पुस्तकमा प्रकाश सायमीको मात्र जीवन भएको भए त्यो पट्यार लाग्दो हुन सक्थ्यो । तर पाना पल्टाउँदै गर्दा मैले चिनेका, चिनेको भन्ठानेका र नामै नसुनेका दर्जनौं पात्रहरु अनि प्रवृत्तिहरु एकपछि अर्को आउँदै गए, एउटा धारावाहिकका अध्यायहरुजस्तै । ती आए एउटा वहाबमा र हरेकले छाडेर गए, आ आफ्नै किसिमका छापहरु । पाना पल्टिंदै गर्दा नयाँ कुरा जान्नुको उल्लास र आफूले जीवनमा सिकाइका अवसरहरु लेखकले जसरी नपाएकोमा थकथकी र लघुताभास पनि थपिंदै गयो ।
यो तिहारको बिदाका लागि घर जानुअघि चिनुआ अचेबेको 'एन्ट्हिल्स अफ द सबानाह' भन्ने पुस्तक झोलामा हालेको थिएँ । संयोगले हिंड्ने बेलामा प्रकाश सायमीको 'बर्षादी दिनहरु' पनि हात पर्यो ।
कलंकीमा माइक्रोबस चढ्नासाथ पढ्न शुरु गरेको 'बर्षादी दिनहरु', नारायणगढ पुग्दा अन्तिम तथा सत्रौं अध्याय मात्र बाँकी थियो । नारायणगढको पुल्चोक पुग्नुअघि जाम छल्न गाडी दायाँतिरको सानो बाटोमा घुस्यो र केही छिनमै नारायणी नदी देखियो । अनि पो मलाई झल्याँस्स याद आयोः 'अहो, आज त यत्रो यात्रामा मैले एकैचोटि त्रिशुली नदीलाई नदेखी आएछु ।'
यो एक हिसाबले अविस्मररणीय यात्रा बन्न पुग्यो । यस अगाडि यति नै मुग्ध भएर पढेको नेपाली पुस्तक 'लू' थियो भने गैर आख्यानमा यति चुम्बकीय नेपाली पुस्तक निकट विगतमा पढेको मलाई याद छैन ।
पुस्तकमा प्रकाश सायमीको मात्र जीवन भएको भए त्यो पट्यार लाग्दो हुन सक्थ्यो । तर पाना पल्टाउँदै गर्दा मैले चिनेका, चिनेको भन्ठानेका र नामै नसुनेका दर्जनौं पात्रहरु अनि प्रवृत्तिहरु एकपछि अर्को आउँदै गए, एउटा धारावाहिकका अध्यायहरुजस्तै । ती आए एउटा वहाबमा र हरेकले छाडेर गए, आ आफ्नै किसिमका छापहरु । पाना पल्टिंदै गर्दा नयाँ कुरा जान्नुको उल्लास र आफूले जीवनमा सिकाइका अवसरहरु लेखकले जसरी नपाएकोमा थकथकी र लघुताभास पनि थपिंदै गयो ।
पुस्तकमा संकलित संस्मरणात्मक निबन्धहरुको सार खिच्नु एउटा व्यर्थको काम हो भन्ने मलाई लाग्छ, एक बसाइमै सकिने त्यो पुस्तक आफैंमा धेरै जीवनहरुको सार संक्षेप हो र ती निबन्धलाई अंगभंग नगरी छोट्याउन सम्भव छैन । त्यसैले हरेक अध्यायको सारतिर लाग्न छोडेर म आफूलाई अनुभुत भएका केही कुराहरु राख्न चाहन्छु ।
पहिलो, अहिलेसम्म साहित्य अध्ययनबाट मैले सिकेको के भने खासगरी गैर-आख्यान लेखनमा जानकारीहरु ठसाठस भर्नु र आख्यानमा गतिशीलता र नाटकीयता ल्याउनु त्यति गाह्रो काम हैन, जति देखिन्छ । तर जुन सुकै विधाको साहित्य पढ्दा पनि जुन अंग्रेजीमा सब्लिमिटी भनिने मिठास र सौन्दर्य अनुभुत हुन्छ, अनि उत्तेजनाविनै पाठकमा काँडा उमार्ने क्षमता हुन्छ, त्यो अलि दुर्लभ चीज हो । वर्षादी दिनहरु भित्र हराउँदा लामो समयपछि त्यस्तो मिठासको अनुभुति भयो, कम्तीमा मलाई ।
दोस्रो, लेखकले 'अजर अमर मेरा रातहरु' शीर्षकमा उद्धृत गरेका कवि रोबर्ट फ्रोस्टको एउटा कवितांशः
Two roads diverged in a wood
And I,
I took the one less traveled by,
And that has made all the differences
हामीजस्ता धेरै हिंडिएका डोरेटाहरु पछ्याउँदै हिंड्ने मानिसहरुलाई पनि कहिलेकाहीं हाम्रो बाटोको भीडप्रति वितृष्णा जाग्छ र भीडमा हराउनुको पीरले अपलक कम हिंडिएको बाटो हिंड्ने सीमित मानिसहरुलाई हेरिरहने बनाउँछ । त्यो हेराइमा केही पश्चात्ताप, केही हीनताबोध, केही किंकर्तव्यविमुढता र केही लाचारी मिसिएको हुन्छ । जब कुनै फरक बाटो हिंड्ने मानिसले यस्ता बहुसंख्यक मानिसहरुलाई अहंकारपुर्वक खुच्चिङ गर्छ, त्यो अवस्था थप पीडादायी हुने गरेको मेरो अनुभव छ । तर वर्षादी दिनहरुमा मैले त्यस्तो अहंकार भेटिन ।
तेस्रो, पुस्तकमा मेरो मनलाई ज्यादै, भित्रैदेखि उद्वेलित बनाउने केही निबन्धहरु छन्ः 'अजर अमर मेरा रातहरु', 'शंकरः आत्मकथाको प्रतिध्वनि', 'नेपाल देख्दा चिनेजस्तो लाग्छ...' र 'गुल्जारः फुर्सतका रात र दिनमा' । सायमीको रेडियो सगरमाथासितको सम्बन्धमा आएका उतार चढावहरु नेपाली समाजको आम प्रवृत्तिको सोलोडोलो चित्र भएजस्तो लाग्योः एकतिर एउटा प्रतिभा र अर्कोतिर नाफा र घाटाको जोडघटाउ गर्ने नीचता र निकृष्टताका प्रतिकहरु । त्यस्तै नेपाल किन छाड्छौ भन्ने प्रश्न सोध्दा नेपाल किन बस्छस् भनेर प्रतिप्रश्न गर्नेहरुलाई राम्रो उत्तर हो नेपाल देख्दा चिनेजस्तो लाग्छ ।
अनि गुल्जारसम्बन्धी निबन्धमा मेरा प्रिय गायक जगजीत सिंहका 'शामसे आँखमें नमी सी हे' देखि 'दिल ए नादान तुझे हुआ क्या हे' सम्मका गजलहरुसितै उनको सांगीतिक तरक्कीको अन्तर्यबारे चर्चा गरिएको छ ।
अन्तमा, पुस्तकमा खड्किएका केही कुराहरुः पहिलो, गुरु र बम्बईको शरणमा लेखक कहिले र कसरी पुगेको भन्ने कम्तीमा यो पुस्तकबाट खुल्दैन । त्यसभित्र एउटा रोचक र पठनीय कहानी हुनुपर्छ भन्ने मेरो ठम्याइ छ । त्यो नआइसकेको भए आओस् र आइसकेको भए पढ्न पाइयोस् । दोस्रो, ध्रुवचन्द्र गौतमबारे लगायतका केही निबन्धहरुमा रहेको सापेक्षिक फितलोपनलाई चाहिं बाँकी लेखहरुको गतिशीलता र जीवन्तताले राम्रैसँग क्षतिपुर्ति गरेको जस्तो लाग्छ । तेस्रो, निबन्धहरुको प्रवाह र ओजअनुसारको यसको आकार अझै भएन, कम्तीमा दुइ बसाइलाई राम्रैसँग पुग्ने गरी भएको भए अझ राम्रो हुन्थ्यो भन्ने मेरो निजी विचार हो ।
काठमाडौं, २०७०.७.१९, भाइ टिका
No comments:
Post a Comment