प्रख्यात रुसी कथाकार आन्तोन चेखवको एउटा भनाइलाई अर्का साहित्यकार म्याक्सिम गोर्की यसरी सम्झिन्छन् :
हामीलाई राम्रो मौसमको, राम्रो बालीको, रमाइलो प्रेमकाण्डको आशा गर्ने, धनी हुने वा पुलिसको हाकिम बन्ने सपना देख्ने बानी परिसकेको छ तर मानिसहरूले बढी बुद्धिमान् बन्ने आशा गरेकोचाहिँ मलाई थाहा छैन। हामी सोच्छौं, नयाँ जारको पालिमा त राम्रो हुनेछ, दुई सय वर्षपछि अझ राम्रो हुनेछ, तर यो राम्रो भोलि नै होस् भन्नका खातिर कोही केही गर्न चाहँदैन। साँच्चि भन्ने हो भने हरेक दिन हाम्रो जीवन झन्झन् जटिल हुँदै गइरहेको छ र मानिसहरू स्पष्टत: मूर्ख हुँदै गइरहेका छन्, झन्झन् बढी मानिस जीवनबाट टाढिँदै गइरहेका छन्।
चेखवले जीवनकालमा लेखेको अन्तिम कथा ‘दुलही’लाई गोर्कीले उनको समग्र लेखनको निचोडका रूपमा लिएका छन्। त्यो कथाको सुरुमा एउटा सम्पन्न तर शुष्क सम्भ्रान्त परिवार चित्रित छ, जसको मुख्य पात्र नाद्या इभानोभ्नाको बिहे हुनुअघिको मनोविज्ञान मिहिन पाराले देखाइएको हुन्छ।
कथाको बीचमा साशा नामको पात्र आउँछ जसले नाद्याको पोखरीको पानीजस्तो गतिविहीन जीवनको नीचता, निस्सारता र तुच्छतालाई औंल्याएर उनलाई नवीन र गतिशील भविष्यको सम्भावना देखाउँछ।
एउटा साहसिक निर्णय लिएर समृद्धि र सुरक्षाले भरिएको सानो सहरको बंगला छोडेर अनि विधवा आमा र हजुरआमालाई धोका दिएर नाद्या बिहे नै नगरी पढ्न पिटर्सबर्ग गएपछि कथाले नयाँ मोड लिन्छ।
उसो त चेखवकी पात्रझैं हामी पनि हाम्रो जीवन र आफूवरपरको वातावरणबाट सन्तुष्ट छैनौं। हामीलाई पनि नवीन र गतिशील जीवनमा प्रवेश गर्ने रहर छ। तर, के हामी त्यस्तो जीवन बनाउन नाद्याले झैं आफूसित भएभरको समृद्धि र सुरक्षालाई जोखिममा पार्न तयार छौं त? चेखवको एउटा कथासंग्रहको भूमिकामा गोर्कीका शब्दहरू पढेपछि मनमा यस्तै प्रश्नहरू उठिरहे।
नेपालकै कुरा गर्दा हामी अरूका गल्ती, कमजोरी छिटै भेट्छौं तर आफ्नाचाहिँ विरलै। भ्रष्टाचारीलाई कीरा परोस् भनेर सराप्छौं तर आफ्नो दैनिक क्रियाकलापमा अनियमितता र बेइमानीका प्रसंगहरूलाई ससाना भनेर बेवास्ता गर्छौं।
आफ्नो परिवारमा कसैले देख्ने गरी भ्रष्टाचार गरेको छ भने पनि त्यसलाई नदेखेको जस्तो गर्छौं। दुनियाँमा योग्यताको कदर भएन, नातावाद र कृपावादले सखाप पार्यो भन्छौं तर आफ्नो जागिर वा सरुवाबढुवा भनसुनले हुन लागेको छ भने त्यसलाई तिरस्कार गर्न सक्दैनौं।
आफ्नो वरपर अन्याय र थिचोमिचो भइरहेको हुन्छ तर हामी तबसम्म बोल्दैनौं जबसम्म हाम्रो आफ्नै परिवारको सदस्यले त्यो भोग्दैन।
सरकारी कर्मचारीले घूस माग्यो वा कुनै व्यवसायीले ठग्यो भने या त यो देशै यस्तो हो भनेर चित्त बुझाउँछौं हैन भने पिठ्यूँपछाडि त्यसलाई गाली गर्छौं तर कतै उजुरी गरेर न्याय खोज्ने लेठो गर्दैनौं। आफ्नो काम बनेपछि त्यो विषय नै बिर्सिन्छौं।
त्यसरी नै अस्पताल र स्वास्थ्यकर्मीलाई बिरामी भएपछिमात्र सम्झन्छौं, अदालतलाई न्याय चाहिँदामात्र, विद्यालयलाई आफ्नो बच्चा पढाउनुपर्दा मात्र, यातायातलाई यात्रा गर्नुपर्दा मात्र।
फलत: बिरामी भएर अस्पताल जाँदा अस्पताललाई स्वास्थ्यकर्मीहरूले उजाडेर क्लिनिक चलाइरहेका हुन्छन्, न्याय खोज्न जाँदा अदालतले १५ वर्ष कुराउँछ वा न्यायाधीश एउटा झगडालु पक्षसँग अँगालो मारेर हिँडिरहेको हुन्छ, सरकारी स्कुल कलेजका शिक्षक प्राध्यापकहरू त्यहाँ तलब बुझेर अन्तै पढाइरहेका हुन्छन्, यातायात व्यवसायीहरू मानिसलाई भेडाबाख्राझैं कोचेर गाडी कुदाइरहेका हुन्छन्।
हामीलाई प्रतिक्रिया दिन असाध्य हतार हुन्छ, हामीसँग गाली र आलोचनाको भण्डार छ तर आत्मालोचना र दूरगामी सोचाइको खडेरी छ।
दलको कार्यकर्ता लाठी चलाएर विपक्षीलाई ठेगान लगाबापत शिक्षकको नियुक्ति लिएर आउँछ, हामी आफ्नो मानिस भनेर अर्को कुनै नालायकलाई प्रधानाध्यापक बनाउँछौं। बच्चाहरूको पढाइ राम्रो हुँदैन, अनि आडैमा अर्को निजी विद्यालय खोलेर आफ्ना बच्चा त्यहाँ पढाउँछौं।
अस्तव्यस्त सरकारी अस्पतालमा भएका अनियमितता खोजेर त्यसलाई प्रगतितिर लैजानुभन्दा त्यसको नजिकै निजी अस्पताल खोलेर त्यो अवस्थाको फाइदा उठाउन हामीलाई सहज हुन्छ। भ्रष्ट अदालतहरूमा जानुभन्दा बाउन्सरहरू लगाएर लेनदेन सल्टाउन छिटो हुन्छ। प्रतिकूल अवस्थामा विधिको शासन हुनुपर्यो भनेर आवाज उठाउँछौं, अनुकूल अवस्थामा आफैं नीतिनियमको धोती लगाएर हिँड्छौं।
सडकमा फोहोर थुप्रियो भनेर नगरपालिकालाई गाली गर्छौं, नदी ढलमा बदलियो भनेर गुनासो गर्छौं तर कुहिने फोहोर छुट्याएर माटोमा फाल्ने, पोलिथिन ब्यागलाई पुन: प्रयोगमा ल्याउने गरेर फोहर व्यवस्थापनमा आफूले दिनसक्ने योगदान पनि दिँदैनौं।
सार्वजनिक यातायातमा यात्रा गर्न नसकिने भयो भने बरु आफ्नो बाइक किनेर कठ्यांग्रिने जाडोमा राजमार्गमा कुद्छौं तर व्यवसायीको कार्टेल तोड्नेबारेमा सोच्दैनौं।
त्यसरी नै हामीमा ढोंग र पाखण्डको खानी नै छ। विश्वासका नाममा मन्दिर धाउँछौं, मन्दिरको छेउमा सिमेन्टको बेन्च बनाउँछौं तर त्यो हामीले नै बनाएको भनेर भगवान्ले देख्छ भन्ने हामीलाई विश्वासै छैन र त्यो दाबी गर्नत्यहाँठूला अक्षरमा आफ्नो नाम कुँदेर छाड्छौं।
मन्दिरको जत्रो प्रवेशद्वार हुन्छ त्योभन्दा ठूलो भित्तो खडा गरेर त्यो द्वार बनाउन पैसा दिने मानिसहरूको नामसूची कुँदिएको हुन्छ। द्वारको छेउमा बसेर माग्नेलाई तिरस्कार गर्नेमात्र हैन, समान मान्छे मान्नसम्म तयार छैनौं।
हामी भ्रष्ट कामलाई यसरी परिभाषित गर्छौं जुनभित्र हामीहरू आफैंले गर्ने गरेका गतिविधि अटाउँदैनन्। पियन भन्छ- मैले लिने सय रुपैयाँलाई के घूस भन्ने, उसमाथि म गरिब छु।
उसको हाकिम भन्छ- माथिल्लो निकायमा यति घोटाला भएर देशै टाट पल्टिने बेला भइसक्यो, मैले गरेको अनियमितता त के नै हो र। उच्चस्तरको कर्मचारी भन्छ- दुईचार महिनाका लागि आउने मन्त्री त यति कुम्ल्याएर गयो, मैले जीवनभर काम गरेर यति जोडेको त हो।
सत्तासीन नेता भन्छ- हाम्रो सरकार आउनुअघि त्यत्रा घोटाला भए र त कसैलाई केही भएन, अब न मेरो नैतिकताले देश बच्छ, न मेरो भ्रष्टाचारले देश सिद्धिन्छ।
कहिलेकाहीँ कल्पना आउँछ- मानिसले आफूभन्दा माथि उठेर हेरून्, ढोंग, पाखण्ड र लापरबाहीलाई त्यागून् अनि वर्तमानको भूलभुलैयाको बीचबाटै पनि भविष्यलाई नियालेर हेरून्। विद्यार्थी क्याम्पसमा गएर टायर जलाउन र एकअर्कालाई खुकुरी हानाहान गर्न छाडेर अध्यापकहरूले किन पढाएनन् भनेर आन्दोलित होऊन्, शिक्षकहरू आफ्नो जागिरको भन्दा विद्यार्थीको भविष्यको बढी चिन्ता गरून्, चिकित्सकहरूले बिरामीलाई नयाँ ग्राहकभन्दा सेवाको नयाँ अवसरका रूपमा लिऊन्, दलालहरू पाप पखाल्न पशुपति धाउन छोडेर दलाली पेसै छोडेर असली कामधन्दा गर्नतिर लागून्।
उसो त यस्ता कुरा उठाउँदा कर्मकाण्डीय साम्यवादीहरूले बुर्जुवा सुधारवादी भएको आरोप लगाउँछन् किनकि तिनका विचारमा सर्वहारा अधिनायकवाद स्थापना नहोउन्जेल कुनै पनि समस्याको दीर्घकालीन समाधान असम्भव छ।
उग्र बजार-पुँजीवादीहरू भन्छन्- जबसम्म बजारलाई सम्पूर्ण प्रकारले स्वायत्त नछोडेर राज्यले हस्तक्षेप गरिरहन्छ, तबसम्म यी समस्या रहिरहनेछन्, कतिसम्म भने राज्य कमजोर भएको फाइदा उठाएर निजी क्षेत्रले कार्टेलिङ गर्नुलाई पनि तिनले राज्यको हस्तक्षेपकै दोष मान्छन्। व्यावहारिक रूपमा चाहिँ राज्यको नेतृत्वले यस्ता समस्या समाधान गर्न ठोस कदम नचालेसम्म तपाईंले वा मैले मात्र पहल गरेर यी समस्याको समाधान भइहाल्ने अवस्था छैन।
तर दु:खको कुरा के छ भने बीसौं शताब्दीको सुरुमा चेखवको मृत्यु भएयता उनको देश रुसमा संसारै हल्लाउने दुईवटा परिवर्तन भए, साम्यवादी व्यवस्था निर्माण र विखण्डन हुँदा। नेपालमा पनि विगत सात दशकमा मात्र कम्तीमा चारवटा ठूलो स्तरका परिवर्तनहरू भए।
व्यवस्थाहरू कहाँबाट कहाँ पुगे तर मानिसको जनजीविकासित सम्बन्धित साना र सहजै समाधान गर्न सकिने समस्याहरू पनि रुसदेखि नेपालसम्म ज्यूँका त्यूँ छन्। रुसको चेच्न्यामा जारी सशस्त्र विद्रोहदेखि हालै रेलवे स्टेसनमा भएका शृंखलाबद्ध विस्फोटसम्म, नेपालमा टुंगिएको सशस्त्र विद्रोहदेखि नटुंगिएको संविधान लेखनसम्म, हाम्रा राज्यहरूसामु चुनौतीका डंगुर छन् र तिनले हाम्रा जनजीवनका सानाजस्ता लाग्ने ठूला समस्याहरूलाई मिहिन पाराले हेरेर तिनलाई समाधान गर्न पहल गर्ने सम्भावना न्यून छ।
उसो भए के कर तिरेर पनि राज्यले प्रदान गर्ने न्यूनतम सेवा लिन फेरि घूस दिइरहनुपर्ने अनितोकिएको भन्दा बढी शुल्क तिरेर कमसलसेवा र वस्तु खरिद गरिरहनुपर्ने अवस्थाको कुनै अन्त छैन?
जबसम्म हामी अरूका भ्रष्ट र अनैतिक गतिविधि देखाएर आफ्ना त्यस्तै गतिविधिको औचित्य देखाउँछौं अनि एउटा समस्या समाधानबारे सोच्नुभन्दा दसवटा समस्याको सूची बनाउन र दसजनाको आलोचना गर्न रुचाउँछौं, तबसम्म यो अवस्था कायमै रहनेछ।
आधुनिक बाबाले भन्ने गरेझैं समस्या बिर्सेर वा यथार्थसित विच्छेदित भएर यी समस्याको समाधान हुँदैन। समस्याहरू समाधानको दिशामा आफूले गर्नसक्ने काम गर्न सदा तत्पर हुने अनि संगठित हुने कुनै मौका नछाडेर पहल गर्दै जाने हो भने ती काम असम्भवचाहिँ हैनन्।
भारत देशको राजनीतिक इतिहासमा हालसालै एउटा अनौठो राजनीतिक शक्ति उदाएको छ, एउटा राजनीतिक प्रयोगको सफल सुरुआतका रूपमा। त्यो प्रयोग सफल हुँदै गयो भने त्यसले भारतीय उपमहाद्वीपमै एउटा महत्त्वपूर्ण नजिर स्थापना गर्नेछ।
No comments:
Post a Comment