When darkness prevails over light and shadow prevails over reality, things become pretty messy. But as it seems, they do not remain so forever. |
त्यही अन्धकारमय संकटकालको एक साँझ भरतपुरमा हामी बस्ने घर नजिकैको अर्को चोकमा माओवादी ‘शुर’हरुले कोण सभा गर्न पुगेका रहेछन् भन्ने सुचना पछि पाइयो तर तत्क्षणमा भने हामी दुई भाइ साँझको व्यायामपछि गर्मी भएर पसिना हम्किँदै थियौं, दाइ फर्किसक्नुभएको थिएन । शायद लोड शेडिङको समय थियो । त्यत्तिकैमा देउवाका पुलिसहरु अकस्मात् कोठामा प्रकट भए र हामीलाई घिसार्दै लगेर गाडीमा हुले । केही क्षणमै हामी त्यहाँको जिल्ला प्रहरी कार्यालयमा थियौं । पछि वर्षौंसम्म पनि त्यो ठाउँमा पुगेकोमा राहत मान्दै सम्झिन्थ्यौंः कतै दुर्भाग्यवश त्यस दिन प्रहरी कार्यालय नभएर सेनाको ब्यारेक पुर्याइएको भए ?
तीन दिने हिरासत बसाइको बेलिबिस्तार लगाएर साध्य छैन, तर त्यसका केही सम्झन योग्य अंशहरु चाहिं म यहाँ राख्छु । यातना दिने तरिकाहरु मध्ये हाम्रो भागमा परेको सबैभन्दा पीडादायी तरिका चाहिं चिर्पट दाउराजस्तै अनुभव हुने (खासमा त्यो के साधन थियो भनेर हेर्न आँखामा बाँधिएको पट्टिका कारण असम्भव थियो) साधनले आसनमा हान्नु थियो । त्यसरी चुटाइ खाँदा खाँदा आसनको छाला नै खुइलिने साथीहरु थुप्रै थिए र उनीहरुका अनुसार त त्यो भन्दा अझ पीडादायी त्यो तरिका हुन्थ्यो जसमा तिघ्रामा बाँस राखेर दुईजना पुलिस बन्धुहरु दुईतिर बसेर बाँस गुडाउँदै मासु पेल्ने गर्थे ।
तर हाम्रो भागमा भने खै कसको करुणाले हो त्यो स्तरका प्रक्रियाहरु अपनाइएन । हामीले भोगेको ‘प्रोटोकल’मा चाहिं पहिले भित्तामा हात टेक्न लगाएर आसनमा बेसरी कुटेपछि उत्तानो सुत्न लगाएर पैतालामा अलि सानो र छोटो च्याप्टो किसिमको काठले हानिन्थ्यो । आसनको कुटाइको पीडा यति धेरै हुन्थ्यो कि त्यसको तुलनामा पैतालाको कुटाइ त आराम गरे सरह लाग्थ्यो । त्यसपछिको अर्को चरणमा चाहिं एक खुट्टाले उभिन या उफ्रिन र त्यसपछि उठबस गर्न लगाइन्थ्योः थरथर काम्दै एक खुट्टाले उफ्रिने या उठबस गर्ने यो चरणचाहिं मेरा लागि खास स्मरणयोग्य छ किनकि मेरा करङहरुको उँचोपन देखेर पुलिस बन्धुलाई समेत दया पलाएछ र मलाई चाहिं यस चरणको मुख्य हिस्साभर बसिरहने छुट दिएका थिए ।
उनीहरुको एउटै प्रश्न हुन्थ्योः तिमीहरुले कस्को नेतृत्वमा कार्यक्रम गरेको र नेताहरु कहाँ छन् । त्यति उत्तर दिएमा तत्काल छुटाएदिने आश्वासन र उत्तर नदिएमा ज्यँुदै गाडिदिने धम्की संगै आउँथे । तर हामीसित दिनलाई कुनै उत्तर थिएन र चुप लागेर सहन्थ्यौं ।
समग्र प्रक्रियाको सबैभन्दा डरलाग्दो क्षणचाहिं त्यो हुन्थ्यो जब राति अबेर भइसकेपछि थुनुवाघरको ढोकाबाट नाम बोलाइन्थ्यो । सबैका आङ सिरिङग हुन्थे र सब कामना गर्थे कि आजको लिस्टबाट कसैगरी आफ्नो नाम छुटेको होस् तर त्यस्ता भाग्यमानी कमै हुन्थे । र एक चरणका मान्छे फर्किसहेपछि मध्यराततिर बोलाइने लिस्टमा परेकाहरु त एक हिसाबले ज्यानको माया मारेर नै जान्थे । कारवाहीस्थलबाट फर्केपछि चाहिं सबैले “लौ आजलाई बाँचियो”को भावमा राहतको सुस्केरा हाल्थे । कुनै दिन त बाहिरबाट धेरै मानिसहरु आइपुगे भने कोठाभरिका सबैजना कोल्टे फर्केर मात्र सुत्न सक्ने अवस्था आउँथ्यो र त्यसले रातको हाजिरीमा बाधा पुर्याउँथ्यो (हाजिरीको खास तरिकामा सबैलाई घोप्टो परेर सुत्न लगाएपछि नाइके चाहिै सबैको पिठ्यँुमा टेकेर गन्दै हिंड्नुपथ्र्यो ।)
भोलिपल्ट ती अभागीहरुका आसनका खुइलिएका छालाप्रति सहानुभुति जनाउँदै थुनुवा घरका हवल्दारले ‘मुभ’ मलम ल्याएर दिन्थे । र दिउँसोका गतिविधि फेरि शुरु हुन्थे जसमध्ये केही रोमाञ्चक क्षणहरुमा ‘चाकु समुह भनेर चिनिने लागु पदार्थ मामलामा थुनिएका साथीहरुले चियासँग घुसपैठ गरेर ल्याइएका सुर्ती लगायतका चीजहरु ब्लांकेट ओढेर लुकेर खाने गर्थे ।
उसो त हामी भित्रिएको दोस्रो दिन नै प्रहरीलाई स्पष्ट भइसकेको थियो कि हाम्रो ती अर्को चोकमा सभा गर्ने विद्रोहीहरुसंग कुनै साइनो थिएन र हामीसंगै थुनिएका केही साथीहरु कुनै चिनेको प्रहरीको जमानतमा छुटेका पनि थिए । तर कुनै अज्ञात कारणले हामी दुई भाइलाई चाहिं पुरा तीन रात राखेर चौथो दिन मात्र छोडियो । बाहिर निस्कँदा बाहिर त यति उज्यालो थियो कि कति बेरसम्म त आँखा पुरा खोल्नसमेत कष्ट भयो । उज्यालो संसारमा फेरि बानी पर्न कोशिस गर्दा चितवनमा शुरु भइसकेको गर्मी, हटिनसकेको तुवाँलो, अनाहकमा यातना पाइयो भन्ने रोष, भाग्यले बाँचेर आइयो भन्ने सन्तुष्टि आदि तत्वले मनमा अनौठो र जटिल भाव उत्पन्न गरेका थिए ।
भाग्यवश तिनताक मोबाइल फोनको यति विघ्न चलन थिएन र सुचना घरमा बुवा आमासम्म पुग्न केही दिन समय लाग्यो र तबसम्म हामी बाहिर निस्किसकेका थियौं । फलस्वरुप अपुर्व मानसिक पीडाको भयावह सम्भावनाबाट उहाँहरु बाँच्नुभयो । एक अर्थमा त्यतिखेर मानिस पक्रिनु, बेपत्ता पारिनु र मारिनुबीच ज्यादै सानो अन्तर थियो र हारगुहार गरेर पनि कसैले सुन्ने वातावरण नै थिएन ।
अचम्मपुर्वक एक महिनापछि आइहालेको मेरो कक्षा १२ को परीक्षाको तयारी अवरुद्ध भएको कुराले भने मलाई त्यतिखेर किञ्चित् चिन्तित बनाएको थिएन । उसो त घुँडा खुम्च्याउन नमिलेर नित्यकर्म गर्ने काम समेत पछि सार्नु परेको बेला पढाइबारे चिन्ता गर्नु त्यति जायज पनि त थिएन । चार दिन आराम गरेर उठेर हिंड्नसम्म मिल्ने भएपछि म पनि पढाइलाई गोली मारेर नेताहरु काम थन्क्याएर आराम गर्न धुलिखेल गए झैं भाइलाई लिएर आराम गर्न बाग्लुङमा रहेको गाउँतिर लागें । एक हप्ता घर बसेर फर्कंदा मैले पढ्न भनेर छुट्याएको आधा समय सिनित्तै भएको मात्र हैन, पहिले याद भएका कति कुराहरु बिर्सिइसकेका थिए ।
थप अचम्म के भने कक्षा १२ को नतिजा आउँदा चाहिं म अर्किड कलेज मात्र नभएर चितवन जिल्ला नै टप गर्न पुगेको थिएँ । फलतः तीन दिने जेल बसाइको कुनै पनि दीर्घकालीन खराब असर बाँकी रहेन र केही महिनापछि कसैले जेलयात्राबारे सोधे भने “हो र, म त बिर्सिसकें” भन्ने अवस्था आइसकेको थियो । त्यसैले मलाई अझै पनि दुविधा लाग्छः त्यो हिरासत यात्रा संकटकालीन देउवा सरकारको जनद्घेषी कर्म थियो कि मलाई “जीवन यतिसम्म निर्मम हुन सक्छ” भनेर पाठ पढाउन रचिएको नाटक ? आज १० वर्षपछि फर्केर हेर्दा लाग्छः शायद दुवै उत्तर सही हुन्, आंशिक रुपमा ।
2 comments:
dherai ramro bro.... purano din haru taja bhayo........ hami kati naramaailo samaya paar garera aaayau hai
१०वर्षअघि दुई भाइको अभिभावकत्व गरेर बसेको मैले एक साँझ दुईटै भाइहरु Jiwan र Keshab माओवादिको नाममा तत्कालिन राक्षसी फौजद्धारा पक्राउ परेको पाउँछु । उनीहरुलाई छुटाउन मैले गर्नुपरेको पीडादायी प्रयास त छँदैछन् बल्लतल्ल उनीहरुलाई रिहा गराएपछि उनीहरुले चितवन प्रहरीको यातना गृहमा पाएको पीडा सुन्दा आँसु नै आएका थिए । आज १० वर्षपछि यो लेखले ती दिनको सम्झना गराएको छ । वास्तवमा तीनै दिनदेखी हुनुपर्छ ममा तत्कालिन सत्ताका नेता शेरबहादुर देउवा र पर्दापछाडीका नायक राजा ज्ञानेन्द्रविरुद्ध गहिरो शत्रुता विकसित भएको ।
Post a Comment