अरबौं रुपैयाँ र छ वर्षको समय स्वाहा भइसकेपछि रुन्चे शब्दमा गल्ती स्वीकारेर प्रचण्डले तिनलाई सच्याउने भन्दा अरु धेरै गल्ती गर्न पाउनुपर्छ भनेर दाबी गरेजस्तो बुझिन्छ । कम्तीमा आजको बन्दले त्यो सन्देश दिन्छ ।
आजको बन्दले के देखाउँछ भने माओवादी पार्टी अझै पनि विरोधाभासमा बाँचिरहेको छ । बन्दले त्यो विरोधाभासलाई अझै बढाउने काम गरेको छः अब भविष्यलाई हेरेर बढ्ने कि हिजोको हिसाबकिताबमै अल्झिने?
हिजो जंगलबाट सडकमा झरेर गरेको बन्द र आजको बन्दमा फरक छ । हिजो त्यसले रणनैतिक अर्थ राख्थ्यो किनकि आम मानिसमा भय उत्पन्न गर्नु समग्र युद्ध नीतिको एक हिस्सा थियो । तर आज?
माओवादीको बन्दको मात्र किन, आजको कुनै पनि बन्दको सीधा प्रतिफल के हुन्छ भने मानिसहरुको बन्दकर्ताप्रतिको तिक्तता अझै चुलिएर जान्छ र मानिसले योचाहि दललाई चाहिं भोट दिन हुँदैन है भनेर निर्णय लिन्छन् ।
माओवादीको विरोधाभासको चुरो के छ भने, बहुदलीय प्रतिस्पर्धामा आए पनि भोलि गएर हिजोको मुढेबल प्रयोगको नीति फरक रुपमा कायम राख्ने कि आम मानिसको मन जित्न नयाँ रणनीति अपनाउने भन्ने प्रश्नमै पार्टी दोधारमा रहेको बुझिन्छ । त्यस्तो दोधारे स्थिति जति कायम रह्यो, त्यति नै घातक हुने देखिन्छ ।
प्रचण्डले विगतका गल्ती सम्झंदा एउटा गल्ती बिर्सेको मेरो ठहर छः विगतदेखिका अन्तर्विरोध र विरोधाभासहरुलाई सल्ट्याउँदै जानको सट्टा बल्झाउँदै गएको । जस्तो कि, माओवादी लडाकुहरु समायोजनमा जाने बेला चुनावलाई केन्द्रमा राखेर पूर्व लडाकुहरु सहितको वाइसिएलको गठन गर्नु । तत्कालका लागि, कम्तीमा पनि विगत संविधान सभाको चुनावको नतिजालाई हेर्दा प्रचण्डका त्यस किसिमका निर्णयहरु माओवादी पार्टीका लागि फलिफापजस्तो देखिए पनि दीर्घकालमा अवस्था फरक हुने देखिन्छ ।
माओवादीको वाइसिएल बनाउने लगायत बन्दसहितका हतियार प्रयोग गरेर आफ्नो कुरा आम मानिसमा लाद्ने निर्णय एउटा प्रतिस्पर्धीको त्यस्तो निर्णयजस्तो हो जसले विपक्षीलाई मार्न पेशेवर हत्याराको प्रयोग गर्छ, अनि हत्याराचाहिं विपक्षीकहाँ पुगेर अझ ठूलो रकमका लागि पहिलो प्रतिस्पर्धीलाई मार्न बार्गेनिङ गर्छ । हिजो वाइसिएलको निहँ पारेर एमालेले युथ फोर्स भनिने साँढेहरुको अर्को जत्था बनाउने मौका त पायो नै काँग्रेससमेत तरुण दस्ता बनाउने निर्णयको निकै नजिक पुग्ने अवस्था आयो । आज प्रचण्डलाई एमालेको युथ फोर्स वा युवा संघसित टक्कर लिन अझ अमानवीय साँढेहरुको अर्को जत्था आवश्यक पर्ने देखिन्छ र केही दिन पहिले वाइसिएलको पुनर्गठन भयो वा हुँदैछ भन्ने समाचार सुनिएको थियो ।
सत्तामा पुग्ने सदाकालीन र एउटै एजेण्डा भएको एमालेले त युथ फोर्स लगाएर चुनाव जित्न कोशिस गर्नु त्यति अस्वभाविक देखिंदैन । तर माओवादी त हिजोको रक्तपातको एउटा कर्ताको रुपमा आज त्यसको ऐतिहासिक औचित्य सावित गर्न खोजिरहेको एउटा पक्ष हो । इतिहासका हिसाबकिताबहरु केही वर्ष वा केही चुनावहरुपछि नै टुंगिंदैनन् । त्यसबाहेक पहिलो संविधान सभा भंग हुनुअघि सबैभन्दा ठूलो र जिम्मेवार अवस्थामा रहेको माओवादी नेतृत्वको निरन्तरको लाचारीले अहिले ज्यादै निरीह अवस्थामा पुगेको छ किनकि सत्तामा छँदा रहँदा प्रचण्ड र बाबुराम लगायतले दशक लामो युद्धबाट उत्सर्जित राजनीतिक पुँजी मात्र रित्याएनन् व्यक्तिगत रुपमा पनि आम मानिससम्म नांगिन पुगे ।
यस हिसाबले माओवादीको आजको बन्दले निर्धाको हात छिटो चल्छ भन्ने उक्तिलाई चरितार्थ गरेको देखिन्छः हात छाड्नु निर्धाका लागि सजिलो काम हो तर युद्ध जित्नुचाहिं ज्यादै कठिन ।
अब आयो अधिकारी दम्पतीको अनशन र त्यही हत्याकाण्डसम्बन्धमा एक जना पक्राउ परेको कुरा । आज एक जना पक्राउ पर्दा भोलि सबैको त्यही हालत होला कि भन्ने माओवादी नेतृत्वदेखि कार्यकर्तासम्मको चिन्ता देखिन्छ । यो कुरालाई पनि उनीहरुले एउटा निरपेक्ष समस्याको रुपमा हेरेर बन्द वा बल प्रयोग गरेर सल्टाउने अल्पकालीन उपाय रोजेको देखिन्छ । तर त्यसरी समस्याको समाधान हुने सम्भावना शुन्य प्रायः छ ।
आज समस्या कृष्णप्रसाद अधिकारीको मात्र हैन, हजारौं बेपत्तामध्ये सरकारी पक्षबाट मारिएकाले त न्याय पाएनन् नै, आफूहरुले मारेकालार्ई हामीले मारेका हौं भनेर औपचारिक जानकारी दिएर मृत्यू दर्ता गर्ने र छोराछोरीको नागरिकता बनाउनेसम्म बाटो खुलाइदिएको छैन माओवादीले । अर्कोतिर हिजो कम्व्याटमा मारिएकाबाहेक सबै गैर न्यायिक हत्याहरु गल्तीस्वरुप भएका थिए है भनेर स्वीकारेको पनि छैन । त्यति दूई काम गर्ने हो भने पनि सही अर्थमा माओवादी पार्टीले सशस्त्र युद्धका बेला चेपमा परेका पीडित मानिसहरुको ठूलो हिस्सा सामू शिर उठाएर समर्थन र भोट माग्न जाने ढोका खुल्न सक्थ्यो ।
तर यथार्थ के छ भने समाधान गर्न सकिने समस्या पनि समाधान नगरेर प्रचण्डले शब्दहरुको भुलभुलैयामा आम मानिसलाई चक्कर कटाइरहेका छन् ।
अरबौं रुपैयाँ र छ वर्षको समय स्वाहा भइसकेपछि रुन्चे शब्दमा गल्ती स्वीकारेर प्रचण्डले तिनलाई सच्याउने भन्दा अरु धेरै गल्ती गर्न पाउनुपर्छ भनेर दाबी गरेजस्तो बुझिन्छ । कम्तीमा आजको बन्दले त्यो सन्देश दिन्छ ।
No comments:
Post a Comment