अहिलेको संविधान निर्माण प्रक्रियामा जुटेका तीन दलका नेताहरुले बेलुनको उडान भरेको महसुस हुन्छ ।
न कहाँबाट उडेका थियौं भन्ने याद, न कहाँ पुग्नुपर्ने हो भन्ने टुंगो । जति समय बित्दै जान्छ, यी धरातलको यथार्थबाट उत्ति टाढा पुग्छन् ।
आन्दोलन भयो, गोली चल्यो, जिल्ला र क्षेत्र ठप्प भए, नेताहरु यसबाट बेखबर जस्ता लाग्छन् ।
अपवादका रुपमा मात्र त्यसो भएको भए संविधान बनेपछि सबै सम्हालिन्छ भन्नु ठिकै लाग्थ्यो । तर देशको ठूलो भुभाग बिस्तारै स्थायी प्रकृतिको द्वन्द्वमा जाने लक्षणहरु देखिइरहेका छन् । उता बेलुनका यात्रीहरु सेना परिचालन गरेर मूर्दाशान्तिबीच भए पनि एक थान संविधान उत्पादन गरिछाड्ने उद्योगमा छन् ।
दोस्रो संविधान सभाको म्याण्डेट संविधान लेख्न पक्कै थियो तर बन्दुकको छायाँमा संविधान जारी गर्नु भन्ने त्यसको म्याण्डेट कदापि थिएन ।
अहिले जसरी ठाउँठाउँका आन्दोलनले हिंस्रक रुप लिइरहेका छन्, त्यो ठिक हो वा जायज हो भन्ने हैन, ती आन्दोलनहरुमा घुसपैठ गर्ने र हिंसा मच्चाउनेहरु पनि पक्कै छन् । तर त्यसको बदलामा राज्यले गर्नुपर्ने के हो? जायज माग लिएर प्रदर्शनमा उत्रेका र आपराधिक मानसिकता भएका निहित स्वार्थवाला समूहहरुलाई पर्गेलेर फरक व्यवहार गर्ने कि सबै प्रदर्शनकारीलाई अपराधीसरह व्यवहार गर्ने?
अहिले तत्काल संविधान निर्माणको प्रक्रिया रोकेर असन्तुष्ट समूहहरुमध्ये सापेक्षतः ठूलो जनसंख्याको भावना प्रतिनिधित्व गर्ने समूह र दलहरुलाई मिलाएर जान नसक्ने हो भने संविधान मान्नेभन्दा जलाउने धेरै हुने मात्र हैन कि देश सधैंभरका लागि अस्थिरता र हिंसाको दलदलमा जाकिने सम्भावना छ ।
संविधान निर्माणको प्रक्रिया रोक्न किन यति ठूलो आपत्ति छ अहिले तीन दलका नेताहरुलाई? कुनै बेलाका कट्टर दुश्मनजस्ता लाग्ने ओली र प्रचण्डको साँठगाँठ किन यति बलियो छ यो मामलामा?
दशकौंका लागि संविधान लेख्ने भए कम से कम केही वर्ष परसम्म देख्ने क्षमता त भएको नेतृत्व हुनुपर्ने, केही घण्टाभन्दा पर भोलिको दिनसम्म देख्न नसक्ने नेतृत्वले कस्तो संविधान देला?
No comments:
Post a Comment