जीवन जिउनका लागि शुन्यवादजस्तो झूर दर्शन संसारमा कहीं कतै छैन होला तर जिन्दगीको यो वा त्यो क्षणमा शुन्यता र निस्सारताको अनुभव नगर्ने मान्छे पाउन गाह्रै पर्ला ।
कुनै बेला थियो, सबैभन्दा दिक्कलाग्दो र निरर्थक किताबको नाम सोध्यो भने म भन्थेंः शिरीषको फूल । कति प्रयास गर्दा पनि एकैचोटि धेरै पाना नफर्काएसम्म त्यो पुस्तक सकिएको मलाई याद छैन । त्यस्तो किताबका लागि पारिजात जस्ती नाम चलेकी स्रष्टाले किन शब्द खर्च गरेकी होलिन् र मानिस त्यो किताबको किन सराहना गर्छन् होला भन्ने मेरो जिज्ञासा मेटिएकै थिएन ।
तर अस्ति आएर एक बसाइमै त्यो पुस्तक पढिसिध्याउँदाचाहिं लाग्यो, साहित्यको अस्तित्वका लागि स्रष्टाको कृतित्व र पाठकको ग्रहण शक्ति दुवैको तालमेल आवष्यक पर्दोरहेछ । मैले शिरीषको फूल यस अघि मन नपराउनुमा त्यही तालमेलको अभाव भएको मैले महसूस गरें । मैले पछिल्लो पल्ट त्यो पुस्तक पढ्ने प्रयास गरेयता ममा धेरै परिवर्तनहरु आएछन् भन्ने पनि मैले महसूस गरैं ।
त्यस्तो पहिलो परिवर्तन थियोः मैले जीवनलाई, विश्वलाई, समाजलाई, साथीहरुलाई, नायकहरुलाई, स्रष्टाहरुलाई अनि तिनका कृतिहरुलाई पहिलेझैं श्याम–श्वेतमा हेर्न बन्द गरेछु र सेतो र कालोको बीचमा खैरो क्षेत्र पनि हुन्छ र कति अवस्थामा दुवै अतिभन्दा बढी महत्व त्यो मध्यभागको हुन्छ भन्ने सिकेछु । जीवन जिउनका लागि शुन्यवादजस्तो झूर दर्शन संसारमा कहीं कतै छैन होला तर जिन्दगीको यो वा त्यो क्षणमा शुन्यता र निस्सारताको अनुभव नगर्ने मान्छे पाउन गाह्रै पर्ला । जसरी सबै साहित्य जति शुन्यवादी होस् भन्नु अव्यवहारिक छ, साहित्यमा शुन्यवादको प्रवेश नै नहोस् भन्नु त्यति नै अवान्छित लाग्छ मलाई अहिले ।
अर्को परिवर्तन थियो, यसबीच मैले केही युगान्तकारी आख्यान कृतिहरु पढेको थिएँ जसले केही पृष्ठमै मानव सभ्यताका लाखौं वर्षहरुको अवधिमा यो जातिले विकास गरेको चरित्रको एउटा सोलोडोलो चित्र खिच्न सकेका छन् । त्यस्तो एउटा सिर्जना होः आन्तोन चेखवको कथा वार्ड नं सिक्स । (त्यस्ता कृति पढेपछि कहिलेकाहीं आफूले लेखक बन्ने धृष्टताका साथ गरेका सिर्जनाहरु जलाएर अबदेखि नलेख्ने प्रण गरौं कि जस्तो पनि लाग्छ ता कि त्यस्ता महान् कृतिहरुको अपमान नहोस् ।) शिरीषको फूल यसपटक पढ्दा त्यो बूढो रक्स्याहा सुयोगवीरलाई चेखवको कथाको डाक्टरसँग दाँजिहेरेंः कृतिमा जीवन पछ्याइएको छ फगत एक जनाको तर त्यसले कथा भन्छ सयौं, हजारौंको मात्र हैन। समग्र मानव सभ्यताको एक चरणको ।
तेस्रो, सबै लेखकले सबै कृतिमा सबै किसिमका पात्र र पाठकका लागि न्याय गर्न सक्दैनन् भन्ने मेरो आविष्कार पनि नयाँ नै हो । जसरी आख्यानको केन्द्रमा एउटा वा सीमित पात्र हुन्छन्, त्यसै गरी आम मानिस वा आम पाठकमध्ये निश्चित जीवन दर्शन र मनोदशाको निश्चित अवस्थाका मानिसहरुलाई मात्र मज्जासँग छुन्छ एउटा कृतिले । अरुले पनि विभिन्न हदसम्म त्यो कृतिबाट आनन्द प्राप्त गर्न सक्छन् तर त्यसको तुलना पहिलो किसिमको आनन्दसँग हुनै सक्दैन ।
यसबाहेक ६६ पृष्ठजतिको र केही घण्टाको बसाइमै सिद्धिने शिरीषको फूलको सारांश यहाँ खिच्नु जरुरी लाग्दैन मलाई र जरुरी नै भए पनि त्यो कथालाई न्याय गर्दे केही शब्दमा झार्न सक्छु भन्ने आँट ममा छैन । तर शिरीषको फूल सुयोगवीर र सकमबरीको निजी कथा मात्र रहेनछ, ती त खाली माध्यम रहेछन् समग्र मानव जातिको मनमा घरी घरी बास गर्ने शुन्यता, निस्सारता, आत्म ग्लानि, अकर्मण्यता, क्षीणता र किंकर्तव्यविमुढताको कथा भन्ने । ती पात्रका जीवनका अवरोह–अवरोह हरुलाई पारिजातले यति कोमलताका साथ चिधित गरेकी छन् कि पढ्दै जाँदा कैयौं कुमारी युवतीहरुलाई बलात्कार गरेर मारेको जँड्याहा बूढो सैनिकप्रति समेत सहानुभुति उब्जने अवस्थाको निर्माण हुन्छ पुस्तकमा, एक चुम्वनको विषले नै मरेर जाने सकमबरीका त के कुरा ।
कक्षा १२ पढ्दाको कुरा हो, वर्ष भर नेपाली विषयका सबै पाठहरु सकेपछि तिनको सारांश लेखेर ल्याउनु मेरो ठेक्काजस्तै थियो किनकि साथीहरुले त्यति जाँगर चलाउँदैनथे । मैले लेखेर ल्याउने सन्तुलित पाराको सारांश सबैका सामू पढेर अनि केही छलफल गरेर गुरुले एउटा कक्षा टुंग्याउनुहुन्थ्यो हरेक नयाँ पाठपछि । तर विश्वेश्वरप्रसाद कोइरालाको सिपाही पढेपछि म यति विचलित भएँ कि त्यसको कटू आलोचना गरेर लेखेर लगें, सन्तुलनको कुरा कता गयो कता । पढ्दा पढ्दै गुरु त झल्याँस्स । कारण के थियो भने नारीवाद र माक्र्सवाद मेरा त्योबेलाका पथप्रदर्शक सिद्धान्तहरु थिए । गौंडैपिच्छे तरुनी खोज्दै हिंड्ने र गाउँमा बिहे गरेर छाडेकी स्वास्नी र केटाकेटीलाई मतलब नगर्ने कथाको मूल पात्र सिपाहीको व्यवहार निन्दनीय लाग्यो मलाई र त्यो पात्रको चरित्र चित्रण मार्फत् बि पि जस्तो मानिसले पनि त्यस्तो व्यवहारलाई स्वीकार्य देखाउन लागेको जस्तो लाग्यो र त्यो सारांशमा म उनीविरुद्ध खनिएँः यो कथालाई खास कथाको दर्जा दिनै मिल्दैन ।
अहिले नारीवाद र माक्र्सवादमा त्यति खरो नलागे पनि म तिनलाई खण्डन गर्ने वा मेरो उहिलेको बुझाइलाइै निन्दा गर्ने स्थितिमा छैन । अझै पनि कति व्यवहारिक कुरालाई हेर्दा म यी दुइमध्ये एकको चस्माबाट हेर्ने गर्छु र समाज बुझ्ने हाम्रो प्रयासमा यिनले ल्याएको सहजता र नवीनताले पुलकित हुन्छु । तर अब मैले कोइरालाको सिपाही पढ्दा नारीवाद र माक्र्सवाद दुवैको चस्मा फूकालेर हेर्छु र त्यसको सुन्दरताले मलाई लठ्याउँछ । मनोविज्ञान र खास गरी यौन मनोविज्ञानको चित्रणमा विश्वेश्वरप्रसाद कोइरालाको खुबीलाई प्रशंसा नगरी रहन गाह्रो हुन्छ ।
शायद कुराको चुरो यही हो, मलाई पहिले मन नपरेको शिरीषको फूलले अहिले आएर मलाई यति मोहित बनाउनुको । पढ्न खोजेको थिएँ अपर्झट दराजमा फेला परेको शिरीषको फूललाई, तर आविष्कार गर्न पुगें, व्यक्तिको रुपमा आफैंमा आएको परिवर्तनको । शायद यो बुढ्यौलीको लक्षण पो हो कि, कम उमेरमै आफू बदलिएको महसुस गर्ने मानिसहरु कमै देखेको छु ।
अन्तमा एउटा स्पष्टीकरणः म एउटा आम पाठक हुँ, समीक्षक हैन । कहिलेकाहीं समीक्षात्मक टिप्पणीहरु लेखिटोपल्छु, त्यो अर्कै कुरा हो । यदि कोही नियमित पाठकमा मैले किन यस्ता लेखमा खास कृतिको सराहना मात्र गर्छु भन्ने जिज्ञासा छ भने त्यसको उत्तर यो होः जुन कृतिले मलाई छुँदैन र आन्दोलित बनाउँदैन, त्यसमाथि शब्द खर्च गर्ने लेठो गर्दिन । जुनले मलाई छुन्छ, त्यसमाथि म उदारतापूर्वक शब्दहरु खन्याउँछु ।
For more reviews: Click here.
No comments:
Post a Comment