कुनै दिन थिए जब डाक्टर गोविन्द के सी गर्मी, खडेरी, जाडो र हिमपात छिचोलेर गाउँका विपन्न मानिसहरुको सेवामा खट्नुहुन्थ्यो । त्यही सेवाभावप्रति मानिसले देखाएको सदाशयता र जनाएको कृतज्ञता नै उहाँको आफ्नो भन्नु हो ।
आज उहाँको अनशनको तेस्रो दिन पनि बित्नै लाग्यो तर उहाँका लागि ती हजारौं मानिसले व्यक्त गरेको कृतज्ञताभाव र तिनले दिएको आशीर्वादले केही गर्न सकेन । यो हाम्रो समयको यथार्थ हो, यहाँ मानिसको भावना र कामनाले कुनै पनि भौतिक कर्म सम्पन्न हुँदैन । उहाँको भाग्य विधाताहरु ती गरीबहरु हैनन् जसलाई उहाँले सेवा पुर्याउनुभयो ।
उनीहरु फरक मानिस हुन्, जसले यो देश र समाजको रेखदेख गर्ने जिम्मा लिएका छन् ।
ती मानिसका पनि आफ्नै समस्या छन् जसले गर्दा अति मामुली जस्ता लाग्ने उहाँका माग सम्बोधन गर्न उनीहरुलाई महाभारत भएको छ ।
तिनका समस्या के हुन् भने, ०४६ सालअघिसम्म सेवा र धर्मको रुपमा रहेको राजनीति त्यसपछि पेशा बन्न पुग्यो र राजनीतिज्ञहरु व्यवसायीजस्ता भए । गलत नीति र गलत नेतृत्वका कारण देशको औपचारिक वा सेतो अर्थतन्त्र खुम्चिंदै गयो भने त्यसको समानान्तर चल्ने कालो र अवैध अर्थतन्त्र तीव्र गतिमा बढ्दै गयो । त्यो यति बढ्यो कि कालान्तरमा धेरै मानिसहरुले उद्योगी व्यापारीको कालोबजारी र नीति निर्माताहरुको भ्रष्टाचारले धानिने त्यो अर्थतन्त्रलाई नै देशको औपचारिक अर्थतन्त्र ठान्न थाले ।
व्यापारी जता व्यापार हुन्छ, त्यतै लाग्छ । व्यवसायीले जुन उद्योग चल्छ, त्यही उद्योग स्थापना गर्छ । त्यसरी नै हाम्रा अधिकांश राजनीतिज्ञहरु पनि चल्तीको कालो अर्थतन्त्रतिरै अभ्यस्त हुँदै गए । काला आर्थिक गतिविधिलाई बचाउन देशको औपचारिक कानुनमातहत त संभव हुने कुरै भएन । त्यसका लागि काला शक्तिहरु बनाउने तथा भएकासंग सांठगांठ गर्नुपर्ने अवस्था आयो । कालान्तरमा उनीहरुले कालो र सेतोबीच भेद छुट्याउनै बिर्सिसके र एक दिन एक राजनीतिक हस्तीले एक काला बलकर्मीलाई थप्थप्याउँदै भन्न पुगेः अहो, यस्तो पो ===माले ।
यस हिसाबले अहिले देशको नेतृत्व गरिरहेका मानिसहरुको नैतिकता त्यही कालो र सेतो बीचको अनन्त द्धन्द्धबाट सिर्जित भएको छ, कसैमा कालो बढी त कसैमा सेतो बढी तर समग्र प्रणालीमा भने कालोको प्रभाव यति बलियो छ कि राजनीतिज्ञहरु स्पष्ट देखिने कुरा बोल्न पनि डराउँछन्ः कुन नैतिकताको चस्मा लगाएर हेर्नुपर्ने हो, कालो कि सेतो < सेतोलाई कालो भन्यो भने सेतो कानुनले समात्ला भन्ने डर, कालोलाई सेतो भन्यो भने कालो कानुनले दपेट्ला भन्ने त्रास ।
द्वैध नैतिकताको भुमरीमा फसेका राजनीतिज्ञहरुलाई यी नैतिकताका अमुर्त व्यवधान मात्र नभएर तीभन्दा कैयौं गुना जटिल व्यवहारिक र मुर्त समस्याहरुले जेलेका छन् । देश दीर्घकालीन अधिनायकवादमा जाने अझै टुंगो छैन र त्यसो नभएसम्मका लागि कुनै पनि राजनीतिज्ञलाई जनताका माझ कुनै दिन जानुपर्छ भन्ने पिरलोले सताइरहन्छ र आफ्नो कालो आधा भागलाई लुकाएर राख्न उनीहरुलाई हम्मे परिरहेको हुन्छ । त्यसैले आश्वासन बाँड्नमा र सुकर्मका लागि ऐक्यबद्धता जनाउनमा उनीहरु सधैं अघि हुन्छन् । तर त्यो यथार्थको गौण पाटो मात्र हो ।
यथार्थको प्रधान पाटो त के हो भने, कालो र सेतो जीवनबीच समन्वय राखिराख्नु ज्यादै चुनौतीपुर्ण हुन्छ । कालो जीवनको अन्धकारमा सम्पुर्ण रुपमा कालो धन्दा गर्ने मानिसहरुसंग सहकार्य गरिएको हुन्छ र तीमध्ये केही काला मानिसहरुको साम्राज्य सेतो संसारसम्म फैलिएको हुन्छ र सेतो अर्थतन्त्रमा पनि तिनको स्वार्थ हुन्छ । ती स्वार्थलाई बेवास्ता गर्यो भने फेरि कालो संसारको अर्को चरणमा पत्तासाफ हुने डर हुन्छ । यता द्वैध मार्गी अन्य मानिस र समुह वा दलहरुसंग पनि कालो र सेतो दुवैतिर स्वार्थहरुले एकअर्कालाई काट्न पुग्छन् र प्रतिस्पर्धा अस्वस्थ हुने प्रशस्त सम्भावना हुन्छ ।
द्वैधमार्गीहरुबीच राज्यका महत्वपुर्ण निकायहरुमा आफ्ना दुवै साम्राज्यहरु फैलाउने प्रतिस्पर्धा चलिरहँदा अचानक कोही प्रकट हुन्छ र भन्छः अन्त तिम्रा साम्राज्य जे गर गर तर एउटा संस्थालाई त्यो प्रक्रियाबाटै अलग छाडिदेऊ । कलिमा न कतै सुनिएको, न त सुन्ने आशा नै गरिएको कुरा ।
हेर्दा सामान्य देखिने डा. गोविन्द के सी का मागले द्वैध साम्राज्यका जरामा त्यसरी प्रहार नगरेका भए अहिले यो अवस्था आउने नै थिएन । तर उहाँको अद्धितीय (दुस्)साहसका कारण द्वैधमार्गीहरु अहिले धर्मसंकटमा छन् (त्यो धर्मको परिभाष चाहिं कालो संसारको हो वा सेतोको, स्पष्ट छैन) । तिनको हिसाब किताब पनि त्यति सजिलो छैन किनकि कालो हिस्साका बेनियमका नियममा चल्ने लेनदेनलाई सेतो हिस्साका लेनदेनसंग समायोजन गर्नु ज्यादै कठिन काम हो । त्यसक्रममा कसले कुन चाल चालेर कसरी आफ्नो स्वार्थको रक्षा गर्ने हो, त्यसको छिनोफानो गर्न समय त लाग्ने नै भयो ।
यता डा. के सीको शरीरमा कमजोरी र शुष्कता बढ्दै जानुले दरबारहरुमा भइरहेका ती राष्ट्रियस्तरका लेनदेनहरुलाई कुनै असर पु¥याउँदैन, जसरी गाउँका गरीबहरुले उहाँलाई दिएका आशिषले उहाँलाई अहिले बचाउन कुनै भुमिका खेल्न सक्दैन ।
यहाँको चलन यस्तै छ । जबसम्म कालो र सेतो अर्थतन्त्रबीच लुकाछिपी चलिरहन्छ र हाम्रा भाग्यविधाताहरु ती दुईबीच समन्वय गर्न खोजिरहन्छन्, तबसम्म यो चलिरहनेछ । हाललाई भने आशा गरौं अनशनले सेतो संसारमा पारेको प्रभावका कारण उनीहरु कालो संसारमा एक कदम पछि हट्न बाध्य होउन् र डा. के सीलाई फेरि गरीबहरुको सेवा गर्ने सौभाग्य मिलोस् ।