Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Friday, November 23, 2018

स्टालिन–माओ शासन र लैंगिक न्याय


के पुँजीवादले बलात्कार बढाउँछ? 



अघिल्लो लेखमा (छोटा लगा र बलात्कारको सम्बन्ध) मैले शुरुतिर पुँजीवादले बलात्कार बढाएको भन्नेबारे गृहमन्त्री राम बहादुर थापाको भनाइलाई यो विषयमा चलेको सतही बहसको उदारहण भनें । अलि तल गएपछि समाजमा कायम लैंगिक तहीकरण (जेण्डर हाइरार्की)का लागि पितृसत्ता र बजारको गठजोडको प्रसंग आयो । 

त्यसो गर्नु विरोधाभासी भएन र? साँच्चिकै बजार वा पुँजीवादले पितृसत्तालाई भरथेग वा मलजल गरेको हो भने थापाको भनाइ सही हैन र? यो विषयमा बहस उठेपछि कम्तीमा मलाई यस्तो प्रश्न सोधिएला भन्ने मेरो अपेक्षा थियो । अहिलेसम्म कतैबाट त्यसरी नसोधिएकाले आफैं यो विषयमा थप विस्तारमा चर्चा गर्न उचित लाग्यो । 

गृहमन्त्री थापाको मात्रै नभएर आम रुपमा कम्युनिष्टहरुको अरु विषयमा झैं यसमा पनि एउटा अकाट्य धारणा हुन्छः पुँजीवादले मानिसलाई फगत उपभोक्तामा बदलिदिन्छ । यो व्यवस्थामा बजार सर्वशक्तिमान हुन्छ, मान्छे हैन । त्यसैले बजारको सर्वश्रेष्ठता स्थापित गर्न र उपभोगलाई अधिकतम बनाएर पुँजीपतिहरुलाई झनै धनी बनाउन यो व्यवस्थामा जे पनि स्वीकार्य हुन्छ । त्यसैको एउटा कडी स्त्री शरीरको वस्तुकरण (कमोडिफिकेसन) हो । त्यसको परिणामस्वरुप स्त्री शरीर उपभोग्य वस्तुमा बदलिन्छ र बलात्कारजस्ता अपराधहरु मौलाउँछन् । 

यो समस्याबाट मुक्तिका लागि पनि कम्युनिष्टहरुको अकाट्य सुत्र छः बाँकी सबै समस्याहरुजस्तै यसको पनि समाधानको पूर्वशर्त वर्गरहित ‘आदर्श’ समाजको निर्माण हो । त्यसो नहुँदासम्म अहिलेका कुनै पनि समस्या समाधान हुँदैनन् र त्यसो भएपछि अहिलेका कुनै पनि समस्या बाँकी रहँदैनन् । 

वर्गरहित आदर्श समाज भनेको कस्तो हो भन्नेमा लामो सैद्धान्तिक बहस गर्न सकिन्छ तर कम्युनिष्टहरुका यस्ता तर्कको मुल्यांकन गर्नलाई कुनै काल्पनिक आदर्श वर्गविहीन व्यवस्थालाई आधार मान्नुको सट्टा विगतमा सोभियत संघ र चीनमा साम्यवादका नाममा जस्ता समाज निर्माण भए, तिनलाई आधार मान्नु बढी उचित हुन्छ । त्यसो गर्नु किन पनि सान्दर्भिक हुन्छ भने नेपालमा तत्कालीन माओवादी पार्टीले माओ–निर्मित चीनियाँ समाजलाई आदर्श थापेर रक्तपातपुर्ण युद्धसमेत चलाएको हो । नेपालमा माओवाद नमानिहाल्ने कम्युनिष्ट पार्टीहरुले पनि ‘माओ विचारधारा’ मान्ने कर्मकाण्ड पूरा गर्ने गरेका छन् । लेनिन र स्टालिन त माक्र्स र एंगेल्सपछि कम्युनिष्टहरुका देव–मनुष्य (डेमीगड) भइहाले । 

सोभियत संघ र चीनमा कम्युनिष्टहरु सत्तामा पुगेपछि साँच्चि लैंगिक न्याय स्थापित भएको हो त?



यो प्रश्नको मोटामोटी उत्तर सकारात्मक नै हुन्छ । जुन परम्परावादी समाजलाई लेनिन वा माओका सत्ताले विस्थापित गरे, तीभन्दा कम्युनिष्ट सत्तामा लैंगिक न्याय बढी थियो । खास गरी भुइँ तहको राजनीति, लडाकुहरुको भर्ती र कम्युनहरुको निर्माण र सञ्चालनमा लैंगिक विभेद न्युनतम थियो । कति अवस्थामा त्यस्तो विभेद अन्त नै पनि भएको थियो । त्यस खालको परिवर्तन हठात भएको पनि थिएन । कम्युनिष्टहरुले स्थापित गर्दै गरेको भनिएको आदर्श समाजमा लैंगिक विभेद नामेट हुन्छ भन्ने कुरा उनीहरुको प्रोपागाण्डाको महत्वपूर्ण पाटो थियो । कम्युनिष्टहरुको आगमनसँगै अफगानिस्तानजस्तो अतिशय पुरुषवादी समाजमा समेत महिला सशक्तीकरण भएको भनेर लेखक खालेद होसेनीका उपन्यासहरुमा पढ्न पाइन्छ । 

कम्युनिष्टहरुको शासनमा लैंगिक न्यायको कथा त्यत्तिचाहिं हैन । झण्डै साढे आठ दशक चलेको सोभियत संघका आठ शासकहरुमध्ये सबै पुरुष थिए । माओकालीन ‘साम्यवादी’ चीन होस् वा उनीपछिको कम्युनिष्ट पार्टीले नै चलाएको पुँजीवादी चीन, त्यहाँ पनि सत्ताको निर्णायक पदमा महिला पुग्न सकेका छैनन् । 

तर ‘कम्युनिष्ट र लैंगिक  न्याय’ भन्नेजस्तो बहस यतिमै पनि टुंगिंदैन । र यसका अरु धेरै सान्दर्भिक आयामहरु छन् जुन झट्ट हेर्दा ठम्याउन गाह्रो हुन्छ । 

आलोचकहरुले कम्युनिष्टहरुको आर्थिक समानताको नारालाई यसरी अथ्र्याउँछन्ः सबैलाई बराबर गरीब तुल्याउने । कम्तीमा तत्कालीन सोभियत संघ र चीन (अहिलेको उत्तर कोरियासमेत)को अनुभवले त्यो आरोपलाई गलत सिद्ध गर्न सक्दैन । गजबचाहिं के भने ती व्यवस्थामा लैंगिक समानताको पनि अवस्था त्यस्तै थियो ।

सन् १९६७ मा प्रकाशित संस्मरण मा जोसेफ स्टालिनकी छोरी स्भेत्लाना अलिलुएभा लेख्छिन्(१): सन् १९४८ मा गिरफ्तारीको नयाँ चरण शुरु भयो । मेरा दुई काकीहरु, अंकल पावेल र रिडेन्सका विधवाहरु र तिनलाई चिन्ने सबै गिरफ्तार भए । ... मैले काकीहरुको के दोष थियो भनी सोध्दा बुवा (स्टालिन)ले भनेः उनीहरुले धेरै कुरा गरे । उनीहरुलाई धेरै थाहा थियो र धेरै बोले । त्यसो गर्दा हाम्रा शत्रुलाई बल पुग्छ । 

अलिलुएभाका अनुसार शासनकालको उत्तरार्धतिर स्टालिन नितान्त एक्लो थिए । कारणः उनी यति माथि भगवानजस्तो उचाइमा पुगिसकेका थिए कि उनको हाराहारीमा कोही मनुष्य पुग्दैनथ्यो । फलस्वरुप उनी भावनात्मक मानव संसर्ग विनाको भ्याकुम वा शून्यतामा बाँचेर विश्वको एउटा महाशक्तिलाई हाँकिरहेका थिए । बाबुलाई व्याख्या गर्न अलिलुएभाले ‘प्याथोलोजिकल’ र ‘पर्सेक्युशन म्यानिया’ शब्द प्रयोग गरेकी छन् । त्यस्तो गम्भीर मानसिक समस्याले ग्रस्त स्टालिनले आफू वरपर दुश्मन मात्रै देख्न थालेको दशकौं भइसकेको थियो । उनको दुश्मन बन्न कसैले उनलाई घात वा अरु कुनै काम गरेको हुनु पर्दैनथ्यो, जसको भविष्यमा नियत खराब हुने सम्भावना थियो भन्ने उनलाई लाग्थ्यो, ऊ स्वतः प्रतिक्रान्तिकारीमा दरिएर सफायाका लागि योग्य हुन्थ्यो। 

कथित प्रतिक्रान्तिकारी वा सोभियत विरोधीहरुमाथिको आरोप समयअनुसार बदलिन सक्थ्यो र बेला बेला त्यसमा चर्को नश्लभेद झल्किन्थ्यो । जस्तो कि आफैं वरपरका धेरैलाई उनले ‘जायोनिस्ट’वा यहुदीवादी भएको आरोपमा पक्रेर मारिदिन्थे । अलि दिनपछि पक्रेर मारिनेहरुमाथि फेरि ‘कस्मोपोलिटान’ वा सर्वदेशीय भएको आरोप लाग्थ्यो । ती आरोपमाथि प्रश्न उठाउने वा प्रतिकार गर्ने हैसियतमा कोही हुँदैनथ्यो । 

छोरीसँगकै व्यवहारमा स्टालिनको रवैया कम्युनिष्टहरुले दाबी गर्ने गरे झैं महिला मुक्तिको भावनाअनुकुल थिएन । कसैले नगर्ने दुस्साहस गरेर अलिलुएभाले स्टालिनका बर्बर कामहरुमाथि प्रश्न उठाउँदा क्रुद्ध भएर उनी भन्थेः तँ आफैं सोभियतविरोधी अभिव्यक्ति दिन्छेस् । अलिललुएभाका दोस्रो पति झ्दानोभको परिवारबारे स्टालिन भन्थेः त्यहाँ किन जानुप¥यो? त्यहाँका आइमाइले तिमीलाई ज्यूँदै खानेछन् । त्यो घरमा चाहिनेभन्दा ज्यादा महिलाहरु छन् । 

तीसको दशकको अन्ततिर कुख्यात ‘पर्ज’वा ‘ग्रेट टेरर’का बेला स्टालिनको मान्छे मार्ने काम ढल सफा गर्नेजस्तै कर्मकाण्डका रुपमा चलेको थियो । स्टालिनका बायोग्राफर सिमोन सेबाग मन्टेफियरले बीबीसीको वृत्तचित्र ‘स्टालिनः इन्साइड द टेरर’का लागि बताए अनुसार स्टालिनको आदेश यस्तो हुन्थ्यो(२): यो शहरमा मारिनुपर्ने ५ हजार, निकाला गरिनुपर्ने २० हजार, बस् । न कुनै कारण न कुनै निहुँ वा औचित्य । यसरी स्टालिन र उनको सानो समुहले निर्धारित गरेको संख्या वा कोटाको आधारमा मानिस मारिन्थे, तिनको दोष त के पहिचान र नामसित समेत उनीहरुलाई मतलब हुँदैनथ्यो । त्यति हुँदा हुँदै पनि खास व्यक्तिहरुको चाहिं नाम तोकेर मृत्युको आदेश दिन पनि भ्याउँथे स्टालिन । तीमध्ये धेरै गृहयुद्ध र बोल्शेभिक क्रान्तिताका उनी सरह वा उनले भन्दा बढी भुमिका निभाएका उनका आफ्ना जीवनभरका साथी कमरेडहरु हुन्थे । त्यस्ता धेरै आदेशका प्रमाणहरु अहिलेसम्म सुरक्षित छन् । 

स्टालिनको शासनबारे पछिल्लो समय उत्खनन भएका प्रमाणहरुमा आधारित उल्लिखत वृत्तचित्रका अनुसार उनी आफैंले हस्ताक्षर गरेका मारिनुपर्ने मानिसका ४०० वटा सुची त्यतिखेर बनेका थिए जसमा ४० हजार जति मानिसको नाम थियो । स्टालिन आतंकको उत्कर्षका बेला सात लाख जति मानिस त्यसरी मारिएका थिए । सन् १९३७ डिसेम्बर १२ का दिन मात्रै स्टालिन र उनका सहयोगी मिखाइलोभिच मोलोतोभले ३१६७ जनाको मृत्युदण्डमा हस्ताक्षर गरेर सिनेमा हेर्न गएका थिए । 

इतिहासकार टिमोथी स्नाइडरका अनुसार (३) १९३३–१९४५ को अवधिमा स्टालिनका गुलागहरुमा मारिएका २० देखि ३० लाख, माथि उल्लिखित ‘ग्रेट टेरर’ लगायतमा हत्या गरिएका करीब १० लाख र उनको तीव्र औद्योगिकरणको आर्थिक नीतिका कारण सन् १९३०–१९३३ को भोकमरीमा मारिएका कम्तीमा ५० लाख गरी स्टालिन शासनमा मारिएका कुल गैर–सैन्य मानिसको संख्या ८०–९० लाख रहेको मानिन्छ । उनको नालायकी र क्रुर युद्धनीतिकै कारण दोस्रो विश्वयुद्धमा अनावश्यक रुपमा मृत्युमा होमिएका लाखौं सोभियत सैनिकको त कुरै छाडौं । बीसौं शताब्दीमा हिटलरबाहेक मान्छे मार्ने काममा स्टालिनलाई उछिन्ने मान्छे माओत्सेतुङ मात्रै थिए । 

स्वभावतः धेरै बामपन्थीहरुले यी तथ्यांकलाई पुँजीवादी प्रोपागाण्डा मान्छन् । तर उनीहरुको तर्कमा केही समस्या छन्ः स्टालिनकी छोरी मात्रै नभएर उनकी नातिनी, भान्जा–भान्जी लगायतका जीवित सदस्यहरुले उल्लिखित वृत्तचित्र लगायतमा स्टालिनको क्रुरता र उनको शासनको प्रलयकारी अवस्थाबारे खुलेर बोलेका छन् । फेरि स्टालिनको बर्बरता सोभियत संघ ढलेपछि मात्रै सार्वजनिक भएको हैन । सन् १९५६ मै उनका उत्तराधिकारी निकिता  खुस्चेभले पार्टीको बीसौं बैठकमा दिएको विख्यात गोप्य भाषणमा त्यसको खुलासा र निन्दा गरेका थिए । चीनमा त माओको निर्ममता र विध्वंश भोगेको पुस्ता अद्यापि जीवितै छ । 

सोभियत र चीनियाँ कम्युनिष्ट शासनजस्तो समाजको अप्राकृतिक अवस्था, जहाँ मानिसको बाँच्ने अधिकार दाउमा हुन्छ, त्यसमा लैंगिक न्यायजस्ता विषयहरु यसै पनि गौण हुन पुग्छन् । एउटा अर्को उदाहण हेरौं । एक चीनियाँ उपन्यासकार यु हुआको साथीका बाबुआमा माओको कुख्यात सांस्कृतिक क्रान्तिको भुंग्रोबाट गुज्रेका थिए । बाबु जमिन्दार परिवारबाट आएका हुँदा बुर्जुवा वा जनताका दुश्मन घोषित भएका थिए भने आमा विपन्न परिवारबाट आएकी हुँदा सांस्कृतिक क्रान्ति सफल बनाउन परिचालित दस्ताकी सदस्य थिइन् । सम्बन्ध विच्छेदका लागि पार्टीबाट आएको चर्को दबाब अस्वीकार गरेर उनकी आमा बाबुसितै बसिरहिन् । बारम्बार बाबुलाई क्रान्तिकारीहरुले बैठकमा बोलाएर अपराध सकार्न दबाब दिन्थे । नसकारेपछि उनीमाथि लात र मुक्का बर्सिन्थे तर ती थाप्न बीचमा आमा आउँथिन् र सहकर्मी क्रान्तिकारीहरुसित भिड्थिन् । उनको शरीर निलडामले भरिन्थ्यो, दुवै रक्ताम्य हुन्थे तर उनी डटिरहन्थिन् । 

सांस्कृतिक क्रान्तिको पागलपन सकिएपछि ती बाबुले छोरीसित भनेछन्ः तिम्री आमाले त्यति नगरेको भए मैले उहिल्यै आत्महत्या गरिसकेको हुने थिएँ । (४)

यी त भए सोभियत संघ र चीनका कुरा । विश्वका अरु समाज जहाँ बामपन्थीहरु सत्तामा छैनन् वा लोकतान्त्रिक विधिबाट सत्तामा पुगेका छन्, त्यहाँ लैंगिक न्यायको अवस्था कस्तो छ त?

सबैतिरको ठ्याक्कै आँकडा त छैन तर यति भन्नु सुरक्षित हुन्छ कि संसारभरका कम्युनिष्ट पार्टीहरुमा पितृसत्ता गैर–कम्युनिष्ट पार्टीहरुकै हाराहारीमा छ । केही अपवादहरुबाहेक नेतृत्वका निर्णायक पदहरुमा पुरुष नै छन् । बहुविवाह गर्ने नेताहरुको अभाव छैन । नेपालमै दुई जना बामपन्थी प्रदेश मन्त्रीहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेको धेरै भएको छैन । 

अब फर्कौं यो लेखको केन्द्रीय विषयतिर । विशुद्ध लैंगिक न्यायका हिसाबले हेर्ने हो भने पुँजीवाद र साम्यवादमध्ये कुन चाहिंले अर्कोलाई उछिन्ला?

एउटा तथ्य के हो भने संसारमा पुँजीवाद वा साम्यवाद जन्मनुभन्दा हजारौं वर्ष अघिदेखि पितृसत्ता हावी थियो । त्यसले उत्पन्न गर्ने लैंगिक विभेद र यौन हिंसा लगायतका विकारहरु पनि स्वभावतः मानव समाजमा थिए । पुँजीवादको उदयसँगै पितृसत्ताका जुन अवयवहरुले बजार र नाफालाई प्रश्रय दिन्थे स्वभावतः तिनको मलजल भयो । जस्तो कि पुँजीवादी व्यवस्थामा विज्ञापनको ठूलो भुमिका छ । फेशन वा पहिरन आधुनिक बजारमा किनबेच हुने एउटा महत्वपूर्ण वस्तु हो । कुनै पहिरन वा अन्य उपभोग्य सामग्रीको विज्ञापनको माध्यमका रुपमा जब मानव शरीरलाई उपयोग गर्न थालियो, पुरुष र स्त्री दुवै शरीर त्यसका लागि उपयोगमा आए । जब विज्ञापनका लागि स्त्री शरीरको उपयोगबाट हुने नाफा बढी हुन आयो (जुन अवस्था स्वतः पितृसत्ताको उपज हो), विज्ञापनको बजारमा महिलाहरु बढी देखिन थाले । सुन्दरी प्रतियोगिताहरु संसारभर झन्भन्दा झन् ठूलो स्केलमा हुन थाले भने सुन्दर प्रतियोगिताहरुले तिनसित प्रतिस्पर्धा गर्न सकेनन्।

पुँजीवादमा जब अन्य मानवीय मुल्य मान्यताहरुलाई उपभोगको संस्कृतिले ओझेलमा पा¥यो, उपभोग्य वस्तुहरुको दायरा फरक हुँदै गयो । असमान शक्ति सम्बन्ध र अर्थोपार्जनका माध्यमहरुमाथिको विगतदेखिको पकडका कारण उपभोक्ताको कित्तामा पुरुषहरु बलियो हुन पुगे । जस्तो कि यौनजन्य आवश्यकताका लागि पोर्नोग्राफिक सामाग्रीहरु सिद्धान्ततः पुरुषकै लागि भनेर बन्ने गर्दैनन् तर त्यसका मुख्य उपभोक्ता उनीहरु नै हुन पुगे । पाप–धर्मका परम्परागत बन्धनहरु फुक्लिंदै गर्दा पितृसत्ता र विषाक्त पुरुषत्व (टक्सिक म्याक्कुलिनिटी)को मेलले बलात्कारी मनोवृत्तिलाई बढावा दियो । समाजमा असमानता बढ्दै गर्दा सम्पन्नहरुले यौन हिंसा रोक्ने सुरक्षा र हिंसा भइसकेको अवस्थामा न्यायमा सहज पहुँच पाए भने विपन्नहरु दुवैबाट वञ्चित भए । विधिको शासन कमजोर भएका हाम्रोजस्ता समाजमा धनाढ्य अपराधीहरु न्याय प्रक्रियालाई नै प्रभावित पारेर उन्मुक्ति खरीद गर्ने अवस्थामा पुगे । 

त्यसैले पुँजीवादी समाजमा लैंगिक न्याय र यौन हिंसाको कुरा जटिल छ । 

तर साम्यवादको कथाचाहिं बेग्लै छ । सोभियत संघ र चीनमा सर्वहाराको अधिनायकवाद हुने भनिएका व्यवस्थाहरु शुरुदेखि नै सन्की र क्रुर तानाशाहको निरंकुश शासन बन्न पुगे, ‘सर्वहारा शासन’ तिनका नालायकी र अपराध छोप्ने मुखुण्डो मात्रै बन्यो ।

त्यहाँ लैंगिक न्याय थियो भन्नुको अर्थ पुरुष र महिलाबीचको विभेद त्यहींका पहिलेका समाज वा अन्यत्रका समाजभन्दा कम थियो भन्ने त लाग्छ । तर त्यसको थप अर्थ पनि हुन्छः सोभियत गुलागमा जबर्जस्ती श्रम गर्न पठाउँदा वा सफाया गर्ने बेला महिला र पुरुषबीच भेद गरिएन । चीनको सांस्कृतिक क्रान्तिका बेला विश्वविद्यालयका प्राध्यापकहरुलाई गाउँमा सुँगुर पाल्न पठाउँदा, वा प्रति–क्रान्तिकारीको आरोप लगाएर आक्रमण र बर्बर हत्या गर्दा महिला र पुरुषबीच कुनै भेद गरिएन । स्टालिन र माओ दुवैका प्रलयकारी आर्थिक नीतिका कारण जनसंख्याको उल्लेख्य हिस्सा लोप हुँदा कुनै लैंगिक विभेद भएन । 

निश्कर्ष

अहिले पनि विश्वका धेरै कम्युनिष्टहरुले आदर्श मान्ने गरेको स्टालिनकालीन सोभियत संघको अवस्था कति त्रासद थियो भने, स्टालिनकी आफ्नै पत्नि नादेझ्दा अलिलुएभाले सन् १९३२ मा ३१ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । छोरी स्भेत्लाना सन् १९६७ मा भारतमा आएको मौका पारेर अमेरिकामा शरण मागेर सोभियत संघबाट सदाका लागि भागेकी थिइन् । निकिता खुश्चेभले स्टालिनको आंशिक भण्डाफोर गरेपछि माओको चीनियाँ कम्युनिष्ट पार्टीले उनलाई संशोधनवादी भएको आरोप लगाएर निन्दा गर्दै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा फुट ल्याएको थियो । आजपर्यन्त नेपाललगायत धेरै देशका कम्युनिष्टहरुले माओको त्यही तर्क समातेर स्टालिनलाई क्रान्तिकारी र खुश्चेभलाई संशोधनवादी नै भन्छन् । 

जबसम्म यी छ दशकसम्म बन्द रहिरहेका आँखा खोलेर वामपन्थीहरुले हिजोको सोभियत संघ र चीनको असली रुप हेर्न र स्वीकार्न सक्दैनन्, तबसम्म पुँजीवाद–समाजवाद बहस र तर्कवितर्कको कुनै पनि आयामले गहिराइ भेट्दैन । त्यो बहसको लैंगिक न्याय र यौन हिंसाको पाटो पनि त्यो यथार्थको अपवाद रहेको छैन । 

सन्दर्भ सामाग्रीहरु:
(१) 20 Letters to a friend by Svetlana Alliluyeva. p. 171.
(२) युट्युबमा उपलब्ध वृत्तचित्र: https://www.youtube.com/watch?v=SIzApqzlP3Q&t=3994s
(३) न्यूयोर्क रीभ्यू अफ बक्समा स्नाइडरको लेख: https://www.nybooks.com/articles/2011/03/10/hitler-vs-stalin-who-killed-more/
(४) Human impulses run riot: China's shocking pace of change by Yu Hua: https://www.theguardian.com/news/2018/sep/06/human-impulses-run-riot-chinas-shocking-pace-of-change

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more