुपैयाँको कारोबार गरिरहेका छन् तर तिनको आर्थिक अपराधका लागि अरु विकल्प नदेखेर सन्तानलाई डाक्टर बनाउने अभिभावकहरुको घरखेत बिकिरहेको छ ।
अवस्था यस्तो भए पनि हामी सबैलाई दशैं मनाउनुछ, मनाऔं । भोकै लडिरहेका डा केसीका एजेण्डा दशैंपछि सुनुवाइ गर्न मिल्ने भएछ भने गरौंला नत्र के नै फरक पर्ला र? आखिर डा केसीले आकाशै थामेका त छैनन् नि! उही माग लिएर बारम्बार भोक हड्तालमा उत्रने अनि राज्यलाई विश्वास गरेर सम्झौताको भरमा जुस पिएर बारम्बार धोका पाइरहने एक डाक्टरका लागि तपाइँ हामी काम गर्न वा चाड मनाउन छाडेर कति कुदिरहनु?
No comments:
Post a Comment