Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Monday, May 21, 2012

नेपाली राष्ट्रियताः हिजो, आज र भोलि


पृष्ठभुमि


को नेपाली हो, को हैन  ?; नेपालीमध्ये को कति नेपाली हो नेपाली भाषाले नेपालीपनलाई कति प्रतिनिधित्व गर्छ ?; के राष्ट्रियतालाई मानिस जन्मेको भुगोलले मात्र परिभाषित गर्छ ?; के राष्ट्रियतालाई सरल रुपमा परिभाषित गर्न सकिन्छ ?; के राष्ट्रियता देश, काल र परिस्थितिभन्दा निरपेक्ष हुन्छ  ?; धेरैतिर चिन्ता जनाइएजस्तै के अहिले नेपाली राष्ट्रियतामाथि बज्रप्रहार भएकै हो त ?; कुनै समय यी प्रश्नले मानिसको त्यति ?; ध्यान तान्दैनथे तर अब त्यो अबस्था रहेन । वर्जित र महत्वहीन मानिएका अरु थुप्रै विषयहरुमा पनि अहिले जमेर बहस भइरहेको छ र तिनबाट हामी पछि हट्नुपर्ने कुनै कारण छैन ।



संघीयता र राज्य पुनर्संरचनाको प्रमुख कार्यभार (संघीय एकाइहरुको सीमांकन र नामांकन ) पछिलाई सारेर दलहरुले यी विषयका यावत् मुद्दाहरुबारे बहस गर्न हामीलाई अनिश्चितकालीन समयावधि दिएका छन् । बन्द गरेर सडकमा अस्तित्व जनाउने बलमार्गीहरु अहिले सडक खोसाखोस गर्नमा व्यस्त छन् । सामाजिक संजाल ओगटेर बसेका धेरै मानिसहरुमध्ये एउटा गालीमार्गी हिस्साले आफ्नो सम्पुर्ण शक्ति लगाएर कुकर्मीहरुलाई उचित मार्गमा ल्याउने असम्भव उद्योगमा जुटेको छ र तिनका कुनै घत लाग्दा र कुनै डरलाग्दा गालीवाणीहरु हेरेर समग्र समाजको मनोदशाको आँकलन गर्न सकिन्छ ।


बलदँजाइ र गाली बाहेक बहसको तेस्रो मार्ग रोज्नेहरुलाई बहस गर्न अहिले विषयको खाँचो छैन, त्यसैले आउनोस् अहिले अपुर्व तरल अवस्थाबाट गुज्रंदै गरेको नेपाली राष्ट्रियताबारे केही कुरा गरौं ।


राष्ट्रियता भनेको के हो?


अंग्रेजी शब्द nationality लाई सामान्यतः राष्ट्रियता भनेर उल्था गर्ने गरिन्छ । तर अरु थुप्रै शब्दजस्तै यी शब्दको भावचाहिं एकअर्कासंग दुरुस्त मिल्दैन । कहिलेकाहीं व्यापक अर्थमा प्रयोग गर्ने गरिए पनि सामान्यतया अंग्रेजीको nationality शब्दले खास देशको नागरिक भनेर एउटा स्पष्ट वस्तुगत अर्थ दिन्छ । नेपालीमा भने राष्ट्रियता शब्दले त्यो निश्चित अर्थबाहेक अ‍ेग्रेजी शब्दहरु nationalism, patriotism जस्ता शब्दले दिने केही भाव पनि प्रकट गर्छ । त्यस्तै अराष्ट्रिय भन्ने शब्दले चाहिं anti-national भन्दा पनि unpatriotic भन्ने भाव बढी प्रकट गर्छ ।


यस अर्थमा हाम्रा लागि राष्ट्रियता शब्दले ठुलो महत्व राख्छ र राष्ट्रियतालाई जोगाइराख्नु, त्यसको संवर्धन गर्नु, र मजबुत पार्नु जस्ता अवधारणाहरु हाम्रो समाजमा बलियो रुपमा उपस्थित छन् । त्यसरी नै हाम्रो समाजमा राष्ट्रियताको निर्माण र विनिर्माणका प्रक्रियाहरु पनि जटिल र संवेदनशील रहेका छन् । राज्य पुनर्संरचनाको सन्दर्भमा भइरहेका बहसहरुमा राष्ट्रियतालाई अक्सर एउटा स्थुल तत्व वा स्थिर प्रकृतिको भावको रुपमा चित्रित गर्ने गरेको पाइन्छ । त्यसको विपरित खासमा चाहिं कुनै भौगोलिक क्षेत्रभित्र राष्ट्र स्थापित भएसंगै आउने राष्ट्रियता भन्ने तत्वचाहिं मानिसको वर्ण वा नश्लजस्तो निरपेक्ष र अनन्तकालसम्म त्यही रुपमा रहने चीज हैन (रुपमा त्यस्तो लागे पनि कम्तीमा सारमा त्यसो हुने गर्दैन) । बरु व्यक्ति र राज्यबीच निरन्तर चलिरहने खास प्रकृतिको (सकारात्मक र नकारात्मक )अन्तक्र्रियाले चाहिै निश्चित ऐतिहासिक कालखण्डमा नागरिकहरुमध्ये कतिका लागि राष्ट्रियताले कस्तो अर्थ राख्छ भन्ने कुरा निर्धारित गर्छ र त्यसको समग्र रुप निर्धारण गर्छ ।


त्यसैले पनि जसरी इतिहासको निश्चित कालखण्डमा निश्चित भुगोलमा बस्ने मानिसहबीच खास रुपका सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक सम्बन्धहरुले राज्यको रुप निर्धारण गर्छन् र राज्यका रुपहरु विविध हुन सक्छन्, त्यसरी नै ती भौगोलिक सीमाभित्रका मानिसहरुबीच विकसित हुन जाने सामुहिक अपनत्व, आत्मीयता र अन्तक्र्रियाले त्यो राज्यका लागि राष्ट्रियताको प्रकृति कस्तो हुने भन्ने कुरा निर्धारण गर्दै जान्छन् ।




नेपाली राष्ट्रियताः विश्व परिवेशको सापेक्षमा


राष्ट्रियतालाई कालो र गोरो मानिस भनेझैं ठोस रुपमा परिभाषित नगर्ने हो भने यति भन्न सकिन्छः २०६३ सालअघिसम्म हामीले बुझ्दै आएको नेपाली राष्ट्रियता र त्यसपछिको समयमा निर्माणको क्रममा रहेको नेपाली राष्ट्रियता दुई भिन्नरुपले परिभाषित गर्न सकिने चीज हुन् । त्यसो किन र कसरी हुन गयो भन्ने कुराचाहिं केही विस्तारमा यसअघिका आलेखहरुमा चर्चा गरिएको छ र त्यो आफैंमा अर्को बहसको विषय हो ।




यस लेखमा भने इतिहासको यो कालखण्डमा नेपाली राष्ट्रियताले किन यो स्तरको चुनौती र परीक्षणको क्षणबाट गुज्रिनुपर्यो भनेर चर्चा गरिनेछ । पृथ्वी नारायण शाहले झण्डै अढाइ शताब्दीअगाडि कल्पेको नेपाली राष्ट्रियता त्यतिबेलाको सामन्तवादी परिवेशको उपज थियो । त्यतिबेला युरोपमा विकसित हुँदै गरेको पुँजीवाद विश्वस्तरमा चाहिं शैशवकालमै थियो । सामन्तवादको जग राजा र रैती, मालिक र नोकर, जमिन्दार र कमैया जस्ता असमान तत्वहरुमा अडेको हुन्छ । त्यही असमानताकै आडबलमा त्यो व्यवस्था टिकेको हुन्छ किनकि त्यही असमान सम्बन्धले नै त्यो व्यवस्थाको उत्पादन प्रणाली धानेको हुन्छ । देश र काल अनुसार उक्त व्यवस्थामा निश्चित जात, रङ वा सम्प्रदायका मानिसहरुले अरु समुदायका मानिसहरुलाई दमन गर्नु पनि सामान्य नै हुन्छ । त्यस्तो समाजमा सामाजिक जीवनका अरु आयामहरु झैं राष्ट्रियतालाई पनि तिनै असमान सम्बन्धहरुले प्रभावित गरेका हुन्छन् ।


संसारबाट सामन्ती व्यवस्थाहरु बढारिंदै जाँदा वर्ण, जात, धर्म, भुगोल, आदि ज्यक्तिले आजन्म बोकेर आउने असमानतामा आधारित राष्ट्रियता पनि खोक्रो हुँदै गयो । र तीव्र रुपमा औद्योगिकीकरण हुँदै गएका पश्चिमा मुलुकहरुमा राष्ट्रियताको नयाँ आधारको जन्म भयोः पुँजीवादी अर्थतन्त्र र प्रजातान्त्रिक राजनैतिक प्रणालीअन्तर्गत निश्चित राज्यले नागरिकलाई प्रदान गर्ने अवसर र सुरक्षाभित्र विना भेदभाव आर्थिक समृद्धि गर्ने मौका । कालान्तरमा नयाँ प्रक्रियाअन्तर्गत ती विकसित देशहरुमा व्यक्तिले आजन्म बोकेर आउने असमानताले खेल्ने भुमिका घट्दै गए पनि नव निर्मित वर्गीकरण (धनी र गरीव हुनु)ले चाहिं व्यक्तिको पहिचान बनाउनमा खेल्ने भुमिका बढ्दै गयो ।


पुँजीवादी अर्थ प्रणाली र प्रजातान्त्रिक राजनैतिक व्यवस्थाको युरोप र उत्तर अमेरिकामा सफल प्रयोग भए पनि विश्वका अरु भागहरुमा निर्यात हुँदासम्म चाहिं तिनको रुप त्यही रहेन । पुँजीवादी औद्योगिक क्रान्तिताका उच्च मात्रामा उत्पादित वस्तुहरु बिकाउन मात्र पनि उनीहरुलाई बढीभन्दा बढी विस्तारित बजारको आवस्यकता पर्न गयो । उल्लेख्य रुपमा, त्यसक्रममा उनीहरुले विश्वभर फैलाएका साम्राज्यहरुले चाहिं आफ्ना उपनिवेशहरुमा आफ्नो उच्चता कायम राख्न सामन्तवादका संरचनाहरुको सहारा लिए र विश्वमा पुँजीवादको विकास अति असमान पाराले भयो । फलस्वरुप पुँजीवादी विश्व व्यवस्थाको केन्द्रमा रहेका पश्चिमा देशहरु र तिनबाहेकको विश्व भुगोलमा राष्ट्रियताको सार र रुप दुवै विल्कुल फरक रुपमा विकसित हुँदै आए । फलस्वरुप प्रत्यक्ष रुपमा युरोपेली साम्राज्यका शिकार भएका एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका अधिकांश देशहरुमा त नवोदित राष्ट्रियताको जन्म नै ती साम्राज्यले लादेका अन्याय र दमनको प्रतिक्रियास्परुप भयो र  तिनको आधार शिला नै उपनिवेशवादको विरोध हुन पुग्यो ।


अर्कोतिर पुँजीवादी प्रणाली विकसित भएसंगै बढेको आर्थिक असमानता र त्यो व्यवस्थाले लादेको वर्ग विभाजनको प्रतिक्रिया स्वरुप बीसौं शताब्दीभर पुँजीवादको समानान्तर रुपमा विश्वका विभिन्न भागमा साम्यवादी व्यवस्थाहरुको जन्म र विस्तार भयो जहाँ राष्ट्रियताको विल्कुलै अलग आधारको विकास भयोः समान वा कम्तीमा पनि समानताउन्मुख समाज निर्माण गर्ने संकल्प । व्यवहारमा चाहिं दशकौंसम्म पुँजीवादी र साम्यवादी शक्तिहरुबीच चलेको शीत युद्धमा दुवै खेमामा एकअर्काप्रतिको घृणा र वैमनस्य तथा एकअर्कालाई परास्त गर्न वा कम्तीमा प्रभाव कम गर्न चलिआएको प्रतिस्पर्धाले दुवैतर्फका मानिसहरुलाई खास विशेषतासहितको आफ्नो राष्ट्रियतालाई मात्र नभएर अन्तर्राष्ट्रिय अवस्थितिलाई पनि निश्चित रुप दियो ।


झण्डै दुई दशकअघि सोभियत संघको पतनसंगै शीत युद्धको अन्त भएपछि चाहिं विश्वभर पुँजीवादको एकछत्र रजाइँ चलिआएको छ र समाज तथा राज्यहरुको संरचनामा यो विश्वव्यवस्थाको प्रभाव बढ्दो छ । विश्वको हरेक कुनाका समाजहरु विश्व पुँजीवादसंग गाँसिदै जाँदा तिनमा आजसम्म कायम रहेका सामन्तवादका निशानाहरु पनि मेटिने क्रममा छन् । खास गरी भुमण्डलीकरणको पछिल्लो चरणलाई आफुअनुकुल प्रयोग गरेर तीव्र आर्थिक प्रगति हासिल गरिरहेका भारत र चीनजस्ता मुलुकहरुमा त समाजको आर्थिक मात्र नभएर सामाजिक जीवनमासमेत विश्वपुँजीवादले महत्वपुर्ण भुमिका खेल्ने गरेको छ । फलस्वरुप व्यक्तिको पहिचान, उसले राज्यबाट राख्ने अपेक्षा र उसले राज्यका लागि दिन सक्ने योगदान आदिको प्रकृति परिवर्तन भएसंगै राष्ट्रियतालाई व्यक्तिले बुझ्ने प्रक्रिया पनि बदलिंदो छ ।


नेपाली राष्ट्रियताको विशिष्टताः हिजो


विश्व पुँजीवादसंग केही हदसम्म समेटिए पनि त्यसबाट यथोचित लाभ लिन नसकेर कक्रिएको अर्थतन्त्र भएका नेपालजस्ता देशहरुमा चाहिं माथि भनिएजस्तो प्रक्रियाले उचित गति लिन सकेको छैन । सुचना प्रविधिले खुम्चिंदै गएको विश्वमा मानिसहरुको राजनीतिक चेतना द्रुत गतिमा बढे पनि त्यसअनुसारका आर्थिक अवसरहरु प्रदान गर्ने गरी आर्थिक विकास हुन नसक्दा एउटा अलमल र किंकर्तव्यविमुढताको अवस्था विद्यमान छ । थुप्रै प्रयोगहरुको असफलतापछि राजनेताहरु आफैं दुविधामा परेजस्ता देखिन्छन् र तलदेखि माथिसम्म अराजकता व्याप्त छ । यस्तो अवस्थामा राष्ट्रियताजस्तो जटिल र संवेदनशील विषयमाथि खोजबिन गर्नु ज्यादै चुनौतीपुर्ण हुन्छ । त्यसैले आज विकसित हुँदै गरेको नेपाली राष्ट्रियतालाई बुझ्न हिजो सम्मको फरक तर तुलनात्मक रुपमा बढी सरल राष्ट्रियताको पृष्ठभुमि बुझ्नै पर्ने हुन्छ ।


पञ्चायतताका अति प्रचलित नारा थियोः हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ । त्यो यथार्थभन्दा पनि एउटा शक्तिशाली विम्ब थियो । हुन सबैलाई आफ्नो प्राणभन्दा प्यारो केही थिएन र शाब्दिक अर्थ हेर्ने हो भने त्यो एउटा सफेद झुट थियो । तर त्यसको अंग्रेजीमा कनोटेशन भनिने भावनात्मक अर्थ यति विशाल थियो कि कति राजावादीहरु अझै पनि हिजो त्यो वाक्यले उब्जाउने गरेको न्यानोपन, अस्तित्वबोध र सामुहिकताप्रति नोस्टाल्जिक हुँदै आजको अव्यवस्थाबाट साँच्चिकै दुखी हुन्छन् । कम्तमिा पनि शाहवंश शुरु भए यता राजाहरुले व्यक्तिको रुपमा  र राजसंस्थाले संस्थाको रुपमा देश र जनताका लागि गरेका तथा गरेका भनिएका सबै काम र पुर्याएका योगदान र त्यसप्रति नेपाली रैतीहरु कृतकृत्य भएर कृतज्ञता जनाइरहेको अवस्थालाई अति संक्षिप्त र सारपुर्ण तरिकाले जनाएकैले त्यो वाक्य त्यो कालमा त्यति प्रचलित थियो । र त्यो वाक्यजस्तै त्यस कालखण्डको नेपाली राष्ट्रियता पनि सरल र परिभाष्य थियो ।


र राजा र रैतीको सौहाद्र्रपुर्ण पितृ–पुत्रजस्तो देखाइने सम्बन्धको खोलभित्र चाहिं एक भाषा, एक धर्म र केही जात वा खान्दानले शासन प्रणाली तथा सामाजिक जीवन दुवैमा केन्द्रीय भुमिका खेल्ने पद्दति सफलतापुर्वक लुकेको थियो ।


यसरी समग्र व्यवस्थाका दुई भाग, राजा र रैतीबीचको सम्बन्ध नै एउटा सटिक वाक्यमा भन्न सकिने गरी परिभाषित भएको पञ्चायती व्यवस्था सामन्तवादको जुन जगमा अडेको थियो, त्यो विश्वभर नै भत्किंदै गएसंगै र पुँजीवादी अर्थव्यवस्थाको जुम्ल्याहाजस्तै विकसित हुँदै गरेको प्रजातान्त्रिक राजनीतिक व्यवस्था मौलाएसंगै छलाङ मारेको मानिसहरुको चेतनास्तरलाई अन्ततः त्यो नाराको विशालता र गहिराइले थेग्न सकेन र पञ्चायती व्यवस्थाको ऐतिहासिक औचित्य सकियो र त्यो अन्त पनि भयो । अब राष्ट्रियताको नयाँ आधारशीला विश्वभर मापदण्डकै रुपमा विकसित भइसकेको नव उदारवादी व्यवस्थाले प्रदान गर्ने भनिएको व्यक्तिले असीमित प्रगति गर्न सक्ने सं. रा. अमेरिका र पश्चिम युरोपका देशको जस्तै अर्थ–सामाजिक व्यवस्थालाई मानियो । २०४७ सालको संविधानले त्यस्तै राष्ट्रियताको विकास गर्ने परिकल्पना गरेको थियो । यसरी भन्नुपर्दा, युरोप र अमेरिकाले एक–डेढ शताब्दी पहिले झेलेको, भारत र चीनजस्ता छिमेकीहरुले चाहिं त्यसको निकट भुतमै झेलेको संक्रमण –जसले आफ्नो जग सामन्तवादबाट हटाएर पुँजीवादमा खडा गर्यो –त्यो नेपालमा २०४७ लगत्तै हुनुपर्ने थियो ।


आजको नेपाली राष्ट्रियताको तात्कालिक पृष्ठभुमि


०४६–०५६ को दशकमा नेपालमा नयाँ राजनैतिक व्यवस्थाअन्तर्गत तीव्र हुने अपेक्षा गरिएको आर्थिक विकासले कछुवा गति पक्डेपछि गरीबी र पिछडिएको अवस्थाबाट निस्कन असफल मानिसहरुमा उत्पन्न दिग्भ्रम, निराशाबोध र अन्ततः विद्रोहहभावका कारण विकसित हुदै गरेको -समानता र स्वतन्त्रतामा उभिएको भनिएको पश्चिमा पाराको_ नेपाली राष्ट्रियता एउटा असहज अक्करमा फस्न पुग्यो । र त्यसलाई उचित रुपमा अक्करबाट पार लगाउने क्षमताको राजनैतिक नेतृत्व नहुँदा समग्र व्यवस्था नै सशस्त्र युद्धको दलदलमा फस्न पुग्यो जसबाट निस्कने बेलासम्म देशको र समाजको मुहार चिन्नै नसक्ने गरी बदलिइसकेको थियो । ०४६ देखि ०६३ सालसम्मको अवधिलाई हेर्ने हो भने, उदार अर्थव्यवस्थाभित्र विकसित हुने भनिएको युरोपेली वा अमेरिकन किसिमको पुँजीवाद अनुकुलको समानता र स्वतन्त्रताकेन्द्रीत नेपाली राष्ट्रियता निर्माण गर्न खास मानिसहरुले नेतृत्व गरेको नेपाली समाज असफलप्रायः भएको देखिन्छ ।


उक्त अवधिमा राष्ट्रियतालाई सामन्तवादको जगबाट उठाएर पुँजीवादमा राख्न असफल भएपछि अब त्यसको नयाँ जगको खोजी हुनु स्वभाविक थियो । हिजो द्रुत आर्थिक समृद्धिमार्फत् जनजीवनका यावत् समस्यालाई समाधान गर्ने कार्यभारमा राजनैतिक नेतृत्व असफल भइसकेको पृष्ठभुमिमा मानिसहरुले आफ्नो आर्थिक तथा सामाजिक प्रगतिका लागि वैकल्पिक बाटो खोजे र त्यो बाटोलाई विश्वभर चलेको सबआल्टर्न भनिने उत्पीडितहरुको पहिचान र सामाजिक न्यायको आन्दोलनले प्रभावित गर्न पुग्यो ।  नेपालको सन्दर्भमा अपुर्व रुपमा पहिचानको मुद्दाले केन्द्रीयता पाउन थाल्यो । हिजो केन्द्रले हेलाहोचो गरेर पिछडिन बाध्य पारेकाहरुले अब राष्ट्रिय राजनीतिमा फरक छाप छाड्न सफल भइसकेका थिएः पहिले राज्य सत्तालाई परास्त गर्न भनेर सशस्त्र युद्ध गरेका माओवादी विद्रोहलाई सघाएर, त्यसपछि सामन्तवादी असमानताको द्योतक बन्न पुगेको राजतन्त्रलाई उखेल्न ०६२ ०६३मा सक्रियतापुर्वक लागेर र त्यसयता एकात्मकताको विरोधमा अनेक रुपका आन्दोलनहरु गरेर ।


२०६३ पछिको नेपाली राष्ट्रियता


अब देशमा न पञ्चायतकालमा झैं राष्ट्रियता, राष्ट्रवाद र राष्ट्रिय एकताका पुरातन सामन्तवादी आधारहरु बाँकी छन्, न त, युरोप र अमेरिकामा झैं सफल पुँजीवादी प्रजातान्त्रिक अर्थव्यवस्थाले प्रदान गर्ने नवीन आधारहरु ने निर्माण भइसकेका छन् । यो असमञ्जसपुर्ण परिवेश सामान्यतया प्रचार गरिए झैं कुनै पार्टी वा नेता विशेषको सत्ताप्रेम, अदुरदर्शीता वा बदमासीका कारण उत्पन्न भएको नभइ पुरानो जग भत्केको तर नयाँ नबनेको अवस्थाका कारण उत्पन्न भएको हो । अरु थुप्रै देशहरु चाहिं ठुलो खलबल विनै संक्रमण गरेर सामन्तवादबाट पुँजीवादमा जाने गरेकोमा हामीकहाँ चाहिं किन त्यसो हुन सकेन भन्ने प्रश्नको उत्तर खोज्नचाहिं हिजो २०४६ पछिको अवधिमा समाजले भोगेको गतिविहीनताको स्थितिलाई बुझ्नै पर्ने हुन्छ ।


देशमा अहिले मच्चिरहेको भद्रगोलका पछाडि चाहिं अहिले हण्डर र ठक्कर खाएर निर्माण हुँदै गरेको र हाललाई तरल अवस्थामा रहेको राष्ट्रियतालाई आफ्नो स्वार्थअनुकुलको ठोस राष्ट्रियतामा परिणत गर्न चाहने स्वार्थ समुहहरुले त्यो उद्देश्यको पछाडि आफ्नो सम्पुर्ण बल लगाउनुले प्रमुख भुमिका खेलेको छ । त्यो द्वन्द्वमा राज्यले यथोचित क्षमताका साथ इमान्दार मध्यस्थकर्ताको भुमिका खेल्न नसक्नुले चाहिं संक्रमणमा देखिएको अराजकता र हिंसा दीर्घकालसम्म लम्बिएला कि भन्ने डर अवश्य उब्जाएको छ ।


निचोडमा भन्नुपर्दा, विश्व परिवेशका कारण पनि अन्ततः देश बढी परिष्कृत रुपको पुजीवादतर्फ उन्मुख छ र आखिर मानिसहरुको जीवनमा सबैभन्दा बढी भुमिका खेल्ने भनेकै समाज र राष्ट्रले लिने आर्थिक गति र त्यसबाट व्यक्तिले लिन सक्ने फाइदा नै हो । अहिले चर्चा, बहस र गालीगलौजको केन्द्रमा रहेका जातीयता, क्षेत्रीयता वा धर्म जस्ता सम्प्रदायगत पहिचानहरुको महत्व दीर्घकालमा गौण हुने निश्चित छ । तर राज्य पुनर्संरचनाका बेला राज्यले अपनाउने खास नीतिका कारण खास सम्प्रदायका मानिसले भविष्यमा राज्यले प्रदान गर्ने आर्थिक समृद्धिका अवसर नपाइने वा खोसिने डरका कारण हाल त्यो प्रक्रियालाई प्रभावित गर्न होमिएकाले अवस्था गम्भीर छ । बहसको केन्द्रमा चाहिं भोलि बन्ने राज्यको प्रकृति निर्धारण गर्दा हिजो सामन्ती संरचनाअन्र्तगत दबाइएका र बञ्चित गरिएकाहरुलाई खास व्यवस्थामार्फत् अवसरहरु दिने कि भोलि बन्ने भनिएको समानतामा आधारित हुने पुँजीवादी व्यवस्थामा झैं विनाभेदभाव सबैलाई समान अवसर दिने भन्ने प्रश्न रहेको छ ।


यही प्रश्नको उत्तरले नै नेपालमा निर्माण हुँदै गरेको नवीन राष्ट्रियताले कुन दिशा लिने भन्ने कुरा निर्धारण गर्नेछ ।


हाल सडकदेखि सञ्चार माध्यमसम्म चर्कंदै गरेका बहसहरुमा तत्काल देखिने कुराहरुमा मात्र एकोहोरिएर समग्र प्रक्रियाको ऐतिहासिक पृष्ठभुमि तथा भविष्यको सम्भावनालाई चाहिं बिर्सने गरिएको छ र बहसहरु तार्किक र निचोडमा जाने भन्दा पनि उत्तेजना र तनाव बढाउने खालका हुने गरेका छन् र यो ऐतिहासिक क्षणको गम्भीरता हेरेर ती ज्यादै दुखलाग्दा छन् । त्यो प्रक्रिया कम होस् र सार्थक बहसहरु होउन् भन्ने यस लेखको पनि आशय हो । आशा गरौं भावी नेपालको राष्ट्रियता निर्माणमा उत्तेजना र लहडमा आधारित विवाद र बल प्रदर्शनले भन्दा सार्थक बहसहरुले ठुलो भुमिका खेल्नेछन् ।


सारांशः


१ जसरी राज्यका रुप विविध हुन्छन्, त्यसरी नै राष्ट्रियताका रुप पनि विविध हुन्छन् ।


२  हिजोको राष्ट्रियताका आधारहरु कुन हदसम्म भत्किसकेका छन् भने अब तिनलाई मर्मतसंभार गरेर पनि नयाँ राष्ट्रियताको रुपमा विकसित गर्न सकिने सम्भावना छैन । विगत दुई दशकमा भएका राजनैतिक तथा सामाजिक परिवर्तन र उथलपुथलले समग्र समाजको रुप जरैदेखि बदलेकाले त्यसो हुन गएको हो ।


३  हिजो देशमा उग्र राष्ट्रवादको जगजगी भएर अराष्ट्रिय तत्वहरुको खेदो खनिएको अवस्थामा होस् वा पछि सबैलाई समान अवसर र अधिकार दिइएको प्रजातान्त्रिकक व्यवस्थामा होस्, हरेक नागरिकका लागि नेपाली राष्ट्रियताले एउटै अर्थ राख्थ्यो भनिनु सामान्यतया भुल थियो । हिजो त्यस गम्भीर विषयमा बहस गर्ने लेठो नगरिएको मात्र हो । घटनाक्रमले हिजो गाली र लघुताभास जनाउने मधेशी जस्ता शब्दले अन्ततः नेपाली राष्ट्रियताको चुनौतीका रुपमा सुषुप्त राष्ट्रियता जनाउने अवस्था आएपछि नै समग्र रुपमा राष्ट्रियताका बारेमा बहस हुन थालेको हो ।


४  अन्तमा, दीर्घकालमा मानिसका लागि वर्ण, लिंग, धर्म। क्षेत्र, जात लगायत राष्ट्रियताले पनि खेल्ने भुमिका गौण हुने स्पष्ट छ र पहिचानको राजनीतिपछाडि निहीत उद्देश्यचाहिं अन्ततः नयाँ व्यवस्थामा खास पहिचानका मानिसहरुको आर्थिक समृद्धिको सुनिश्चितता गर्नु नै हो । अहिले चर्केको जातीय राज्यको पक्ष र विपक्षमा भइरहेको भनिएको बहसका  पनि सांस्कृतिक र राजनैतिक लगायत थुप्रै पाटाहरु छन् तर विवादको केन्द्रीय विषय चाहिै भोलिको राज्यले हिजो पिछडिएकाहरुलाई कसरी सकारात्मक विभेद गर्ने वा नगर्ने र जातीयलगायत एकल पहिचानको  आधारमा निर्माण हुने संघीय प्रणाली त्यस प्रयोजनका लागि कति उपयुक्त हुन्छ भन्ने नै हो । जुनसुकै प्रक्रियाबाट गए पनि दीर्घकालमा समाज र राष्ट्रले लिने बाटो स्पष्ट छ र तत्कालका लागि त्यहि प्रक्रिया ठीक हो जसले द्धन्द्ध कम गरेर समाजलाई आर्थिक समृद्धि गर्ने मौका दिन्छ । त्यस अर्थमा यो वा त्यो बाटो नै परम महत्वको हो र अर्को बाटोचाहिै प्रलयको दिशामा जान्छ भन्नेहरुले चाहिं दुवै तर्फ अतिवादको सिर्जना गरेर कुनै पनि सार्थक बहसलाई तुहाएर गालीगलौजको जुहारी तथा भौतिक मुठभेडको अवस्थासमेत सिर्जना गर्नमा तल्लीन छन् । आशा गरौं दीर्घकालमा हाम्रो भविष्य निर्माणको क्रममा त्यो दुर्भाग्यपुर्ण प्रक्रिया निर्णायक हुने छैन ।












1 comment:

Saroz said...

10000000 likes

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more