Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Sunday, June 9, 2019

प्रविधिको दुःखान्त: लक्ष्य स्वर्ग, गन्तव्य नर्क





प्रसंग १ः

सन् २०११ । चीनको सिन्जियाङ उइगर स्वशासित क्षेत्र । थ्रीजी मोबाइल डाटा नेटवर्क भर्खर पुगेको छ । एकाध वर्षमा झण्डै सबै वयस्क उइगरहरुका हातमा स्मार्टफोन पुग्छ । जनजीवन एकाएक निकै सहज बन्न पुग्छ र उइगरहरुले सशक्तीकरणको महसुस गर्छन् । सरकारी सञ्चारमाध्यममा खाली केन्द्रबाट ठाडै लादिएका सञ्चार सामाग्री मात्र ग्रहण गर्ने गरेका उइगरहरुबीच अभूतपूर्व रुपमा सुचनाको तेर्सो (हरिजोन्टल) प्रवाह सम्भव हुन्छ । चीनका सजातीय उइगरहरु मात्रे नभई टर्की, कजाकास्तान र किर्गिजिस्तानका ‘टर्किक’ मुसलमान समाजहरु एउटै अनलाइन समुदायमा जोडिन्छन् । अब्लाजान आयुपजस्ता उइगर कलाकार रातारात स्टार बन्छन् । खास गरी माओको सांस्कृतिक क्रान्ति यता चर्को सांस्कृतिक दमनमा परेका चीनियाँ उइगरहरुमा सांस्कृतिक र धार्मिक पुनर्जागरण आउँछ । धार्मिक अपनत्वको भावना विकसित भएसँगै मानिसहरुमा धार्मिक पोशाक लगाउने र नियमित मस्जिद जाने बानी बस्छ ।


अर्थात्, हातमा रहेको इन्टरनेट–जडित मोबाइल राज्यको निसास लाग्दो नियन्त्रण खुकुलो बनाउन प्रभावकारी हुन्छ ।


सन् २०१७ अर्थात छ वर्षपछि । अलिम नामक उइगर युवा विदेश पढेर फर्कंदैछन् । जहाजबाट ओर्लेर चीनमा टेक्नासाथ पुलिसले उनलाई पक्राउ गर्छ । कारणः उनको विदेश यात्राका कारण उनी ‘असुरक्षित’ व्यक्तिको आशंकामा छन् । पुलिसले उनको ‘स्वास्थ्य जाँच’ गर्छ । त्यसअन्तर्गत उनको डिएनए, रक्त समुह, औंठाछाप, आवाजको रेकर्ड र अनुहारको स्क्यान पर्छ । राष्ट्रपति सी चिनफिङको ‘जनताको आतंकवादविरोधी युद्ध’ (पिपुल्स वार अन टेरर) अन्तर्गत राज्यले उइगर समुदायका लागि खोलेका सयौं बन्दी–गृहहरु (जसलाई चीनियाँहरु पुनर्शिक्षा क्याम्प भन्छन्) मध्ये एकमा पु¥याइन्छ । त्यहाँ उनलाई निद्रा र खानाबाट वञ्चित गर्दै घण्टौं पुछताछ गरिन्छ, तर्साइन्छ । उनी त्यो प्रक्रियामा यति गल्छन् कि विक्षिप्त भएर एकोहोरो हाँस्न थाल्छन् । कुनै आफन्तको जमानतमा उनलाई दुई हप्तामा त्यहाँबाट रिहा गरिन्छ ।


त्यसको केही हप्तमा नजिकैको मलमा खाना  खान जाँदै गर्दा उनको सरकारी परिचयपत्र स्क्यान हुन्छ र उनी अनुहार पहिचान गर्ने सफ्टवेयरबाट गुज्रन्छन् । अलार्म बज्छ र उनी पक्राउ पर्छन् । कारणः उनी त्यहाँ चीनले प्रयोग गर्ने गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)मा आधारित डाटा प्रणाली ‘आइजप’ (इन्टिग्रेटेड जोइन्ट अपरेसन्स प्लाटफर्म)को कालो सुचीमा सम्भावित आतंकवादीका रुपमा परिसकेका रहेछन् । अर्थात अरु आम मानिसजस्तै उनको कुनै आतंकवादी विगत थिएन तर सरकारले भर गर्ने गरेको एआइले उनलाई भावी आतंकवादी दर्ज गरेको थियो । प्रहरीले उनलाई भन्योः पक्राउ नपर्ने मन भए घरै बस्नु, कुनै सार्वजनिक स्थलमा नजानु । तबसम्म कुनै बेलाका उइगर पप स्टार अब्लाजान राज्यले बेपत्ता पारिसकेको थियो । झण्डै एक करोडभन्दा बढी उइगरहरुमध्ये सबै जसो एआइमा आधारित राज्यको निसास लाग्दो नियन्त्रणमा थिए ।१


प्रसंग २ः तानाशाहहरुले फलामे हातले शासन गर्ने भनिएको मध्यपूर्वमा सन् २०११ मा विद्रोहको लहर शुरु भयो । ट्युनिसिया र इजिप्टमा फेसबुक र ट्वीटरका मदतले सम्भव भएका विशाल प्रदर्शनहरुको बलमा शान्तिपुर्ण क्रान्तिहरु भई तानाशाह ढाले । सिरिया गृहयुद्धको लपेटामा प¥यो । लिबियामा विद्रोहको पक्षमा पश्चिमा देशहरुले सैन्य हस्तक्षेप गरेपछि त्यहाँका तानाशाह त ढले तर नयाँ व्यवस्था जन्मनै नपाई हिंस्रक अराजकता सिर्जना भयो जुन अद्यापि कायम छ । विद्रोह नभइ हाले पनि साउदी अरबलगायतका अधिनायकवादी शासन भएका देशमा सामाजिक सञ्जाल निर्देशित जागरण र आम मानिसको सशक्तीकारण आयो । २०११ मेमा साउदी अभियन्ता मनल अल–शरिफलाई मध्यरातमा गुप्त प्रहरीले अपहरण गरेर लगिरहँदा ओमार अल्जोहनीले ट्वीटरबाट त्यसको प्रत्यक्ष प्रसारण गरे । अपहरण गोप्य नरहेपछि उनको ज्यान बच्यो ।




सन् २०१५ अर्थात् चार वर्षपछि । तेलको मुल्य निरन्तर घटेपछि बजेट सन्तुलन गर्न साउदी अरब बाध्य भयो । नागरिकहरुलाई राज्यले दिइआएका छेलोखेलो सुविधाहरु कटौतीमा परे । सामाजिक सञ्जालमा त्यसको विरोध भयो । शासकहरु आलोचनामा परे । म्याक्किन्से एण्ड को नामक कन्सल्टेन्सीले त्यस विषयमा जनमतको अध्ययन गरेर राज्यप्रति नकारात्मक भाव फैलाउने नागरिकहरुमध्ये तीन प्रमुख ट्वीटर प्रयोगकर्ताको नाम किटेर गोप्य रिपोर्ट बनायो । न्यु योर्क टाइम्सको एउटा रिपोर्टअनुसार ती तीनमध्ये एक जना पक्राउमा परे, दोस्रो व्यक्तिको फोन ह्याक गरियो र उनका दुई भाइहरुलाई पक्राउ गरियो, तेस्रो व्यक्तिको ट्वीटर अकाउन्ट बन्द गरियो । न्यु योर्क टाइम्सकै अर्को समाचारअनुसार अलि अलजबरा नामक व्यक्ति मार्फत साउदी गुप्तचरहरुले ट्वीटरमै घुसपैठ गरेर राज्यका आलोचकहरुका ट्वीटर खाता धमाधम बन्द गरिदिए । अमेरिकामा बस्दै आएका वाशिंग्टन पोस्टका साउदी मूलका पत्रकार तथा साउदी राजकुमारका आलोचक जमाल खसोग्जीलाई टर्कीस्थित साउदी कन्सुलेटमा २०१८ अक्टोबरमा निर्मम तरिकाले मार्नुअगाडि ट्वीटरमा उनको निरन्तर चरित्र हत्या गरियो । उनको हत्याको विरोधमा संसारभर जमालखसोग्जी ट्रेण्ड भइरहँदा साउदी ‘ट्रोल फार्म’हरुले ट्वीटरमा ‘कमिला र साङ्लाको अपहरण’ र ‘आत्माको सुन्दरता नै सुन्दरता हो’ जस्ता हरफ ट्रेण्डिङ गराइरहेका थिए । राज्य दमनका कारण अभियन्ताहरुका आवाज थुनिइसकेपछि र उनीहरुले ट्वीटर खाता डिलिट गरिसकेपछि पनि उनीहरुले विगतमा गरेका ट्वीटका आधारमा धरपकड र यातना दिने काम सामान्य बन्यो ।


सन् २०११ मा ट्वीटरले आफ्नो ज्यान बचाएको मान्ने साउदी अभियन्ता मनल अल–शरिफले २०१८ मा आएर आफ्नो झण्डै तीन लाख फलोअर्स भएको ट्वीटर खाता हजार जना दर्शकका अगाडिको मञ्चमा बसेर डिलिट गरिन् ।२


प्रसंग ३ः जमाल खसोग्जीलाई मारेर उनको शरीरलाई बर्बरतापूर्वक खण्डित गरेर गायब पारिनुभन्दा केही महिना  अगाडिको कुरा हो । क्यानाडास्थित उनका साथी ओमार अब्दुल अजिजले जुन महिनामा आफ्नो आइफोनमा कुनै स्वभाविक पार्सल पाउन क्लिक गर्नुपर्नेजस्तो लिंकसहितको एउटा एसएमएस पाए र क्लिक गरे । उनले पछि अदालतमा हालेको मुद्दाका कागजातअनुसार त्यो लिंक क्लिक हुनासाथ एनएसओ नामक एक इजरायली कम्पनीको जासुसीका लागि बनाएको पेगासस नामक ‘स्पाइवेयर’ उनको फोनमा जडित भयो ।३  त्यो सफ्टवेयरले गोप्य रुपमा फोनबाट गरिएका कलहरु सुन्ने र रेकर्ड गर्ने, मेसेजहरु पढ्ने, (आइमेसेज, जिमेल, भाइबर, फेसबुक, ह्वाट्सएप, टेलिग्राम र स्काइपमार्फत) दबाइएका ‘किस्ट्रोक’समेत रेकर्ड गर्ने, फोनको पूरा इन्टरनेट गतिविधि पत्ता लगाउनेजस्ता काम गथ्र्यो । त्यसको मदतले साउदी सरकारले क्यानाडामा बस्ने अब्दुलअजीज र अमेरिकामा बस्ने खसोग्जीबीच भएका सबै सम्पर्कको पूरै रेकर्ड पायो । अन्ततः खसोग्जीका सबै कदम र मनोस्थिति समेत थाहा पाएका साउदी शासकहरुले उनलाई लोभ्याएर टर्कीस्थित कन्सुलेटसम्म बोलाएर उनको हत्या गरे ।


फोब्र्स पत्रिकाको एउटा रिपोर्टअनुसार एनएसओको त्यस्तो सफ्टवेयरको शिकार हुनेमा मेक्सिकन मानव अधिकारवादी रफायल क्याब्रेरा र युएइको सरकारका आलोचक–अभियन्ता अहमद मन्सुर छन् । दुवै जनामाथि जासुसी गर्न आफ्नै सरकारहरुले त्यो प्रविधि उपयोग गरेका छन् । उक्त कम्पनीले रजिस्टर गरेका डोमेनहरुका आधारमा उक्त प्रविधि टर्की, इजरायल, थाइल्याण्ड, कतार, केन्या, उज्बेकिस्तान, मोजाम्बिक, मोरक्को, यमन, हंगेरी, साउदी अरेबिया, नाइजेरिया र बहराइनमा उपयोेग भएको हुन सक्ने फोब्र्सको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।४


यी तीनै प्रकरणले देखाउँछन् धेरै विश्लेषकहरुले चेतावनी दिने गरेको ‘टेक–डिस्टोपिया’ अब भविष्य वा अनुमानको कुरा रहेन ।


अभूतपूर्व खुलापन र भुइँ तहको लोकतान्त्रिकरणको ढोका खोल्ने भनेर कुनै बेला स्वागत गरिएको इन्टरनेट युग विश्वव्यापी प्रयोगको केही दशक पनि नबित्दै ठीक विपरीत भुमिकामा खडा भएको छ । हिजो आम मानिसहरुले स्वतन्त्रता र मुक्तितर्फको यात्राका साधन ठानेका प्रविधिका हतियारहरुमा अहिले तीव्र रफ्तारमा अरु कोही सवार छः एक, अनुदार र अधिनायकवादी सरकारहरु, तिनका अनुत्तरदायी सैन्य र जासुसी संगठनहरु । दुई, तिनका पक्षमा विरोधीका आवाज दबाउन र कृत्रिम उभारहरु सिर्जना गर्न चौबीसै घण्टा खटिने ‘ट्रोल फार्म’हरु । तीन, अनलाइन आउने सबै खालका मानिसहरुबारेको सुचना जम्मा पारेर विज्ञापनकर्ताहरुलाई त्यो बेच्दै अकुत धन कमाउने होडमा रहेका कम्पनीहरु ।


यदि अघिल्लो वर्ष फेसबुक कम्पनीलाई नै थर्कमान पार्ने गरी सार्वजनिक भएको क्याम्ब्रिज एनालिटिका प्रकरण––जसमा क्याम्ब्रिज एनालिटिका नामक कम्पनीले करोडौं फेसबुक प्रयोगकर्ताहरुका खाताबाट अनधिकृत रुपमा व्यक्तिगत सुचनाहरु लिएर त्यो डाटा राजनीतिक हथकण्डाका लागि प्रयोग गर्नका लागि राजनीतिक पार्टीलाई बेचेको थियो––टेक–डिस्टोपियाको वर्तमान हो भने हाल एआइको मदतले चीनले निर्माण गरिरहेको भीमकाय मानव–नियन्त्रण परियोजना त्यसको भविष्य हो ।


यस्तो अवस्थालाई दुरुस्त शब्दमा उतार्दै सन् २००३ मा अमेरिकी–क्यानेडियन आख्यानकार विलियम जिब्सनले भनेका थिएः भविष्य आइसकेको छ, खाली सबैतिर बराबर वितरण भइसकेको छैन ।

माथि उल्लिखित उदाहरणहरुमा चीन र साउदी अरबजस्ता अधिनायकवादी देशहरुको नाम बारम्बार आएको छ किन भने त्यहाँ टेक–डिस्टोपियाका रुपमा कल्पित भविष्य अहिले नै आइसकेको छ र त्यसको प्रभाव निरन्तर गहिरिंदो छ । बाँकी समाजहरुमध्ये फेसबुकको माध्यमबाट संगठित हिंसा गराइएका देशहरुमा म्यानमार र लिबियाजस्ता द्वन्द्वग्रस्त देशहरु मात्रै नभई जर्मनी, भारत र फिलिपिन्सजस्ता शान्तिपुर्ण मानिएका देशहरुसमेत छन् । म्यानमारमा त रोहिंग्या अल्पसंख्यकहरुविरुद्ध सेनाले चलाएको आम संहारमा रोहिंग्याविरुद्ध घृणा फैलाउने सबैभन्दा सशक्त माध्यम नै फेसबुक थियो । यसबारे निरन्तर समाचार आइरहँदा पनि त्यस्ता गतिविधि नियन्त्रणमा फेसबुकको अरुचिपछि फेसबुकलाई नै मानव अधिकार हननका लागि अदालतमा पुर्याउनुपर्ने अवस्था आएको जिकिर गर्दै अमेरिकाको द एटलान्टिक पत्रिकामा एउटा आलेख नै छापिएको थियो ।


त्यसबाहेक, चीनको छिमेकी भएका नाताले पनि नागरिकहरुलाई घरपालुवा जनावरजस्तै आज्ञाकारी र वफादार बनाउने चीनियाँ अभियान वा मानिसहरुको ‘पाल्तुकरण’ हाम्रा लागि खास चासोको विषय हुनु जरुरी छ । यस विषयमा खास दखल राख्ने टेकनोड नामक वेबसाइटका अनुसार चीनमा अहिले १७.६ करोड जासुसी क्यामेराहरु लगाइएका छन् भने अहिलेको वृद्धिदरका हिसाबले २०२० सम्ममा त्यो संख्या ६२.६ करोड पुग्ने देखिन्छ ।५  अर्थात् झण्डै दुई चीनियाँ बराबर एक जासुसी क्यामेरा । राजधानी बेइजिङको त प्रत्येक कुनामा त्यस्तो क्यामेरा राखेर शत प्रतिशत कभरेज पुर्याएको भनेर चाइना डेलीले सगर्व समाचार लेखेको छ ।

प्रविधिको यस्तो प्रयोगबाट मात्रै चीनले अहिले अनुहार चिन्ने प्रविधिबाट एक करोडभन्दा बढी उइगरहरुमाथि चौबीस घण्टे निगरानी गर्न सम्भव भएको छ । न्यू योर्क टाइम्सको एउटा रिपोर्टअनुसार मध्य चीनको सान्मेन्सिया नामक शहरका प्रहरीले एक महिनामा मात्रै खास मानिस उइगर हो कि हैन भनेर ५ लाख पल्ट अनुहार स्क्यान गरेका थिए ।६  उइगर जससंख्यामा शुरुमा प्रयोग गरिएको पाल्तुकरणको प्रक्रिया चीनमा उनीहरुमा मात्रै सीमित रहनेचाहिं किमार्थ हैन । हाल स्वैच्छिक रहेको र २०२० देखि अनिवार्य गराउन लागिएको ‘सोसल क्रेडिट सिस्टम’ अनुसार व्यक्तिका झण्डै सबैजसो दैनिक विवरण समेटिने निजी कम्पनी र सरकारी अड्डासँग सम्बन्धित गतिविधिहरुका आधारमा हरेक व्यक्तिले एउटा ‘सिटिजन स्कोर’ पाउनेछ ।७


त्यसपछि कसैले पनि स्वतः कर्तव्यनिष्ठ र वफादार चीनियाँको मान्यता पाउने छैन, पार्टीले असल भनेर परिभाषित गरेको व्यवहार निरन्तर देखाइराखेर ती गुण कमाइरहनुपर्नेछ । स्कोर कमजोर हुनेहरु स्वतः एआइनियन्त्रित राज्यको भीमकाय निगरानी मेसिनको सर्वशक्तिमान् आँखामा पर्नेछन् । अहिले नै उइगरहरुमा परीक्षण भइरहेको आइजप प्रणालीले व्यक्तिका ३६ किसिमहरुलाई छुट्याउँछ जसका लागि ‘छिमेकीसित कम घुलमिल गर्ने र अगाडिको ढोका कमै प्रयोग गर्ने, लामो समयपछि अचानक गृहनगर फर्केको, मस्जिदका लागि ‘उत्साहपूर्वक’ पैसा र सामान बटुलेको, घरमा असामान्य मात्रामा बिजुली उपयोग गरेको’जस्ता खतराका लक्षणहरुको परख गरिन्छ । मेसिनले संकलन गर्ने यस्ता सुचना र झण्डै एक लाख प्रहरी लगाएर सिन्जियाङभर उइगरहरुको प्रत्यक्ष अन्तर्वार्तामार्फत संकलित सुचनाको योगबाट चीनियाँ राज्यले उइगरहरुको गोपनीयता शुन्यमा झारिसकेको छ । उनीहरुमध्ये ‘सुरक्षित’ र ‘औसत’ ठहरिएकाहरु घरमै राज्यको कडा निगरानीमा छन् भने ‘असुरक्षित’ ठानिएकाहरु नारकीय बन्दीगृहहरु (अर्थात पुनर्शिक्षा केन्द्रहरु)मा बन्दी छन् । २०२० पछि बिस्तारै चीनभर यति कठोर नभए पनि बिल्कुल यही प्रकृतिको निगरानी र दण्ड प्रणाली स्थापित हुनेमा विश्लेषकहरु एकमत जस्तै छन् । आखिर चीनियाँ कम्युनिष्ट पार्टीको २०१४ को बृहत योजनाको लक्ष्य नै ‘(सरकार र पार्टीमा) विश्वास कायम गर्नु र भत्कनबाट अवरोध गर्नु’ थियो ।


अब एउटा प्रश्न उठ्छः चीन वा साउदी अरबजस्ता अधिनायकवादी व्यवस्थामा विकसित समस्याहरुको उत्कर्ष हेरेर लोकतान्त्रिक देशमा बस्ने हामी नागरिक किन डराउने त७तिस कारण अनेक छन् ।


एक, चीनको आर्थिक र सामरिक शक्ति बढ्दै गएसँगै उसको ‘सफ्ट पावर’ तीव गतिमा बढ्दो छ । चीनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाको अंग्रेजीभाषी ट्वीटर खाताका फलोअर्सको संख्या मात्र एक करोडमाथि छ जबकि ट्वीटर चीनमा प्रतिबन्धित छ । कुनै बेला पश्चिमा मुलुकहरुले चीनियाँ विद्यार्थीहरुलाई अध्ययनका लागि आकर्षित गरेर चीनमा खूलापन र लोकतान्त्रिकरण फैलाउने सपना देख्थे भने अहिले ठूलो संख्यामा चीनियाँ विद्यार्थी पढ्ने पश्चिमका विश्वविद्यालयहरुमा चीनियाँ अधिनायकवादी मूल्य–मान्यताले जरा हालेकोमा उनीहरु चिन्तित छन् । क्यानाडाजस्ता मुलुकमा बस्ने चीनियाँ राज्यका आलोचकहरुले अहिले चीनबाट असुरक्षाको महसुस गरिरहेका छन् । चीनमा उनीहरुको बदनामी र चरित्र हत्या त सामान्य भइसकेको छ ।


दुई, विश्वव्यापी रुपमा अहिले जेले प्रविधि विकासको इन्जिनको काम गरिरहेको छ, त्यो हो ‘सर्भेइलेन्स क्यापिटलिजम्’ अर्थात निगरानी पुँजीवाद । करोडौं वा अरबौं मानिसहरुको निजी सुचना जम्मा पार, त्यसमा चलखेल र वर्गीकरण गर, त्यसका आधारमा विज्ञापनदाताहरुलाई त्यो सुचना बेच वा आफैं मानिसहरुलाई वस्तु वा सेवा बेच अनि धनी बन । मानिसको निजी सुचना र किनमेलसम्बन्धी व्यवहार अब हिजोको पेट्रोलियम, सुन र हीराभन्दा पनि मूल्यवान् बनेको छ । अहिले संसारका सबैभन्दा धनी पाँच कम्पनीमध्ये तीन (अमाजन, अल्फाबेट र फेसबुक)को बिजनेश मोडल निगरानी पुँजीवाद हो भने सबैभन्दा धनी पेट्रोलियम कम्पनी एक्सोनमोबिल उक्त सुचीको दशौं नम्बरमा मात्र छ ।

स्वचालित सवारी साधन र श्रमको अभूतपुर्व यान्त्रिकीकरणको आधार मानिएको फाइभ जी इन्टरनेटको आसन्न विश्वव्यापी फैलावटसँगै प्रविधि कम्पनीहरु आफ्ना लागि चुस्त एआइ विकसित गर्न युद्धस्तरमा खटिइसकेका छन् । जसले धेरैभन्दा धेरै मानिसहरुको सुचना संकलन गर्न सक्छ, यो होड उसैले जित्छ । ‘द एज अफ सर्भेइलेन्स  क्यापिटलिजम’की लेखक शोशाना जुबोफका अनुसार त्यो बिजनेस मोडल र होड अब सामाजिक सञ्जाल वा केही अरु कम्पनीमा सीमित छैन, बीमा, खुद्राव्यापार, स्वास्थ्य, फाइनान्स, मनोरञ्जन, शिक्षा, यातायातलगायत अर्थतन्त्रका सिंगै हिस्साहरुमा फैलिइसकेको छ ।८  त्यसैले प्रविधि क्षेत्रले अँगाल्ने खास प्रवृत्तिहरुको प्रभावबाट हामीलगायत कोही पनि अछुतो छैन ।


पाल्तुकरणको उत्कर्ष अवस्था भोगिरहेको एक उइगर व्यक्तिले सामना गरेको निगरानी र नेपालको आम फेसबुक वा गुगल प्रयोगकर्ताले सामना गर्ने निगरानीमा पक्कै ठूलो मात्रात्मक अन्तर छ तर त्यो प्रक्रियाको चरित्र एउटै छ । त्यसैले यस्तो प्रवृत्ति चिन्ने र आफ्नो गोपनीयता र स्वतन्त्रता बचाउन लागी पर्ने जिम्मेवारी हामीजस्ता मानिसको हुन्छ, अहिलेका उइगरहरुजस्तो परिपक्व पाल्तुकरण भइसकेपछि कुनै पनि खालको प्रतिरोध असम्भव हुन्छ ।


तीन, प्रविधिको विकास, व्याप्तता र विकेन्द्रीकरणका कारण हिजोसम्म खास महाशक्तिको पहुँचमा मात्र रहने मानिएका साइबर–हतियारहरु अब साना र गरीब देशका शासक र मध्यम आर्थिक क्षमताका कम्पनीहरुका लागि समेत उपलब्ध हुने भएका छन् । माथि उल्लिखित एनएसओ कम्पनीको पेगाससजस्ता सफ्टवेयर वर्षौंको मेहनतले बनेपछि रातारात फैलिन सक्छन् र छोटो समयमा झनै विकसित, प्रभावकारी र सस्तो बन्दै जान्छन् । फेक न्युज र प्रोपागाण्डा सामाग्रीहरुको प्रभाव अहिले विश्वभर आकाशिंदो छ । साउदी अरबले जमाल खसोग्जीलाई मार्नुअगाडि गरे झैं एकपट्टि प्रत्येक क्षण मानिसमाथि निगरानी गर्ने, अर्कोपट्टि ‘ट्रोल फार्म’हरुले फैलाउने फेक न्युजमार्फत चरित्र हत्या पनि गर्ने विधि तानाशाही शासकहरुका लागि विरोधका आवाज निमोठ्न निकै प्रभावकारी भएका छन् । राजनीतिक व्यवस्थाको लोकतान्त्रिक चरित्रमा खिया लागेर राजनीतिज्ञहरुले शक्ति कायम राख्ने चोर बाटो खोज्नासाथ संसारको कुनै पनि देशमा सत्ताका आलोचक वा विरोधीहरु असुरक्षित बन्दै जाने निश्चित छ र प्रविधिको विकाससँगै त्यो असुरक्षा बढ्दो छ ।

आज एक उइगर व्यक्तिले सामना गरेको निगरानी र नेपालको आम फेसबुक वा गुगल प्रयोगकर्ताले सामना गर्ने निगरानीमा ठूलो मात्रात्मक अन्तर छ तर त्यो प्रक्रियाको चरित्र एउटै छ । त्यसैले यस्तो प्रवृत्ति चिन्ने र आफ्नो गोपनीयता र स्वतन्त्रता बचाउन लागी पर्ने जिम्मेवारी हामीजस्ता पूरै पाल्तुकरण नभइसकेका मानिसको हुन्छ । उइगरहरुको अवस्थामा त्यो असम्भव हुन्छ । 

अन्तमा, जसरी विगतका महाशक्ति बेलायत र अमेरिकाले बाँकी विश्वलाई आफ्नो स्वार्थअनुसार ढालेका थिए, ढिलो–चाँडो उदाउँदो चीनले पनि त्यो कामलाई तीव्रता दिने हो, बिल्कुल नयाँ काम गर्ने हैन ।

त्यस्तै हिजो कृषि क्रान्ति र औद्योगिक क्रान्तिले पनि तत्कालीन समाज व्यवस्थालाई उलटपुलट पारेर नयाँ पद्धति बसालेका थिए त्यसैले संक्रमणकालमा देखिने उलटपुलटकारी परिवर्तन अभूतपूर्व हैनन् ।

तर विगतका त्यस्ता अनुभवभन्दा अहिलेको हाम्रो अवस्था दुई कारणले फरक छ ।

एक, बेलायत र अमेरिकाले विश्वभर प्रत्यक्ष–परोक्ष साम्राज्य वा प्रभुत्व फैलाउने क्रममा अन्य मानिसको दोहन गरिरहँदा आफ्नो सीमाभित्र चाहिं क्रमशः न्यायसंगत र लोकतान्त्रिक समाज निर्माण गरिरहेका थिए । समयक्रममा तिनै उदार लोकतान्त्रिक मूल्य मान्यताहरु उत्तर–औपनिवेशिक समाजहरुमा पनि पुगे र अहिलेको विश्वव्यवस्था सिर्जना भयो । अब संसारको नेतृत्व गर्न आतुर चीनको अवस्था ठ्याक्कै उल्टो छ । चीनमा विकसित हुँदै गरेको कोरा अधिनायकवादी व्यवस्थाको अमानवीय चरित्र पहिले उसको सीमाभित्र फले–फुलेर अन्यत्र निर्यात हुने अवस्थामा छ ।

दुई, मानिसलाई फिरन्ते युगबाट कृषि युगमा प्रवेश गर्न हजारौं वर्षको संक्रमणकाल उपलब्ध थियो, कृषि युगबाट औद्योगिक युगको संक्रमणले शताब्दीयौं लिएको थियो । अहिले चलिरहेको औद्योगिक युगबाट सुचना युगतिरको संक्रमण केही दशकभन्दा लामो छैन । नयाँ युगका फरक चुनौतीहरुबारे बुझ्दानबुझ्दै हामी तिनको परिणाम भोग्न बाध्य छौं । जसरी सामाजिक सञ्जालको महत्व बुझ्दानबुझ्दै उइगरहरु राज्यको क्रुर निगरानीको पासोमा नराम्ररी बल्झिसकेका छन् ।


उसो भए गर्ने के त?

आँखा खोल्ने, हेर्ने, बुझ्ने । हरेक लडाइँको तयारी अर्को पक्षबारेको सुचनाबाट शुरु हुन्छ । सुचना क्रान्तिका जति पनि डरलाग्दा पाटाहरु छन्, तिनीसित भिड्नुअगाडि तिनबारे सुसुचित हुनु अनिवार्य छ ।

प्रविधि–सिर्जित भीमकाय सुचना–अर्थतन्त्रको एउटा पुर्जा बनेर त्यसको लहरले जता हुत्याउँछ उतै हुत्तिंदै जाने हो भने बिस्तारै प्रविधिमाथि हाम्रो बचेखुचेको नियन्त्रण पनि समाप्त हुनेछ । त्यसको बदला प्रविधिका प्रभावहरुलाई आलोचना–चेतसहित हेर्ने, प्रविधिलाई आफ्नो आवश्यकता अनुसार मात्रै प्रयोग गरेर त्यसप्रति आशक्त वा अन्धो उपभोक्ता नबन्ने र त्यसका दुष्प्रभावहरुलाई बेलैमा चिनेर तीविरुद्ध लड्ने हो भने त्यसले दैनिक जीवनमा उपयोग हुने प्रविधिमाथि हाम्रो पकड बलियो बनाउँदै लैजानेछ ।

जबसम्म हामी सामाजिक सञ्जालमा निरन्तर आउने सनसनीपूर्ण, प्रायोजित वा सफेद झुट सामाग्रीमा डुबेर आफूलाई अरु कसैको भीमकाय एआइ मेसिनको कच्चापदार्थ बनाइरहन्छौं, हामी आफैं फसेको खाडललाई झन् गहिरो बनाइरहेका हुनेछौं । चेतना भया ।

१ https://www.theguardian.com/news/2019/apr/11/china-hi-tech-war-on-muslim-minority-xinjiang-uighurs-surveillance-face-recognition

२ https://www.washingtonpost.com/news/global-opinions/wp/2018/11/09/im-a-saudi-activist-twitter-put-my-life-in-danger/?utm_term=.d8d1661a5f76

३ https://www.nytimes.com/2018/12/02/world/middleeast/saudi-khashoggi-spyware-israel.html

४ https://www.forbes.com/sites/thomasbrewster/2016/08/25/everything-we-know-about-nso-group-the-professional-spies-who-hacked-iphones-with-a-single-text/#5f1a51df3997

५ https://technode.com/2017/11/22/china-to-have-626-million-surveillance-cameras-within-3-years/

६ https://www.nytimes.com/2019/04/14/technology/china-surveillance-artificial-intelligence-racial-profiling.html

७ https://www.theguardian.com/commentisfree/2018/may/27/china-taking-digital-control-of-its-people-to-unprecedented-and-chilling-lengths

८ https://www.theguardian.com/technology/2019/jan/20/shoshana-zuboff-age-of-surveillance-capitalism-google-facebook

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more