Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Wednesday, January 2, 2019

बम्जन दुराचारको मनो–सामाजिक पाटो




भारतीय लेखक मनु जोसेफले सामाजिक सञ्जाल युगमा मानव समाजमा विकसित प्रवृत्तिहरुबारे एउटा घत लाग्दो कुरा भनेका छन्ः यो युगमा मान्छेको सोच्ने, कुनै विषयको जाँच पडताल गर्ने अनि त्यसको गुणदोषको आधारमा निश्कर्षमा पुग्ने क्षमता हराइसकेको छ । कुनै विषयमा गलत निश्कर्षमा पुगेको पत्ता लागेपछि व्यक्ति त्यसलाई स्वीकारेर पछि फर्कने सम्भावना झनै क्षिण हुँदै गइरहेको छ । बरु त्यसको साटो जति ठूलो गल्ती त्यति नै धेरै बल लगाएर गलतलाई सही प्रमाणित गर्ने कोशिस गर्नु आम प्रवृत्ति  बनेको छ ।


कारणः मानिसलाई आफू पुगेको निश्कर्ष वा आफूमा विकसित विश्वासको परख गर्ने धैर्यता छैन किनकि हामीलाई दिमागमा कुनै भाव वा विश्वास झुल्किनासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत प्रसारण गर्न हतार हुन्छ । एकचोटि त्यसरी दुनियाँसामू पेश गरेपछि गलतै भए पनि त्यो व्यक्तिको पहिचानको हिस्सा बन्छ र त्यसबाट पछि फर्कनु भनेको त्यसरी बनेको पहिचानको एउटा हिस्सा गुमाएसरह हुन पुग्छ । त्यसो गर्दा व्यक्तिको ‘इगो’मा चोट पुग्छ । 


फलस्वरुप विचार वा धारणा निर्माणको प्रक्रिया, जुन कुनै सुचनाको ग्रहणबाट शुरु भएर त्यसका गुण–दोष परख गर्ने मस्तिष्कभित्रको लामो र अर्थपूर्ण प्रक्रियापछि मात्रै परिपक्व भएर व्यक्त गर्नका लागि तयार हुन्थ्यो, जसबीच व्यक्ति कुनै धारणा वा विचारमा अघि बढ्ने र पछि फर्कने गर्न सक्थ्यो, अब त्यो प्रक्रिया छोटिएर ग्रहण–प्रसारणमा सीमित भएको छ र एकचोटि प्रकट गरेको विचार वा विश्वासबाट मानिसहरु पछि फर्कने, गल्ती स्वीकार्ने, प्रायश्चित गर्ने प्रवृत्ति दिनानुखिन घट्दो छ ।


बम्जनका करतुतहरुबारे सेतोपाटीमा पढेपछि मैले शुरुमा जोसेफको यही भनाइ सम्झें । जब बम्जनका अनुयायीहरुले पत्रकार सम्मेलन गरेरै उनको बचाउको प्रयास गरे, जोसेफले यिनै मानिसहरुलाई आधार मानेर त्यसो भनेको जस्तो भयो ।



तर यो समग्र प्रकरणमा मलाई लागेको चाहिं के भने यसले जति बम्जनको ढोंग र आपराधिकताबारे बोल्छ, त्यति नै हाम्रो सामाजिक मनोविज्ञान र समग्र समाजको शुष्कता, निकम्मापन र संवेदनहीनताबारे बोल्छ ।


शुरुमा जसरी किशोर तपस्वीको हौवा फैलियो, त्यतिखेर मानिसहरुमा उनीप्रति उत्सुकता हुनु स्वभाविक हो । सही अर्थको धार्मिक वा अध्यात्मिक प्रवृत्ति समाजमा खस्किंदै गर्दा मानिसहरुमा जुन भावनात्मक खाडल विकास भएको छ, त्यसलाई अझै पनि भौतिक वस्तु र सुविधाहरुको बढ्दो उपभोगले भर्न सकेको छैन । मानिसहरु दैनिक जीवनको उराठलाग्दो एकाकीपनबाट मुक्तिका लागि कुनै जादुमयी हौवा वा व्यक्तिको पछि लाग्न हिच्किचाउँदैनन् । आधुनिक समाजमा मानिसको यही कमजोरी बुझेका हरेक रङका धर्म–गुरुहरु अहिले भारतमा अकुत धन कमाइरहेका मात्रै छैनन्, हत्या र बलात्करको धन्दा दशकौंसम्म निर्धक्क चलाइरहेका छन् ।



मानिसहरुको त्यस्तै व्यग्रता र उत्सुकतावश शुरुमा राम बहादुर बम्जनको वरिपरि मानिसहरुको भीड जम्मा हुन पुग्यो । त्यो भीडलाई देखेर झनै ठूलो भीड जम्मा भयो । मानिसका लागि कुनै पनि तमाशाको जस्तो चुम्बकीय आकर्षण केहीको हुँदैन ।


लामो तपस्या लगायत उनका कथित चमत्कारका समाचार जति धेरै फैलिए तिनमा त्यति नै अलौकिकता र तिलस्मीपनको लेप लाग्दै गयो । समयको कुनै बिन्दुमा गएर केही गोरो छाला हुनेहरु पनि भीडमा मिसिए । यसै पनि पश्चिमको चरम् उपभोक्तावादी जीवन शैलीबाट विचलित भएर शान्तिको खोजीमा पूर्वतिर फिर्ने अमेरिकी र युरोपेलीहरुको कमी छैन ।


बम्जनका भक्तहरुमा गोराहरुको मिसावट देखिएपछि त्यसले उनको ‘कल्ट’लाई झनै जब्बर बनाइदियोः गोराहरुसमेत विदेशी त यिनको पछि लागेका छन् भने पक्कै यिनमा केही शक्ति हुनुपर्छ भन्ने धेरैलाई पर्न गयो ।


तर गएका १३ वर्षमा भएको त त्यति मात्रै रहेनछ भन्ने अब खुलस्त भइसकेको छ । बम्जन आश्रमका कर्तुतहरु पढ्दा कुनै बर्बर मध्य युगीन युद्ध–सरदारको झल्को आउँछ जसका लागि आफू वरपरका सबै मानिसहरु वस्तुसरह हुन् जसलाई आवश्यकताअनुसार उपयोग गर्न पनि सकिन्छ र नष्ट गर्न पनि । अनि ती मानिसहरुका लागि यथास्थितिबाट निस्कने बाटो चाहिं निकै निम्छरो बनाइएको हुन्छ ।


उसो भए त्यस्ता करतुत र अपराधहरु यति लामो समयसम्म कसरी छिपेर बसे? बलात्कार लगायतका गम्भीर आरोप लगाएर पीडितले राज्यलाई गुहार्दासमेत किन राज्य संयन्त्र मौन बस्यो? मिडियाले किन बम्जनसम्बन्धी सतहमा देखिएका कुराहरु मात्रै लेखी वा देखाइ टोपलेर त्यसलाई खोस्रने कामसमेत यति लामो समयसम्म गरेन? जसलाई बम्जनका करतुतहरुबारे थाहा थियो, तीमध्ये पीडितहरु किन खुलेर बाहिर आउन सकेनन्? पूर्वमन्त्रीलगायत कथित बोधी धर्म संघसित जोडिएका मानिसले त्यस्ता अपराधहरुहरुबारे जानकार भई भई किन बम्जनलाई साथ दिनका साथै उनको बचाउमै उत्रिरहेका छन्?


राज्य संयन्त्रले उनको आश्रमबाट बेपत्ता पारिएकाहरुको  खोजी गर्दै गर्दा नागरिकका तर्फबाट हामीले यी प्रश्नहरुको उत्तर खोज्नु जरुरी छ ।


पूरा बम्जन प्रकरणमा गडबडी कहाँबाट शुरु भएको देखिन्छ भने आफूलाई गुरु भन्ने  बम्जन र उनका चेलाहरुको ‘एलिट’ हिस्साका लागि अध्यात्म शुरुदेखि नै एउटा सुविधाजनक खोल मात्रै थियो जसलाई ओढेर उनीहरुले सांसारिक लाभ––ख्याति, पैसा तथा पैसाले किन्न सकिने र भीडको बलमा हडप्न सकिने तमाम सम्पत्ति र सुविधाहरु––हासिल गर्न सक्थे । धर्मको खोल जति बाक्लिंदै गयो, धनार्जन र अपराधहरु पनि त्यसभित्र उति नै मौलाउँदै गए र पीडितहरुलाई विद्रोह गरेर निस्कन कठिन बन्दै गयो ।


उसो भए बम्जन आफैंको मनोविज्ञान कसरी विकृत र आपराधिक बन्न गए होला त? यसमा सुसुचित अनुमानसम्म लगाउन सकिन्छ ।


बम्जन शुरुमा घरबाट हराउँदा १४ वर्षे किशोर थिए । किशोरकाल त्यस्तो समय हो जब बालबालिकाहरु संसार र सम्भावनाहरुको असीमित प्रकृति हेरेर एकसाथ सशक्त र अशक्त महसुस हुने नयाँ युगमा प्रवेश गर्छन् ।


सशक्त यसर्थ कि बाल्यकालको दायराबाट बाहिरिएको शारीरिक–मानसिक फुर्तिका बलमा त्यतिखेर संसार जित्ने आत्मबल आउँछ । अशक्त यसर्थमा कि त्यो आत्मबल अनुसारको व्यवहार देखाउन आवश्यक आर्थिक–सांगठनिक पूर्वाधारहरुको अभाव सर्वत्र देखिन्छ । त्यही सशक्तता र अशक्तताको द्वन्द्वबीच वर्षौंको सिकाइ र अनुभवपछि महत्वाकांक्षाहरुमा लगाम लगाउँदै र जीवनका लागि यथार्थपरक लक्ष्य चयन गर्दै किशोरकिशोरीहरु युवायुवतीमा बदलिन्छन् ।


त्यही संवेदनशील किशोर–युवा संक्रमणमा जो असफल हुन्छन्, तीमध्ये यथार्थको धरातल बिर्सेर आफुलाई अतिशय सशक्त सम्झिरहनेहरु ‘मेनिया’ नामक मानसिक समस्याले ग्रस्त हुन्छन् । उनीहरुका सपना र आत्मविश्वास यथार्थको धरातलबाट निकै माथि हुन्छन् । त्यसको विपरीत आफ्नो अशक्तताप्रतिको विरक्ति झेल्न नसक्नेहरु डिप्रेसनमा जान्छन् । तिनका लागि संसारमा निराशा र अन्धकारबाहेक केही हुँदैन ।


यी दुई ध्रुवको बीचमा उस्तै प्रकृतिका अलि कम लक्षण हुने ‘हाइपोमेनिया’ र ‘सबक्लिनिकल डिप्रेसन’ नामक समस्या हुनेहरु समाजमा झनै ठूलो संख्यामा भेटिन्छन् ।


आफू बूद्धभन्दा पनि ठूलो ‘मैत्रेय बुद्ध’ भएको दाबी गर्नु, विश्वशान्तिका लागि तडकभडकसाथ पूजा लगाउनु, तपस्याको बलमा गढीमाइको पशुबलि रोक्ने दाबी गर्नु, यस्ता विभिन्न गतिविधिले  बम्जनमा मेनियाका लक्षणहरु भएको देखाउँछन् यद्यपि विस्तृत मानसिक जाँचपडताल नगरी उनको मानसिक स्वास्थ्यबारे यकिन भन्न सकिंदैन । जे भए पनि उनको मानसिक स्वास्थ्य विकृत भएकोमा अब कुनै दुविधा छैन ।


उनको मनोवृत्तिमा आपराधिकता कहिले प्रवेश ग¥यो र कसरी मौलायो भन्ने यकिन गर्न कठिन छ तर त्यो मौलाउनका लागि पर्याप्त अवसरको सिर्जना उनी वरिपरिको भीडले गरेको हो । वरिपरिका सबैले गुरुदेखि भगवानसम्मको कोटीमा राखेपछि आफू जवाफदेहिता र देशको कानुनभन्दा माथि रहेको भान बम्जनमा पर्न गएको प्रस्टै देखिन्छ । अपराधलाई दण्डहीनताले जस्तो मलजल केहीले गर्दैन । त्यसमाथि उनले बेलाबेलामा झुट बोलेको र गलत व्यवहार गरेको प्रमाणित भइसक्दा पनि मानिसहरु उनको पछि लागिरहेपछि उनको आपराधिकता झनै मौलाएको देखिन्छ ।


समग्र प्रकरणमा जसले बम्जनको आपराधिकताबारे थाहा पाएर उनीसित टाढिए, उनीहरुमार्फत यो विषय चाँडै सतहमा नआउनु दुर्भाग्यपूर्ण कुरा हो । तीमध्ये धेरै त गंगामाया तामाङजस्तो नाजुक र संवेदनशील अवस्थामा थिएनन् । तर यथार्थ के पनि हो भने केही अपवादहरुबाहेक एउटा आम मानिसले बोलेको कुराको अर्थपूर्ण सुनुवाइ हुने अवस्था नै समाजमा छैन । त्यसमाथि त्यति धेरै मानिसले गुरु वा भगवान मानेको मानिसविरुद्ध दरो प्रमाणविना बोल्नु कुनै व्यक्तिका लागि आत्मघाती पनि हुन सक्थ्यो ।


त्यस्ता प्रमाण जुटाएर कानुनी शासन स्थापित गर्ने जिम्मा बोकेको राज्य त गंगामायाको सार्वजनिक खुलासापछि साढे तीन महिनासम्म कानमा तेल हालेर बस्यो भने जीविकाका अनेक टण्टा बोकेर हिंडिरहेका आम मानिसलाई कसरी दोष दिनु ।


केही वर्ष पहिले यो प्रकरणबारे खुलासा भएको भए पनि धेरैको जीवन बर्बाद हुन वा जानबाट बच्ने रहेछ भन्ने अहिले सबैलाई परेको छ । तर यथार्थ के पनि हो भने गंगामायाले ठूलो जोखिम मोलेर खुलासा नगरेको भए अरु लामो समयसम्म अझ धेरै जीवनहरु बर्बाद हुने पनि थिए ।


बम्जनको ‘कल्ट’ले सेतोपाटीले गरेको खुलासालाई तर्कमा गएर खण्डन गर्ने प्रयासै नगरी ‘सडेको’ समाचार भएको आरोप लगाएको छ । उता उनले शोषण, यौन–हिंसा गरेका तथा बेपत्ता पारेका पीडित वा आफन्तहरुले राज्यसित छानविन र न्यायको माग गरेका छन् । जवाफमा पूर्व मन्त्री मणि लामाले पत्रकार सम्मेलनमा आरोपको प्रतिकार कम र कसेको नक्कल वा प्रहसन प्रतित हुने प्रवचन ज्यादा दिएका छन् ।



चरम् संवेदनहीनतापूर्वक बेपत्ता पारिनेहरुका आफन्तको मजाक उडाउँदै उनले भनेका छन्ः (बेपत्ता भएको भए खोजी हुनु प¥यो तर) लुकाएर राखेको हो भने त फेरि भेटिंदैन ।



उनको अस्तव्यस्त बचाउमा मानसिक आत्मरक्षाका सबै जसो नकारात्मक तत्वहरु (जसलाई मनोवैज्ञानिकहरु ‘लेबल वन’ वा ‘साइकोटिक डिफेन्स मेकानिजम्’ भन्छन्ः १) अस्वीकार वा ‘डिनायल’ः धर्मगुरुले दुव्र्यवहार गर्ने कल्पनै गर्न सकिंदैन, बेपत्ता भएका भनिएका व्यक्तिहरु आश्रममा कहिल्यै छँदै थिएनन् । २) विकृतीकरण वा ‘डिस्टोर्सन’ः बम्जनमाथि बलात्कारको आरोप लगाउने आनी चोरेको आरोपमा निकालिएकी हुन् । ३) भ्रान्तिपूर्ण प्रक्षेप वा ‘डेल्युजनल प्रोजेक्सन’ः बम्जनले दुराचार गरेको नभई उनका अनुयायी धेरै भएकोमा रिस गर्नेहरुले बम्जनबारे आख्यान बनाएर समाचारका रुपमा छापेका हुन् ।



जे भए पनि कानुनी लडाइँले अब आफ्नो बाटो समात्ला ।


तर यो विषयको बहसमा पीडक र पीडितबाहेक तेस्रो पक्ष अर्थात् समाजको भुमिकाबारे झनै गम्भीर बहस हुनु जरुरी छ । शुरुदेखि हौवाका भरमा बम्जनकहाँ पुग्नासाथ उनलाई भगवानै सम्झेर दानदक्षिणा गर्ने मानिसहरुबाट आत्मनिरीक्षणको प्रक्रिया शुरु हुन जरुरी छ ।



मानिसले अझै के बुझ्नु जरुरी छ भने इमान्दारी र मेहनतका साथ काम गर्नुबाहेक संसारका दुखहरुबाट छुटकारा पाउने अर्को कुनै छोटो बाटो छैन । अघिल्लो जन्मको परिणाम भोग्नुपर्ने भनेर पण्डितहरुले भुल्भुलैयामा पारिरहेको बेला मानिसहरुलाई बुद्धले भनेका हुन्ः यो संसार र जीवनमा देखिन परिणामका कारणहरु पनि यहीं छन् । तिनलाई खोतल, आविष्कार गर र स्वीकार । अरुलाई पीडा दिएर तिमीले हिंसा गर्छौ भने तिमीभन्दा शक्तिशाली अर्को कोही आएर तिमीमाथि हिंसा गर्छ र तिमीलाई पनि पीडा हुन्छ । त्यसैले अरुलाई पीडा नदेऊ, हिंसा नगर । जीवन र संसारलाई सहज र सुन्दर बनाउनका लागि तिम्रो वशमा भएका कामहरु गर, अरुमाथि करुणा र प्रेम गर, ज्ञान र चेतनाको उज्यालो फैलाऊ तर तिम्रो वशमा नभएका कुराहरुका लागि पीर मानेर दुखी नबन ।


बुद्धको शिक्षामा कहीं पनि कुनै मानिसले झपटा पालेर तपस्या गरेको भन्ने समाचार आयो भने त्यही मानिसको पछि पछि कुद्नु भन्ने कुरा छैन । न त त्यस्तो मानिसको वरिपरि दक्षिणा लेनदेनको हाटबजार चलाउनु वा धर्मको नाममा सरकारी जग्गा हडप्नु वा सयौं गाडीको लस्कर लगाएर युद्ध सरदार झैं यात्रा गर्नु भन्ने नै छ । बुद्धको सच्चा अनुयायी हुन गुम्बामा गएर सन्यासपूर्ण जीवन बिताउन पनि अनिवार्य छैन । बुद्धले देखाएको मार्गमा लागेर आफ्नो जीवन सहज र समाजलाई अलिकति उन्नत बनाउनका लागि आफू बुद्ध धर्मको भनेर चिनिन वा साविकको धर्म छाड्न समेत आवश्यक छैन । बुद्धको शिक्षाको जम्माजम्मी सार आफैंलाई व्यवहारतः चेतनशील, इमान्दार, शान्तिप्रेमी र दयावान मानिस बनाउने हो ।


जबसम्म समाजका रुपमा हामीले यो कुरा बुझ्दैनौं, तबसम्म दुराचारी धर्मगुरुहरु पैदा भइरहनेछन् । बम्जन प्रकरणबाट सबैले सिक्नुपर्ने पाठ यही हो ।  

1 comment:

Ozarathustra said...

Good reading this postt

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more