शुरुमा लामो सास फेर्न मन लाग्छ, फेर्यो । अबचाहिं सामान्य श्वासप्रश्वास गर्नुपर्छ भन्ने मनमा लाग्छ तर त्यसपछि अर्को सास पनि आफैं लामो भइदिन्छ, अझ अर्को पनि लामो । एकै छिनमा बिरामी वा असाध्य थाकेको मानिस झैं स्वाँस्वाँ हुन पुग्छ, सास नपुगे नपुगेजस्तो लाग्छ । स्वासको रफ्तार बढेसँगै आत्मविश्वासको पारो ह्वात्तै ओर्लन्छ ।
मुस्ताङपट्टि थोराङ फेदीको दुई सय मिटर पनि कटेको थिएन । यस्तो समस्या आइलागेपछि म हतोत्साहित भएँ । घरबाट निस्केका छ जनामध्ये तीन जनाको टोली एकैछिन अघि माथि जान नसक्ने निश्कर्षसहित फर्किसकेको थियो भने बाँकी दुई जना माथि निकै अगाडि पुगिसकेका थिए । यार्सा टिप्न हिंडेका एक दाइले घोडालाई झोला बोकाइदिएर उद्धार गरिदिएका थिए तर त्यो अघिल्लो बिसौनीसम्म मात्र थियो । त्यहाँबाट उनी अर्कैतिर लाग्थे र हामीले आफ्ना झोला आफैं बोक्नु पर्ने थियो ।
झोला नबोक्दा यो चाल छ, बोकेपछि के हुने होला भन्दै मनमा निराशाको भाव प्रवाह भयो । मुक्तिनाथबाट बिहान निस्केर छड्के छड्के पाराको पहिलो ४०० मिटर उचाइ सजिलै पार गरिएको थियो तर त्यसपछिको २०० मिटर उक्लन यसरी महाभारत भइरहेको थियो । बिसौनीमा पुगेपछि झोला बोकेर अझ १२०० मिटर उक्लन बाँकी नै थियो, थोराङ पार गर्ने हो भने ।
योपल्ट पनि फर्कने हो भने थोराङ पार गर्ने दोस्रो असफल प्रयास हुने थियो मेरा लागि । ठिक दुई वर्ष अघि मनाङतिरबाट पार गर्न खोज्दा खाङसार भन्ने ठाउँमा पुग्दा घरमा आमा बिरामी भएको खबर आएपछि त्यहींबाट फर्केका थियौं । त्यसैले मन जसरी पनि पारी जान चाहन्थ्यो भने शरीर त्यहींबाट फर्कन । यो द्वन्द्व निकै बेर चलि नै रह्यो ।
त्यो कठिनाइ ‘लेक लागेका’ कारण हैन भन्नेमा म विश्वस्त थिएँ, पहिले ४००० मिटर भन्दा माथि नपुगेको भए पनि त्यति बुझ्न मलाई कठिन थिएन । लेक लाग्ने समस्याभित्रको विज्ञान बुझेका कारण पनि मलाई सजिलो भएको थियो । खाली मेरो शरीरले उकालो चढाइका लागि ऊर्जा निकाल्न सकिरहेको थिएन । कारण यथेष्ट थिएः यात्राभन्दा धेरै दिन अघिदेखि बसाइ नमिलेर ढाड दुख्ने समस्या आइलागेको थियो । चितवनबाट निस्कने बेला म हल न चलजस्तै थिएँ, झोला बोक्न नसकेर साथी र रिक्साको सहयोग लिनुपरेको थियो । त्यसका लागि नियमित जस्तै खाइराखेको एउटा औषधिले मांसपेशीको कामलाई अवरुद्ध गरेर पीडा कम गथ्र्यो । त्यसमाथि गहिरो निद्रा नसुतेको तेस्रो वा चौथो रात भइसकेको थियो, अघिल्लो रात मुस्किलले ४ घण्टा निद्रा परेको थियो । यसै पनि अनिदो एक किसिमको गम्भीर समस्या हो, त्यसमाथि पहिले कहिल्यै नपुगेको उचाइमा हिंडिरहन शरीर बाध्य थियो ।
पहिले कहिल्यै अनुभव नगरेको कठिनाइसहित अगाडिको बिसौनीमा पुगियो । मेरो लक्षण देखेर घोडावाला दाइले भनेः यो पाराले तपाइँहरु थोराङ क्रस गर्न सक्दैन, यतैबाट फर्के हुन्छ । टोलीका बाँकी २ सदस्यको राय पनि त्यस्तै थियो । उनीहरुको आफ्नै हालत पनि धेरै फरक थिएन । त्यहाँ आराम गर्दा ताप्लेजुङबाट द ग्रेट हिमालयन ट्रेलको पूर्वी आधा भाग पार गरेर ९० दिनमा त्यहाँ आइपुगेका एक विदेशी पर्यटक र उनका नेपाली गाइडसित भेट भयो । गाइडले सल्लाह दिएः यहाँभन्दा माथि लाग्ने हो भने थोराङ पार गर्ने निश्चित भएर मात्र लाग्नुस्, हैन भने यतैबाट फर्के हुन्छ । अरु पदयात्री पर्यटकहरु पनि आए, भेट भयो र मन भुल्यो । आधा घण्टा भुलेपछि निर्णय गर्नुपर्ने बेला आयो ।
पातलिंदो अक्सिजनबीच झोलाहरु झन् गह्रौं लाग्दै थिए । मैले अघि बढ्ने दृढता देखाएपछि हाम्रो टोली उकालो लाग्यो । झोला बोके पनि अब पाइला अलि राम्ररी सर्दै थिए । कारणः ज्यानलाई झुक्याउने उपाय मैले फेला पारेको थिएँ । बिसौनीमा पुग्ने बेला मैले के आविष्कार गरेका थिएँ भने शरीरका बल प्रयोग गर्ने हातखुट्टाजस्ता भागहरुलाई नियन्त्रण गर्ने दिमागी हिस्सामाथि सोचविचार गर्ने बौद्धिक हिस्साहरुमार्फत् अलिकति नियन्त्रण गर्न सम्भव हुन्छ । अर्थात्, शरीर थाकेर लखतरान भयो भने दिमागको एउटा हिस्साले हिंडाइलगायतका गतिविधिलाई निषेध गरेर शरीरलाई आरामको प्रबन्ध गर्छ, तर बौद्धिक हिस्साले त्यस खालको नियन्त्रणलाई प्रभावित गरेर थाके पनि शरीरलाई एकनास हिंडाइराख्न सम्भव हुन्छ ।
यसै उभिंदासमेत स्वाँस्वाँ हुने अवस्थामा पुगेको मैले दाइसित समसामयिक सामाजिक र राष्ट्रिय विषयहरुमा भावपूर्ण कुराहरु गरिरहँदा चाहिं उकालोमा पाइला चाल्न समेत सम्भव भएको थियो । बिसौनी कटेपछि यो रणनीतिको पूरा उपयोग गर्दै बोल्दा स्वाँस्वाँ थपिने भए पनि म एकोहोरो बोलिरहें । यसो गर्दा उक्लिन सम्भव भएको कुरा पनि उहाँलाई भनें ।

