हजूरआमा हाम्री आमाको भन्दा अघिल्लो पुस्तालाई हामीले चियाउने एउटा आँखीझ्याल हुनुहुन्थ्यो । इतिहासका पाठ्यपुस्तकहरुले नेपालमा राणाकालको समयलाई राजनीतिको यान्त्रिक आँखाले देखाए भने उहाँले त्यो बेलाको सामाजिक परिवेशलाई जीवन्त बनाएर प्रस्तुत गर्नुभयो । उहाँको आफ्नो जीवन पनि नेपालको राणाकालदेखि पञ्चायत, बहुदलतन्त्र र भीषण सशस्त्र युद्ध हुँदै गणतन्त्रसम्म तन्केको थियो । उहाँले जे भोग्नुभयो, त्यो उहाँको पुस्ताका बाल्यकालमा बिहे गरेर युवाकालमा विधवा हुने तमाम नेपाली हजूरआमाहरुको साझा भोगाइ थियो ।
अघिल्लो सालको असारे झरीको कुरा हो । उत्साह र चिन्ताबीच परिवारमा एउटा नयाँ सदस्यको व्यग्र प्रतिक्षामा हामी थियौं । अचानक समाचार आयोः गाउँमा हजूरआमाको देहान्त भयो ।
पुराना चलचित्रको रिलझैं हजूरआमाको जीवन आँखा वरिपरि घुम्न थाल्यो । उहाँ हाम्रो बाल्यकालको अभिन्न हिस्सा हुनुहुन्थ्यो । उहाँका तीन सन्तानमध्ये तीनै छोरी भएका कारण हामीलाई मामाको न्यास्रो लाग्यो । साथीहरुले मामाघरको बयान गर्दा सानोमा हामीलाई त्यसै इष्र्या लागेर आउँथ्यो ।
तर अहिले आएर हेर्दा हामीलाई हजूरआमा वा बोइले दिएको ममता कुनै मामाको भन्दा पनि बढी थियो भन्ने महसुस हुन्छ । हामी भाइबहिनीहरु ४ जना ६ वर्षभित्रै जन्मेका कारण हाम्रो स्याहारसुसार गर्न आमालाई मात्र हम्मे थियो । त्यो अवस्थामा हाम्रो स्याहार गर्ने जिम्मा उहाँले लिनुभएको थियो ।
हामी जान्ने भएदेखि नै हाम्री बोइको शरीर खिरिलो थियो र ढाड हँसिया आकारमा बांगिएको थियो जसले गर्दा उहाँ उत्तानो सुत्न सक्नुहुन्नथ्यो । सेतोमा कताकती कालो बचेको कपाल, चाउरी परेको अनुहार, फूटेका खुट्टा, यस्तै थियो रुप उहाँको । हाँस्दा आँखा चिम्म गरेर नझरेका तर काला काला भएका अघिल्ला दाँतको लहर देखाएर हाँस्नुहुन्थ्यो र रुन पनि पत्तै नपाइ रुनुहुन्थ्यो, कुरा गर्दा गर्दै आँखाका कोशहरु भिजिसकेका हुन्थे । छोरा पाउन नसकेको पीडामा उहाँले जीवनभर कति चोटि ती आँखाबाट आँशु बगाएर कति फरियाको सप्कोले पुछ्नुभयो, त्यसको हिसाब गरेर सकिंदैन ।
तर जब जाडो महिना सकिने बेला साँझ पर्ने बेला सोली बोकेर फलेवासबाट बोइ आउनुहुन्थ्यो, हामीलाई चाड आइहाल्थ्यो, त्यो सोलीमा खानेकुराका पत्रैपत्र हुन्थे । सेलरोटी, झिलिंगा, मौसम अनुसारका फलफूल अनि कतै कुनामा उहाँको बिग्रिरहने पेट खलास गर्न हाजमोलाको एउटा बट्टा पनि त्यहाँ भेटिन्थे । कुरा गर्न थालेपछि सासै नबिसाइ कुरा गर्नुहुन्थ्यो अनि हामी कहिल्यै औलमा जान नपाउने लेकका दुखी मनुवाहरुलाई फलेवासका कहानी सुनाउन थाल्नुहुन्थ्योः त्यहाँ कति धेरै पढेलेखेका मानिसहरु छन्, तिनले कसरी पहिलो प्रयासमै एसएलसी पास गर्छन् अनि कसरी जागिर खाएर पैसा कमाउन थाल्छन् । सम्म बसेको फलेवासको उहाँको बयानले हामीलाइ लोभ्याउँथ्यो, हामी बस्ने लेकमा त जताततै उकालो ओरालो र भीरबाहेक केही थिएन ।
हामी हुर्कंदै गर्दा बोइको जीवनका सजिलै नदेखनिे पाटाहरु पनि बुझ्दै गयौं । खासगरी बर्षे बिदामा दिनभर घर बसेर असारमा बिउ काढ्ने अनि कोदालो खन्ने र कोदो रोप्ने काम गर्दा उहाँले आफ्ना भोगाइहरु आद्योपान्त सुनाउनुहुन्थ्यो । उति खेर खुशी हुने अनि उति खेरै उदास हुने उहाँको बानी जेठ असारको मौसमजस्तै हुन्थ्योः उतिखेरै कञ्चट तताउने घाम लागेर उति नै खेर मुसल्धारे पानी परेजस्तो । उहाँ पखर्चौर भनिने पर्वतको एउटा गाउँका सापेक्षतः सम्पन्न मानिसकी जेठी छोरी । १२ वर्ष जतिको उमेरमा हाम्रा जिजुबाले उहाँलाई फलेवासका ५५ वर्षे मुखियालाई सुम्पेका बिहे गरेर दिएका । आमासमानकी सौताबाट जन्मेका उहाँभन्दा तीन वर्ष कान्छा मामालाई बचाउन अर्को बिहे गर्नुपर्छ भनेर कुनै पण्डितले भनेकै कारण हजूरबाले त्यो उमेरमा बिहे गरेका थिए रे उहाँलाई । केही वर्षको फरकमा तीन वटी छोरी पाएपछि केही वर्षमै हजूरबाको देहान्त भयो र शुरु भयो हाम्री बोइको म्याराथन वैधव्य जीवनको यात्रा ।
५ दशक लामो विधवा जीवनमा उहाँले जे भोग्नुभयो, त्यो भोगाइमा नेपालको सामाजिक जीवनका ती ५ दशकको ऐना हेर्न सकिन्छ । छोरो नपाएकी विधवाको रुपमा समाजले हेला गर्दा कसरी उहाँ डटेर काम गर्नुभयो र कहिलेकाहीं विरक्तिको चरम सीमामा पुगेर कालीगण्डकीमा पुगेर छोरीहरुको मुख सम्झेर कसरी हाम नफाली फर्कनुभयो, ती कहानीले हाम्रो बाल मस्तिष्कमा गहिरो छाप छोडेका छन् । सुत्केरी हुँदा पनि एक घण्टा हिंडेर आफैं पानी बोकेर खानु परेको, असारमा दिनभर अर्काको मेलामा काम गरेर उनीहरुले दिएको नास्ताचाहिं पोको पारेर आमाहरुलाई ल्याइदिएको, असारमा कोदो रोप्न गएर दोब्बर पैसाका लागि लोग्नेमानिसले जस्तै दिनभर कोदाले खनेको– हाम्री बोइका यस्ता दुखको बयान गरेर साध्य नै छैन ।
जति दुख गरे पनि उहाँबाट नजन्मेको छोरोको अभाव खट्किन कहिल्यै छोडेन । हामीकहाँ पनि कसैसँग सामान्य भनाभन भयो भने पनि छोरा नभएकाले यिनीहरुले मलाई हेपे भनेर उहाँ केटाकेटीजस्तो मन बनाएर रोइहाल्नुहुन्थ्यो ।
त्यसो त त्यो उहाँको एक्लो दुख थिएन । ३ वटी छोरीहरु हुर्केपछि तिनलाई बिहेदान गरेर दिनु अर्को महाभारत थियो । दिइसकेपछि तिनले दुख पाए भनेर दुखेसो अर्को । खास गरी सबैभन्दा लेकमा परेकी हाम्री आमाले दुख पाउनुभयो भनेर उहाँले आफूलाई पछिसम्म धिक्कार्नुहुन्थ्यो र हामीलाई समेत कल्पनालोकमा पुर्याउनुहुन्थ्योः यदि तिमीहरु औलमा जन्मेको भए यो जुका लाग्ने पाखामा घाँस काट्न पर्थेन, राम्रो स्कुलमा पढ्ने थियौ, आदि आदि ।
त्यति हुँदा हुँदै पनि उहाँका सुखका ७नतसोत पनि हुँदै नभएका हैनन् । आफ्नो छोरा नभए पनि उहाँका तीनै छोरीलाई पुत्रलाभ भयो र तीन छोरीका छ थान नातिहरुलाई हुर्काउने सौभाग्य उहाँलाई मिल्यो । अर्को, जीवनमा उहाँ आफू कसैको ऋणी हुनुभएन बरु हामी चार भाइबहिनी लगायत नौ जना नातिनातिनीलाई ऋणी बनाउनुभयो । झण्डै ८२ वर्ष बाँचेर पनि मर्नुभन्दा एक घण्टा अघिसम्म टाँठै रहेर कसैलाई दुख नदिइ जानुभयो । त्यो उमेरसम्म पनि मानिसहरुले बत्ती कात्ने वा टपरी लगाउने वा मकै छोडाउनेजस्ता काममा उहाँको सेवाको अपेक्षा गर्थे तर उहाँ आफैंले कहिल्यै कसैको सेवाको अपेक्षा गर्नुभएन ।
संस्कार न हो, उहाँका सबै नातिनातिनीहरु पखेटा लागेर केही गर्ने भइसकेपछि पनि उहाँको गुनासो एउटै हुन्थ्योः यिनीहरुलाई केही दिन पाइन । ३, ४ वर्ष पहिले भेट्दासम्म पनि हामीबाट केही आशा गर्नु त कता हो कता उल्टै ५० वा १०० रुपैयाँ हातमा थमाएर भन्नुहुन्थ्योः बाबु धेरै दिन सक्दिन म गरीबले, यसको चिया खाएस् । एक पल्ट अल्पभाषी कान्छो उहाँलाई भेट्न जाँदा तरकारीमा नुन हाल्न बिर्सनुभएछ, ऊ जवानले बोल्नको कष्टले अल्नै लप्काइदिएर हिंडेछ । पछि आफूले खाँदा त अल्नो । नातिलाई अल्नो ख्वाएर पठाएं भनेर उहाँ कति दिन रन्थनिनुभयो र वर्षौंसम्म पनि थकथकी गर्नुहुन्थ्यो ।
हो, त्यस्ती हाम्री हजूरआमा नरहनुभएको अब एक वर्ष पनि पुग्यो । जीवनभर उहाँको सेवा लिने धेरैले अब उहाँलाई बिर्संदै छन् । उहाँको अन्त्येष्टीमा जान पनि पाइएन र हामीले पनि उहाँलाई बिर्सेको जस्तै भयो । तर जीवन र जगत्का बारेमा आमापछि हामीलाई सबैभन्दा धेरै सिकाउने व्यक्ति उहाँ हुनुहुन्थ्यो । बेस भयो सासु भन्ने लाटोको कहानीदेखि एउटा प्रतिभासम्पन्न अल्छीको कथा हामीलाई उहाँले नै भन्नुभएको थियो । सारमा भन्नुपर्दा उहाँ हाम्री आमाको भन्दा अघिल्लो पुस्तालाई हामीले चियाउने एउटा आँखीझ्याल हुनुहुन्थ्यो । इतिहासका पाठ्यपुस्तकहरुले नेपालमा राणाकालको समयलाई राजनीतिको यान्त्रिक आँखाले देखाए भने उहाँले त्यो बेलाको सामाजिक परिवेशलाई जीवन्त बनाएर प्रस्तुत गर्नुभयो । उहाँको आफ्नो जीवन पनि नेपालको राणाकालदेखि पञ्चायत, बहुदलतन्त्र र भीषण सशस्त्र युद्ध हुँदै गणतन्त्रसम्म तन्केको थियो । उहाँले जे भोग्नुभयो, त्यो उहाँको पुस्ताका बाल्यकालमा बिहे गरेर युवाकालमा विधवा हुने तमाम नेपाली हजूरआमाहरुको साझा भोगाइ थियो । यो समाज र राष्ट्रका लागि उहाँको योगदान शुन्य होला तर कम्तीमा हामी नौ जना मानिसहरुका लागि भने उहाँले दिएको योगदानलाई जति प्रशंसा गरे पनि पुग्दैन ।
No comments:
Post a Comment