Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Tuesday, January 15, 2019

योगेश भट्टराइजी, लोकमानले सकेनन्, तपाइँ सक्नुहोला?




योगेश भट्टराइजी,


२०७३ सालमा लोकमान सिह कार्कीले ‘भ्रष्टहरुको माखेसाङलोमा जेलिएका डा (गोविन्द) केसीलाई कुसंगत परित्याग गर्न र प्रायोजित अभियनता नबन्न’ सुझाव दिएका थिए । डा केसीको मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लेटरहेडमा निकालिएको विज्ञप्तिमा थप लेखेका थिएः

वस्तुतः नेपाली स्वास्थ्य क्षेत्रको सुधार र विकासका सन्दर्भमा डा केसीका खोक्रा अभियानबाट होइन आयोगको दृढ प्रतिबद्धता र पहलबाट निश्चित उपलब्धि हासिल भएको तथ्य आम नेपाली दाजुभाई दिदीबहिनीहरुमा विदितै छ । साथै आयोग नेपाली स्वास्थ्य क्षेत्रमा विद्यमान अराजकता, दण्डहीनता, माफियातन्त्र र सबै प्रकृतिका असंगतिहरुको अन्तका लागि सर्वथा क्रियाशील रहने दृढता व्यक्त गर्दछ ।

कार्कीको यस्तो दाबी यसै आएको थिएन । उनी संविधानले शक्तिशाली बनाइदिएको देशको संवैधानिक आयोगका प्रमुख आयुक्त थिए । देशमा सुशासन कायम गर्न सबैभन्दा बढी जिम्मेवारी हुने पदमा उनै थिए । त्यस्तो व्यक्तिलाई एउटा नागरिकको हैसियतमा रहेका डा केसीले सार्वजनिक रुपमै भ्रष्ट घोषित गरेर महाभियोगको माग राखेपछि उनी आक्रोशित हुनु र त्यस्तो विज्ञप्ति निकाल्नु बुझ्न सकिने कुरा थियो ।

तर योगेशजी, इतिहासको कठघरा भन्ने कुनै ठाउँ हुन्छ जुन नभई हामी कोही पनि गुज्रन सक्दैनौं । हामी आफ्नो वा अरु कसैको बारे जति सुकै दाबी, विवाद गरौं, तर्क गरौं, हल्ला गरौं, लेखौं वा बोलौं, त्यसभन्दा निकै पर समयले हाम्रो अलग्गै परीक्षा लिन्छ ।

त्यो परीक्षामा लोकमान खरो उत्रेको भए अहिले के हुन्थ्यो कल्पना गर्न सकिन्छ । तर त्यसो भएन । बाँकी अब इतिहास भइसक्यो ।



माथि उल्लिखित लोकमानको विज्ञप्तिको अनुच्छेद फेरि एकपल्ट हेरौं । उनले नेपालको स्वास्थ्य क्षेत्रको सुधार र विकासमा अख्तियारले उपलब्धि हासिल गरेको दाबी गरेका छन् । जबकि अख्तियारको संवैधानिक म्याण्डेट देशमा भ्रष्टहरुलाई कारवाही गरेर सुशासन कायम गर्ने हो, कुनै पनि क्षेत्रको सुधार र विकास हैन । सुधार र विकासको जिम्मा लिने व्यक्ति र संस्थाहरु अलग्गै थिए, छन् ।

तर विडम्बना के भइदियो भने लोकमानले न भ्रष्टाचार रोकेर सुशासनका लागि काम गरे, न कुनै क्षेत्रमा सुधार र विकास । आफूले नगरेका कामहरुमध्ये गरेको भनेर दाबी गर्दा के लिने के छोड्ने, आफ्नो कार्य क्षेत्र भित्रका काम के, बाहिरका के, उनलाई पत्तो भएन । विज्ञप्तिमा फुलबुट्टा भरेर मानिसहरुलाई विश्वास दिलाउने चक्करमा डा केसीका कुरा प्रतिवाद गर्न के के गरेको भन्दा ठीक हुन्छ जस्तो लाग्यो, उनले ती सबै लेखे ।

परिणामः लोकमान सिंह कार्की रातारात जोकर बने । मान्छेले एकसाथ उनको निन्दा पनि गरे, मजाक पनि उडाए । मजाक उनको मात्रै उडेन, अख्तियारजस्तो संस्थाको हुर्मत गयो । मानिसहरुको नजरमा लोकमान त गिरे नै, संस्थाका रुपमा अख्तियारको समेत नुर गि¥यो ।

योगेशजी, अहिले तपाइँले डा केसीलाई छवि जोगाउन दिएको सुझावमा लोकमान सिंह कार्कीको अहम्को धङधङी प्रस्टै देखिन्छ । तपाइँलगायत सत्तापक्षका नेताहरुबाट अहिले निरन्तर लोकमानबाट झैं डा केसीलाई ‘कुसंगत त्याग्न र प्रायोजित अभियन्ता नबन्न’ सुझाव आइरहेका छन् ।

लोकमानपछि गोपाल पराजुली आएर डा केसीलाई कुसंगत त्याग्न र प्रायोजित अभियन्ता नबन्न सुझाव दिंदा त्यसले पराजुलीका लागि दुखान्त परिणाम ल्यायो ।  अब तपाइँहरुले त्यस्तै सुझाव दिंदा त्यो प्रहसनजस्तो सुनिन थालेको छ । कार्ल माक्र्सले त भनेकै थिए, इतिहास पहिलोचोटि दोहोरिंदा दुखान्त हुन्छ, दोस्रोपल्ट दोहोरिंदा प्रहसन हुन्छ ।

खास गरी अधिनायकवादी देशका शासकहरु आफ्नो स्वार्थ पूरा गर्न जस्तो सुकै झुटो कुरा पनि बोल्छन् । अनि त्यो झुट यति दोहो¥याउँछन् कि कालान्तरमा उनीहरु आफैंलाई त्यो कुरामाथि विश्वास लाग्न थाल्छ । सत्य के थियो भन्ने कुरा उनीहरुको मथिंगलबाटै हराएर जान्छ ।

अहिले तपाइँहरुको अवस्था त्यस्तै भएको मेरो बुझाइ छ ।

तपाइँ मच्ची मच्ची भनिरहनुभएको छ, माथेमा प्रतिवेदनदेखि लिएर दुई पल्ट जारी भएका अध्यादेश र पछिल्लो पल्ट डा केसीसँग सरकारले गरेका सम्झौताका सबैजसो प्रावधान राखेर, सुधारको मर्मलाई आत्मसात गर्दै तथा चिकित्सा शिक्षालाई गैर नाफामुलक बनाउने थप व्यवस्थासमेत गरेर चिकित्सा शिक्षा विधेयक अघि बढाइएको छ, त्यसैले डा केसीले विरोध गर्ने हैन हर्ष मनाए हुन्छ ।

 आफ्ना तर्क र दाबीलाई पुष्टि गर्न यहाँले फेरि अर्को दाबी गरिसक्नुभएको छः अघि बढेको विधेयकबाट त्राहिमाम भएर मेडिकल कलेज सञ्चालकहरुले त्यसलाई संशोधन गर्न दबाब दिइसकेका छन् ।

तर के साँच्चै संसदीय समितिबाट विधेयक अघि बढाउँदा तपाइँहरु इमान्दार हुनुभएको छ त? यो टेबलले आफैं यो प्रश्नको उत्तर दिन्छः

दस्तावेज
विवरण
 माथेमा प्रतिवेदन
२.७ अब आइन्दा मेडिकल वा डेन्टल दुवैै गरी एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाइने तर यस अघि नै दिई सकेको सम्बन्धनको हकमा यो प्रावधान लागू नहुने ।


२.१० एउटा जिल्लामा एउटा मात्र मेडिकल, डेन्टल कलेज स्थापना गर्न पाउने । यस भन्दा पहिला स्थापना भइसकेको हकमा यो प्रावधान लागू नहुने ।
 चिकित्सा शिक्षा अध्यादेश (२०७४।७।२७ मा राजपत्रमा प्रकाशित)
१३ (३)  विश्वविद्यालयले एक जिल्लामा एउटाभन्दा बढी मेडिकल वा डेन्टल विषयका शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन ।


१३ (६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि एक विश्वविद्यालयले पाँच भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन ।
डा केसीसँग २०७५ साउन १० गते भएको सम्झौता
  अन्यत्र जेसुकै लेखिएको भएता पनि आइन्दा एक विश्वविद्यालयले ५ भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । यस अघि सम्बन्धन दिइसकेको चिकित्सा शिक्षण संस्थामा यो प्रावधान लागू हुने छैन । काठमाडौं बाहिरका शिक्षण संस्थाको हकमा आयोगले नीति निर्माण गरी निर्णय गरे बमोजिम हुनेछ
 शिक्षा तथा स्वास्थ्य समितिले हाल संसदमा पेश गरेको प्रतिवेदन
 'यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन। तर यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेका मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागू हुने छैन। काठमाडौं उपत्यका बाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुनेछ। आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन।'


योगेशजी, ‘आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन ।’ यसको अर्थ हुन्छ, सम्बन्धनसम्बन्धी निर्णयका लागि यो ऐनका प्रावधानहरु निरर्थक छन् ।

तपाइँले दाबी गरेको सुधार यही हो?

 योगेशजी, लोकमानपछि डा केसीलाई मानिसहरुको आँखामा गिराउन लागी पर्ने अर्का महामानव गोपाल पराजुली थिए । उनको ठाडो आदेशमा सत्याग्रहरत डा केसीलाई रातारात शिक्षण अस्पतालबाट उठाएर हिरासत पु¥याइएको थियो । ‘न्यायालयमाथि औंला उठाउने?’ भन्दै अरिंगाल झैं उहाँमाथि खनिने मानिसहरु थुप्रै थिए ।

 त्यही बेला डा केसीका समर्थकलाई भारतको बलात्कारी र हत्यारा राम रहिमका समर्थकसित तुलना गर्ने तिनै मानिस थिए जसका घरको वास्तु मिलेका कारण तपाइँहरुको पार्टी एकता सम्भव भएको थियो ।  कुनै बेला दुई ध्रुवझैं अलग अगल तपाइँका पार्टी अध्यक्षहरुका मन त्यही घरको मार्सी चामलका भातले जोडेको थियो ।

 यी सबैभन्दा निकै अगाडि डा केसीले नयाँ मेडिकल कलेज जथाभावी नखोल भन्दा पुराना मेडिकल कलेजले उचालेर अनशन गराएको भन्नेहरु थिए । डा केसीको अभियानकै कारण पुराना मेडिकल कलेजमा सिट र शुल्क निर्धारण गरेर उनीहरुको कमाइ आधाभन्दा बढी घटेपछि ती निन्दकहरु गायब भए र विद्यार्थी विदेश पठाउनेहरुले अनशन गराएको भन्नेहरु आए ।

डा केसीको अभियानकै कारण प्रवेश परीक्षा अनिवार्य गरिएपछि विदेश जानेको संख्या दुई तिहाइले कम भएपछि फेरि ती पनि गायब भए र अहिले अनेक थरि हास्यास्पद आरोपहरु लगाउने अभ्यास भइरहेको छ ।

एक चोटि खूला दिलले सोच्नुस् त, यसरी मौसमी आरोप लगाउनेहरु आज कहाँ छन्?

लोकमान गए । गोपाल पराजुली गए । डा केसीले भरेका फाराममा भएका प्राविधिक त्रुटि पक्रेर उहाँलाई बदनाम गर्ने प्रयास गरेका त्रिवि पदाधिकारी जाँचबुझ आयोगबाट दोषी ठहरिएर बर्खास्ती पर्खेर बसिरहेका छन् (जुन काम गर्न तपाइँहरुको बलियो सरकारले खुट्टा कँपाइरहेको छ ।) डा केसीका समर्थकलाई किन गोली नहानेको भनेर प्रश्न गर्नेले अहिले देशको ठूलो पार्टीलाई नै डुबाउने अवस्थामा छन् ।

ती सबैको सिको गर्दै तपाइँ अहिले डा केसीको सत्याग्रहका पछाडि कथित ‘नेक्सस’ भएको भाषण गरिरहनुभएको छ । तपाइँको जानकारीका लागि भनिदिऊँः हो, डा केसीका पछाडि नेक्सस छ । द्वन्द्वपीडितदेखि माफियापीडितसम्म, न्याय खोज्नेहरुको नेक्सस । स्वस्थ हुन पाउने अधिकारका लागि चिकित्सा शिक्षामा गुणस्तर खोज्नेहरुको नेक्सस । गरीब भए पनि जेहेन्दारीको भरमा डाक्टर बन्न पाउने अधिकार खोज्ने विद्यार्थीहरुको नेक्सस । दुर्गममा बसेर भए पनि सुलभ र सस्तो विशेषज्ञ तहको सेवा चाहने नागरिकहरुको नेक्सस ।

योगेशजी, लोकतन्त्रमा हामी सबै आफूले चाहेको बाटो हिंड्न स्वतन्त्र छौं । यहाँलाई डा केसीको छविमा हिलो छ्याप्नकै लागि सत्यबाट जतिसुकै टाढा पुगेर लोकमान सिंह कार्कीको बाटो हिंड्नु छ भने त्यसमा आपत्ति जनाउने हामी कोही पनि हैनौं । कसैले राजनीतिक आत्मदाह नै गर्छ भने पनि त्यो काम रोक्ने अधिकार र उपाय दुवै हामीसँग छैन । तपाइँ आफू रोजेको बाटो हिंड्न स्वतन्त्र हुनुहुन्छ ।

तर तपाइँप्रति सहानुभुतिवश म एउटा कुरा स्मरण गराउँः लोकमान दरबार नजिकको सम्भ्रान्त परिवारबाट आएका, कर्मचारीका रुपमा सक्रिय जीवनको पहिलो इनिङ बिताइसकेका मानिस थिए । त्यसको अन्तमा सरकारबाटै भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिएका उनी नाजायज रुपमा अख्तियार प्रमुखका रुपमा चोर बाटोबाट छिरेर फेरि दोस्रो इनिङसमेत खेलिसकेका थिए । (त्यसरी चोर बाटोबाट उनलाई छिराउनेमा तपाइँको अहिलेको पार्टीका दुई पितृ पार्टीहरुका शीर्ष नेता सम्मिलित कथित उच्चस्तरीय राजनीतिक संयन्त्र थियो, त्यसको कहानी बेग्लै छ ।)

र तपाइँको जस्तै विगतका वाचा भुलिहाल्ने दलहरुले फेरि फर्काएर ल्याएनन् भने अब लोकमान सिंह कार्की नेपालको इतिहासको फुटनोटमा दर्ज भइसकेका छन् ।

 तर तपाइँ? तपाइँलाई त्यही बाटो हिंड्नु छ भने रामराम भन्न सकिन्छ, काँध थाप्न सकिंदैन । यदि लोकमान (र उनीपछि गोपाल पराजुली लगायत इतिहासले खलनायक ठानेका अनेक रङका व्यक्तिहरु)ले डा केसीले न्यायका लागि गरेको सत्याग्रहको राप र प्रकाश छेक्न सकेनन् भने के तपाइँले सक्नुहोला?

 समयले बताइ नै हाल्ला ।

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more