प्रकाशित भएको दुइ वर्ष पछि बुद्धिसागरको कर्नाली ब्लुज पढ्ने मौका मिल्यो । मागेर पढ्ने विकल्प हुँदाहुँदै पनि लेखकमाथि अन्याय होला कि भनेर किनेरै पढें । बेलाबेलामा पत्रिकामा सरल भाषामा गहन कुरा लेख्दै आएका लेखकले पुस्तकमा चाहिं त्यस शैलीलाई न्याय गरेका छन् कि छैनन् भन्ने जिज्ञासा थियो ।
पढेपछि लाग्योः यो उपन्यासलाई खालेद होसेनीको काइटरनरबाट चोरेको भन्नेहरुले एउटा सानो गल्ती गरेका हुन् । शैली दुवै किताबको मिल्दोजुल्दो छ र कर्नाली ब्लुज पनि काइटरनरजत्तिकै दमदार भएजस्तो मलाई लाग्यो । एउटा किताब अर्को जत्तिकै घत लाग्दो भयो भन्दैमा पछिल्लोले पहिलोको चोरेको भन्नेचाहिं हुँदैन । बरु आफ्नो अर्को किताब अ थाउजन्ड स्प्लेन्डिड सन्समा होसेनीले काइटरनरको उचाइलाई न्याय गर्न सकेका छैनन् । बुद्धिसागरको अबको पुस्तक कस्तो हुने हो त्यो हेर्न चाहिं बाँकी नै छ ।
कर्नाली ब्लुज बुद्धिसागरको मात्र कथा हैन र कर्नालीको मात्र कथा पनि हैन । त्यो त संघर्ष गरेर माथि जान खोज्ने तर आशातीत रुपमा सफल नहुने समग्र नेपाली युवाहरुको आलो कथा हो । कथा वस्तुलाई आकर्षक बनाउन अप्राकृतिक रुपमा प्रैमका हाँसो उठ्दा प्रसंग जोड्ने लेठो नगरेर पनि लेखकले यो उपन्यासलाई अरु थुप्रै उपन्यासभन्दा फरक बनाउन सफल भएका छन् । नारायण वाग्लेको पल्पसा क्याफेलाई अर्का लेखक आहुतिले संयोगै संयोगको जंगल भएको भनेका थिए र त्यसो थियो पनि । कर्नाली ब्लुजभरि एकचोटि पनि अप्राकृतिक संयोगको कष्ट झेल्नु पर्दैन ।
उर्गेनको घोडामार्फत् युग पाठकले सौस्कृतिक विम्व र मिथकलाई पछ्याएर पनि सार्थक लेखन गर्न सकिन्छ भनेर नेपाली उपन्ँयासलेखनमा एउटा ढोका उघारेका थिए । बुद्धिसागरले यथार्थवादमा आधारित गहन उपन्यास लेखेर यो क्षेत्रमा अर्को क्षितिजतिरको मार्ग पनि खुल्ला गरिदिएका छन् ।