यो वा त्यो व्यक्ति दोषी वा निर्दोष भन्ने गौण कुरा हो तर नागरिकलाई न्याय दिने मामलामा राज्य निश्पक्ष छ कि छैन भन्ने कुरा प्रधान हो ।
न्यायसम्बन्धी यी प्रचलित भनाइहरु बेवास्ता गर्न मिल्दैनः
१) न्याय ढिलो हुनु भनेको न्याय नहुनु हो ।
२) न्यायापेक्षीले न्याय पाउनु जति महत्वपूर्ण छ, उसलाई न्याय पाएको आभास दिलाउनु उत्तिकै महत्वपूर्ण छ ।
असार १९ को दुखद समाचार आउनुअघि म न डा अनिमेष ठाकुरलाई चिन्थें, न त डा आयुष अर्याल । दुवैको पारिवारिक पृष्ठभुमिबारे पनि थाहा हुने कुरा भएन । चिनेको भए आफ्नो पेशाका अरु जुनियरजस्तै मेरा लागि पनि दुई जनामा कुनै फरक हुने थिएन ।
तर त्यस दिनको दुखद घटना पछि अनिमेष यो संसारमा रहेनन् भने उनको मृत्यू हुनुमा आयुषको भुमिका अहिले शंका–उपशंका र रहस्यले जेलिएको छ ।
अनिमेषलाई न्याय दिने र आरोप लागेका आयुष र उनकी साथी प्रतिक्षा प्रधानलाई दोषी वा निर्दोष सावित गर्ने भनेकै निष्पक्ष छानविन र अनुसन्धानको मदतले हो । अहिले चलिरहेको छानविन निश्पक्ष नभएको र नेपालको प्रहरी प्रमुखको नाताले आयुषका बाबु उपेन्द्रकान्त अर्यालले आफ्ना छोरालाई बचाउन पदीय दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ ।
यो पृष्ठभुमिमा कसैको पक्ष लिने वा लाञ्छना लगाउने अभिप्रायले यो टिप्पणी गरिएको हैन । तर त्यसको मतलब देशको न्यायप्रणालीको दुरुपयोग भएको आरोपबारे केही बोल्न पनि मिल्दैन भन्ने हैन ।
विधिको शासन हुने ठाउँमा मुद्दाको अन्तिम किनारा जहिले पनि न्यायालयले लगाउने हो । तर मुद्दा अदालत पुग्नु अगाडि बदमासी भइरहेको छ भन्ने आरोप लागेपछि त्यसको पनि छानविन हुनुपर्ने हैन? आयुषका नाममा किटानी जाहेरी लिन पटक पटक अस्वीकार गरेको पोखरा प्रहरीले त्यसो हुनुको कारण उनको पारिवारिक पृष्ठभुमि हैन भन्ने आधार खै? पोलिग्राफी लगायतका आम रुपमा प्रयोग गर्ने अनुसन्धान विधिहरु यो केसमा प्रयोग नगरिनुको कारण के हो?
नेपाल प्रहरी भनेको एउटा संगठन हो र प्रहरी प्रमुख त्यसका एक अंग मात्र हुन् । छोराको असामयिक निधनबाट विक्षिप्तजस्तै भएका अनिमेषका आमाबाबुलाई यो प्रकरणमा निश्पक्ष छानविन जति आवश्यक छ, त्यो आयुषको परिवारलाई पनि उति नै आवश्यक छ । अनिमेषको परिवारलाई राम्रोसँग थाहा छ जति गरे पनि उनी अब फर्केर आउने छैनन्, अब गर्न सकिने भनेकै उनका लागि न्याय खोज्नु मात्र हो ।
अर्कोतिर प्रहरीप्रमुख पुत्र र उनकी साथीलाई सिंगो जीवन जिउनु छ । यदि उनीहरु निर्दोष हुन् भने अनुसन्धान प्रक्रियालाई प्रभावित नगरी निर्दोष भएको सावित गराउनुभन्दा राम्रो अर्को कुनै विकल्प हुँदैन । यदि आरोप लागेझैं प्रहरीप्रमुखले पदीय अख्तियार र पहुँच दुरुपयोग गरेर अनुसन्धान प्रभावित गरेका हुन् भने उनले आफ्नै छोरालाई पनि अन्याय गर्दै छन् ।
हैन र यदि उनले अनुसन्धानलाई प्रभावित नै नगरी असल नागरिकको भुमिका निभाइरहेका छन् भने त्यसको प्रत्याभुति हुनुपर्यो । साक्षीहरु निडरताका साथ बोल्ने वातावरण हुनुपर्यो । अनिमेषको परिवारमा संत्रास सिर्जना गर्न बन्द गर्नुपर्यो र उनीहरुले लगाइरहेका आरोपलाई बोलीले हैन, व्यवहारले गलत प्रमाणित गर्नुपर्यो ।
अनिमेषका बाबुलाई भेटेपछि मलाई यति लेख्नुपर्ने किन बोध भयो भने, उनीहरुको माग भनेको निश्पक्ष छानविन हो, कसैलाई दोषी वा निर्दोष सावित गर्नु हैन । भोलि अनुसन्धानका सबै उपाय अपनाएर तथा साक्षीहरुलाई विना धाक धम्की अदालत उपस्थित हुन दिएर आरोपी निर्दोष सावित हुन्छन् भने त्यसमा उनीहरुलाई केही आपत्ति छैन । कोही दोषी प्रमाणित हुनु वा नहुनु यहाँ महत्वपूर्ण कुरा हैन । राज्यले नागरिकलाई न्याय दिने क्रममा समान व्यवहार गर्यो कि गरेन, पद र पहुँचका भरमा कोही काखा र कोही पाखा भए कि भएनन् भन्ने प्रश्न मात्र हो ।
समयसँगै आम मानिसको मानसपटलबाट उक्त दुखद घटना फिक्का हुँदै गइरहेको छ । तर जबसम्म यो मुद्दामा न्याय हुँदैन र औपचारिक न्यायिक प्रक्रियामा राज्य निश्पक्ष भएको प्रत्याभुति हुँदैन, तबसम्म नेपालको न्यायप्रणालीमा यो एउटा आलो घाउ बनेर बसिरहनेछ ।
न्यायालयमा नियुक्ति हुँदा राजनीति हावी भएकाले यसै पनि हाम्रा अदालतहरुले गरेका धेरै फैसलाहरु विवाद र संशयको घेरामा आउने गरेका छन् । तर मुद्दा अदालतमा आउन नपाउँदै दसी र साक्षी ‘म्यानिपुलेट’ भए भने त्यसले थप विकराल स्थितिको सिर्जना गर्छ ।
संक्रमणकालका नाउँमा नागरिकहरुले यथेष्ट यातना पाइसकेका छन् । यो समयमा हाम्रा न्यायक्षेत्रलगायतका राज्यका अंगहरु शिथिल र निस्प्रभावी हुँदै गएजस्तो देखिनु झनै दुखद कुरा हो । यो वा त्यो व्यक्ति दोषी वा निर्दोष भन्ने गौण कुरा हो तर नागरिकलाई न्याय दिने मामलामा राज्य निश्पक्ष छ कि छैन भन्ने कुरा प्रधान हो ।
आशा गरौं, पीडित र आरोपित पक्षको हित तथा समग्रमा राज्यको साखका लागि भए पनि अनिमेषको मृत्यूबारे निश्पक्ष छानविनको प्रक्रिया अघि बढ्नेछ र उनको परिवारले न्याय पाउनेछ ।
No comments:
Post a Comment