हिजो कैलालीको दुखद भीडन्तमा अनाहक आठ नेपालीको ज्यान गयो । ती आठ जना फेरि फर्केर आउने छैनन् । तिनलाई न्याय कसरी दिने त भन्ने प्रश्न अहिले पेचिलो बनेर नेपालीहरुसामू खडा भएको छ । र अहिले यो प्रश्नको उत्तर दिने होड छ, खास गरी सामाजिक सञ्जालहरुमा ।
एकथरी भन्छन्, धैर्यता र संयम् पूर्वक थप क्षति हुनबाट रोकेर मात्र उनीहरुलाई न्याय दिन सकिन्छ । हिजोको दुखान्तबाट पाठ सिकेर अरु त्यस्तै झडप हुनबाट रोक्न सकियो भने थप जनधनको क्षति रोकिएर देश र समाज सम्हालिन पाउँछ ।
अर्काथरी भन्छन्, हिजो हिंसा गर्नेहरुलाई बलपूर्वक पाठ पढाएर राज्यको क्रोध प्रकट गर्नु नै त्यस्तो न्याय दिने एउटै बाटो हो । तिनलाई उचित पाठ नपढाएसम्म अरु सम्भावित हिंसाकारीहरु पछि हट्ने छैनन् र हिंसाको चक्र चलिरहनेछ । त्यसका लागि घरघर गएर सफाया गर्नेदेखि आकाशबाट बम खसाल्नेसम्मका उपायहरु सामाजिक सञ्जालमा सुझाइएका छन् । त्यस्ता अरु कति यस्ता सुझावहरु जोडतोडका साथ आदानप्रदान गरिएका छन् जसलाई यहाँ उल्लेख गर्नसमेत असहज हुन्छ ।
हिंसा जसले जुन निहुँमा गरेको भए पनि ऊ दण्डित हुनुपर्छ, विधिको शासन भनेकै त्यही हो । त्यसमाथि हिजो जसरी एकोहोरो रुपमा सुरक्षाकर्मी मात्र मारिए, त्यसले दोहोरो भीडन्त भएर दुवै पक्षबाट उही हदसम्म बल प्रयोग भएको देखिंदैन । प्रहरीतिर बढी क्षति हुनुको कारण जति आन्दोलनकारी पक्षको आक्रामकता थियो, उति नै प्रहरीले देखाएको संयम् पनि थियो भन्ने घटनाक्रमबारे अहिलेसम्म बाहिर आएका सुचनाले बताउँछन् ।
तर त्यसको मतलब यो हैन कि हिजोको घटनालाई आधार बनाएर राज्यले ‘रेसियल प्रोफाइलिङ’ भनिने नश्लगत विभेद संस्थागत गर्न शुरु गरोस् र समाजले सिंगो थारु समुदायलाई फरक ढंगले हेर्न शुरु गरोस्, थारु भएकै कारण कोही भीडको आक्रमणका लागि वैध निशाना बनोस् ।
हिंसा प्रधानतः हिंस्रक मानसिकताको उपज हो । सामान्य समयमा त्यस्तो मानसिकता मानिसहरुमा प्रकट हुँदैन तर भावनाहरुको तापक्रम बढेको बेला सुशुप्त रुपमा रहेको त्यस्तो मानसिकताले टाउको उठाउँछ ।
हिजो कैलालीमा देखिएको हिंसा कति स्वतः स्फुर्त थियो र कति नियोजित वा घुसपैठको नतिजा थियो, त्यो समयसँगै बाहिर आउला । अहिलेसम्म आएको जानकारीले के देखाउँछ भने अखण्ड सुदुरपश्चिम र थरुहठ पक्षधरहरुबीच निरन्तरको तिक्त प्रतिस्पर्धाले सुदुर पश्चिमको तराइमा दुवै पक्षतिर हिंस्रकतालाई मलजल गरेको थियो । एक पक्षको जीतका लागि अर्को पक्षको हार हुनै पर्ने स्थितिले पनि दुवै पक्षको चित्त बुझाउने निकास खोज्न असम्भवप्राय हुँदै गएको थियो । त्यो पृष्ठभुमिमा हिजो थरुहठ पक्षको हिंस्रकता अचानक विस्फोट हुन पुगेको थियो र त्यसको शिकार सुरक्षाकर्मीहरु हुन पुगेका थिए ।
तर हिजो कैलालीमा जे भयो, त्यसले त्यहाँको भीडन्त र हिंसामा संलग्न मानिसहरुको मात्र नभएर आम रुपमा नेपालीहरुमा सुषुप्त हिंस्रकतालाई पनि सतहमा ल्याइदिएको छ । फलस्वरुप, कैलाली हिंसाका बाछिटाहरु नेपाली समाजको ठूलो भुगोलमा अरु लामो समयसम्म रहिरहने देखिन्छ ।
देश र समाज, यिनको भविष्य अनि तिनीसँग जोडिएको आफ्नो भविष्यबारे चिन्ताग्रस्त आम मानिसको ठूलो हिस्सामा सुशुप्त हिंस्रकता अहिले जागृत भएको छ । फलस्वरुप, यथार्थमा आठ मृत्यू भए पनि काल्पनिक रुपमा हजारौं मृत्यूहरु भइरहेका छन् । कसैले सेना घरघर छिरेर मानिसहरुलाई गोली हानेको कल्पना गर्दैछन् भने कसैले दोषी भनिएकाहरुलाई चौबाटोमा ल्याएर सामुहिक हत्या गरिएको । तीमध्ये कतिले आफ्ना त्यस्ता भावना र कल्पनालाई सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्ने आँट समेत गरेका छन् ।
जटिल यथार्थको तत्काल देखिने पाटोलाई सर्वस्व मानेर परिस्थितिबारे गरिएको त्यस्तो विकृत र मनोगत कल्पनालाई वैधता दिन हिजो दुखद रुपमा मारिन पुगेका व्यक्तिका परिवारहरुको संकट र संवेदनासित लगेर जोड्ने गरिएको छ ।
यथार्थ के हो भने खास मनोसामाजिक अवस्थाबाट गुज्रिरहेको कुनै व्यक्तिको अहम् तुष्टि हुनु, उसको भावनाबमोजिम राज्य वा राज्यका निकाय चल्नु, उसले आँकलन गरेको सत्य निस्कनु वा उसको कामना पूरा हुनु र समाज वा राष्ट्रको समग्र हित हुनु बिल्कुल फरक कुरा हुन् ।
तर नेपाल मात्र नभएर विश्वभर नै अहिलेको समय यस्तो छ कि, टाइपिङ गर्न र सोसल मिडिया चलाउन जान्ने प्रत्येक व्यक्तिसँग यो ब्रम्हाण्ड कसरी चल्नु र चलाइनुपर्छ भन्ने आफ्नै मौलिक शास्त्र छ र त्यसको निरपेक्ष सत्यता र विकल्पविहीनताबारे उक्त व्यक्ति अडिग छ । आफू वरिपरिको समाजबारे यस्ता मानिसहरुका अल्पविकसित धारणाहरु संकट र मानसिक असुरक्षाका बेला अझ बलिया भएर आउँछन् र आफ्नो विश्वदृष्टिको बचाउका लागि उनीहरु जे पनि गर्न उद्यत् हुन्छन्, जस्तो कि फरक मत राख्नेका लागि मृत्यूदण्डको माग गर्न समेत ।
आफैंमा प्रष्ट दृष्टिकोण र इच्छाशक्ति नभएको अनि आफ्नो चुनाव क्षेत्रभन्दा परको स्वार्थ हेर्न नसक्ने नेपालको राजनीतिक नेतृत्वको दिशाविहीनता यतिखेर राष्ट्रका लागि निकै खड्किरहेको छ । सबैलाई समेट्न सक्ने र सबैको विश्वास जित्न सक्ने निर्विवाद नेता नहुनु, प्रधानमन्त्रीलगायत देशका सबै प्रमुख नेताहरु स्थितिलाई आफ्नो नियन्त्रणमा राख्नु भन्दा पनि स्थितिबाट नियन्त्रित हुन जानु संकटको समयमा हाम्रा लागि दुर्भाग्यको कुरा हो ।
तर त्यो भन्दा दुर्भाग्यपूर्ण र चिन्ताजनक चाहिं अहिले आम मानिसमा देखिएका हिंस्रकताप्रतिको लगाव छ । खास गरी हिंसाको अप्रिय र दुरुह काममा आफैं हात हाल्नु नपर्ने अनि द्वन्द्वका सम्भावित केन्द्रबाट भौगोलिक रुपमा टाढा रहेका मध्यम र उच्च वर्गका शिक्षित र ‘सचेत’ नेपालीहरु अहिले पूरा इच्छाशक्ति सहित हिंस्रकता प्रदर्शनमा व्यस्त छन् । तिनको पहिलो काम उत्तेजक र गलतसमेत सुचना र फोटो सामाजिक सञ्जालभर प्रेषित गरेर उत्तेजनाको आगो फैलाउने भएको छ । त्यसो गर्दा एकतिर आफ्नो अहम्को तुष्टि हुन्छ भने अर्कोतिर देश, समाज र जनताका लागि केही गरेको छद्म अनुभुति हुन्छ । त्यसले समग्र समाजलाई कता डोर्याउला, हरेक ट्वीट वा स्ट्याटससँगै आदानप्रदान हुने असहिष्णुता र घृणाभावले अरु कतिको हिंस्रकतालाई सतहमा ल्याउला, त्यो उनीहरुको सरोकारको विषय रहँदैन ।
त्यसैले समाजमा असहिष्णुता, अशान्ति, विग्रह र द्वन्द्वका लागि कुनै नेता, दल वा स्वार्थ समूह विशेष खास हदसम्म जिम्मेवार हुन सक्छ तर समाज र राजनीतिको रंगमञ्चबाट ऊ हट्नेबित्तिकै ती समस्या समाधान हुने हैनन् किनकि समस्याका धेरै जराहरुमध्ये केही नदेखिने गरी समाजका नसोचिएका पात्रहरु तिर बढेका हुन्छन् ।
त्यसैले समाजबाट हिंसा निमिट्यान्न होस् भनेर कामना गर्नुअघि हामी सबैले आफूभित्रको दृश्य–अदृश्य हिंस्रकतालाई चिन्नु र निर्मूल गर्नु आवश्यक छ । समाजमा धेरै किसिमका ज्यादतीहरु छन् तर तिनको जवाफ हिंसा वा हिंसा र प्रतिहिंसाको अन्तहीन चक्कर हैन भन्ने इतिहासले प्रमाणित गरिसकेको छ र त्यो प्रमाणित गर्ने क्रममा हाम्रा पुर्खाहरुदेखि हाम्रै पुस्तासम्मले ठूलो मूल्य चुकाएको छ । अब त्यो प्रयोग दोहोर्याउने हैन कि त्यसबाट सिकेर इतिहासको पुनरावृत्ति हुनबाट रोक्नु आवश्यक छ ।
No comments:
Post a Comment