चिकेन खाने कि नखाने?
पत्रपत्रिकाभरि बर्ड फ्लू वा त्यस्तै रोगले कुखुराहरु मरिरहेको र त्यो समाचार व्यवसायीहरुले गुपचुप राखिराखेको समाचारहरु आइरहेका छन् । तैपनि बजारमा चिकेनको माग कम हुने वा भाउ घट्ने अवस्था या त छैन, या त न्यून छ । आखिर के हो बर्ड फ्लू? यो कति खतरनाक छ र किन? यसबाट कसरी बच्न सकिन्छ? यी प्रश्नप्रति आम मानिस बेखबर त छँदैछन्, तत्कालको लाभ हेर्ने व्यवसायीहरुले चाहिं त्यसको प्रचुर फाइदा उठाइरहेको देखिन्छ । समग्रमा हेर्दा र यो भाइरसका वैज्ञानिक पक्षहरु हेर्दा भने त्यस्तो व्यवहारले सबै नेपालीहरु मिलेर आफ्नो सामुहिक चिहान खनेको आभास हुन्छ ।
किन घातक छ बर्ड फ्लू?
बर्ड फ्लूबारे वैज्ञानिकहरु कति चिन्तित र त्रस्त छन् भने, २००३ मा विख्यात भाइरोलोजिस्ट रोबट जी वेब्सटरले भनेका थिएः"The world is teetering on the edge of a pandemic that could kill a large fraction of the human population" अर्थात् संसार त्यस्तो महामारीको मुखमा छ जसले मानव जनसंख्याको उल्लेख्य हिस्सालाई मार्न सक्छ ।
त्यसो किन भने बर्ड फ्लू गराउने भाइरस तीव्र गतिमा आफूलाई परिवर्तन गरिरहने भाइरस हो जसले गर्दा आजको भाइरसका लागि भ्याक्सिन बनायो भने भोलि त्यो भ्याक्सिनले काम नगर्ने नयाँ भाइरस बनिसक्न सक्छ । साथै आज पंक्षीबाट पंक्षीमा मात्र सर्ने भाइरस कुनै पनि बेला म्यूटेसन भनिने प्रक्रियाबाट भोलि नै पंक्षीबाट मान्छेमा र मान्छेबाट मान्छेमा सर्न सक्ने भएर निस्कन सक्छ । अहिलेसम्म त्यसो नहुनुमा भगवान् भरोसा भनिएझैं संयोगवश त्यस खालको म्यूटेशन संसारको कुनै पनि क्षेत्रको भाइरसमा नहुनु हो । बर्ड फ्लू भाइरस जति धेरै समय र धेरै ठाउँमा फैलिन्छ, त्यति नै त्यसमा दिनहुँजसो हुने गरेका म्यूटेसनहरुमध्ये केही घातक पनि हुने सम्भावना बढ्दै जान्छ ।
बेलाबेलामा देखिने स्वाइन फ्लू भनिने उस्तै अर्को भाइरस र यो भाइरसमा के फरक छ भने स्वाइन फ्लू हालसम्म धेरै मानिसलाई लागेको भए पनि त्यसको मृत्यूदर कम छ तर बर्ड फ्लूको भने मृत्यूदर हालसम्मको आँकडामा ६० प्रतिशत छ ।
किन नेपाल चिहान?
संसारकै सबैभन्दा अव्यवस्थित, भद्रगोल र अराजक ठाउँहरुमध्ये शीर्षस्थाननेरै आउँछ नेपाल । यहाँ सरकारी निकाय त आलस्य र अकर्मण्यताले ग्रस्त छँदैछन्, निजी क्षेत्र भोलि छाडेर पर्सिको फाइदा हेर्न चाहँदैन । फलस्वरुप सुचना लुकाइन्छ र त्यो कमै मात्र आम मानिसमा पुग्छ । आम मानिस हामी कस्ता छौं भने हामी आफैंलाइै आजै बर्ड फ्लू वा त्यस्तै रोग लाग्ने निश्चित नभएसम्म हामी शंकास्पद अवस्थाका कुखुराको मासु खान छाड्दैनौं ।
बर्ड फ्लूबारे पहिलो हल्ला चलेको बेला नेपालमा कुखुराको मासुको भाउ बेसरी घटेको थियो । तर त्यसयताका वर्षमा नेपालमा मानिसलाई बर्ड फ्लू सरेको छैन भन्ने तथ्यलाई हामीले बर्ड फ्लू मानिसमा सर्दै सर्दैन भन्ने अर्थमा लिएका छौं । र एकातिर पत्रिकाले व्यवसायीहरुको हर्कत लेखेको हुन्छ, अर्को टेबलमा हामी निर्धक्क चिकेन खान्छौं ।
चिकेन खाने कि नखाने
अवश्य पनि राम्रोसँग पकाइएको चिकेन खाने मानिसलाई बर्ड फ्लू लाग्ने सम्भावना अति न्यून हुन्छ । तर नेपालको विडम्वना के छ भने जहिले सम्म घरमा र रेष्टुरेण्टमा मानिसहरु चिकेन खाइरहन्छन् र कुखुराको मुल्य राम्रै रहन्छ, तबसम्म व्यवसायी र व्यापारीहरुले बर्ड फ्लू भइसकेका तर नमरिसकेका कुखुरासमेत रातारात आपुर्ति गरेर उपभोक्तासम्म पठाइ नै रहन्छन् । र बर्ड फ्लू नियन्त्रण गर्ने कुनै पनि प्रयास सफल हुनुको सट्टा झन् फैलिंदै जान्छ ।
उपाय के?
अहिलेको अवस्थामा नेपालमा बर्ड फ्लू नियन्त्रणको अप्रिय तर एउटै काम गर्न सक्ने उपाय भनेको आम मानिसले केही महिनादेखि केही वर्षसम्मको अवधिका लागि चिकेन खान पूर्णतः बन्द गरेर व्यवसायीहरुलाई गलत व्यवहार गर्नबाट निरुत्साहित गर्नु हो । त्यस्तो कदमका आर्थिक भार धेरै हुन सक्छ र धेरै निर्दोष व्यवसायीहरुले ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ तर यो अवस्था आउनुमा व्यवसायीहरुको एउटा उल्लेख्य हिस्सा र पूर्णतः अचेत आम मानिस दुवै जिम्मेवार भएकाले दुवै पक्षले ठूलै मुल्य चुकाउनैपर्ने हुन्छ । यदि त्यस्तो नगर्ने हो र पंक्षीबाट मानिसमा सर्ने र मानिसबाट मानिसमा सर्ने बर्ड फ्लूको प्रजाति नेपालमा विकसित भएर अन्दाजी १० प्रतिशत मानिसमा संक्रमण हुने हो भने पनि त्यसको ६० प्रतिशत जति वा झण्डै १० लाख मानिसले आफ्नो ज्यान दिनुपर्ने त हुन्छ नै छिमेक हुँदै विश्वभर त्यो फैलिन्छ नै र अकल्पनीय क्षति पुर्याउँछ । दीर्घकाललाई विचार पुर्याउँदा अहिले केही हजारको संख्यामा व्यवसायीहरुले व्यहोर्नुपर्ने क्षति नगण्य हुन पुग्छ ।
निष्कर्ष
चिकेन खानुअघि २ चोटि सोचौंः यो हैन कि मैले खाएको चिकेनले मलाई बर्ड फ्लू सर्छ वा सर्दैन, बरु यो कि मैले खाएको चिकेनका कारण उत्सर्जित आर्थिक गतिविधि र केही कुखुरा व्यवसायीहरुको गलत र अदुरदर्शी व्यवहारका कारण यदि मानिसमा सर्ने बर्ड फ्लू भइदियो भने त्यसले कति लाख मानिसको ज्यान लेला भनेर ।
थप जानकारीका लागि हेरौं विकिपेडियाको यो पेज: https://en.wikipedia.org/wiki/H5N1
No comments:
Post a Comment