वीर अस्पताल र न्याम्सको आन्दोलन अदालतमा पुगेपछि आन्दोलनरत आवासीय चिकित्सकहरुलाई ग्लानि र पश्चात्ताप एकसाथ हुने अवस्था आएको छ ।
ग्लानि यसर्थ कि अस्पताल र संस्थाको यस्तो दुर्गति हुँदा पनि सम्बन्धित निकायहरु नौ नौ दिनसम्म चुप लागेर बसेका छन् । अनि पश्चात्ताप यसर्थ कि त्यो दुर्गतिका बीच यतिका वर्ष बितेर यति बिरामी र यति आवासीय चिकित्सकहरु पीडित हुँदा पनि यस अघि यत्तिको सशक्त आन्दोलन वा अभियानको शुरुआत भएन ।
तत्काल त्यो अवस्था कसरी आयो भने, वीर अस्पतालमा हडताल गरिएका भन्दै -जबकि अस्पतालका जागिरे चिकित्सकहरुले अहिले यथावत् सेवा प्रदान गरिरहेका छन् र त्यो अभिव्यक्ति आफैंमा गलत थियो_ त्यो बन्द गरेर सेवा सुचारु गरिपाऊँ भन्ने व्यवहारको रिट सर्वोच्चमा परेकोमा आवासीय चिकित्सकहरुका विरोधी वकिलले आफ्नो बयान यसरी शुरु गर्नुपर्योः यो आन्दोलनका मागहरु पूरै जायज र न्यायोचित छन् ।
अर्थात्, वीर अस्पतालको यथास्थिति बचाउ गर्न मिल्ने खालको छैन र यसले विपन्न नेपालीहरुलाई न्यूनतम सेवा दिने हो भने पनि यसको सञ्चालन र व्यवस्थापनमा आमूल परिवर्तन आउनुपर्छ भन्नेमा अब न्यायालयदेखि आन्दोलनको विरुद्ध वकालत गर्ने कानुन व्यवसायीहरुमा समेत दुविधा छैन ।
तर लोक लाज र उत्तरदायित्वबोध दुवैबाट विच्छेदित भएर राजनीतिमा प्रवेश गरेका राजनीतिज्ञ, तिनले भर्ती गरेका र यथास्थितिमा बीरबाट बिरामी तस्करी गरेर धनी भइरहेका कर्मचारीहरु यो कुरा मान्न तयार छैनन् । राजनीतिज्ञ बिरामी भयो भने सरकारले ससम्मान विदेशका महँगा अस्पतालमा पठाउने व्यवस्था गरिहाल्छ भने वीरमा हाजिर मात्र गरेर ओभरटाइम र नाइटभत्ता समेत पचाउने कर्मचारीहरुले वर्षौंको बिरामी तस्करीबाट एउटा नर्सिङ होम खोल्ने पैसा जुटाइसकेका छन् । तिनका लागि प्राण बचाउने अन्तिम आश्रय सम्झेर बीरमा आउने बिरामीहरु दुहुना गाइजस्तै हुन् ।
मन्त्रीलाई स्पष्ट बोध के छ भने, कार्यकर्ता भर्ती गरिरहनु र तिनलाई कमाउने मौका दिइरहनु भनेकै पार्टीको संगठन जीवित राख्ने एउटै उपाय हो, चाहे त्यो अस्पताल होस् वा स्कूल वा अन्य कुनै कार्यालय, किनकि पार्टीले मूल्यको राजनीतिबाट उहिल्यै हात धोइसकेको छ । त्यसमाथि कार्यकर्ताले अलिकति बेवास्ता गरेको अनुभव गरे भने पार्टीको अर्को गुटमा जालान् वा पार्टी नै फेर्लान् भन्ने अर्को त्रास व्याप्त छ ।
अर्कोतिर पदाधिकारी नियुक्त गर्दा आर्थिक हिनामिना गर्ने र त्यसलाई छोप्ने क्षमता अलिकति कम भएकोे मानिस पदमा पुग्यो भने त्यसले एक कार्यकालमै पार्टीलाई आउने रकममा करोडौंको कमी आउँछ । दुस्साहसी र अपराधै गर्न परे पनि पछि नपर्ने मानिस खोज्दाखोज्दै समय लागेर अहिले महिनौंसम्म न्याम्स पदाधिकारीविहीन भएको छ ।
खास गरी एमाले नामको पार्टीको स्वास्थ्य मन्त्री भएको अवस्थामा विगतका अनुभवले पनि उनीहरुलाई ज्याद्रो बनाएको देखिन्छ । तत्कालीन झलनाथ खनालको सरकारले राजीनामा दिने घोषणा गरिसकेपछि त्रि विमा नियुक्त गरिएका कुलपतिले प्राध्यापकको खोल उतारेर पार्टी कार्यकर्ताको झण्डा बोक्दै गुणस्तर शुन्य भए पनि हामी नयाँ निजी मेडिकल कलेजहरुलाई सम्बन्धन दिन्छौं दिन्छौं भनेर अड्डी कसेको अवस्था छ अहिलेसम्म पनि । पार्टीप्रति त्यत्तिको वफादार नभइदिएको भए उनले त्यत्रो बदनामीबीच या त उहिल्यै राजीनामा दिइसक्थे, हैन भने म पहिले प्राध्यापक अनि पार्टीको मानिस भनेर थोरै भए पनि नैतिकता देखाउँथे । उनी जत्तिको जब्बर मानिस भएकैले तत्कालीन क्षति भएजस्तो देखिए पनि एमाले पार्टीको चिकित्सा क्षेत्रको व्यापारिक स्वार्थमा अझै आँच आउन सकेको छैन ।
अहिलेका स्वास्थ्य मन्त्री र एमाले पार्टी किन धर्म संकटमा छन् भने वीरमा वफादार र दुस्साहसी मानिसहरु नभेटिने हैनन् तर हीरा बहादुर महर्जन जत्तिको वफादार मानिस भेट्न गाह्रै छ । अर्कोतिर महर्जन जत्तिकै कट्टर एमाले पदमा आए पनि अहिलेको पृष्ठभुमिले महर्जनले झैं पार्टी सेवा गर्न कठिन हुने देखिन्छ । तत्कालीन शिक्षण अस्पतालको आन्दोलन खाली एक व्यक्तिको अनशनमा केन्द्रित भएकैले अनशन तोडिनासाथ महर्जनले पूरा बलका साथ सम्झौताअनुसारका मागहरु पूरा नगर्नमा केन्द्रीय भुमिका खेलेका छन् । तर वीर र न्याम्समा भने संगठित भएर सयौं आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रेकाले नयाँ पदाधिकारीको पार्टी सेवा त्यति सहज हुने देखिंदैन ।
औपचारिक रुपमा भन्न मिल्दैन, तर देशका हर क्षेत्रमा कार्यकर्ता र चाटुकारहरुलाई नियुक्त गरिरहेको एमाले पार्टी -अरु पार्टीले त्यसो गर्दैनन् भनेको हैन तर त्यस क्षेत्रमा तिनको कार्य क्षमता एमालेको भन्दा निकै कम छ_ अहिले वास्तविक दुविधामा छ । सयौं कार्यकर्ताहरुले खाइपाइ आएको वीरको दलाली धन्दा आंशिक रुपमा भए पनि बन्द हुनु भनेको पार्टीको एउटा महत्वपूर्ण राजनीतिक गतिविधि बन्द हुनु हो, किनकि महाधिवेशनको हिलो छ्यापाछ्यापपछि अर्को चुनावमा पुगेर मात्र देशव्यापी रुपमा राजनीतिक गतिविधिहरु बढ्ने गर्छन् ।
जहाँसम्म वीरमा आउने विपन्न बिरामीको कुरा रह्यो, ती एउटै निर्वाचन क्षेत्रबाट आउँदैनन्, सबैले भोट हाल्न पनि सक्दैनन् र जो सक्छन्, तिनका लागि चुनावको बेला ससानो रकम खर्च गरे भोट आइ नै हाल्छ भन्नेमा एमालेलगायत सबै प्रमुख दल विश्वस्त छन् ।
आफ्नो सनातन चरित्रका कारण एमाले र उसका मन्त्रीले वीरको समस्याको पछि रहेको यो यथार्थलाई स्वीकार्दैनन् । त्यसैले कहिले मोदी आएको त कहिले के भनेर समस्यालाई पन्छाउँदै आएका छन् । त्यसबाहेक आम तवरमा नेपालको राजनीति नै संगठित झूट र बेइमानीको पर्याय बनिसकेको छ ।
अब हुन्छ के त? न्याम्सका लागि खोजिएका हीराबहादुरहरु मध्ये सबैभन्दा दुस्साहसी मानिस छानेर छिट्टै पदाधिकारी नियुक्ति हुन्छ, उसले वा ऊ आउन ढिला भएमा अहिलेकै न्याम्स प्रशासनले सकेसम्म बिस्तारै र आन्दोलनलाई मात्र थामथुम पार्ने किसिमले मागको सम्बोधन गरेजस्तो गर्छ । रुष्ट कार्यकर्ताका लागि अरु केही कोठामा केही टेबल थपिन्छन्, तिनका वरिपरि अटेजति कुर्सीहरु र तिनमा एक एक जना नयाँ कार्यकर्ता भर्ना गरिन्छन्, तिनले दलालीका नयाँ नयाँ तरिकाहरु पत्ता लगाउँछन् र वीरमा धन्दा चलिरहन्छ ।
यस्तो कहिलेसम्म हुन्छ? जबसम्म नेपालीहरुले एमालेलगायतका दलहरुलाई निसंकोच भोट हालिरहन्छन् ।
उसो भए, अवस्था त्यस्तै रहने हो भने आन्दोलन किन त<
आन्दोलन किन भने जसरी मानिस पूरै भोकै र नांगै भएर पनि आत्महत्या नगरेर ज्यान बचाउन संघर्ष गर्छ, त्यसरी नै अलिकति सम्भावना पनि बचेसम्म वीरमा एउटा सेवा मात्र थपिएर एक दर्जन दलालहरुको धन्दा बन्द हुनु भनेको एक दिनमा बीसौं बिरामीले सस्तो र स्तरीय सेवा पाउनु हो र महिनाभरमा अन्यत्र जाँच र उपचार गराउन नसक्ने दर्जनौं मानिसहरुको ज्यान बच्नु हो । न्याम्सबाट डिग्री पाउने एक दर्जन चिकित्सकहरुको योग्यता बढ्नु भनेको तिनले जीवनकालमा हेर्ने दशौं हजार बिरामीहरुले पाउने सेवाको स्तर राम्रो हुनु हो ।
आन्दोलन अझ कति उचाइमा पुग्छ र कत्तिको दुरगामी प्रभाव छाड्न सक्छ, त्यो हेर्न त बाँकी नै छ तर दलका नेता र तिनका दलाल कर्मचारीलाई नंग्याउन यसले जुन भुमिका खेलिसक्यो, त्यो उपलब्धि कसैले खोस्न सक्दैन ।
नेपाल छाड्न पनि नसक्ने र यहाँको चोरीधन्दामा मिसिएर धनी हुन पनि नसक्ने बहुसंख्यकहरुका लागि वीरजस्ता ठूला सरकारी स्वास्थ्य संस्थाहरुमा सुधार हुनु भनेको अन्धकारबीच पनि सम्भावना जीवितै रहनु हो, आखिर सम्भावनामै त अडेको छ यो संसार ।
No comments:
Post a Comment