त्यो यात्राका खास स्मरणीय क्षणहरुमा चेन्नइको मामलापुरम बीचमा सिंगा सिंगा माछाहरु पेट भरि तीन जनाले खाएर जम्मा रु २०० जति तिरेको याद छ, त्यो पनि स्पन्शरशीपमा । बीचमा दिनभर पौडेर फर्कंदा नरिवलको जुस खाएको र कानभित्र नुन बनेको याद उत्तिकै रमाइलो छ । त्यही दिन हाम्रो नतिजा भएको र म पास भएको समाचार पनि भैरहवाबाट फोनमार्फत् पुगेको थियो ।
अरु त अरु दुर्गापुरमा रेल स्टेशनबाट निस्कने चोरबाटो देखेका इन्दु र उसको उत्साही साथी विवेकको लहैलहैमा कोलकातादेखि त्यहाँसम्म रेलमा विना टिकट यात्रा गर्दा शरीरमा काँडा उम्रेको क्षण पनि एक हिसाबले रोमान्चक नै थियो । हैदरावादको पाइरेटेड किताबको बजारमा मंगोल अनुहारका सुजन दाइलाई पसलेले चैनासे आए हो? भनेर सोधेको र मलाई चाहिं ए तो हमारा यहींका आद्मी हे भनेको थियो ।
तमिल नाडुका महिलाहरुका लागि सुन्दर देखिन कपालमा ताजा र सुन्दर फुलहरु गुँथ्नैपर्दोरहेछ भन्ने पनि हामीले त्यहीं पुगेर थाहा पायौं । पुरा चेन्नइभर प्यान्ट र टिसर्ट लगाएका केटीहरु रेलवे स्टेशनमा मात्र देखिनुले पहिरनको मामलामा परम्परागत लुगाहरुमा तमिलहरुको लगाव राम्रैसँग देखियो ।
यात्राको अन्ततिर गोरखपुरमा एक रात बस्नै पर्ने भएपछि लामखुट्टेको प्रकोपबाट बच्न रातभर बत्ती बालेर सुत्नुपरेको थियो ।
दुखको कुरा के रह्यो भने त्यति लामो यात्रामा मुम्बइ र गोआ पुग्ने हाम्रो सपना भने तुहियो । समय र स्पन्शर दुवै हुँदाहुँदै पनि बाल ठाकरेको शिव सेना वा राज ठाकरेको अर्को समानान्तर सेनामध्ये एकले उत्तर भारतीयहरु माथि गरिरहेको दमनका क्रममा सडक सडकमा उत्तर भारतीयहरुमाथि आक्रमण भएका समाचारहरु आइरहेका थिए । मुर्खसित दैव डरा भन्दै हामीले त्यतापट्टिको यात्रा रद्द गरेर चेन्नइतिर हानिएका थियौं ।
भारतको फाइनान्सियल क्यापिटल भनिने बलिउडको पनि राजधानी मुम्बइ देख्न नपाउनुको न्यास्रो मेटाउने वहाना जुटाइदियो टाटा अस्पतालले यसपालि एउटा सिएमइको आयोजना गरेर । यसपालि प्रायोजक कोही पनि छैनन्, तैपनि हाम्रा् जोश जाँगर कत्ति कम छैन । सुजन दाइ सहित धरानका ५ जना प्याथोलोजीका सधर्मी बन्धुहरु र म भोलि जलपाइगुरिदेखि ४२ घण्टाको रेल यात्रामार्फत् मुम्बई पुग्दैछौं ।
यात्राको शुरुवातमा म हिजै काठमाडौंबाट कोशी सुपरको गाडीको बाल्कोनीको खाली ६ सिटमा चारै पाउ फालेर सुतेर रेलको बर्थमा जस्तै गरी आज बिहान धरान पुगें । यात्रामा लता र जगजितका श्रुतिमधुर गीत सुन्दै र नयनराज पाण्डेको लू पढ्दै गर्दाको जुन रमाइलो छ, त्यसलाई बुझ्न त्यसरी यात्रा नै गर्नुपर्छ ।
रमाइलोको बीचमै पनि कल्पनाको संसारबाट यथार्थमा झर्नैपर्ने । चितवनको पर्सानिर एउटा होटलमा ठिकठिकै खाना खाएपछि त्यसको रु १२० तिर्दा महसुस भयो आम मानिस कसरी ठगिन्छन् । काठमाडौंको मेरो कोठामा त्यस्तै खानाको लागत झण्डै बीस रुपैयाँ पर्छ । सयौं मानिसलाई खुवाउँदा त लागत झन् घट्ने नै भयो । तर ठगीको चक्र कस्तो छ भने बसवालाले होटलवालासँग कमिसन लिन्छ प्रतिशतका हिसाबले । लामो यात्रामा खाना खानैपर्ने मानिसको विवशतालाई अधिकतम उपयोग गर्न दुइपक्ष संगठित भएर लागेका छन् ।
अन्ततः धरान पुगियो जहाँ खुइलाएर सेतो पारिएका काला बंगुरै बंगुरले स्वागत गरे । क्रमशः