धनिराम पौडेल ।
रामकण्ठ मकाजु ।
यी नाममा के समानता छ?
यी सबै भविष्यमाराहरु हुन् । यस्ता मानिसहरुको सुची लामो छ तर अहिले तत्काल देखिएर दुष्कर्ममा लागेकाले र यिनको त्यस्तो भुमिकामाथि शंका गर्ने ठाउँ नभएकाले यहाँ यति मात्रै नाम लिइएको हो ।
यी किन भविष्यमारा? किनकि यिनलाई आफ्नो वर्तमान बनाउन करोडौं जनताको भविष्य मार्न केही जस्तो पनि लाग्दैन ।
कसरी मार्छन् भविष्य?
डाक्टरी पढाउने हैन, डिग्री बेच्ने व्यवस्था गर्छन् ।
शिक्षा दिने हैन, कागजी डिग्री बेच्छन्, रोजगारी पाइँदैन, व्यक्ति भोकभोकै पर्छ ।
रोजगार खुल्छ, योग्यलाई नदिएर पार्टीको नुन खाएकालाई मात्र दिन्छन्, योग्य व्यक्ति पलायन हुन्छ, देशले अनगिन्ती प्रतिभा गुमाउँछ ।
पढेर भविष्य बनाउनुपर्ने युवाहरुलाई जम्मा पार्छन्, पार्टीको चाप्लुसी गर्न, टायर बाल्न र रेलिंग भाँच्न सिकाउँछन् ।
के हामी यी तीनजनाविरुद्ध आन्दोलनमा उत्रिन लागेको हो? हैन । यी जुन पद्धति र प्रणालीका उपज हुन्, त्यसको विरुद्ध उत्रिन लागेको हो ।
यिनले जतिचोटि इमान बेचेर बचाउने जिम्मा लिएको संस्थालाई धराशायी बनाए, उति नै पल्ट यिनको इमान निश्चित मूल्यमा किनेर राज्य प्रणालीलाई खोक्रो बनाउने काममा हाम्रो शीर्ष नेताहरुको कार्टेल लागेको छ, चाहे त्यो जुनसुकै प्रमुख दलको किन नहोस् । त्यो कार्टेल र पद्धतिविरुद्ध हो हाम्रो अहिलेको लडाइँ ।
यिनले हाम्रो भविष्यका लागि भोक, गरिबी, अशिक्षा र रोग सुनिश्चित गर्दैछन् । संसार अघि बढिरहँदा हामीलाई हरितन्नम विगततिर धकेलिरहेका छन् । न यिनका आँखामा सपना छन्, न मनमा इच्छाशक्ति । न इमान छ न अडान ।
असल डाक्टर भनेर चिनिएका रामकण्ठ मकाजु काठमाडौं विश्वविद्यालयको उपकुलपति भएपछि आफूले नियमन गर्नुपर्ने निजी मेडिकल कलेजहरुसित झुके, बिके वा दुवै गरे । निजी मेडिकल कलेजले विश्वविद्यालय चलाए । परीक्षामा एक अर्काका विद्यार्थी कति संख्यामा पास गरिदिने भनेर सल्लाहमा नतिजा आउन थाल्यो, को पास हुन योग्य छ कि छैन भन्ने कुरा जाँचिन छाड्यो । पैसा कति तिरेको भन्ने कुराले पहिलो प्रयासमा पास हुने कि नहुने भन्ने निर्धारण गर्न थाल्यो । परीक्षामा निश्पक्षता कायम गर्न अनिवार्य हुने कोडिंग प्रणाली लागू भएन । राज्यले सम्बन्धन नदेऊ भन्दाभन्दै बिस्तारित कार्यक्रमको छद्म नाम दिएर दुई मेडिकल कलेज थपे । छवटा डेन्टल चेयर हुने कलेजले ४ वर्षसम्म ५० जनाको दरले विद्यार्थी पढाए । सरकारले तोकेको शुल्क मात्र लिनु भनेर विश्वविद्यालयले मेडिकल कलेजलाई एउटा सुचना निकाल्न समेत खुट्टा कँपायो । मेडिकल कलेजहरुले अर्बौं रुपैयाँ कालोबजारी गरे ।
मकाजुले यी सबै घोटालाको संयोजन गरे । डिग्री पढेर लिने कुरा भएन, पैसाले किन्ने कुरा भयो ।
उनलाई अहिले पुरस्कृत गर्ने बेला आएको छ र उनलाई पुनः सोही पदमा ल्याउन अहिले शिक्षा मन्त्री धनिराम पौडेल लागेका छन् । उनीसमेत दमननाथ ढुंगाना र सुरेशराज शर्मा सम्मिलित सर्च कमिटिले अब केयुको नयाँ उपकुलपति छान्नेछ । तर मकाजु फेरि दोहोरिने व्यवस्था गर्न शिक्षामन्त्री र उनका पार्टी प्रमुख तथा प्रम प्रचण्डको सम्पूर्ण प्रयास चलिरहेको छ ।
तीर्थ खनियाँबारे मैले यस अघि श्रृंखला नै लेखेको छु । आज बिहानै कोरियाबाट एक शुभेच्छुकको फोन आएको थियो । डा केसीको स्वास्थ्यप्रति चिन्ता र आफूले कसरी यो अभियानलाई सहयोग पुर्याउन सकिएला भन्ने हुटहुटी उनमा बराबर देखिन्थ्यो ।
जबसम्म तीर्थ खनियाँजस्ता दलीय लठैतहरु लगाएर विश्वविद्यालय धराशायी पारिन्छन्, जबसम्म उच्च शिक्षाको नेतृत्व लिएको मान्छेले शिक्षाको गुणस्तर बढाउनेबारे कहिल्यै केही नसोची भवन बनाउने ठेक्काबाट कति करोड पार्टीलाई असुलौं भनेर दिमाग खियाइरहने अवस्था हुन्छ, तबसम्म देशमा डिग्री लिएर त्यस अनुसारको रोजगारी खोज्ने अवस्थाा कसरी हुन्छ?
हाम्रा दाजुभाइहरु यसै महिनौं टन्टलापुर घाममा लाइन बसेर विदेश भासिइरहेका छैनन् । हेर्दा आकर्षक देखिने कोरियाको रोजगारीले समेत देश कति तल गिर्यो भन्ने महसुस गराएका कारण ती शुभचिन्तकले कोरियाबाट मेरो नम्बर खोजेर आज फोन गरे । यस अघिका चरणहरुमा समेत नेपाल बाहिर विभिन्न देशहरुमा डा केसीको पक्षमा प्रदर्शनहरु नै हुने गरेका छन् ।
जसले विश्वविद्यालयहरुको आत्मा मारेर हाम्रो भविष्यको हत्या गरिरहेका छन्, अब तिनलाई नांगेझार पारेर दण्डित गर्नु त अनिवार्य छ नै, तिनलाई त्यहाँ भर्ती गरेर हप्ता असुली गर्ने पार्टीहरुलाई पनि अब जोडदार खबरदारी गर्नुछ ।
त्यसैले भोलि मंसीर १८ गते शनिवार हाम्रो भविष्य रक्षाका लागि यस्ता कार्यक्रममा संलग्न होऔंः
- काठमाडौं उपत्यकामा हुनेहरु ११ बजे माइतीघर मण्डलामा जम्मा होऔं ।
- काठमाडौं बाहिर हुनेहरु सोलिडारिटी फर डा केसी अलायन्सका रुपमा संगठित भएका ठाउँहरुमा स्थानीय रुपमा संयोजन गरेर ११ बजे नै शहरका मुख्य भागमा जम्मा भएर प्रदर्शन गरौं ।
- अलायन्स नहुने ठाउँहरुमा अलायन्स सम्बद्ध राजनीतिक दलहरु तथा अन्य संघसंगठनहरुको माध्यमबाट संगठित भएर प्रदर्शन गरौं ।
- सबै ठाउँमा चिकित्सक र मेडिकल विद्यार्थीहरु पहिले नै संगठित र आन्दोलित भइसकेकाले उहाँहरुसित संयोजन गरेर प्रदर्शनमा उत्रिऔं ।
- सडकमा संगठित हुन नमिल्ने देश विदेश सबैतिरका साथीहरुले सामाजिक सञ्जालबाट यो अभियानलाई साथ दिऊँ ।
No comments:
Post a Comment