लेखक सरुभक्त, निर्देशक दयाहाङ राई, दुवै चर्चित नाम । तर ठूला नाम जोडिंदैमा कलाकर्म आफैंमा उत्कृष्ट हुँदैन ।
उसमाथि शिल्पी थिएटरमा केही हप्ता अघि हेरिएको ‘लाटो पहाड’ले नेपाली थिएटरले निरन्तर उकालो यात्रा जारी राखेको छ भन्नेमा विश्वास दिलाएको थियो । यस्तो अवस्थामा नयाँ आउने प्रत्येक नाटकका लागि चुनौती थपिंदै जान्छ र स्वभावतः खल्लो नाटक हेर्यो भने निराशा उत्पन्न हुन्छ ।
त्यसैले केही संशयसहित यो शुक्रवार मण्डला थिएटरमा सरु भक्तको नाटक सिरुमारानी हेर्न पुगिएको थियो । केही ढिलो शुरु गरिएको नाटक डेढ घण्टाभन्दा केही लामो छ र प्रशिक्षार्थी कलाकारहरुको अभिनय छ भनेर राजन खतिवडाले भनेपछि त हामीले नाटकको उत्कृष्टताबारेको अपेक्षालाई अझ तल झारेका थियौं ।
तर नाटक जसै शुरु भयो, त्यसले यसरी भुलायो कि पौने दुई घण्टा बितेको पत्तै भएन ।
जटिल र चुनौतीपूर्ण विषयवस्तु, जसका आफ्नै उदेक र विरक्त लाग्दा आयामहरु हुन्छन्, तिनलाई मञ्चमा उतार्नु चानचुन काम हैन । यस अघि अनुप बरालले ‘थर्टी डेज इन सेप्टेम्बर’मा त्यस्तो अभूतपूर्व चुनौती लिएर त्यसलाई न्याय गरेका थिए । परिवारभित्रको यौन हिंसा, त्यसले पीडितको मनोविज्ञानमा पार्ने प्रभाव, पीडकले त्यसलाई दशकौं वा आजीवन ढाकछोप गर्नमा पाउने सफलता, नारकीय जीवनबाट गुज्रंदा आफैंलाई सम्हाल्न पीडितले उपयोग गर्ने ‘इगो डिफेन्स मेकानिज्म’, गलत डिफेन्सका कारण झन् बल्झन जाने समस्या अनि पीडकले पीडितलाई अझ सहजताका साथ गर्ने शोषणको शृंखला, यी सब एउटा नाटकमा उतारिएका थिए । अनि त्यति हुँदै पीडितको मानसिक समस्याको यथोचित निकाससम्म खोतलेको भारतीय लेखकको त्यो नाटक सम्भवतः नेपाली रंगमञ्चको इतिहासमै सबैभन्दा चुनौतीपूर्ण नाटकहरुमध्ये एक थियो ।
सिरुमारानी त्यति चुनौतीपूर्ण अलि थिएन जस्तो मलाई लाग्छ तर औसत नाटकभन्दा यसको मञ्चनमा धेरै चुनौती थिए । ध्यानमा बसेका ऋषिको भुलवश आँखा फूटाइदिएपछि श्रापित नाग राजकुमारीको दन्त्य कथामा जोडेर लेखिएको नाटक मूलतः आधुनिक समाजमा पुरुष र महिलाका अलग अलग मनोविज्ञान, तीबीच आउन सक्ने टक्कर, त्यसो हुँदा समाजमा सिर्जना हुन जाने असमञ्जस्यता अनि त्यसले सिर्जना गर्ने दुखान्तको कथा हो ।
औसत नेपाली चलचित्र त्यो स्तरमा कहिले पुग्ने हुन् थाहा छैन, तर नेपालका धेरै नाटकहरुले प्रेम कथा र हास्यरसको सहयोग लिएर जटिल मूल कथावस्तुको गाँठो फुकाउन सफल भएका छन् । गम्भीर कुरालाई एकनासले भन्दै मात्र गयो अनि प्रेम र हास्यरसको प्रयोग भएन भने कुनै पनि प्रस्तुति पट्यार लाग्दो हुन्छ । छड्के नामक चर्चित चलचित्र आधाजसो हेर्दा मलाई लागेको थियो, अब्बल कथा र अभिनय हुँदाहुँदै ती जीवनदायी तत्वको कमीले उक्त चलचित्र व्यवसायिक रुपमा सफल हुन सकेको थिएन ।
सिरुमारानी को सबल पक्ष पनि एउटा प्रेम कथाको सहारा लिएर पुरुष र महिलाको यौन मनोविज्ञान, पुरुष–प्रधान समाजमा इच्छाविपरीत पनि पुरुषको इच्छाअनुसार महिलाले चल्नुपर्ने बाध्यता, अनि त्यसले पैदा गर्ने विसंगतिलाई सांकेतिक रुपमा देखाउनु रहेको छ । त्यस्तो विसंगत अवस्थामा महिलामा उत्पन्न हुने मानसिक द्वन्द्वले उसमा ल्याउने दुख र उदासी अनि त्यसलाई छोप्न प्रयोग हुने ‘लोकलाज’को कमजोर पर्दा, भित्री यथार्थ र बाहिरी पाखण्डबीच द्वन्द्व भइरहँदा त्यसले दिने मानसिक यातना अनि छोरीलाई महारानीका रुपमा बिहे गरिदिएर ढुक्क भएको बाबुले त्यो कठोर यथार्थ आविष्कार गर्दा उसमा पुगेको चोट, यी हुन् नाटकका सबैभन्दा घतलाग्दा घुम्तीहरु ।
महिलाले विद्रोहपूर्वक लोकलाजको पर्दा च्यात्दा उत्पन्न हुन आउने विषम परिस्थिति र सधैंभर महिलालाई भोगेर तथा तिनलाई चुप लगाएर लोकलाज थाम्दै आएको पुरुष समाजमा त्यसलाई सहन गर्ने शक्तिको अभावले अन्ततः महिलाहरुभन्दा पुरुष काँतर भएको सन्देश दिन खोजेजस्तो देखिन्छ नाटककार सरुभक्तले, भलै उनको सन्देश अहिलेको नेपाली समाजको यथार्थ यस्तो छ भन्ने भन्दा पनि यस्तो भइदिए महिला जातिले अन्तहीन रुपमा पुरुषको इच्छामा बाँच्नुपर्थेन भन्ने पनि हुन सक्छ ।
राम्रा लागेका सबै नाटक कम्तीमा दुई पटक हेर्ने बानीअनुसार मैले यो नाटक फेरि एकचोटि हेर्ने सम्भावना छ । नाटक हेर्दाहेर्दै यो प्रशिक्षार्थीहरुको नाटक हो भन्ने कुरा पूरै बिर्सिएको थियो । दुई जना जति मण्डलाका नियमति कलाकार बाहेक प्रशिक्षार्थीहरुमध्ये पनि धेरै जना यसअघिको अब्बल नाटक जारमा देखिएकाले पनि होला, कलाकारहरुको अभिनयमा कतै उल्लेख्य कमजोरी भेट्न गाह्रो थियो । खास गरी सिरुमारानीको भुमिकामा देखिएकी कलाकारको भुमिका ज्यादै सबल रहेको छ ।
समाजको रुढी र लोकलाज नै सर्वस्व हो र समाजको अमन चयनलाई भंग गर्नुभन्दा पाखण्डहरुलाई बरु जीवितै राख्नुपर्छ भन्नेहरुलाई यो नाटक बिझाउन सक्छ । सरुभक्त आफैंमा पागलबस्ती जस्तो फरक धारको उपन्यासका लागि चिनिएका मानिस हुन् । कसैले के भन्ला वा कस्तो आलोचना गर्ला भन्ने प्रश्नबाट निकै टाढा उनको सिर्जनशीलताको मौलिक गहिराइबाट प्रस्फुटित भएको नाटक हो यो, उनका अन्य सिर्जनाजस्तै । यथार्थलाई सही र गलतको श्यामश्वेत विभाजन गरेर तौलन चाहनेहरुका लागि पनि नाटक विसंगत लाग्न सक्छ तर जीवनमा वास्तविकता कहिल्यै पनि त्यसरी स्पष्ट विभाजित हुँदैन, हाम्रो मानसिकता र इच्छा–आकांक्षाको संसार त आफैंमा अनेक विसंगत तत्वहरुको योगफल हो ।
अन्तमा, मानिसको जटिल मनोविज्ञानलाई कुशलतापूर्वक उधिनेर त्यहाँभित्रका अनेक विसंगतिलाई कलात्मक रुपमा प्रस्तुत गरिएको नाटकले मानव जीवनलाई श्यामश्वेतमा हैन, त्यसका अनेक आयामहरुमा हेर्न सघाउँछ । तीमध्ये कति रुचिकर आयाम छन् त अरुचिकर । सदियौंदेखि हामी मानव मन र मानव जीवनका रुचिकर र प्रियकर पाटाहरु मात्र प्रस्तुत गरेर सभ्य बन्ने होडमा आफैं भित्रका लोभ, भोग–लिप्सा, कायरता र परपीडकता जस्ता अप्रिय पक्षहरुलाई ढाकछोप गर्न अभ्यस्त भएको छौं । त्यसले मानव समाजलाई राम्रो देखिने त बनाएको छ तर वास्तवमै राम्रो बनाएको छैन । समाजलाई वास्तवमै न्यायप्रद र सुन्दर बनाउने हो भने त्यो पाखण्ड त्यागेर आफैंभित्रका खराब तत्वहरुलाई विना पूर्वाग्रह हेर्न, चिन्न र तिनबाट मुक्त हुन आवश्यक छ । सिरुमारानी हेरेर मैले सिकेको पाठ त्यही हो । आफ्नो असलता र महानताले विश्वलाई नै सुन्दर बनाएको भ्रममा बाँच्ने सीमित मानिसबाहेक अरु सबै वयस्कका लागि यो नाटक हेर्न मेरो सल्लाह छ ।
(अनामनगरस्थित मण्डला थिएटरमा यो नाटक आगामी तीन हप्ता चल्दैछ ।)
No comments:
Post a Comment