अघिल्लो चुनावमा जसरी मानिसले सास थामेर चुनावको नतिजा कुरेका थिए, त्यो स्थिति अहिले छैन । उहिले प्रतिस्पर्धा थियो, फरक फरक भुमिकाबाट आएका र फरक फरक सम्भावना बोकेका भनिएका राजनीतिक शक्तिहरुबीच । अहिलेचाहिं सबै जसो उति नै विफल र उस्तै उस्तै सम्भावना बोकेका शक्तिहरुबीच प्रतिस्पर्धा भएकाले पनि मानिसले कसले जित्ला भनेर अनुमान लगाउनु त के धेरैका लागि आफूले कसलाई भोट हाल्ने भनेर निक्र्योल गर्न पनि गाह्रो पर्ने स्थिति छ ।
अघिल्लो चुनावमा काँग्रेस र एमालेको रक्सी र नगद झ्वाम पारेर माओवादीलाई कति मानिसले भोट हाले त्यसको लेखाजोखा नै छैन किनकि माओवादीले जितेका अधिकांश ठाउँहरु परम्परागत रुपमा काँग्रेस वा एमालेका गढहरु थिए । रक्सी र नगद विनै माओवादीलाई भोट हाल्नेको संख्या पनि कम थिएन । दशकको रक्तपातबाट वाक्क भएका सुरक्षा निकायहरुमा समेत भावी विद्रोहको सम्भावना अन्त गर्न माओवादीलाई भोट हाल्न जवानहरुलाई अघोषित उर्दी थियो भन्छन् केही जानकारहरु ।
यीमध्ये कुनै पनि अनुकुलता छैन, अहिलेको माओवादीलाई । यस हिसाबमा धाँधली नभएमा एक हिसाबले दलहरुको आम मानसमा कति प्रभाव छ, त्यसको पहिलेभन्दा राम्रो मापक हुनेछ यो चुनाव । यो पृष्ठभुमिमा यो चुनावलाई निर्देशित गर्न सक्ने केही परिदृश्यहरुलाई दृटिगत गरौं ।
परिदृश्य १: माओवादीको गुमेको साख
विगत आठ वर्षको माओवादी एउटा अन्योलमा बाँचेको छ । सर्वहारा अधिनायकवादका लागि समर्पित विगतको धङधङी एकतिर छ भने बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थाका नियम मान्नुपर्ने बाध्यता अर्कोतिर । फलस्वरुप नीतिहरुमा दोधार त छँदैछ, व्यवहार यस्तो खिचडीमय छ कि नेता वा कार्यकर्ताले भौतिक हिंसाजन्य अपराध गरे भने हिंसात्मक विगतको जरो समातेर त्यसलाई वैध ठहर्याउने प्रयास हुन्छ भने भ्रष्टाचार लगायत आर्थिक अपराध भयो भने चाहिं भ्रष्ट पुँजीवादी अर्थव्यवस्थाका कारण भएको भनेर त्यसको औचित्य खोजिने गर्छ, व्यवहारिक रुपमा ।
नतिजाः विगतमा कम्युनिष्टहरुको एमालेकरण भनिने एउटा त्यस्तो प्रक्रिया जसले एउटा जीवन्त पार्टीलाई बुख्याँचामा परिणत गर्छ जसका ओठ मुस्कुराउँछन्, मुख बोल्छ, घाँटीले माला भिर्छ तर ती सबै यान्त्रिक पाराले हुन्छन्, हिसिला यमीले भ्रष्टाचार विरोधी भाषण दिएजस्तो ।
यही एउटा कारण माओवादीका लागि चुनावमा खराब नतिजा ल्याउन काफी छ । तर संघीयता र खास गरी पहिचान सहितको संघीयतामा ढूलमूले भए पनि केही अडान राखेकाले मतदाताको एउटा उल्लेख्य हिस्सालेचाहिं माओवादीलाई भोट हाल्ने देखिन्छ ।
परिदृश्य २: एमालेको सदावहार अवसरवाद
अघिल्लो चुनावअघि प्रचण्डको पार्टी दश सीटभित्रै सीमित हुन्छ भनेर आफ्नो पार्टीको सम्भावित विशाल विजयलाई ध्यानमा राखेर एमालेले माओवादीसित चुनावी तालमेल गर्न अस्वीकार गरेको थियो । तर नतिजा आउँदा एमाले दश सीटको नतिजाबाट मात्र बच्यो र उसका गढहरु एक एक गरी ढले र बाँकी इतिहास बन्यो । त्यसको कारण थियो एमाले नेतृत्व पंक्तिले यथार्थबाट पूर्णतः बेखबर रहनु ।
तर यसपालि एमाले यथार्थबाट त्यति बेखबर छजस्तो लाग्दैन किनकि देशभरका गुण्डाहरुलाई संगठित गरेर असली एमालेको पगरी गुथाउने ओली रणनीति विगतको हारलाई मनन गरेर निर्माण भएको देखिन्छ । एमालेले जुन दिन प्रतिगमन आधा सच्चियो भनेर कुर्लिंदै ज्ञानेन्द्रको गोटी बन्न गयो, त्यतिबेला देखि नै एमाले एउटा पूर्ण शक्ति भन्दा पनि छायाँ शक्तिको अस्तित्वमा रहँदै आएको छ, कतिसम्म भने उसको आफ्नै नेतृत्वको सरकार हुँदा पनि ।
यी पाँच वर्षमा फरक फरक रुप रंगमा सबैभन्दा लामो समयसम्म सत्तामा रहेको दलको नाताले देश वा संविधान बनाउनुसँग कुनै नाता नभए पनि सत्ताले दिने सुविधा र पहुँचका लागि राजनीति गर्ने वा राजनीतिज्ञहरुसित नजिक हुन चाहने आम मानिसले चाहिं एमालेलाई भोट दिने निश्चितजस्तै छ । त्यसले अनि गुण्डा दस्ताको अपूर्व संयोजनले एमालेबाट पहिचानको मुद्दामा पार्टीमा गएको पहिरोको कति क्षतिपुर्ति गर्छ हेर्न बाँकी नै छ ।
परिदृश्य ३: काँग्रेसको कमजोर छवि
जीवनको उत्तरार्धमा सिंहजस्तै गर्जने गरेका जी पी कोइरालाको देहान्तसँगै सुस्ताएको काँग्रेसले प्रचण्डको जस्तो भए पनि प्रचण्ड छविको अगाडि निरस्त हुने गरेको धेरैको अनुमान त्यतिबेला सत्य साबित भयो जब केही दिनको निरर्थक कुर्लाइपछि सुशील कोइरालाले प्रचण्ड ओलीको लोकमान प्रोजेक्टमाथि लाहाछाप लगाए । बोल्न बोल्दै रहने तर निर्णायक क्षणमा गएर धर्मराउने सुशील प्रवृत्तिले काँग्रेसको कमजोर छवि निर्माण गर्न मदत गरेको छ ।
गएको पाँच वर्षमा तीन दलमध्ये सबैभन्दा कम समय सत्तामा रहेकाले पनि होला, निकट विगतका भ्रष्टाचार काण्डहरुका काँग्रेसको उपस्थिति सापेक्षतः पातलो छ । त्यसबाहेक सुशील कोइरालाले माओवादीको वाइसिइल वा एमालेको युथफोर्सजस्ता अराजक जत्थाहरुको समानातर काँग्रेसी गुण्डागर्दी युनिट खोल्न नदिएको दृष्टान्तले विधिको शासनलाई केन्द्रमा राख्ने शिक्षित वर्गले अरु दलभन्दा काँग्रेसलाई बढी कृपा राख्ने सम्भावना छ ।
त्यसबाहेक पहिचान र संघीयताको मामलालाई लिएर काँग्रेस छोड्ने र त्यही कारण काँग्रेसप्रति सहानुभुति राख्ने मानिसहरुको अनुपात कस्तो छ, त्यसले पनि चुनावमा काँग्रेसको प्रदर्शनलाई प्रभावित गर्नेछ ।
परिदृश्य ४: टुक्रे संविधान सभा
मधेशी दलहरुको अन्तहीन टुक्रिने श्रृंखला र अरु दलको च्याउजस्तै जन्मले अबको संविधान सभा पहिलेभन्दा धेरै अराजक र अनिर्णयको बन्दी हुने सम्भावना टड्कारो छ ।
र त्यसले यथासमयमा संविधान निर्माण गर्ने कुराचाहिं थप सन्देहको विषय छ ।
No comments:
Post a Comment