पत्रकारः उपकुलपति ज्यू, यहाँसित नैतिकताका आधारमा राजीनामा मागिंदैछ नि, यहाँको विचार के छ?
उपकुलपतिः नैतिकता? त्यो भनेको के हो?
पः नैतिकता क्या, मोरालिटी ।
उः ए, मागेको त राम्रो हो नि । अब विषय बदलौं ।
पः तपाइँमाथि बौद्धिक चोरीको आरोप छ नि?
उः केको बौद्धिक? केको चोरी? हामी कहिले बौद्धिक भएको छ र चोर्नलाई?
पः त्यसैले त उपकुलपतिज्यू, यहाँले अर्काको शोध चोरेर आफ्नो भनेर छपाउनुभयो रे नि ।
उः ए, त्यो त सम्पादकको गल्तीले त्यस्तो भएको हो । चोरिएकै हो भने हेर्ने काम उहाँहरुको हैन र? गल्ती उहाँहरुले गर्ने, आरोप मलाई लगाउने?
पः तर जर्नलमा पेपर छापेपछि त्यसको फाइदा त तपाइँ लिनुहुन्छ नि, सम्पादकले हैन ।
उः फाइदा त थेसिस बनाएर बेच्नेहरुले लिन्छन्, तपाइँहरुलाई के थाहा? त्यसै पटपटर गर्यो, हिंड्यो । जसले बेच्छ, उसलाई हुन्छ फाइदा । किन्नेलाई केको फाइदा? उल्टै पैसा लाग्छ ।
पः हैन उपकुलपति ज्यू, हामीले त यहाँले चोरी गर्नुभो भनेको, किन्नुभयो भन्या हैन ।
उः ए, त्यस्तो पो परेछ । (पसिना पुछ्दै) हेर्नोस्, शैक्षिक क्षेत्रमा काम गर्न कति गाह्रो छ । तपाइँहरुलाई के थाहा? नेपालजस्तो गरीब देशमा बसेर अन्त झैं....
(मौनता)
पः अनि उपकुलपति ज्यू
उः ए, केही हैन । काम गर्न गाह्रो छ भनेको ।
पः अनि बौद्धिक चोरीको कुरा नि?
उः (जंगिंदै) केको चोरी? कसको चोरी? अघि नै भन्या हैन सम्पादकको गल्ती भनेर? यो देशमा ककसले कति चोरीसके, तपाइँहरुलाई त्यसको मतलब छैन, यहाँ मसित खत थाप्याछ, बस्याछ । यो देशमा नचोर्ने को छ? एक जना देखाउनुस् मलाई । तपाइँ चोर्नुहुन्न? अर्काको समाचार कहिल्यै सारेकै छैन? खाली अर्कालाई त्यसै चोरीको आरोप लाउने?
पः हैन उपकुलपतिज्यू, नरिसाउनोस् न । उच्च शिक्षा भनेको त उदाहरण बनेर सबैलाई देखाउने कुरा हैन र? अरु चोर भए भनेर यहाँ पनि त्यस्तै काममा लाग्न मिल्छ र?
उः हो, यसो भन्नोस् न, म कहाँ रिसाएँ? उच्च शिक्षा सबैका लागि उदाहरण बन्नुपर्छ । तर हाम्रोजस्तो चोर प्रवृत्तिमा डुबेको समाजमा साधु बन्न खोज्यो भने त्यो मान्छे माथि पुग्दै पुग्दैन......
पः त्यसको मतलब?
उः मेरो मतलब यहाँ धेरै खराब काम हुन्छन् तर अरुको तुलनामा हामीले केही गरेको छैन ।
(चिया ब्रेक)
पः प्रसंग बदलौं । तपाइँलाई आफ्नो नेतृत्व क्षमतामा विश्वास छ?
उः के प्रश्न हो यो? नभएको भए म किन यो पदमा आउँथें?
पः तर नेपालको उच्च शिक्षा निकै खस्कँदो छ भन्ने कुरा विद्यार्थीहरुको आँकडा र नतिजाले देखाउँछन्, तपाइँलाई दुख लाग्दैन?
उः हेर्नोस्, अफ द रेकर्ड भनिहालौं, हामीलाई नियुक्ति दिंदा विद्यार्थीको संख्या बढाउनु वा नतिजा राम्रो ल्याउनु कहिल्यै भनिंदैन । खाली ठेक्कापट्टामा मिलाएर पार्टीलाई यति बुझाउनु, यति नेता र कार्यकर्तालाई जागिर ख्वाउनु भनिन्छ । अनि कसरी नतिजा सुध्रिन्छ त? अब अन द रेकर्डः विद्यार्थी संख्या र नतिजा दुवैमा सुधार गर्न हामी लागी परेका छौं ।
पः यति कुरा पनि अफ द रेकर्ड भनिदिनोस्, पार्टीलाई उपकुलपति भएपछि कति बुझाउनुभयो?
उः पत्रकारजी, यस्तो आपतमा नपार्नुस् न । तर हामी कहिल्यै फस्ने गरी पैसाको लेनदेन गर्दैनौं । सबै ठेकेदारसित पहिल्यै सेटिङ हुन्छ ।े
पः मतलब?
उः अरे सोझो मान्छे, तपाइँ के नेपालमा पत्रकारिता गर्नुहुन्छ? हुन्छन् नि बिभिन्न कामका ठेक्कापट्टा, तिनमा ठेकेदारले लैजाने रकम पर्सेन्टको आधारमा पार्टीलाई दिइदिन्छ । न अख्तियारको डर, न लेखापरीक्षकको, जति ठुलो ठेक्का, उति नै ठुलो कमिसन, हा हा हा हा..... ।
पः अनि कार्यकर्ता भर्ती नि?
उः पत्रकारजी, यो अफ द रेकर्ड अलि बढी नै भयो है । त्यतापट्टि नलागौं, तपाइँको कुरा के हो त्यतापट्टि लागौं ।
पः नेपालमा उच्च शिक्षा लिएको ठूलो जनशक्ति खाडीमा गएर शारीरिक श्रम गर्छ । यो अवस्था कसरी फेरिएला?
उः यो त बडो जटिल प्रश्न गर्नुभयो । ठूल्ठूला अर्थशास्त्रीले समाधान गर्न नसकेका यस्ता समस्या हामीले कसरी समाधान गर्नु? त्यसमाथि डिग्री लिनेलाई रोजगार योग्य बनाउनु भनेर हामीलाई टीओआरमा भनेजस्तो मलाई....
पः कुन टीओआर उपकुलपतिज्यू?
उः फेरि अफ द रेकर्ड है । पार्टीले उपकुलपति बनाउने बेलामा गोप्य चिट दिएको हुन्छ जसमा के गर्नुपर्ने हो र के गर्न नहुने हो लेखिएको हुन्छ । त्यसमा त्यस्तो कुरा छजस्तो लाग्दैन ।
क्रमशः
No comments:
Post a Comment